डिभी लोटरी जित्ने नेपालीको भिसामा झन् पछि झन् टाइट


प्रकाशित मिति : भाद्र ७, २०७३ मंगलबार

– किशोर पन्थी 

डिभी लोटरी जित्ने नेपालीहरुको भिसा प्रकृयामा अमेरिकाले झन्पछि झन् टाइट गर्दै गएको छ । डिभी लोटरी विजेताहरुका लागि हरेक बर्षको अक्टोबरबाट भिसा जारी हुन सुरु गर्ने नियम अनुशार गतबर्ष केस नम्बर २४ सय सम्मका नेपाली विजेताहरुका लागि अक्टोबर महिनामा भिसा उपलब्ध गराएको थियो । तर यो बर्षको अक्टोबर महिनामा अझ घटाएर केस नम्बर १९ सय सम्म हुने नेपाली डिभी लोटरी विजेताहरुलाई भिसा उपलब्ध गराउने भएको छ ।

आर्थिक बर्षको पहिलो महिनामा नै नेपाली डिभी लोटरी विजेताहरुका लागि गतबर्षदेखिमात्र अमेरिकाले छुट्टै सिमाबन्दी तोक्न थालेको हो । यो बर्ष त्यो सिमाबन्दीलाई अझ खुम्च्याएको छ । त्यो भन्दा अघिल्लो बर्षहरुमा अमेरिकाले नेपाली डिभी लोटरी विजेताहरुलाई आर्थिक बर्षको पहिलो महिनामा नै छुट्टै सिमाबन्दी तोकेको इतिहास थिएन । चालु आर्थिक बर्षको अन्तिम महिना सेप्टेम्बरमा भने अमेरिकाले नेपाली डिभी लोटरी विजेताहरुका लागि कुनै सिमाबन्दी तोकेको छैन । तर अगस्त महिनामा भने नेपाली डिभी लोटरी विजेताहरुमध्ये ७१ सय सम्म केस नम्बर हुनेहरुले भिसाका लागि आवेदन दिनसक्ने गरी नेपाललाई अलग्गै सिमाबन्दी तोकिएको थियो ।

आगामी अक्टोबरबाट भिसा प्रकृया सुरु हुने सन् २०१७ का नेपाली डिभी लोटरी विजेताहरु ४ हजार रहेका छन् । उनीहरुमध्ये ३५ सयको हाराहारीमामात्र सन् २०१६ को अक्टोबरदेखि सन् २०१७ को सेप्टेम्बरसम्म ग्रिनकार्ड प्राप्त गर्नेछन् भने बाँकी अमेरिका आउन पाउने छैनन् ।

सन् २०१७ को डिभी विजेता ५ सय नेपाली अमेरिका आउन नपाउने

डिभी परेर अमेरिका आउनेमा नेपालीहरु दोश्रो नम्बरमा रहेका छन् । आर्थिक वर्ष सन् २०१५ मा डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका थिए । नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएनन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका थिए । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।

उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको थियो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक बर्ष चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरिरहेको छ । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका थिए । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ मा झण्डै ३ सय डिभी लोटरी विजेता नेपालीहरुले भिसा नपाउने निश्चितप्राय छ । त्यस्तै आगामी आर्थिक बर्षमा पनि डिभी लोटरी जितेका झण्डै ५ सय नेपालीहरु अमेरिका आउन नपाउने अनुमान गरिएको छ ।

२ करोडको आवेदन, ८३ हजारलाई लोटरी

विश्वभरबाट सन् २०१७ का लागि सबै प्रकृया पुरा गरेर डिभी लोटरी फारम भरेकाहरुमध्येबाट ८३ हजार १ सय ९० जनालाई छानिएको केन्टकी कन्सुलर सेन्टरले जनाएको छ । ५० हजारका लागि भिसा उपलब्ध हुने भएपनि डिभीको छनौट प्रकृयामा कैयन व्यक्ति अयोग्य हुने भएकाले उपलब्ध हुने भिसा नम्बर भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ ।

सन् २०१७ का लागि विश्वका डिभी लोटरीका लागि योग्य देशहरुबाट १ करोड २४ लाख ३७ हजार १ सय ९० जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुका छोराछोरी र श्रीमान् श्रीमति समेत जोड्दा कुल आवेदन दिनेहरु १ करोड ९३ लाख ४४ हजार ५ सय ८६ जना रहेका थिए । सन् २०१७ को डिभी लोटरीका लागि सन् २०१५ को अक्टोबर १ देखि सन् २०१५ को नोभेम्बर ३ सम्म आवेदन परेका थिए । डिभीका लागि योग्य देशहरुलाई ६ वटा क्षेत्रमा विभाजन गरेर भिसा प्रदान गरिने तथा एउटा देशबाट बढीमा कुल संख्या ५० हजारको ७ प्रतिशत अर्थात् भण्डै ३५ सयलाई भिसा प्रदान गरिने अमेरिकी सरकारको नियम रहेको छ ।

भिसाको अन्तरवार्ताका बेलामा डिभी लोटरी परेको मुख्य आवेदकले हाईस्कुल वा सो सरहको शैक्षिक योग्यता वा तोकिएको पेशमा २ बर्ष तालिमको आवश्यकता पर्ने २ बर्षको जागिर खाएको वा तोकिएको पेशामा पाँच बर्षको अनुभव भएको प्रमाण पेशगर्नुपर्नेछ । डिभी लोटरी विजेताहरुलाई आप्रवासी भिसा आवेदनका लागि यथाशक्य प्रकृया सुरु गर्न अमेरिकी सरकारले आब्हान गरेको छ ।

धेरै लोटरी पार्नेमा नेपाल विश्वमै तेश्रो, एसियामा दोश्रो

सबैभन्दा धेरै लोटरी पार्नेमा नेपाल विश्वमै तेश्रो नम्बरमा परेको छ । विश्वका विभिन्न देशहरुमध्ये सबैभन्दा धेरै डिभी लोटरी पारेर पहिलो नम्बरमा पर्ने देशहरु युरोपियन देश उज्वेकिस्तान र अफ्रिकी देश इजिप्ट रहेका छन् । उज्वेकिस्तानका ४५०१ जना र इजिप्टका ४५०१ जनाले नै डिभी लोटरी पारेका हुन् । त्यस्तै युरोपकै युक्रेन, एसियाको इरान, अफ्रिकाको इथोपिया दोश्रो नम्बरमा रहेका छन् । यीमध्ये हरेक देशबाट ४५०० जनाले सन् २०१७ का लागि डिभी लोटरी पारेका छन् । ४ हजार नेपालीहरुले डिभी लोटरी पारेपछि नेपाल विश्वमा तेश्रो र एसियामा दोश्रो नम्बरमा परेको छ ।

विगतका बर्षहरुमा एउटै देशबाट ६÷७ हजारसम्मलाई डिभी लोटरी पार्ने र ठूलो संख्यामा त्यो देशका नागरिक डिभी परेर पनि अमेरिका आउन नपाउने समस्या रहेको थियो । सन् २०१४ का लागि ६ हजार २ जना नेपालीहरुलाई डिभी लोटरी परेकोमा २५७८ जना नेपालीहरु अमेरिका आउन पाएका थिएनन् । डिभी लोटरीको इतिहासमै पहिलोपल्ट डिभी परेर पनि सन् २०१४ मा यति धेरै नेपालीहरु अमेरिका आउन पाएका थिएनन् । डिभी परेर पनि धेरैजना अमेरिका आउन नपाउने समस्याका कारण त्यसपछि सन् २०१५ का लागि डिभी लोटरीमा एउटा देशबाट ५ हजारभन्दा धेरैलाई डिभी लोटरी पारिएन भने सन् २०१६ का लागि एउटा देशबाट बढीमा ४५ सयको हाराहारीमा मात्र डिभी लोटरी पार्न थालिएको छ । सन् २०१७ का लागि पनि सबैभन्दा धेरै एउटा देशबाट ४५०१ जनालाई डिभी लोटरी परेको छ । एउटा देशबाट ४५ सयको हाराहारीमा मात्र डिभी लोटरी पार्दा अधिकतम डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएका छन् भने डिभी परेर पनि अमेरिका आउन नपाउनेहरुको संख्या कम हुँदै गएको छ ।

१६ बर्षमा ४८ हजार धेरै नेपालीलाई डिभी लोटरी

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा २६९८ जना नेपालीहरुलाई डिभी चिठ्ठा परेको थियो ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जनालाई चिठ्ठा परेको थियो । सन् २०१६ का लागि भरिएको डिभी लोटरीमा ३८ सय १ जना नेपालीहरुलाई लोटरी परेको थियो । उनीहरु अहिले अमेरिका आउने क्रम जारी छ । सन् २०१६ को मे ३ मा सार्वजनिक डिभी लोटरीको नतिजा अनुशार सन् २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी लोटरी परेको छ । यसरी सन् २००२ देखि अहिलेसम्म अर्थात् १६ बर्षको अवधिमा ४८ हजार ७ सय ४५ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com