अध्यक्ष नहुँदा एमाले अनिर्णित


प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश रहेका कारण नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ ।

स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

नियमित स्वास्थ्य परीक्षणाका लागि गत साता थाइल्याण्ड जानुभएका अध्यक्ष ओली केही दिनमा फर्कने र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने बुझिएको छ ।

एमालेले केन्द्रीयस्तरमा उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ ।

यसअघि पार्टीको स्थायी कमिटीले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते बैठक बसी उम्मेद्वारका सन्दर्भमा केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने गर्ने एमालेको तयारी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com