कागजपत्रविहिन संरक्षण गर्ने सहरलाई ट्रम्प प्रशासनको चेतावनीपत्र


प्रकाशित मिति : बैशाख ८, २०७४ शुक्रबार

अमेरिकाको डिर्पाटमेन्ट अफ जस्टिसले कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने सहरहरुलाई चेतावनी पत्र पठाएको छ । चेतावनीपत्रपछि स्यांचुअरी सिटीका रुपमा परिचित न्युयोर्क लगायतका सिटीहरुमाथि दवाव परेको छ ।

स्यांचुअरी सिटीमा हिराशतमा रहेकाहरुको कानुनी हैसियतबारे प्रहरीले संघीय एजेन्सीहरुलाई नबताउने प्रावधान रहेकोमा ट्रम्प प्रशासनले शुक्रबार ९ वटै जुरिडिक्सनका नाममा अलग अलग पत्र काटेर हिराशतमा रहेका व्यक्तिको कानुनी हैसियतबारे संघीय एजेन्सीहरुसँग समन्वय कायम नगर्ने सिटीहरुलाई सरकारले संघीय सहयोग नगर्ने चेतावनी दिएको छ ।

स्यांचुअरी सिटीहरुले कुनै कागजपत्रविहिन पक्राउ परेमा त्यसको कानुनी हैसियतबारे सरकारको संघीय एजेन्सीहरुलाई नबताउने र समन्वय नगर्ने भएकाले ट्रम्प प्रशासनले चेतावनीयुक्त पत्र नै काटेको हो । झण्डै उस्तै प्रकृतिका पत्रहरुमा समन्वय नगर्ने सिटीहरुको आर्थिक सहयोग रोक्का, रद्द वा खारेज नै गर्न सकिने चेतावनी दिइएको छ ।

कसरी काम गर्छन् स्यांचुअरी सिटीहरु ?

अमेरिकामा केही संरक्षित क्षेत्रहरु छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि संघीय कानुन कार्यान्वयन निकायहरुको जिम्मा लगाइदैन । पक्राउ परेकाहरुलाई उनीहरुको अध्यागमन अवस्थाका आधारमा जेलमा राख्न दिएको संघीय आदेश त्यस्ता संरक्षित शहरले पालना गर्दैनन् । अध्यागमन अवस्थाका आधारमा जेलमा राख्न दिइएको संघीय आदेश ६९ वटा काउन्टीहरुले पालना गरेनन् भने ९९ वटा काउन्टीहरुले पालना गरे ।

अमेरिकामा संघीय अधिकारीहरुले अध्यागमनसम्बन्धि कानुनको कार्यान्वयनका लागि स्थानीय प्रहरीको सहायता लिनुपर्छ तर कानुनले स्थानीय अधिकारीहरुले संघीय अधिकारी वा निकायले अनुरोध गर्दैमा कसैलाई अध्यागमन अवस्थाको बारेमा पक्राउ गर्न बाध्य पार्दैन । यो स्थानीय शहर र काउन्टीहरुको नीतिमा भरपर्छ । तर उल्लेखित काउन्टी र शहरहरुमा कागजपत्रबिहिनहरुलाई पनि ती काउन्टी र शहरहरुबाट सुरक्षा प्रदान गरिएको छ । ति क्षेत्रहरुलाई स्यांचुअरी सिटी भन्ने गरिन्छ । यी सिटीहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले कुनै कागजपत्रबिहिनहरुलाई डिपोर्टशेनको प्रकृयामा लैजानका लागि गरेको आग्रह स्वीकार गर्दैनन् ।

यदि कुनै व्यक्ति कुनै अपराधमा (मादक पदार्थ सेवन गरेर गाडी चलाउने, अन्य आपराधिक गतिविधि गर्ने) संलग्न छ भने उसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसपछि उसलाई स्थानीय काउन्टी जेलमा लगिन्छ । जेलमा उसको औंठाछाप लिएर एफबीआईलाई पठाइन्छ । त्यो औंठाछाप इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमा पनि पुग्छ । यदि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले त्यो व्यक्ति कागजपत्रबिहिन रहेको पत्ता लगायो भने काउन्टी जेललाई जेलमा परेको व्यक्तिलाई थप ४८ घण्टाका लागि जेलमै राख्न आग्रह गर्छ । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश स्थानीय काउन्टीले पालना गर्नैपर्ने व्यवस्था राखेको छैन ।

त्यसैले स्यांचुअरी सिटीले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश अस्वीकार गर्छन् । र अपराधको मुद्दा समाप्त भइसकेपछि रिहा गरिदिन्छन् । तर स्यांचुअरी सिटीबाहेकका अन्यले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको यस्तो आदेश स्वीकारेर उनीहरुलाई थप समयका लागि जेलमा राख्छन् । त्यो अवधिमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले व्यक्तिका नाममा वारेन्ट जारी गरेर उसलाई संघीय जेलमा स्थानान्तरण गर्छ । कसैकसैलाई काउन्टी जेलमा नै राखेर पनि देशनिकालाको प्रकृयामा लगिन्छ । र अन्तत कागजपत्रबिहिनलाई देशनिकाला गरेरै छाडिन्छ । स्यांचुअरी सिटीको हकमा भने संगठित अपराध नगरेको, पहिले पनि ठूलो अपराध नगरेको र आतंककारी गतिविधिमा संलग्न रहेको भएमा सामान्य अपराधका आधारमा समेत कागजपत्रबिहिन व्यक्तिलाई देशनिकाला हुनुपर्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com