प्रचण्डको छोरी रेणु दाहाल भरतपुर महानगरको मेयरमा उम्मेदवारी


प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार

नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई बनाएको जनाईएको छ ।
माओवादी केन्द्र चितवनले महानगर कमिटी संयोजक इश्वर सापकोटा ‘सुमन’लाई उपमयेरको उम्मेदवार बनाएको जनाईएको छ ।

संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी रेणु प्रधानमन्त्री प्रचण्डकी जेठी छोरी हुन् । मतदाता नामावलीमा उनको नाम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको जनाईएको हो ।
मेयरको उम्मेदवारमा प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहाकार नारायण दाहाल, अर्का नेता सूर्य सुवेदी र यमबहादुर परियारको नाम चर्चामा रहेपनि सबैलाई पछि पार्दै रेणु दाहाललाई उम्मेदवार बनाइएको हो ।

प्रचण्ड पुत्री रेणु दाहाल नै मेयरको उम्मेदवार बन्न आउने भएपछि जिल्लाका अन्य नेताहरू पछाडि हच्चिएका थिए । उनको उम्मेदवारीका बिषयमा जिल्लाका नेता खुलेर कसैले पनि बिरोध गर्न नसकेको बताइन्छ ।

भरतपुर महानगरपालिका भित्र नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर छ । पश्चिम चितवनको शिवनगरमा बाल्यकाल बिताएका प्रचण्डको घर महानगरपालिकाको वडा नम्बर ४ कृष्णपुरमा छ । प्रचण्डले राजनीतिक जीवन चितवनबाट शुरू गरेको भएपनि उनले दुवै संविधानसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी भने दिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com