जन्मभूमिका लागि काम गर्ने हुटहुटी मलाई पनि छ


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

-रविना थापा

सन १९०१ देखि सन १९०९ सम्म अमेरिकाको शासन गरेका २६ औ राष्ट्रपति थियोडेर रुजवेल्टले भनेका थिए- “आरामका जिन्दगी बिताएकाहरुलाई हाम्रो इतिहासले सम्झदैन।” अहिले हामी यि रुजवेल्टले भनेझै आरामका साथ बिताएको जिन्दगी देख्ने नचाहने देशमा छौ। तर अन्यको नजरमा चाँही संसारको ड्रिमल्याण्ड अमेरिकामा छौ।

फेरि मलाई के लाग्छ भने अहिले हामीले दु:ख गरेर पछि जीवन आराम साथ विताए पनि नबिताए पनि इतिहासले सम्झने छैन। वास्तवमा ईतिहासले सम्झनको लागि समाज, समुदाय र आफ्नो जन्म भूमिको लागि उत्तरदायित्व वहन गर्नैपर्छ।

यसै प्रसङ्गमा स्वेट मार्डनले भनेका छन- “मान्छे जन्मदै समाज, राष्ट्र एवं संसारप्रतिको जिम्मेवारी बोकेर आएको हुन्छ।” यसकारण पनि मानिसहरू यस जिम्मेवारी बहन गर्न सामाजिक संघ-संस्थाहरूमा आवद्ध हुन्छन।

माथि उल्लेख गरेको झै यि कुराहरूले मलाई पनि छुन्छ। अर्थात हाम्रो समाज र जन्मभूमिको लागि राम्रा कामहरू गरौ भन्ने दृढ भावनाले छुन्छ। यसरी आफ्नो अन्तर आत्माको आदेशलाई पुरा गराउन व्यक्तिगत रूपमा गरिएका सेवाहरूले त्यति प्रभाव नहुने हुदाँ सामुहिक या संस्थागत रूपबाट गरिनु उपयुक्त लाग्ने हुदा नै सामाजिक संस्थाहरूमा आवद्ध होईन्छ भन्ने मेरो बिश्वास हो।

अगाडि नै चर्चा गरिएझै प्रवासमा रहेर सामाजिक संस्थाहरूमा आवद्ध हुनको निम्ति गैर आवासिय नेपाली संघ (एनआरएनए) नै उपयुक्त संस्था हो भन्ने मेरो बिश्वास हो। एनआरएनए नेपाली डायस्पोराको ठुलो संस्था पनि हो। जसको नेपाल बाहिर ७५ देशमा अस्थित्व छ। तिनै मध्यको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) पनि एउटा संस्थाको हो। संस्थाको लागि सदस्यहरू विश्वभरि भएको हिसाबबाट यो एउटा बिश्व स्तरको संजाल पनि हो।

अहिले यहि एनआरएनए एनसिसि अमेरिकाको नेतृत्वको निम्ति चुनावको माहौल बनिरहेको छ। फेरि रूजवेल्टले भनेझै आरामको जीन्दगी नबिताउन अर्थात इतिहासले सम्झने बनाउन यस पटक म रविना थापा पनि एनआरएनए एनसिसि अमेरिकाको नेतृत्वको लागि अर्थात अध्यक्षको प्रत्यासी भएकी छु। मलाई के लाग्छ भने जो आफै व्यक्तिगत जीवनमा निकै व्यस्त हुन्छ उसले यस संस्थालाई गतिशील वनाउन संभव हुदैन। यस मानेमा म व्यवसाय तथा अन्य सामाजिक संस्थाहरूमा संग्लन भएता पनि सामाजिक कार्य मेरो धड्कन मात्र नभई जीवनको एउटा पाटो पनि भएकोले फुर्सदिलो नै छु। यसर्थ पनि मेरो उम्मेद्धारी यस संस्थालाई एनआरएनएको सबैभन्दा उत्कृष्ठ दर्जाको, गौरवशाली एनसीसी बनाउने प्रतिवद्धताका पनि हो।

यसरी सपनाहरू बुन्दै गर्दा यि सपनाहरूलाई पुरा गर्न नेतृत्वमा नै रहँदा सहज हुन्छ। म स्वयं हाल यहि संस्थाको उपाध्यक्ष र अरु विभिन्न संस्थाहरूमा संग्लन भएको अनुभवले पनि मलाई यहि अनुभूति दिलाएको छ। फेरि कुनै संस्थाहरूमा गुट, उपगुट अनि सानोतिनो राजनीति पनि छिर्छ। त्यस्ता संस्थाहरु अधिवेशनको बेला मात्र बर्षाको खहरे खोला हुन्छन अनि बिस्तारै कार्यकालमा हिउदे खोला झै सुक्छन। यसकारण पनि यसलाई हिउँदमा पनि नसुक्ने खोला बनाउनु अहिलेको आवश्यकता हो। तेसलाई जीवन्त राख्न मैले नयाँ युवाजोश र पुराना अग्रजहरुको अनुभवलाई फ्युजन गराएर कार्यन्वयन गर्ने लक्ष्य लिएकी छु।

फेरि म तँपाई हाम्रै समाजकी एक महिला पात्र पनि हुँ। व्यक्तिगत एवम संस्थागत रूपबाट सामाजिक गतिविधिहरू गरिरहदा तँपाईहरूको विश्वास र हौशलाले सिक्ने मौका पाएकी छु। अहिले प्रविधिको विकासले समग्र विश्वनै साँघुरीएर एउटा गाउँ जस्तो बनेको छ। त्यसैले व्यक्तिका क्षमता र सिपलाई देश, भूगोल, परिस्थितिले सिमित राख्दैन। प्रवासमा रहेका नेपालीहरुले यि सिमाहरु भत्काएर प्रशस्त योगदान गरेका छन्। यसलाई अझ सशक्त रूपमा अगाडी बढाउन एउटा फलाम जस्तो बलियो र दिगो सेतुको आवश्यकता हुन्छ। यसर्थमा पनि एनआरएनए संस्था एनआरएनहरू र नेपाललाइ जोडने सेतु पनि हो।

वास्तवमा अमेरिकामा रहेर व्यक्तिगत सफलता हात पारेर या कुनै संस्थाको नेतृत्वमा रहेर सेतु बनिएन भने यसको कुनै अर्थ नै हुदैन। फेरि उही सेतु कसरी बन्ने भन्ने प्रश्नहरु आउछ।

मेरो यो पटकको उम्मेद्धारीको उधेश्य पनि संकटको वेलाको सेतुलाई अझ फराकिलो बनाउदै सामाजिक, साँस्कृतिक, आर्थिक, पर्यटन जस्ता बिभिन्न कुराहरुको समायोजन गरिएको एउटै सिंगो सेतु बनाउनु हो। यसरी निर्दिष्ट लक्ष्यका साथ मेरा सबै अनुभवलाई एउटै भकारीमा राखेर तँपाईहरूको सामु अगाडि सरेकी छु। यहाँहरु समक्ष जिम्मेवारी बहन गर्न उत्रिएकी छु। फेरि मेरो सम्बन्ध र सम्पर्क सबै किसिमका नेपाललाई माया गर्ने नेपालीहरुसँग भएको हुँदा मैले सबैको एनआरएन संस्था बनाउन प्रयास गर्नेछु। यो संस्था मातृभूमिको साथसाथै यही अमेरिकामा छरिएर आफ्नो कर्म गरिरहेका नेपालीहरूसँग समायोजन बनाउने प्रयास गरिनेछ।

हाल पनि म यहि संस्थामा संग्लन भएर काम गरिरहेको कुरा यहाँहरू तथा अग्रजहरुलाई पनि बिधितै छ। काम गर्न लामो समय चाहिन्छ भन्ने छैन। एउटै व्यक्ति दुइ-तीन पटक या पटक-पटक नेतृत्वमा फर्कदैमा संस्था राम्रो हुन्छ भन्ने पटक्कै होइन। आफ्नो एकै कार्यकालमा उत्कृष्ट नतिजा देखाएर आफ्नो उत्तराधिकारीहरुको सफल बिकास नै सही अर्थमा काम गर्ने व्यक्ति या सफल व्यक्ति हो। यस्ता व्यक्तिहरुलाई स्वत: समाजले नै वान्स मोर भन्छन, आफैले दावी गर्नु पर्दैन।

यसको अर्को पाटो यथास्थितिमा फेरि रोल खोजेर कक्षामा फेल भएर पटक-पटक दोहोरिनु या दोहोरिन खोज्नु भनेको पदको भोगीहुनु हो। वास्तवमा अमेरिकामा रहेका नेपालीहरूले यस्ता प्रवृतिहरूलाई बुझेर उचित मूल्यांकन गर्नुपर्ने बेला आएको छ। अनि मात्र काम गर्ने जोशका साथ संस्थामा आउन खोज्ने माथि न्याय हुनेछ। अन्यथा पदलुप्ताहरुको चुनौतिको थुप्रो मात्र लाग्ने छ र काम गर्ने सफल व्यक्तिहरुको प्रतिनिधित्वको अन्त हुनेछ। यस्तै प्रवृतिका कारण नै दशकौ पुराना संस्थाहरुको प्रगति भन्दा उधोगति बढेको छ।

यसर्थ, म तपाईहरूले सिकाएर, साथ दिएर अझ जिम्मेवारी लिन सक्ने अवस्थामा पुर्याउनु सक्ने एउटा निर्दिष्ट भिजन लिएर आएकी चेलीलाई पक्कै पनि थप जिम्मेवारी दिने स्थानमा रोज्नुहुन्छ भन्नेमा निर्धक्क छु। जसरी विचारक जोन मेसनले के भनेका थिए, “अल्छिहरु आधा जिन्दगी के गर्ने भनेर सोची सोची बर्बाद गर्छन् र बाँकी आधा जिन्दगीमा ती कुरा किन गर्न सकेन भनी व्याख्या गर्दै बर्बाद गर्छन्।” म गरिमामय ईतिहास बोकेको यस संस्थालाई मेसनले भने झै हुन दिनेछैन, यो मेरो प्रतिबद्धता हो।

अझै म अर्का महान गायक जोन लेननका कुरा राख्न सान्दर्भिक ठान्दछु। उनले भनेका थिए “जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो।” सात समुन्द्रपार रहेको नेपाली डायस्पोरालाई यहाँ छरिएर रहेका नेपाली-नेपाली बिचको आपसी संबन्ध बढाउने सेतुबाट मातृभूमिसँग पनि जोडेर थप योगदान दिनु नै मेरो उम्मेद्धारीको सही मतलब हो।

यस संस्थालाई यहाँ रहेका सबै नेपालीहरूको साझा संस्था बनाउनु, डायस्पोरामा पनि नेपाली भाषा, संस्कृति, सभ्यतालाई जीवन्त गराउन, संस्थालाई गतिशील बनाउदै नेपाल सरकार एवं यहाँको सरकार तथा विभिन्न संस्थाहरू जोडेर मातृभूमिको हितमा उपयोग गराउनु मेरा सपनाहरू हुन। फेरि माथि चर्चा गरिएको गायक जोन लेननले भनेझै व्यक्तिका सपनाहरू त्यो वेला पुरा हुन्छन जब ति सपनाहरूले साथ पाउछन। बास्तवमा तँपाईहरूको साथमा ति सपनाहरूलाई संस्थाको सपना बनाई यसलाई सत्यतामा बदल्नु नै मेरो अभियान हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com