छुट्टा छुट्टै घट्नामा तीनको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन् । उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ
ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
यस्तै वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्घाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
त्यस्तै गरी
पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पिप्लेमा तेल बोक्ने ट्याङ्कर ब्याक गर्ने क्रममा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुनय शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्याङ्कर चालक भने पूर्वी चितवनस्थित भण्डारा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यता चितवनको नारायणी नदीमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाङका अन्दाजी १७÷१८ वर्षका जङ्गबहादुर बगडीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com