सरकारी जागिर छोडेर गाईपालन


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

सरकारी नोकरी कसलाई खान मन हुँदैन र रु तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ ।

माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरिरहनुभएको छ ।

सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । उहाँका अनुसार १२ वर्ष काम गर्दा ३६ वर्षीय आचार्यलाई सरकारी जागिरबाट सामान्य तलव मात्र प्राप्त भयो । उहाँ भन्नु हुन्छ, “विद्यार्थीलाई पढायो, घर फक्र्यो हैरान ।”

सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० देखि रु २४ हजार ४०० तलब आउने जागिरबाट राजीनामा दिएर गाईको पालन थालेको बताउनुभयो । गाईपालन सुरु गरेका दिनमा उहाँलाई घाँसपानी, कुडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्न सफल हुनुभयो ।

अहिले दैनिक ८०÷९० लिटर दूध उत्पादन गर्दै आउनुभएका आचार्य १५÷२० लिटर दूध गाउँ मै बेच्नु हुन्छ । बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । दैनिक रु चार हजारको दूध बेच्नुहुन्छ । यतिखेर खर्च कटाएर मासिक रु ७५ देखि ८० हजार बचत हुने गरेको आचार्यको भनाइ छ । उहाँको गोठमा अहिले नौ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सात वटा बाछाबाछी छन् ।

प्रत्येक चार महिनामा छ ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएका आचार्यले प्रतिट्र्याक्टर रु तीन हजारका दरले गोबर मल बेच्नुहुन्छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com