कार्यबहाक राष्ट्रपति र कार्यबहाक राजदूतबीच भेटवार्ता


प्रकाशित मिति : बैशाख ५, २०७४ मंगलबार

कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यबहाक राजदूत माइकल गोञ्जालेसले शिष्टाचार भेट गर्नुभएको छ । आज (मंगलबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा कार्यबहाक राष्ट्रपतिसँग बेलायतका राजदूत र अमेरिकाका कार्यबहाक राजदूतले छुट्टा छुट्टै भेटघाट गर्नुभएको हो ।

कार्यबहाक राष्ट्रपतिले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल निर्वाचनतर्फ अगाडि बढेको बताउनुभयो । उहाँले वैशाख ३१ गते स्थानीय तहको र त्यसपछि लगतै प्रदेश र केन्द्रको चुनाव हुनेभएकोले नेपालीहरु निर्वाचनमा व्यस्त हुने बताउनुभयो । कार्यबहाक राष्ट्रपतिले नेपाल र बेलायतको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यबहाक राष्ट्रपतिसँगको भेटमा बेलायतका राजदूत मोरिसले दुईदेशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिंदै स्थानीय तहलगायतका निर्वाचन सफलताको शुभकामना दिनुभयो ।  यसैगरी कार्यबहाक राष्ट्रपतिले अमेरिकाका कार्यबहाक राजदूत गोञ्जालेससँगको भेटमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । उहाँले तीन तहको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमण पूर्ण रुपमा अन्त्य हुने र नेपाल आर्थिक समृद्धिको यात्रामा द्रुत गतिमा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले नेपाली जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तनको परिणाम छिट्टै नेपालको समृद्धिमा देखिने बताउनुभयो । कार्यबहाक राष्ट्रपतिले नेपाल र अमेरिकाका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउनुहुँदै दुईदेशबीचको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा अमेरिकाका कार्यबहाक राजदूतले चार हप्तापछि हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना दिनुभयो । उहाँले आफूहरु देशका विभिन्न भागमा जाँदा स्थानीय जनता स्थानीय तहको निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर भएको पाइएको बताउनुभयो । नेपालको लागि आगामी आठ महिना निकै नै महत्वपूर्ण भएको बताउनुहुँदै उहाँले सबै तहको निर्वाचनपछि नेपालले विश्व समुदायलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com