जर्मनीको आप्रवासविरोधी पार्टीको सम्मेलन स्थलबाहिर झडप


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

जर्मनीको आप्रवासविरोधी अल्टरनेटिभ फ्युर डोयचलान्ट पार्टीको सम्मेलन स्थलबाहिर घेरा हालेर बसेका प्रदर्शनकारी र प्रहरीबीच कोलोन शहरमा झडप भएको अधिकारीहरुले बताएका छन्।

सो शहरको एउटा होटलमा एएफडी पार्टीको दुईदिने सम्मेलन हुँदैछ। इस्लामविरोधी पार्टीका रुपमा पनि चिनिने उक्त दक्षिणपन्थी दलले आसन्न आमनिर्वाचनका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

सुरक्षाका लागि झण्डै चार हजार प्रहरी परिचालन गरिएको छ। सभाहलभित्र प्रवेश गर्न लागेका प्रतिनिधिहरुलाई जोगाउन खोज्ने क्रममा एकजना प्रहरी घाइते भएका छन्।

पार्टी नेतृ फ्राउक पेट्रीले नेतृप्रति ऐक्यबद्धता जनाउन र आगामी सेप्टेम्बरमा हुने अर्को चरणमा हुने निर्वाचनका लागि सशक्त रुपमा उदाउन नेताहरुलाई आग्रह गरेकी छन्। एएफडी पार्टीकी नेतृ फ्राउक पेट्रीले इस्लामविरोधी नीति कडा पारेकी छिन्।

वामपन्थी तथा गिर्जाघरहरुले आफ्नो पार्टीलाई खराब रुपमा चित्रण गरिरहेको उनले आरोप समेत लगाइन्। उनले सेप्टेम्बर महिनामा हुने अर्को चरणको निर्वाचनमा आफू नउठ्ने उल्लेख गरिन्।

“नाजीहरुलाई रोक” लेखिएको ब्यानरसहित शनिबार प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएका थिए। प्रहरीले ५० हजार मानिसहरु प्रदर्शनमा उत्रिने अपेक्षा गरेको छ।

उनीहरुले अवस्थालाई “तनावयुक्त” भनेका छन्। कोलोनका प्रहरी प्रमुखले प्रदर्शनकारीमा “कैयौं हजार वामपन्थी अतिवादीहरु” र “कैयौं सय हिंसात्मक मान्छेहरु” पनि हुन सक्ने बताएका छन्।

प्रहरीले सम्मेलन भइरहेको होटलको प्रवेशद्वारबाट प्रदर्शनकारीलाई परै रोकेका छन्। गत वर्ष स्टुटगार्टमा एएफडीको सम्मेलनका क्रममा सयौं प्रदर्शनकारी पक्राउ परेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com