बाल बिबाहमा कमी

दीपेन्द्र प्रजापति/बीरगञ्ज, बालमैत्री स्थानीय शासन अवलम्बन गरिएपछि पर्सा जिल्लाको स्थानीय तहमा आश्चर्यजनक रुपमा बाल बिबाहमा कमी आएको छ । जिल्लाको तत्कालीन बेल्वा गाबिसका गाविस सचिब अनिल सुबेदीकाअनुसार बालमैत्री स्थानीय शासन अवलम्बन गरिएबाट नै यो उपलब्धी देखा परेको हो ।

गाविसमा बालबिबाहको प्रचलन थामी नसक्नु नै थियो । गाविसले बालमैत्री स्थानीय शासन अवलम्बन गरेबाट अहिले बालबिबाह रोकिएको छ । गाविस सचिब सुबेदी भन्छन्– ‘बाल बिबाह बिरुद्ध चेतनामुलक कार्यक्रम सुरु भएबाट यो सुधार देखिएको हो ।’
पर्सा जिल्लाको बेल्वा गाविसले २०६८ सालबाट बालमैत्री स्थानीय शासन अवलम्बन गर्न थालेको हो । साविक बेल्वा गाविस स्थानीय तहको पुनर्संरचनापश्चात वडा नम्बर ४ र ७ मा सीमित भएको छ । बेल्वा गाविसलाई नै केन्द्र मानिएको नयाँ संरचनामा तत्कालीन बसडिलवा, बगही, लालपर्सा, चोरनी गाविस समेत मिसाएर पुनर्संरचित बेलवा गाउँपालिका बनेको छ ।

शिक्षाको कमी,  रुढीग्रस्त परम्परा तथा आर्थिक कारणले पनि बालबालिकाको १८ बर्ष नपुग्दै बिबाह गर्ने प्रचलन थियो । तर बालमैत्री स्थानीय शासन लागू भएपछि बाल बिबाहबाट हुने बेफाइदाबारे उनीहरूले जानकारी पाए । स्थानीय निकायले बालबिाह बिरुद्ध सडक नाटक जस्ता जनचेतनामूलक कार्यक्रम गरेपछि यो सफलता हात परेको हो ।

बाल बिबाहमा कमी आउनुमा बालबालिकाको भूमिका महत्वपूर्ण भएको स्थानीय तत्कालीन बेलवा गाविस स्तरीय बाल संजालकी अध्यक्ष बिद्या रिजालको दाबी छ । ‘बालबालिकालाई उमेर नपुगी बिहे गर्ने परम्परा बिरुद्ध हामीले अभियान नै चलायौ ।’ उनले थपिन् – ‘यो अभियानमा अभिभावकहरूको सहयोग प्राप्त भयो । त्यसैले अहिले खुला रुपमा यस क्षेत्रमा कसैले पनि बालबिबाह गर्दैनन् ।’ बाल संजालकी अध्यक्ष रिजालकाअनुसार स्थानीय प्रहरीले पनि चासो दिन थालेपछि खुला रुपमा बालबिबाह हुन रोकिएको हो । यस अघि खुला तवरले मागेरै बाल बिबाह हुने गर्दथ्यो ।

बाल बिबाह गरिदिँदा दाईजो कम लाग्ने तथा पठन–पाठनको खर्च जोगिने केही स्थानीयबासीको धारणा थियो । स्थानीय शुसिला पंजियारको भनाईमा तत्कालीन बेलवा गाविसका मुस्लिम, दलित, मुसहर, डुम, चमार, दुसादलगायतका केही घर परिवारमा यस्तो धारणा प्रबल थियो । उनले भनिन् ‘त्यस समूदायमा बालबिबाहलाई अभिभावकको नैसर्गिक अधिकारको बिषय बुझ्ने मानसिकता थियो । बालमैत्री स्थानीय शासन लागू भएपछि बाल क्लब र बाल संजालको प्रयासमा राजनीतिक दल, स्थानीय प्रहरीलगायतको सहयोगबाट बाल बिबाह रोक्न सफल भएका छौ ।’

बेलवामा बालबालिका नै घर, समाजलाई परिवर्तन गराउने शक्तिको रुपमा देखा परेको बालमैत्री स्थानीय शासनकी स्थानीय सम्पर्क ब्यक्ति सोनम खड्काको बुझाई छ । बाल बिबाह स्वात्तै घट्नुमा बालबालिकाको अगुवाई रहेको उनको दाबी छ । ५ वर्ष अगाड़ी बाल बिबाहले ग्रस्त बनेको गाउँका तत्कालीन ९ वटै वडाहरूमा बाल क्लब तथा बालसंजाल क्रियाशिल छन् । खड्काले थपिन् ‘बेलवामा बालबिबाहमा संलग्न अभिभावकहरू आफुले गरिरहेको गल्तीलाई यतिखेर पश्चाताप गरिरहेका छन् ।’

‘बालबिाहबाट उत्पन्न स्वास्थ्य समस्या पनि अहिले घटेको छ । बालबिवाहकै कारण महिलामा आङ्ग खस्ने समस्या हुने गर्दथ्यो । उमेर पुगेर बिहे गरेका महिलामा यस्तो समस्या देखिदैन । सुत्केरी गराउँदा आमा र बच्चा दुबैको ज्यान जाने खतरा हुन्थ्यो । अहिले यो समस्याबाट पनि समाजले पार पाइसकेको छ ।’ स्वास्थ्य स्वयंसेविका गौरी देबी दहैत भन्दै थिइन्– ‘बाल बिबाहकै कारण बालबालिका कुपोषित हुने खतरा टर्दै गएको छ ।’ उनीभन्छिन् – ‘यस्ता सबै समस्याबाट पनि बेलवाका किशोरीहरूले बिजय पाइसकेका छन् ।

खास गरेर बालिका धेरै पीडित भएको सन्दर्भलाई बालमैत्री स्थानीय शासनले बुझाउन सफल भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा बालअधिकारबाट बञ्चित बालबालिकाले आफ्ना अधिकार लिन सकेका छन् । बालबिबाहकै कारण उनीहरूले पढ्ने, खेल्ने अधिकारबाट वञ्चित हुन्थे भने बिबाह पछि आर्थिक भार थपिएर गरीबिको भूमरीमा फस्थे । बाल बिबाह रोकिएपछि बालबालिकाहरूको उज्यालो भविष्य देखा परेको छ । यो खुशीको कुरा हो ।’

तत्कालीन बेलवा गाविस बालमैत्री स्थानीय शासन उन्मुख गाविस हो । स्थानीय शासनको पुनर्संरचना पश्चात तत्कालीन बेलवा गाविस दुई वडामा बिभाजन हुन पुगेको छ । स्थानीय तह अन्तर्गतको गाउँपालिकाले बालमैत्री स्थानीय शासनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने सन्दर्भ अहिलेका लागि योजनाकारकै गर्भमा रहे पनि स्थानीय बासीन्दा भने बालमैत्री स्थानीय शासन वडा तहमा भए पनि घोषणा गरेर यो अभियानलाई निरन्तरता दिनु पर्ने माग गरीरहेका छन् ।  बालमैत्री स्थानीय शासन मीरेष्ट  लेखमालाबाट

बुधबार, बैशाख ६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री