ट्रम्प कार्यकालमा ४१३१८ आप्रवासी पक्राउ


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहणगरेपछिका एकसयदिनमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४१ हजार ३१८ जना आप्रवासीहरुलाई पक्राउ गरेको छ । अध्यागमन कानुनको कार्यान्वयनमा प्राथमिकता र कडाई गरिरहेको सन्दर्भमा अमेरिकामा गैर कानुनी रुपमा बसोबास गरिरहेका वा गैर कानुनी रुपमा बसोबास गरेको आशंकामा परेका ती आप्रवासीहरुलाई पक्राउ गरिएको हो । उनीहरु सन् २०१७ को जनवरी २२ देखि अप्रिल २९ भित्रको अवधिमा पक्राउ परेका हुन् ।

गतबर्ष यही अवधि अर्थात् सन् २०१६ को जनवरी २४ देखि अप्रिल २९ भित्रको अवधिमा ३० हजार २८ जना आप्रवासीहरुलाई आइसले पक्राउ गरेको थियो । उनीहरु पनि गैर कानुनी रुपमा बसोबास गरिरहेका वा गैर कानुनी रुपमा बसोबास गरेको आशंकामा परेकाहरु थिए । गतबर्षको सोही अवधिको तुलना गर्दा ट्रम्प कार्यकालको सय दिनमा पक्राउ पर्नेहरुको संख्या ३७ दशमलव ६ प्रतिशतले बढेको छ ।

ट्रम्प कार्यकालका सय दिनमा पक्राउ परेका ४१ हजार ३१८ जनाहरुमध्ये ३० हजार ४ सय ७३ जना अपराधमा दोषी ठहरिएकाहरु थिए भने बाँकी १२ हजार ७ सय ६६ जना फरार अभियुक्तका रुपमा सुचिकृतहरु थिए ।

सन् २०१५ र २०१६ को सोही अवधिको तुलनामा ट्रम्प कार्यकालमा एकसयदिनमा पक्राउ पर्नेहरु बढी रहेपनि सन् २०१४ को ओबामा कार्यकालको सोही अवधिमा पक्राउ पर्नेहरु भने ट्रम्प कार्यकालमा पक्राउ परेकाहरु भन्दा धेरै छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com