सिटबाट यात्रुलाई घिसारेको भिडियोसँग युनाइटेडका अन्य हर्कत सार्वजनिक


प्रकाशित मिति : चैत्र ३०, २०७३ बुधबार

सिट क्षमताभन्दा धेरै टिकट बेचिएको अमेरिकाको युनाइटेड एयरलाइन्सले यात्रुलाई सिटबाट घिसारेको भन्दा खराब उदाहरण ग्राहकलाई प्रदान गरिने सेवामा भेट्टाउन मुस्किल छ ।

केन्टकीका एकजना डाक्टर डेभिड डाओलाई सिट क्षमताभन्दा धेरै टिकट बेचिएको युनाइटेडको जहाजबाट घिसारेर बाहिर निकालिएको थियो । घिसारेर बाहिर निकाल्ने क्रममा रक्ताम्मे भएका उनको हाल अस्पतालमा उपचार भइरहेको छ । डाओ केन्टकीबाट लुइभिल जाने क्रममा प्लेनमा चढेका थिए । सिटमा बसिसकेका उनलाई युनाइटेडका कर्मचारीहरुका लागि सिट आवश्यक भएको भन्दै जहाजबाट बाहिर निस्कन भनिएको थियो ।

तर डाओले आफू बिरामी हेर्न जानुपर्ने भएकाले ढिलो हुने भन्दै जहाजबाट ओर्लन अस्वीकार गरेका थिए । त्यसपछि एयरलाइन्सले पुलिस बोलाएको थियो । पुलिस आइसकेपछि उनलाई सिटबाट घिसारेर रक्ताम्मे पार्दै बाहिर निकालिएको थियो । जुन भिडियो अहिले भाइरल बनिरहेको छ । शिकागोको डिपार्टमेन्ट अफ एभिएसनले दुब्र्यबहारमा संलग्न अधिकारीलाई निलम्बन गरिसकेको छ ।

तर डाओमाथिको दुब्र्यबहार युनाइटेड एयरलाइन्समा भएको पहिलो दुब्र्यबहार होइन । यो सँगै युनाइटेडका अन्य हर्कतहरु पनि सार्वजनिक भएका छन् । युनाइटेडका कर्मचारीहरुले एकजना यात्रु जेफ फन्र्सलाई पनि सिट नछाडे हतकडी लगाउनेसम्मको चेतावनी दिएको घटना सार्वजनिक भएको छ ।

यसरी दुब्र्यबहारमा परेकय ५९ बर्षका फर्न ट्राइ प्यासेफिक क्यापिटल एड्भाइजरका अध्यक्ष हुन् । यो रियल स्टेटमा ५० करोड अमेरिकी डलर भन्दा धेरै रकम भएको इन्भेस्टमेन्ट कम्पनी हो । यही कम्पनीमा प्रमुख हुन् ती यात्रु । गतहप्ता एउटा ब्यापारिक सम्मेलनमा भाग लिनका लागि उनी हवाई गएका थिए ।

हवाईबाट उनलाई लसएन्जलसमा अलिक छिटो फर्कनुपर्ने भएकाले उनले १ हजार डलर पूरै भाडा तिरेर युनाइटेड एयरलाइन्सको फस्ट क्लासको टिकट किनेका थिए । हवाइमा रहेको विमानस्थलबाट उनी प्लेनमा चढे । उनी तोकिएको सिटमा पनि बसे । विमान चढ्नु अगाडि फस्ट क्लास सिटमा बस्ने यात्रुलाई दिने एक ग्लास जुस पनि पिए ।

यत्तिकैमा युनाइटेड एयरलाइन्सका कर्मचारीहरु हतार हतार आएर उनलाई विमानबाट ओर्लन भने । उनले किन ओर्लने भनेर सोधे । बिमानमा सिट क्षमताभन्दा धेरै यात्रु भएकाले ओर्लनुपर्ने जवाफ विमानमा कर्मचारीहरुले दिए । यात्रु जेफले आफूलाई पहिले नै सिटमा बसालिसकिएकाले ओराल्नु उपयुक्त नभएको तर्क गरे ।

त्यसपछि युनाइेटड एयरलाइन्सका कर्मचारीहरुले कोही महत्वपूर्ण व्यक्ति अन्तिम समयमा आएकाले उनका लागि सिट आवश्यक परेको बताए । आफूहरुसँग प्राथमिकता सुची रहेको र पछि आएका ती व्यक्ति उच्च प्राथमिकता सुचीमा पर्ने उनीहरुले बताए ।

यसअघि तोकिएको विमानमा प्राविधिक कठिनायी आएको भन्दै यात्रुहरुलाई अर्को विमानमा राखिएको थियो । त्यो विमानमा फस्ट क्लास सिटहरु कम भएपछि युनाइटेडले यात्रुहरुलाई कसरी तह लगाउने भन्ने उपाय निकालेर जेफ फन्र्सलाई ओर्लन लगाइएको थियो । यद्यपी जेफ पनि युनाइटेडका फ्रिक्वेन्ट फ्लायर कार्यक्रम अन्तरगतका सदस्य थिए ।

फर्नले भन्छन् – ‘म बुझ्छु कि विमान भरिएकाले उनीहरुले यात्रुहरुलाई चढाउन सक्दैनन् । तर यो विषयमा मलाई गेटमा नै भन्नुपर्ने थियो । म त तोकिएको सिटमा आएर बसिसकेको थिएँ । तर उनीहरुले मलाई हतकडी लगाउनेसम्मको चेतावनी दिए ।’

विमानमा चढेको यात्रुलाई उसले टिकट किन्दा तिरेको रकमको आधारमा र बसेको सिटको आधारमा भेदभाव गर्न पाइदैन । तर जेफ फन्र्सले पूर्णदरको भाडा तिरेर नै सिटमा बसेका थिए । यसरी सिटमा बसेका जेफ फन्र्सलाई सिट छाड्न लगाइयो ।

युनाइटेडका कर्मचारीले त्यसपछि जेफ फन्र्सलाई इकोनोमी क्लासको सिटमा विवाहित जोडीको बीचमा रहेको सिटमा लगेर राखिदिए । ती जोडी झगडा गरेकाले एकसाथ बस्न मानेका थिएनन् । बीचको सिट खाली थियो । त्यही सिटमा राखियो जेफ फन्र्सलाई । ६ घण्टाको फ्लाइटपछि पूर्ण दरको फस्ट क्लासको सिटको टिकट काटेका जेफ फन्र्स इकोनोमी सिटमा बसेर क्यालिफोर्निया फर्के ।

क्यालिफोर्निया आइसकेपछि उनले यसबारेमा आफ्नो वकिलसँग सल्लाहपनि गरे । जेफ फन्र्सले एयरलाइन्ससँग आफूले तिरेको रकम फिर्ता गर्न र आफूले मागेको स्थानमा २५ हजार डलर डोनेशन गर्न आग्रह गरे । तर एयरलाइन्सले उनलाई ५ सय डलरको क्रेडिट लिन सुझाव दियो । अहिले जेफ फन्र्सले युनाइटेड विरुद्ध कानुनी लडाईको तयारी गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com