अपरेशन जनसम्पर्क समिति: भूकम्पपीडितका नाममा अमेरिकामा संकलित रकममा भ्रष्टाचार !


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

 

किशोर पन्थी / न्युयोर्क

भूकम्पका नाममा उठाएको रकमबारे अहिले प्रश्नहरु उठाउन थालिएको छ । भूकम्पपीडितका नाममा उठाएको रकममा ब्यापक भ्रष्टाचार भइरहेका दावीहरु सत्य बन्दै गइरहेका छन् । छानविनको माग गर्दै अमेरिकामा रहेका नेपालीहरुले अनलाइनमा हस्ताक्षर अभियान चलाएका छन् । अमेरिकामा नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिभित्र खैलाबैला छ । नेपालको राष्ट्रिय दैनिक कान्तिपुरले त यसबारेमा गम्भीर प्रश्न उठाउँदै सम्पादकीय नै लेखेको छ । अमेरिकामा रहेको नेपाली जनसम्पर्क समितिले भूकम्पपीडितका नाममा उठाएको रकममा के के भयो ? कस्ले कुन कुन मितिमा कति कति रकम झिके ? बबण्डर भइसकेपछि कसरी रकम बैंकमा नै फिर्ता गरियो ? कति रकम फिर्ता गर्न अझै बाँकी छ ? यसबारेको विशेष रिपोर्ट ।

नेपालमा सन् २०१५ को अप्रिल २५ मा ९ हजारभन्दा धेरेको ज्यान लिनेगरी आएको विनाशकारी भूकम्पपछि विश्वभर रहेका असाध्यै धेरै समुह र संस्थाहरुले उनीहरुले नेपालमा गर्ने राहत कार्यका लागि भन्दै सहयोग मागेका थिए । उनीहरुले नेपालमा राहतकार्यका लागि भन्दै करोडौं डलर संकलन गरे ।

उनीहरुमध्ये अमेरिकामा रहेका केही नेपाली समुह र संस्थाहरुले पनि नेपालमा राहतकार्यका लागि भन्दै लाखौं डलर जम्मा गरे । केही संस्थाले डोनेसन बाकसमार्फत रकम संकलन गरे । ग्रोसरी स्टोर, रेष्टुरेण्ट, नेपाली अमेरिकनले संचालन गरेका कार्यालयहरु लगायतका स्थानमा मन फुकाएर सहयोग गर्न आग्रह गर्दै त्यस्ता डोनेशन बाकसहरु राखिएका थिए । अझ केही मान्छेहरुले त रेलभित्र र बाटोमा समेत व्यक्तिगत रुपमा राहत रकमका लागि आग्रह गरिरहेका थिए । उनीहरुले आफूले संकलनगरेको रकमबाट नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने वाचा गरेका थिए ।

विभिन्न वेवसाइटहरुमा संचालन गरिएका सयौं अभियानहरुमार्फत करोडौं डलर संकलन गरिएको थियो । क्राउडराइजमा मात्र संचालन गरिएका १ सय ५० वटा अभियानमार्फत झण्डै ३० लाख डलर संकलन गरियो, जसमध्ये अधिकांश अभियानहरु अहिलेपनि खुल्लै छन् । गोफण्डमीमार्फत संचालन गरिएका १७ सय १७ वटा अभियानमा झण्डै ९० हजार दाताहरुले झण्डै ७५ लाख डलर प्रदान गरे । त्यस्तै इन्डिगोगोमार्फत भूकम्प गएको दुईमहिनाको अवधिमा मात्र ३० लाख डलर संकलन भएको थियो । ग्लोबल गिभिङमार्फत ४२ हजार ६ सय ३९ जना दाताहरुले राहत कार्यका लागि ८९ वटा स्थानीय पार्टनरहरुको सहयोगका लागि ५१ लख ४१ हजार ८ सय १३ अमेरिकी डलर प्रदान गरे । भूकम्पको २४ घण्टा नबित्दै पेपलले २० वटा भन्दा धेरै च्यारिटीका लागि अमेरिकामा अभियान चलायो । त्यसपछि त्यस्ता अभियान बेलायत, ब्राजिल, क्यानडा, सिंगापुर र अष्ट्रेलिया लगायतका मुलुकमा चलाइयो । ४ लाख २२ हजार भन्दा धेरैले ७० वटा संस्थामार्फत १ करोड ९० लाख अमेरिकी डलर सहयोग गरे ।

हो, भूकम्पपीडितका नाममा यसरी नै करोडौं डलर संकलन गरियो । तर हजारौं भूकम्पपीडितहरु अझै घरबारबिहिन छन् भने पीडितहरुसमक्ष संकलित राहत पुग्नै बाँकी छ । नेपालले दाताहरुले दिने भनेको करोडौं डलर अहिलेसम्म खर्च गरेको छैन भने करोडौं डलर अझै दाताहरु र रकम संकलकहरुकै खातामा रहेको छ । भूकम्पपीडितका नाममा उठाइएको रकमबारे भ्रष्टाचारको आशंकामा प्रश्नहरु उठाइएका छन् । भूकम्पपीडितका नाममा उठाइएको करोडौं डलरको कुनै हिसाबकिताब नै छैन । नक्कली सहयोग संकलक र भ्रष्टाचारका कारण मोटो रकम गायब पारिसकिएको छ ।

अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले भूकम्पपीडितका झण्डै १ करोड डलर संकलन गरेका थिए । त्यो रकमका बारेमा सबै विवरणहरु सार्वजनिक नगरिएपछि प्रश्नहरु उठाइएका छन् । अमेरिकामा रहेका नेपालीहरुले उनीहरुलाई आफ्ना अडिट रिपोर्टहरु सार्वजनिक गर्न आग्रह गरिरहेका छन् । भूकम्पपीडितका नाममा उठाइएका रकममा पारदर्शिता र छानविनको माग गर्दै लोकप्रिय वेवसाइट चेन्च ओर्गमा हस्ताक्षर अभियान नै चलाइएको छ । विवादको घेरामा सबैभन्दा धेरै नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिका परेका छ । भूकम्पपीडितका नाममा उठाइएको रकम एकाएक जनसम्पर्कसमितिको बैंकखाताबाट गायब भएपछि जनसम्पर्क समितिमाथि भ्रष्टाचारको आशंका गरिएको हो ।

कति संकलन भएको थियो भूकम्पपीडितका नाममा ?

नेपाली काँग्रेस सम्बद्ध अमेरिकामा रहेको नेपाली जनसम्पर्क समितिले नेपालको विनाशकारी भूकम्पलगत्तै अमेरिकामा राहत रकम संकलन अभियान नै संचालन गर्यो । नेपालमा विपद परेको घडीमा अमेरिकामा रहेका नेपालीहरुले पनि मन खोलेर सहयोग गरे । कतै बैंक एकाउण्टमार्फत त कतै नगद गरी रकम संकलन गरियो । जनसम्पर्क समितिका विभिन्न राज्यमा रहेका च्याप्टरहरु पनि रकम संकलन अभियानमा जोडतोडका साथ लागे ।

सबै मिलेपछि रकम संकलन हुन कति बेर पो लाग्छ र ? जनसम्पर्क समिति अमेरिकाले पनि आफै र विभिन्न च्याप्टरहरुमार्फत नगद र बैंकमा गरी ७३ हजार अमेरिकी डलर संकलन गर्न सफल भयो । यो रकम नेपालका भूकम्पपीडितका लागि तत्कालिन र दीर्घकालिन राहत उपलब्ध गराउने प्रतिबद्धताका साथ संकलन गरिएको थियो ।

कहाँ खर्च भयो साढे ३१ हजार ?

सोही प्रतिबद्धता अनुशार नेपाली जनसम्पर्क समिति अमेरिकामा सभापति आनन्द बिष्ट भूकम्प लगत्तै सन् २०१५ को मे महिनामा नेपाल गए । उनले भूकम्पपीडितका लागि लगेको रकममध्ये १८ हजार अमेरिकी डलर माउपार्टी नेपाली काँग्रेसले भूकम्पपीडितका लागि खोलेको कोषमा जम्मा गरिदिए । विभिन्न देशमा रहेका भातृसंगठनहरुबाट संकलित रकम माउपार्टी नेपाली काँग्रेसको मूल कोषमार्फत राहतमा खर्च गर्ने योजना अनुशार उनले १८ हजार अमेरिकी डलर पार्टीको खातामा जम्मा गरिदिएका थिए । बाँकी रहेको ९ हजार अमेरिकी डलर उनले धादिंग, गोरखा, काठमाडौं र काभ्रेमा जस्तापास्ता, टेन्ट र खाद्यसामाग्री वितरणमा खर्च गरे । त्यही रकममध्येबाट ४० हजार काठमाडौंको जिल्लाका एकजना भूकम्पपीडित बालकको घर निर्माणका लागि प्रदान गरिएको थियो ।

यसरी सभापति बिष्टले भूकम्पपीडितका लागि संकलित रकममध्ये २७ हजार अमेरिकी डलर भूकम्पपीडितकै लागि खर्च गरेको देखिन्छ । यसबारेमा खसोखास साप्ताहिकले खर्चका सम्पूर्ण बिल र भौचरहरु प्राप्त गरेको छ । प्राप्त बिल र भौचरहरुलाई आधारमान्ने हो भने खर्च गरिएको २७ हजार अमेरिकी डलरमा शंका गर्नुपर्ने कुनै ठाउँ देखिन्न । यसको विवरण सभापति आनन्द बिष्ट सहितको टोलीले उतिबेलै पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरेको थियो । त्यो बाहेक गत जनवरीमा दोलखाका भूकम्पपीडितहरु शितलहरबाट पीडित भएपछि ४५ सय अमेरिकी डलरका कम्बलहरु राहत स्वरुप प्रदान गरिएको थियो । त्यतिबेलै १६ लाख रुपैया सदस्यताबापत जम्मा भएको रकम पनि नेपाली काँग्रेसको खातामा जम्मा गरिएको थियो । त्यो रकम सदस्यताबापत जम्मा भएको र भूकम्पपीडितका लागि संकलित रकमसँग त्यसको सरोकार नभएको सभापति बिष्टले बताएका छन् ।

अनि सुरु भयो बबण्डर

भूकम्पपीडितका लागि संकलित ७३ हजार अमेरिकी डलरमध्ये साढे ३१ हजार खर्च भइसकेपछि अब खातामा बच्नुपर्ने थियो, ४१ हजार ५ सय डलर । तर भूकम्पको ठ्याक्कै एकबर्षपछि सन् २०१६ को अप्रिलमा जनसम्पर्क समितिको खाता चेक गर्दा भूकम्पपीडितका लागि संकलित रकम एकपेनी पनि देखिएन । बरु उल्टै भूकम्पपीडितका लागि संकलित ४१ हजार ५ सय सहित जनसम्पर्कसमितिको अरु ३५ सय डलर पनि गायब भयो । अर्थात् खाताबाट अचानक ४५ हजार डलर गायब भएको देखियो । अचानक खाताबाट ४५ हजार डलर गायब भएपछि सुरु भयो बबण्डर ।

नेपाली जनसम्पर्क समितिको बार्षिक ट्याक्स फाइल गर्ने समय भएपनि कोषाध्यक्षले ट्याक्स फाइल गर्नमा रुची देखाएका थिएनन् । त्यसपछि अध्यक्ष आफै सीपीएकोमा पुगेर ट्याक्स फाइलका लागि अनुरोध गर्दा सीपीएले बैंक स्टेटमेन्ट ल्याउन आग्रह गरे । बैंक स्टेटमेन्टका लागि बैंकमा पुग्दा खाताबाट ४५ हजार अमेरिकी डलर गायब भएको देखियो । महासचिव मुनिन्द्र नेम्बाङ र कोषाध्यक्ष विजय थुलुङको मिलोमतोमा ४५ हजार डलर गायब पारिएको सभापति आनन्द बिष्टको दावी छ ।

कहिले कहिले कति निकालियो रकम?

खाताबाट रकम हराएपछि कुन कुन मितिमा कति कति रकम निकालियो भन्नेबारे खोजिनीति सुरु भयो । खोजी गर्दै जाँदा सन् २०१६ को जनवरी २६ मा १०२४ नम्बरको चेक प्रयोग गरेर २५ सय अमेरिकी डलर नगद निकालेको देखियो, जसमा महासचिव मुनिन्द्र नेम्बाङ र कोषाध्यक्ष विजय थुलुङले हस्ताक्षर गरेका छन् । त्यस्तै सन् २०१५ को अक्टोबर ३० मा मुनिन्द्र नेम्बाङ र कोषाध्यक्ष विजय थुलुङकै हस्ताक्षरमा ४ हजार अमेरिकी डलर नगद निकालिएको छ । त्यस्तै २८ सेप्टेम्बर २०१५ मा महासचिव मुनिन्द्र नेम्बाङ र कोषाध्यक्ष विजय थुलुङकै हस्ताक्षरमा ७ हजार अमेरिकी डलर विजय थुलुङको नाममा निकालिएको छ । सन् २०१५ कै नोभेम्बर २५ मा मुनिन्द्र नेम्बाङ र विजय थुलुङकै हस्ताक्षरमा ५५ सय अमेरिकी डलर विजय थुलुङको नाममा निकालिएको छ । त्यस्तै सन् २०१५ को डिसेम्बर २१ मा मुनिन्द्र नेम्बाङ र विजय थुलुङकै हस्ताक्षरमा विजय थुलुङको नाममा ३ हजार अमेरिकी डलर निकालिएको छ ।

सभापति आनन्द बिष्ट नेपालमा भूकम्पपीडितका लागि राहत वितरणका लागि नेपालमा गएको बखत दुईवटा चेकमा हस्ताक्षर गरेर कोषाध्यक्षलाई छाडेका थिए । बीचमा भूकम्पपीडितका लागि रकम आवश्यक परेमा सजिलो हुने भन्दै आफूले हस्ताक्षर गरेर दुईवटा खाली चेक छाडेको बिष्टको दावी छ । ती दुईवटा चेकमध्ये १००६ नम्बरको चेकबाट विजय थुलुङको नाममा ६ हजार अमेरिकी डलर निकालिएको छ भने सन् २०१५ को मे १२ मा नै । त्यस्तै अर्को चेकबाट सन् २०१५ को मे ६ मा ५ हजार डलर निकालिएको छ । यो चेक आनन्द बिष्ट (गोरख बिष्ट) का नाममा काटिएको भएपनि गोरख बिष्टका नाममा नभई सिटी बैंकको अर्कै खातामा डिपोजिट भएको बैंक अफ अमेरिकाले जनाएको छ । यो चेकपनि विजय थुलुङकै खातामा जम्मा गरिएको आशंका बिष्टको छ । त्यतीमात्र नभई एउटा चेकमा आनन्दबिष्टको किर्ते हस्ताक्षर समेत गरिएको छ । सन् २०१५ को जुलाई ७ मा आनन्द बिष्टको किर्ते हस्ताक्षरबाट विजय थुलुङको नाममा ४५ सय अमेरिकी डलर निकालिएको छ । जम्माजम्मी ४५ हजार डलर निकालिएको जनाइएको छ ।

निकालिएको ४५ हजारमध्ये २२ हजार महासचिव मुनिन्द्र नेम्बाङले गत जुलाई ७ मा जनसम्पर्क समितिको खातामा फिर्ता राखिदिएका छन् । त्यस्तै १० हजार ५ सय विजय थुलुङले जनसम्पर्क समितिको खातामा फिर्ता राखिदिएका छन् । थुलुङले आफूले निकालेकोमध्ये ७ हजार ५ सय आफैले जुलाईको पहिलो साता भूकम्पबाट भत्केको विद्यालय निर्माणका लागि नेपालमा पठाइसकेका छन् । काठमाडौंको कागलफेदीमा भूकम्पले ध्वस्त पारेको निमावि निर्माणका लागि ७ हजार ५ सय डलर दिने जनसम्पर्कसमितिले प्रतिवद्धता जनाएको थियो ।

किन पठाइएन रकम ?

भूकम्पपीडितका नाममा सकलन गरिएको सम्पूर्ण रकम किन तत्काल पठाइएन? यसबारेमा प्रश्न गर्दा सभापति बिष्टले संस्था गैर नाफामुलक फाइभ वो वान सी थ्रीमा दर्ताको प्रकृयामा रहेकाले र गैर नाफामुलक रुपमा दर्ता भइसकेपछि सरकारले कर मिनाहा गर्ने भएकाले बाँकी रकम पठाउन ढिलाई भएको बताएका छन् । कर मिनाहा नहुँदै रकम पठाइएमा भूकम्पपीडितका लागि संकलित रकमको ठूलो हिस्सा करका रुपमा बुझाउनुपर्ने भएकाले रकम पठाउनमा ढिलाई भएको उनको भनाई छ । संस्थाको गैर नाफामुलक प्रमाणपत्र प्राप्त हुनासाथ एक पेनी पनि नराखेर सबै रकम भूकम्पपीडितका लागि प्रदान गरिने बिष्टले बताएका छन् ।

भूकम्पपीडितका लागि संकलित रकम अनाधिकृत रुपमा बैंकबाट निकालेको घटनाले संगठनको गरिमामा धक्का पुगेको बिष्टको भनाई छ । आफूले भूकम्पपीडितका लागि संकलित रकममध्ये एक पैसा पनि हिनामिना गरेको कसैले पुष्टी गर्न सकेमा आफू कारवाही भोग्न तयार रहेको भन्दै बिष्टले दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन् । आगामी केन्द्रीय समितिको बैठकले कारवाहीको प्रकृया अगाडि बढाउने जनाइएको छ ।

सर्वसाधारण र मिडियाको खबरदारीले जोगियो पैसा

जनसम्पर्क समितिले भूकम्पपीडितका नाममा उठाएको रकम हिनामिना गरेकोबारे मिडिया र सर्वसाधारणले प्रश्न उठाएपछि बैंकबाट निकालिएको रकम बैंकमा नै फिर्ता भएको छ । तर अमेरिकामा रहेका नेपाली संस्थाहरुलेमात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय अन्य समुहले उठाएका रकमपनि पारदर्शी बनाउन जरुरी छ । किनभने राहतकार्यमा भ्रष्टाचार भएको र हुनसक्ने उच्च जोखिम छ ।

नेपालमा भ्रष्टाचार अत्यन्तै गम्भिर समस्याका रुपमा रहेका छ । त्यसैले भूकम्पपीडितका लागि प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगमा पारदर्शीता हुन जरुरी छ । यसैबीच विश्व बैंकले भूकम्पपीडितको आवास निर्माणका लागि नेपाल सरकारले प्रदान गर्ने राहतको योजनामाथि नै गम्भिर चासो व्यक्त गरेको छ । भूकम्पपीडितको आवासका लागि ५ सय मिलियन भन्दा धेरैको सहयोगको काम गरिरहेको विश्व बैंकले नेपाल सरकारलाई पत्र लेख्दै दाताहरुबीचको सहमति अनुशार काम गर्न र सहमतिहरु उल्लंघन नगर्न सचेत गराएको छ । त्यस्तै नेपालमै रहेका नेपालीहरुले पनि भूकम्पपीडितका लागि भनिएको राहतको दुरुपयोगका सन्दर्भमा प्रश्नहरु उठाइरहेका छन् । सरकारले भूकम्पको राहत निकालेर आफ्नो दलसम्बद्ध एनजीओहरुलाई प्रदान गरेको आरोपहरु लगाइएका छन् ।

यो मामलामा नेपालले हैटीको भूकम्पबाट पाठसिक्न जरुरी छ । हैटीको भूकम्पपछि ९ बिलियन डलर विदशी सहयोग प्रदान गरिएको थियो, जसमध्ये ३ बिलियन व्यक्तिगत तवरबाट र ६ बिलियन संस्था र सरकारी तवरबाट थियो । संस्था र सरकारी तवरबाट दिइएको १० प्रतिशत रकममात्र हैटीको सरकारसमक्ष पुगेको थियो भने स्थानीय संस्थाहरुलाई १ प्रतिशतभन्दा कम रकम दिइएको थियो । भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय दाताहरुले हैटीका संस्थाहरुमार्फत रकम प्रदान गर्न चाहेनन् । अझै पनि पाठ नसिक्ने हो भने नेपालले पनि हैटीकै जस्तो अवस्था भोग्नुपर्नेछ ।

Check 2 Check 3 Check 4 Check 5 Check 6 Check 7 Check 8

महासचिव मुनिन्द्र नेम्बाङ र कोषाध्यक्ष विजय थुलुङले बैंकबाट रकम निकालेका चेकहरु ।


Munindra Receipt

महासचिव मुनिन्द्र नेम्बाङले बैंकमा नै फिर्ता राखिदिएको रकमको रिसिप्ट ।


Nepal Expences 1 Nepal Expences 2 Nepal expences 3 Nepal Expences

भूकम्पपछि नेपालमा खर्च गरिएको ४३ लाख रुपैयाको विवरण र उक्त खर्चका  भौचर ।


 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com