दुई चरणमा निर्वाचन गर्न सरकार र मोर्चाबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच सहमतिमा पुगेको छ ।

मोर्चाको माग पूरा गर्न सरकारले घोषित स्थानीय निकायको चुनाव दुई चरणमा गर्न सहमति जनाएको हो । दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने सहमति भएको वार्तापछि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

दुई चरणमा निर्वाचन गर्नेबारे सरकारले निर्वाचन आयोगसँग परामर्श गर्ने मन्त्री लेखकले बताउनुभयो । आज दिउँसो ३ बजेदेखि बालुवाटारमा भएको मोर्चा र सरकारबीचको वार्तामा यस्तो सहमति जुटेको हो ।

सहमतिअनुसार भोलि नै सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित पास गर्न गृहकार्य थाल्नेछ । सहमतिअनुसार बैशाख ३१ गते तोकिएको स्थानीय निकाय निर्वाचन दुई चरणमा हुनेछ ।

सहमतिअनुसार दोस्रो चरणको निर्वाचनमा जेठ ३१ गते हुनेछ। उनका अनुसार पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा मात्र निर्वाचन हुनेछ। यसबाहेक प्रदेश नम्बर १, २, ५ र ७ गरी चारवटामा जेठ ३१ गते निर्वाचन हुनेछ।

यसअनुसार झापादेखि कञ्चनपुरसम्मका तराईको कुनै पनि समथर भूभागमा वैशाख ३१ गते चुनाव हुँदैन। सँगसँगै पूर्वी पहाड र सुदूरपश्चिमी पहाडमा पनि दोस्रो चरणमै चुनाव हुने भएको छ।

सहमतिसँगै आन्दोलनरत मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com