डिभी परेर अमेरिका आउनेमा पहिलो नम्बरमा नेपाली


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

संसारभरबाट डिभी परेर अमेरिका आउनेमा नेपालीहरु पहिलो नम्बरमा रहेका छन् । डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत आर्थिकबर्ष सन् २०१६ को तथ्यांक अनुशार सन् २०१६ मा विश्वभरमा नै डाइभर्सिटी भिसा पाउनेमा नेपालीहरु पहिलो नम्बरमा रहेका थिए ।

२०१६ का लागि ३८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपछि ३२४७ जनाले भिसा पाएर अमेरिका आएका थिए, जुन विश्वका कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै हो । यद्यपी सन् २०१६ का लागि डिभी लोटरी परेका ५५४ जना नेपालीहरु भने विभिन्न कारणले अमेरिका आउन पाएनन् । सन् २०१५ मा पहिलो नम्बरमा रहेको इजिप्ट २०१६ मा दोश्रो नम्बरमा झरेको थियो । सन् २०१६ मा इजिप्टका २८५५ जना डाइभर्सिटी भिसामा अमेरिका आएका थिए ।

सन् २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका छन् । उनीहरुका लागि भिसा जारी प्रकृया चलिरहेको छ र उनीहरुले आगामी सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नेछन् । सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गर्न नसक्नेहरु भने अमेरिका जान पाउनेछैनन् । हरेक देशका लागि हुने निश्चित कोटाका कारण पाँचसयदेखि १ हजारसम्म डिभी लोटरी जितेका नेपालीहरुले यो बर्ष भिसा नपाउने देखिएको छ ।

एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने नियम रहेको छ ।
आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएनन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका थिए । बाँकी १६२१ ले भने भिसा पाएनन् ।

आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com