शिक्षक–विद्यार्थी २२ वर्षपछि भेट्दा

हुन त नेपाली उखान नै छ– १२ वर्षपछि खोला पनि फर्कन्छ । प्राकृतिक रुपमा पनि खोलाले आफ्नो बाटो पछ्याउने मान्यता छ, उखान छ । तर, आफैले पढेको विद्यालयका विद्यार्थी भने २२ वर्षपछि पुग्दाको माहोल नै फरक बन्यो ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाढी बजारमै रहेको गौमती नमुना उच्चमाविबाट २०५१ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीहरु २२ वर्षपछि विद्यालय पुगे । विद्यार्थीहरु मात्र पुगेनन्, विद्यालयबाट सेवा निवृत्त भइसकेका कपाल पाकिसकेका शिक्षकहरु पनि विद्यालय हातामा पुगे । यो साइत जुराएको थियो फेसबुकले ।

आफ्ना कक्षा (२०५०/५१ का एसएलसी ब्याच) विद्यार्थी साथीहरुबीचमा ग्रुप च्याट बनेको थियो । सोही च्याटका आधारमा २२ वर्षपछि शिक्षक–विद्यार्थी भेटको चाँजो मिलेको थियो । यो कार्यक्रमको नाम दिइएको थियो– पुनर्मिलन कार्यक्रम ।

एसएलसीपछि भविष्य खोज्ने अध्ययन, पेशा र व्यवसायका लागि कोही बिदेशिए । कोही देशकै विभिन्न क्षेत्रमा क्रियाशील भए । फेसबुकको ग्रुप च्याटमा छलफल चलेपछि आफूहरुले अध्ययन गरेको विद्यालयमा जाने कार्यक्रम बन्यो । सोही कार्यक्रमअन्तर्गत चैत २५ गते सिन्धुलीस्थित गौमती स्कूलमै पुनर्मिलन कार्यक्रम भेटघाटको मेसो मिल्यो ।

चिनजानै रमाइलो
२२ वर्षपछिको भेटको वातावरण साँच्चै रमाइलो बनेको थियो । छुट्टै खुशी, छुट्टै उमंगको माहोल थियो । विद्यार्थीहरुले म फलाना, म फलाना भन्दै परिचय दिँदै थिए । शिक्षकहरु भन्दै थिए– मलाई चिन्यौ ? अनि के गर्दैछौं ? कता बस्छौं ? बालबच्चा कति भए ?

यस्तै–यस्तै बग्रेल्ती प्रश्नले विद्यार्थीहरु पनि आफ्ना सफलता शिक्षकहरुलाई निर्धक्क सुनाइरहेकै थिए । सानामा पढाएको अतितलाई सम्झँदै कतिखेर खुशी साट्न पाए हुन्थ्यो जस्तै गरी चिनजान भइरहेकै थियो ।

कतिपय विद्यार्थीले भने शिक्षक नै चिनेनन पनि । भनिरहेकै थिए– ‘उहाँचाहिँ कुन सर ?’ परिचयात्मक कार्यक्रममै हाँसोले हल नै गुञ्जायमान बनिरहेकै थियो । परिचयकै क्रममा विद्यार्थीहरुले आफ्ना सफलता र सिर्जनात्मक कामका लागि गरेको प्रयत्नको फेहरिस्त सुनाइरहँदा शिक्षकको मुहारमा खुशीको चमक देखिन्थे ।

लोभलाग्दो सरहरुको सक्रियता
२०५१ को ब्याचलाई पढाउने अधिकांश शिक्षकहरु विद्यालयबाट सेवा निवृत्त भइसकेका छन् । यिनै व्याचलाई विज्ञान विषय पढाउने शिक्षक दिलबहादुर कटुवाल नै अहिले प्रधानाध्यापक छन् । २२ वर्षपछि दिलबहादुर सरलाई भेटेका विद्यार्थीहरु भन्दै थिए– ‘सर त उस्तै पो देखिनुहुन्छ त ।’ यसो भनिरहँदा दिलबहादुर सरमा मुस्कान छाउँछ ।

तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद ढकाल अहिले स्कूलबाट त सेवा निवृत्त भइसक्नुभएको छ । तर उहाँ अझै पनि शिक्षण पेशामै सक्रिय हुनुहुन्छ । त्यसो त अमरदीप देवकोटा सरको सक्रियता अहिले पनि उत्तिकै लोभलाग्दो ।

पुराना प्रधानाध्यापक शेषराज दाहाल विद्यालय सञ्चालनमा मात्र अगुवा होइन । उहाँ विभिन्न सामाजिक काममा पनि अहिले पनि उत्तिकै सक्रिय । शिक्षण पेशासँगै पत्रकारिताका अग्रज शेषराज सरको जीवन शैली लोभलाग्दो छ । अझै पनि उहाँमा कुनै थकानको महशुस छैन ।

त्यसो त गोकर्ण थापा सर अझै पनि शिक्षा सेवामै हुनुहुन्छ । गौमतीबाट रिटायर्डपछि सिन्धुली बजारमै रहेको सिद्धस्थली स्कूलमा लगानीकर्ताका साथै शिक्षण पेशामै हुनुहुन्छ । उहाँहरुको सक्रियता हेर्दा शिक्षण पेशा कहिल्यै थकान मार्ने पेशा नभएको पुष्टि पनि हुन्छ ।

शंकर ढकाल सर अझै पनि विद्यालयमै अध्यापनरत हुनुहुन्छ । बैकुण्ठ थापा, निलिमा भट्टराई, नारायणविक्रम थापा सरहरु पनि विद्यालयमै अध्यापनरत हुनुहुन्छ । अच्युतम अधिकारी, नारायण देवकोटा सर भने अहिले घरमै आराम गरेर बस्नुभएको छ । विष्णुमोहन शमसेर लामा सर भने राजनीतितिर सक्रिय हुनुभएको छनक परिचयात्मक कार्यक्रमबाट थाहा भएको छ ।

सरहरुलाई सम्मान
परिचयात्मक कार्यक्रमपछि गौमती २०५१ टीमले आफूहरुलाई पढाउने शिक्षकहरुका लागि सम्मान गरेको थियो । सम्मान कार्यक्रम केही फरक शैलीकै थियो ।

कुनै मञ्च सजिएको थिएन । कुनै प्रमुख अतिथि पनि थिएन । तर सम्मान कार्यक्रम भव्य थियो । विद्यार्थीहरु फर्केर गौमीतमा भएको यो सम्मान कार्यक्रम नै पहिलो थियो । थिए त शिक्षक र भूपू विद्यार्थी मात्र ।

दोसल्ला, सम्मानपत्र, डायरी र कलमबाट सम्मान गरिएको थियो । विद्यार्थीहरुको तीन÷तीन जनाको समूह बनाएर सम्मान गरिएको थियो । पालैपालो सम्मान गरिएको कार्यक्रममा शिक्षक र विद्यार्थीहरुबीचको साइनो सम्बन्ध अझ दिगो र प्रगाढ बनिरहेको महशुस गर्न सकिन्थ्यो ।

दिलबहादुर सरले त ठट्यौली पारामा ‘विद्यार्थीहरु त सम्धी–सम्धी पो पर्ला जस्तो भइसकेछन् ?’ भन्दै गर्दा हल गुन्जयमान बनेको थियो ।

शिक्षकहरु कृष्णप्रसाद ढकाल, अमरदीप देवकोटा, शेषराज दाहाल, गोकर्ण थापा, दिलबहादुर कटुवाल, शंकर ढकाल, अच्यतम अधिकारी, नारायण देवकोटा, नारायणविक्रम थापा, निलिमा भट्टराई, विष्णुमोहन शमसेर लामा, यशोदा दाहाल, शम्भु ढकाल, ओम प्रधान, विनोद श्रेष्ठ, सुरेश मिश्रलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायकहरु शिव र केदारलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानपछि सम्वाद
सम्मान कार्यक्रमपछि कार्यक्रम सञ्चालक हरि लामाले टीमको उद्देश्य र आपसी सम्वादबारे प्रष्ट गर्दै कार्यक्रम अघि बढाउन गौमती २०५१ का संयोजक डण्ड गुरुङलाई जिम्मा लगाएका थिए । संयोजक गुरुङले गौमती २०५१ स्थापनाको उद्देश्य र औचित्यका बारेमा स्पष्ट गर्दै आगामी दिनमा विद्यालयसँग सहकार्य गर्न सकिने विषयवस्तुबारे शिक्षकहरुसँग छलफल गर्न चाहेको बताएका थिए ।

शिक्षकहरुले बोल्ने क्रममा शंकर ढकालले विद्यालयमा छात्रा शौचालय, पिउने पानीको अभावका साथै भौतिक र शैक्षिक सामग्रीको अभाव रहेको बताउनुभयो । विद्यार्थीहरुले सक्ने हो भने सकेको सघाउन आग्रहसमेत गर्नुभयो ।

अहिले विगतको तुलनामा विद्यालय धेरै सक्षम भएको भन्दै प्रधानाध्यापक कटुवालले विद्यालयलाई थप स्रोत साधन सम्पन्न बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कृष्णप्रसाद ढकाल, अमरदीप देवकोटा, गोकर्ण थापा, शेषराज दाहाल, नारायण थापा लगायतका शिक्षकहरुले विभिन्न पक्षमा धारणा राख्नुभएको थियो । पूर्वविद्यार्थीहरुलाई थप प्रगति गर्न र विद्यालयलाई पनि सकेको सघाउन उहाँहरुको आग्रह थियो ।

विद्यालयलाई खाँचो, विद्यार्थीको चासो
अहिले विद्यालयमा विद्यार्थी संख्या पनि ह्वात्तै बढेको छ । दुई हजारको हाराहारीमा विद्यार्थीहरु छन् । स्रोत साधन पनि विगतको दाँजोमा बढेकै छ । तर पर्याप्त भने छैन ।

विद्यालयमा विद्यार्थीको संख्या बढेको छ । तर सोही अनुरुपको शौचालय नहुँदा समस्या छ । अझ छात्राका लागि शौचालयको बढी अभाव खड्किएको छ ।

पर्याप्त कक्षा कोठा छैनन् । त्यसका लागि थप भवन बनाउनुपर्ने खाँचो छ । पुस्तकालयमा पुस्तकहरु पर्याप्त उपलव्धता हुन जरुरी छ । कम्पयुटर शिक्षा अहिलेको आवश्यकता हो । त्यसका लागि कम्प्युटर कक्षालाई अझ बढी प्रविधियुक्त बनाउनुपर्ने खाँचो छ ।

विद्यार्थी संख्यासँगै पर्याप्त सुद्ध पिउने पानीको व्यवस्था हुन सकेको छैन । इनार खनेर पिउने पानीको जोहो गर्न सकिएला कि भन्ने विद्यालयलाई लागेको छ । तर विद्यालयसँग स्रोत छैन ।

कक्षा कोठामा पर्याप्त डेक्सबेञ्च भएपनि टुटफुट भइरहने भएकाले अभाव निरन्तर नै रहने गरेको छ । यो अभाव विद्यालय स्थापनादेखि अहिलेसम्मै छ । तर समाधानका लागि विद्यालयले भरमग्दुर प्रयत्न भने गर्दै आएको छ ।

विद्यालयका समस्याहरुबारे छलफल गरेपछि गौमती २०५१ टीमले निकट भविष्यमै विद्यालयका लागि केही गर्ने अठोट गरेको छ । विद्यालयमा रहेको समस्यामध्ये केही समस्या टार्ने प्रयासमा गौमती २०५१ रहेको छ ।

धेरैपछि सँगै भोजन 
शिक्षक र विद्यार्थीहरु २२ वर्षपछि भेटेका शिक्षक र विद्यार्थीबीच सामूहिक खाना खाए । विद्यार्थीहरुले आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा शिक्षकहरु पनि सहभागी मात्र भएनन् । सुखदुखका सम्वादसहितको भोजन भयो ।

सरस्वती पूजाका बेला सामूहिक रुपमा प्रसाद खाने बाहेक शिक्षक र विद्यार्थीहरुबीचमा स्कूल जीवनमा सँगै भोजन भएको थिएन । तर २२ वर्षपछिको भेटमा सामूहिक भोजन हुँदाको रमाइलो छुट्टै थियो ।

चाँडै भेट्ने बाचा
धेरैपछि भेट भएका विद्यार्थीहरु एकापसमा चाँडै भेट गर्ने बाचासहित आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए । कोही काठमाडौंतिर लागे भने सिन्धुलीमै बसोबास गर्दै आएका पूर्वविद्यार्थीहरु आ–आफ्नो गन्तव्यतिर लागेका थिए ।

सम्मान तथा पुनर्मिलन कार्यक्रममा संयोजक गुरुङसहित हरि लामा, कुस्मा श्रेष्ठ, कल्पना कडरिया, अम्बिका कोइराला, अनिता प्रसाई, पंकज पंजियार, कुशल थापा, मनकुमारी कार्की, निदेश थापा, हरि थापा, लवदेव जोशी, शशी थापा, सरिता थापा, तेजप्रभा शाक्य, पुष्पा पंजियार, लालकुमारी घिसिङ, गणेश भुजेल लगायतका पूर्वविद्यार्थीहरुको सहभागिता थियो ।

सिन्धुलीमा खानबस्नको व्यवस्थापन भने कुशल थापाले गरेका थिए । विदेशमा रहेर पनि अभियान सफलताका निम्ति निकै सक्रियता देखाउँदै आएका डा. रितेश गुरुङ, विजय पुलामी, सन्तोष दाहाल, सानुकान्छा लगायत काठमाडौंका राजेश श्रेष्ठ, प्रकाश कायस्थ, सुन्दर कार्की, रुपेश गजुरेल लगायतका गौमती २०५१ ले आगामी कार्यक्रममा भौतिक रुपमै सहभागी हुने विश्वास लिएको छ ।

शनिबार, चैत्र २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!