नयाँ वर्षमा पर्यटकै पर्यटक


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् ।

विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक गरी झन्डै तीन लाख लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

नयाँ वर्षको अवसरमा लुम्बिनी घुम्न आएको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको कोषले जनाएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका बेला मायादेवी मन्दिर प्रवेशद्वारमा नियमित रुपमा रेकर्ड राख्ने गरिएकामा दर्शनार्थीको भीड अत्यधिक भएपछि रेकर्डससमेत राख्न नसकिएको कोषले जनाएको छ ।

लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती मेलामा भन्दा पनि दोब्बर सङ्ख्यामा नयाँ वर्षमा घुम्न आएको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ । शाखाका अनुसार वैशाख १ गतेमात्रै एक लाख ६० हजारको हाराहारीमा मायादेवी मन्दिरको दर्शन गरेका थिए । लुम्बिनी घुम्न आउनेमा अधिकांश नेपाली पर्यटक थिए ।

अत्यधिक मात्रामा आन्तरिक पर्यटक आएपछि लुम्बिनी विकास कोषलाई व्यवस्थापनमा समेत कठिनाइ भएको थियो । लुम्बिनी विकास कोषभित्र रहेका बसपार्कमा यातायातका साधन राख्ने ठाउँ थिएन भने मायादेवी मन्दिरको दर्शका लागि घन्टौँ लाइन बस्नुपरेको थियो । लुम्बिनी घुम्न आएका अधिकांशले लुम्बिनी घुमाई निकै रमाइलो भएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर घुम्नका लागि भनेरै लुम्बिनी आउनुभएका काठमाडौँका धीरेन्द्र पन्तले लुम्बिनी घुमाइ निकै रमाइलो भएको बताउनुभयो ।

उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिर, अखण्ड दीप, शान्ति स्तूपासहित विभिन्न देशले निर्माण गरेका विहारको अवलोकन गरेको बताउनुभयो । लुम्बिनी विकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप झनै बढेको छ । कोषले दिएको जानकारीअनुसार शुक्रबार र शनिबार सार्वजनिक बिदा परेका कारण लुम्बिनीमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेको हो । आज पनि पर्यटकको चाप त्यत्तिकै मात्रामा छ ।

लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा रहेका तारेदेखि सामान्यखालका होटलसमेत खचाखच भएका थिए । पछिल्लो समय लुम्बिनी घुम्नका लागि गतिलो गन्तव्य बनेको छ भने अशान्त मनलाई शान्त बनाउन पनि धेरै लुम्बिनी पुग्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com