भानुभक्तको रामायण

बालकाण्ड

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।

ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी॥

क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥1॥
हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू।

बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू॥

आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई।

गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई॥2॥
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी।

अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी॥

कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ।

देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ॥3॥
काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी।

मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी॥

ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी।

धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी॥4॥
जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू।

शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू॥

स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी।

यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी॥5॥
यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी।

आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी॥

यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी।

मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी॥6॥
नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै।

ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै॥

हे नारद् सब पाप हर्न कन ता रामायणैले सरी।

आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी॥7॥
शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन्।

राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन्॥

जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन्।

कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन्॥8॥
यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या।

जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या॥

गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी।

तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी॥9॥
सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी।

भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी॥

जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या।

जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या॥10॥
पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी।

पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी॥

जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन्।

तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन्॥11॥
चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी।

पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी॥

भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या।

चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया॥12॥
जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी।

यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी॥

तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो।

यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो॥13॥
रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी॥

मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी॥

रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती।

कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती॥14॥
यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी।

शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी॥

रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो।

जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो॥15॥
जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी।

तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी॥

तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी।

सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्तो भनी॥16॥
आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू।

गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू॥

राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी।

लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी॥17॥
मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी।

पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी॥

पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी गया।

राम्गीता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया॥18॥
मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू।

छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू॥

शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासी थ्यैं जो गई।

राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई॥19॥
जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन्।

कोही श्राद्ध विषे पढुन् त तिनका पितृ़ सबै तर्दछन्॥

पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी।

आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी॥20॥
राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो।

तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो॥

दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी।

बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी॥21॥
धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर्।

पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर्॥

जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी।

पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फरि ठूलो भनी॥22॥
जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या।

जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया॥

पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि।

जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी॥23॥
कैलाश्मा भगवान् सदाशिव थिया ध्यान्मा बहुत् मन् दिई।

वाम् काख्मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई॥

एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्मा परी।

आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्मा गरी॥24॥
हे नाथ् बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्का पती।

राम् देखी अरु कोहि छैन जनका संसार तन्र्या गती।

जस्मा भक्ति गर्यो भन्या अति गभिर् संसार सागर्महाँ।

नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्कि देहै तहाँ॥25॥
यस्ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन्।

कोही तत्त्व न पाइ मूर्खहरु ता मानिस् सरी जान्दछन्॥

क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गर्या।

सीता रावणले जसै हरि दियो ठूलै विपत्मा पर्या॥26॥
ईश्वरलाइ त शोक् हुँदैन र भनूँ हूँदैन अज्ञान् पनी।

इन्मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी॥

लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्मा विचार् खुप् गरी।

जस्तो हो सब यो बताउनुहवस् सन्देह मेरो हरी॥27॥
यस्तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया।

राम् यस्ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या॥

सून्यौ पार्वति राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी।

सब् ढाकी कन बस्तछन् अघि विराट् सम्पूर्ण सृष्टी गरी॥28॥
जस्तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी।

तस्तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकारको बनी॥

यस्तो तत्त्व न जानि मानिस सरी राम्लाइ जो गर्दछन्।

संसार्का इ अनन्त ताप्हरू तिनैलाई सदा पर्दछन्॥29॥
बादल्ले अरु ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी।

लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी॥

तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी।

योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी॥30॥
जस्लाई रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी।

घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी॥

अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी।

राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्का धनी॥31॥
सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या तस्तै छ राम्मा पनी।

शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी॥

आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको।

भूभार् हर्न त को थियो जब हर्या छिन्छान् भयो कामको॥32॥
भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै।

देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै॥

सीतालाइ हुकुम् तहीं दिनु भयो सीते हनूमान् बडा।

हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा॥33॥
इन्लाई तिमि तत्त्व देउ भनि यो हूकुम् भयेथ्यो जसै।

सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै॥

आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ।

राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ॥34॥
राम्को सन्िनधि पाइ गर्छु सबको सृष्टी र पालन् पनी।

आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी॥

यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया।

विश्वामित्र निमित्त यज्ञहरुमा राखी दया मन् दिया॥35॥
जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू।

जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू॥

जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या।

बार्है वर्ष बिहा गर्या पछि बसी जो ता वनैमा पस्या॥36॥
यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि।

भन्छन् लोक त रामलाइ सबका कर्ता इनै हुन् भनी॥

अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाँ ती थिया।

मेरा गूण लिंदा त लोकहरुले कर्ता भनी पो दिया॥37॥
येती ताहिं सिताजिबाट उपदेश् पाई सक्याथ्या जसै।

आफै राम् प्रभुले पनी दिनु भयो फेर् तत्त्वको ज्ञान् तसै॥

यस्तो हुन्छ परात्म आत्म यहि हो यो हो अनात्मा भनी।

आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी॥38॥
आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू।

जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू॥

आत्माको र परात्मको गरि विचार् एक् तत्त्व जान्यो जसै।

अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै॥39॥
यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी।

तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी॥

तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्ले यै दिनू भो तहाँ।

सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ॥40॥
सून्यौ पार्वति रामको हृदय यो जो जो त पाठ् गर्दछन्।

जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन्॥

जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी।

राम्को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी॥41॥
सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै।

फेर् विस्तार् गरि सुन्नलाइ मन भी तो पार्वतीको तसै॥

बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको।

लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको॥42॥
सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी।

सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी॥

यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी।

जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी॥43॥
ई भूमी कन रावणादि विरले भारी बनाई दिया।

भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया॥

पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी।

आयाँ आज दयानिधान् चरणमा यो बिन्ति पारिन् पनी॥44॥
यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ।

दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ॥

इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै।

सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै॥45॥
देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या।

भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या।

हे नाथ् रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो।

इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्ले लियो॥46॥
यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी।

मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी॥

ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी।

रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी॥47॥
माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई।

छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई॥

सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी।

अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि॥48॥
अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी।

ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी॥

मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई।

वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई॥49॥
ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी।

इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी॥

यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ।

तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ॥50॥
ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी।

हे सर्वज्ञ मुने कसो गरि हुनन् छोरा मलाई भनी॥

यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया।

यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया॥51॥
हुन्छन् पुत्र अवश्य जल्दि महाराज् एक् यज्ञ ऐल्हे गर्या।

शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या॥

ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसैं।

चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै॥52॥
यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया।

शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया॥

ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै।

पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै॥53॥
यस् पायस् कन आज लेउ भगवान् छोरा हुन्या छन् भनी।

राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी॥

राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी।

कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी॥54॥
खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी।

कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी॥

दूवैले दुइ भाग देखि झिकि भाग् तिन्को पुर्याई दिया।

तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया॥55॥
तीनै रानी ति गर्भिणी पनि भया तेज् देवताका सरी।

देखीयो सब रानिका सकल लोक् खूसी भया तेस् घरी॥

कौशल्या जननी गराइ भगवान् श्रीराम पैदा भया।

देखिन् श्रीप्रभुको चतुर्भुज स्वरुप् सब् माइका ताप् गया॥56॥
हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी।

जान्याँ नाथ हजूरलाइ सबका आत्मा स्वरूपी भनी॥

यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ।

मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ॥57॥
देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् शरण्मा पर्याँ।

यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्याँ॥

यस्तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्का बनी।

दर्शन् देउ मलाइ हेर्छु भगवन् फेर् बाललीला पनी॥58॥
तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी।

सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी॥

यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ।

मातर् जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ॥59॥
दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ।

तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ॥

हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ।

तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गथ्र्या कहाँ॥60॥
कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी।

चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी॥

थाहा भो दशरथ्जिलाइ र गया दर्शन् गर्याथ्या जसै।

देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै॥61॥
तत्क्षण्मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्या।

कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्या॥

जम्ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी।

जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी॥62॥
तिन् रानी तिर चार पुत्र सुकुमार् जन्मी सक्याथ्या जसै।

भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै॥

कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी।

राख्या केकयिपुत्रको भरत नाम् जम्ल्याहको नाम् पनी॥63॥
जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया।

तिन्को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया॥

लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया।

पायस्कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया॥64॥
बालक्काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी।

चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी॥

खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी।

राज्काज् गर्नु जती थियो सकल त्यो राज्काज् चलाया पनी॥65॥
राम् हुन् परात्मा ति कहाँ विकारी।

यस् लोकमा छन् नररूपधारी॥

काम् गर्न लाग्या ति नरै सरीका।

लीला अपार् छन् भगवान् हरीका॥66॥
राम् नारायण हुन् भनैर मनले जान्या र भेट्छू भनी।

विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी॥

देख्या श्री दशरथ्जिले र बहुतै आदर् ऋषीको गरी।

सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम धरी॥67॥
आदर्पूर्वकका सुन्या प्रिय वचन् यस्ता ऋषीले जसै।

आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै॥

हे राजन् सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी।

गर्छू होम्हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी॥68॥
मारिच्ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी।

दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी॥

सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्मा यहाँ।

जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ॥69॥
लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ऐल्हे हजुर्ले दिया।

मारिच्लाइ सुबाहुलाइ सहजै मान्र्या इनैले थिया॥

यस्मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ।

भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ॥70॥
विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्मा पर्या।

दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्या॥

सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो यस्तो पर्यो क्या गरू।

कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू॥71॥
राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी।

इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी॥

यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो।

सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो॥72॥
यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी।

राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी॥

हे राजन् तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी।

भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी॥73॥
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या।

कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या॥

कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ।

ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ॥74॥
खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी।

सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी॥

शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार्।

हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार्॥75॥
मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी।

छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी॥

सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी।

विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी॥76॥
दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै।

खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै॥

राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया।

आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया॥77॥
केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया।

जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्दैन यस्ता थिया॥

गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ।

विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ताडका छे यहाँ॥78॥
त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्लाइ बाधा पनी।

गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी॥

विश्वामित्रजिका वचन्कन सुनी श्रीरामजीले पनी।

टङ्कार् खुप् धनुको गर्या सुनि यहाँ त्यो जल्दि आवस् भनी॥79॥
त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै।

हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै॥

यक्षी थी अघिकी सराप् परि तहाँ तेस्ती भयाकी थिई।

राम्ले मारि दिंदा त स्राप् पनि टर्यो फेर् यक्षिको रुप् लिई॥80॥
श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्ले नमस्कार् गरी।

स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्मा चढी॥

विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै।

जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै॥81॥
कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी।

फेर् सिद्धाश्रममा गया रघुपती सब्लाइ मङ्गल् गरी॥

तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्या।

मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्या॥82॥
विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ।

बस्छन् यज्ञ ठुलो गरी लिनु भया ती आउँथ्या की यहाँ॥

भेटै आज भयेन मार्नु कसरी यो मर्जि सून्या जसै।

विश्वामित्र ऋषी अरू ऋषि लिई होम् गर्न लाग्या तसै॥83॥
दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी।

मन्र्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी॥

काहीं हाड खसाउँछन् कहिं रगत् यस्तै प्रकार्ले गरी।

आया ती जब यज्ञमा प्रभुजिले हान्या अगाडी सरी॥84॥
मारिच्लाइ त बाणले जलधिका तिर्मा पुर्याई दिया।

अग्नीबाण धरी सुबाहु कन ता भस्मै गराई दिया॥

तिन्का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै।

खूसी भै कन पुष्पवृष्टि गरियो सब् देवताले तसै॥85॥
विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्लाइ काख्मा लिया।

भोजन् गर्न निमित्त राम् कन तहाँ मीठा फलादी दिया॥

तिन् दिन् ताहिं मुकाम् गर्या प्रभुजिले वार्ता कथाको गरी।

चौथा दिन् ऋषिले गर्या विनति एक् राम्का अगाडी सरी॥86॥
हे राम् जाउँ जनक्जिका पुरि महाँ राजा जनक् छन् बडा।

गर्नन् आदर भक्तिले हजुरका साम्ने हुन्या छन् खडा॥

ताहाँ एक शिवको धनुष् पनि छ बेस् देखीयला त्यो पनी।

यो बिन्ती ऋषिको सुनेर रघुनाथ् खूसी भया बेस् भनी॥87॥
विश्वामित्र र भाइ लक्ष्मण लिई श्रीराम् हिंड्याथ्या जसै।

आश्रम् गौतमको पर्यो नजरमा गङ्गाकिनार्मा तसै॥

आश्रम्का नजिकै असल् फल सहित् फुल्को बघैंचा थियो।

जन्तू नाम् त थियेन कोहि त पनी संभार्विनै त्यो जियो॥88॥
मालुम् राम्कन क्या कहीं कमि थियो जो ता जगत्का धनी।

सोध्या तै पनि यो असल् छ किन यो रित्तै बघैंचा भनी॥

विश्वामित्र थिया सबै गुणनिपुण् विस्तार् सुनाया पनी।

गौतम्को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी॥89॥
भार्या गौतमकी समान गुणकी भक्तै अहल्या थिइन्।

ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा सब् खुस् गराई लिइन्॥

गौतम् कार्य निमित्त दुर् जब गया रुप् गौतमैको सरी।

धारी गौतमपत्निका नजिकमा इन्द्रै अगाडी सरी॥90॥
आई भोग विलास् गरेर खुसि भै फर्की गयाथ्या जसै।

देख्या गौतमलाई गौतमजिले आश्चर्य मान्या तसै॥

आफ्नू रूप दुरुस्त देखि कन खुप् गौतम् रिसाया पनी।

सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी॥91॥
ब्राह्मण् इन्द्र म हूँ भनेर डरले बिन्ती गर्याथ्या जसै।

गौतम्ले पनि रीसमा परि दिया यस्तो सराप् पो तसै॥

योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी।

तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी॥92॥
दीया येति सराप् र इन्द्र पनि फेर् आफ्ना स्थलैमा गया।

पत्नीलाइ सराप् दियेर ऋषिले पत्थर् बनाईदिया॥

जन्तू कुछ् नहुनन् यहाँ अब उपर् पत्थर् भई तैं रह्यास्।

जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास्॥93॥
यस्तो सत्य सराप् पर्यो र पतिको ताहीं अहल्या पनी।

पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् स्वरुप्की बनी॥

पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी।

तिन्लाई करुणा गरी हजुरले कुल्ची दिन्या हो भनी॥94॥
यस्तो बिन्ति सुन्या जसै ति ऋषिका श्रीराम् तुरुन्तै गया।

देख्या पत्थर एक् ठूलो र रघुनाथ्ले कुल्चि दींदा भया॥

सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी।

श्रीराम्चन्द्रजिले प्रणाम् पनि गर्या ई ब्राह्मणी हुन् भनी॥95॥
देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन्।

पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन्॥

ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या।

तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या॥96॥
ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो।

पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो॥

तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन्।

डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन्॥97॥
तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ।

येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ॥

यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया।

माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया॥98॥
यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया।

श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया॥

विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी।

आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी॥99॥
पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी।

देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी॥

पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी।

जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी॥100॥
ब्रह्मन् पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी।

क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी॥

विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै।

यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै॥101॥
हे राजन् दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी।

भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी॥

मारिच्लाइ सुबाहुलाइ अरु ता को जित्न सक्न्या थिया।

राम्ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया॥102॥
पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्कि नारी थिइन्।

पाऊले तहिं कुल्चँदा उठि गइन् जस्ता कि तस्ती भइन्॥

याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ।

देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ॥103॥
चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्याथ्या जसै।

मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै॥

यै बिच्मा ऋषि थ्यैं भन्या जनकले राम्ले उचालुन् धनू।

सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू॥104॥
साँचा वाणि सुन्या र सोहि रितका बात्चित् गर्याथ्या जसै।

पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै॥

ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया।

वाम् हात्मा सहजै उचालि धनु त्यो राम्ले त लींदा भया॥105॥
ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्कै जसै।

दूई टूक भई गिर्यो उ धनु ता खूसी भया सब् तसै॥

हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्पुर् भरी।

आदर् खुप् प्रभुको गर्या जनकले आलिङ्गनादी गरी॥106॥
सीताजी पनि रामका सिर उपर् माला कनक्को धरी।

छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी॥

मालिक् हुन् दशरथ् खबर् दिनु पर्यो ती छन् अयोध्या महाँ।

जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ॥107॥
यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया।

विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया॥

यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या॥

सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या॥108॥
जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो।

क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो॥

यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ।

दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ॥109॥
ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या।

लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या॥

बस्नालाइ हवेलि सुन्दर जनक्जीले खटाया जहाँ।

खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ॥110॥
सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या।

नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या॥

जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या।

मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या॥111॥
यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको।

हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको॥

राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया।

भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया॥112॥
सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला।

पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी॥

जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी।

आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी॥113॥
विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी।

उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी॥

जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ।

जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ॥114॥
पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ।

गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ॥

राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ।

तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ॥115॥
यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी।

नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी॥

कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ।

थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ॥116॥
ताँदो यस् धनुको चढाउन जउन् विर्ले त सक्ला यहाँ।

सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ॥

जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै।

यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै॥117॥
को सक्थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी।

हिक्मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी॥

राम्ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी।

यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी॥118॥
विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी।

सीतानाथ् रघुनाथको स्तुति गर्या आनन्दमा ती परी॥

दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया।

घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया॥119॥
पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै।

पूजा फेरि वशिष्ठको पनि गर्या भारी डबल्ले तसै॥

पूजा ताहिं भरत्जिको पनि भयो लक्ष्मण्हरूको पनी।

इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी॥120॥
जानाको मतलब् बुझी जनकजी राम्का चरणमा पर्या।

खूसी मन् सबको गराइ बहुतै बीदा जनक्ले गर्या॥

सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी।

लागिन् रून र सोहि सूनि सबका आँसू खस्या बर्बरी॥121॥
सीताजी कन अर्ति यो पनि दिया सासू ससूरा सरी।

अर्को छैन बडो यही बुझि गर्या तिन्को टहल् बेस् गरी॥

स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हूनू भनी।

अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनि॥122॥
यै बिच्मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी।

स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरी अयोध्या भनी॥

राम्को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो।

शङ्का चित्त महाँ बडो भय दिन्या उल्का बहूतै भयो॥123॥
यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी।

आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी॥

पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी।

राजाका मनमा विचार् यहि पर्यो छोरा बचुन् क्या गरी॥124॥
यस्तो चञ्चल चित्तले परशुराम्का पाउतल्मा पर्या।

मेरा पुत्र बचुन् प्रभो परशुराम् भन्न्या इ बिन्ती गर्या॥

यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया।

राम्को गर्व हरूँ भनी परशुराम् राम्कै अगाडी गया॥125॥
कस्को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू।

भाँच्दैमा अति गर्व भी तँ कन ता धेरै कुरा क्या भनू॥

यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा।

भन्दै खुप् रिसले रह्या परशुराम् राम्कै अगाडी खडा॥126॥
ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू।

सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू॥

यस्ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्या।

पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्या॥127॥
यस्तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्ले अगाडी सरी।

खोसी लीनु भयो धनुष् परशुराम्को त्यो बलैले गरी॥

ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै।

ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै॥128॥
हूकुम् श्री रघुनाथको परशुराम्लाई भयो यो तहाँ।

तारो आज बताउ हान्छु अहिले ब्रह्मन् म हानू कहाँ॥

चाँडो उत्तर देउ यस् बखतमा यस्लाइ लौ हान् भनी।

तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी॥129॥
हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै।

चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै॥

बिन्ती येति तहाँ गर्या पनि हरे चिन्ह्याँ जगन्नाथ् भनी।

जस्को अंश मिल्यो र केहि भगवन् यस्तो भयाँ मै पनी॥130॥
पापी भो अति कार्तवीर्य अब ता यस्लाइ मार्छू भनी।

बालक् पो म थियाँ गर्याँ हजुरको ठूलो तपस्या पनी॥

यस्तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्को गरी।

इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई॥131॥
पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी।

एक्काईस बखत् गर्या प्रभुजिको हूकुम् छ यस्तै भनी॥

क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्जिलाई दिया।

येती कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया॥132॥
त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्मा धरी।

भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी॥

ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी।

येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्मा हरी॥133॥
मैले काम् पनि सो सबै गरि सक्याँ राम्लाइ भेट्याँ पनी।

मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी॥

मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी।

बूझ्याँ तत्त्व सबै पनी हजुरको पात्रै कृपाको बनी॥134॥
जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस्।

यो भक्ती दृढ भै प्रभो हजुरका येही चरण्मा रहोस्॥

येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्या।

इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्या॥135॥

ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी।

मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी॥

देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी।

प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी॥136॥
येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ।

सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ॥

क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी।

भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी॥137॥
बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै।

एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै॥

आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर्।

सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर्॥138॥
सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया।

कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया॥

सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी।

चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी॥139॥

इति श्रीबालकाण्ड॥

अयोध्याकाण्ड

एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही।

हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई॥

आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया।

नारद्जी कन दण्डवत् गरि तहाँ राम्जी बहुत् खुस् भया॥1॥
संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै।

यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै॥

मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस्।

त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द मन्मा रहोस्॥2॥
यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया।

नारद्ले बहुतै गर्या स्तुति तहाँ राम्लाइ मन्मा लिया॥

बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती गर्या त्यो पनी।

ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी॥3॥
भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ।

भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ॥

यस्तो हो तर गादि दीन दशरथ् राजाजिका मन् भयो।

ख्वामित्ले अब राज्यमा भुलिदिया भार् हर्नु काम् ता रह्यो॥4॥
नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी।

जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी॥

ख्वामित्का इ वचन् सुनेर बहुतै नारद्जि खूसी भया।

तिन् फेरा प्रभुको प्रदक्षिण गरी आकाश्गतीले गया॥5॥
सन्तोष्ले दशरथ्जिका मन विषे आनन्दमङ्गल् भयो।

राम्लाई अब राज्य द्यूँ भनि उसै मन् यस् लहड्मा गयो॥

यस्तो मन् हुन गो र डाकि गुरु थ्यैं यस्तो हुकुम् भो पनी।

भोली राज्य म दिन्छु पुत्र कन सब् सामग्रि ल्याऊ भनी॥6॥
मन्त्री डाकि हुकुम् भयो सँग रह्या जो जो कहन्छन् गुरु।

सो सो चिज् झटपट् तयार् गर अवर् सब् काम छोड्नू बरु॥

मन्त्रीले पनि यो हुकुम् सुनि तहाँ साथै गुरूका रह्या।

चाहिन्छन् जति चिज् ति खोज्न गुरुले खोलेर सब् चिज् कह्या॥7॥
मन्त्रीलाइ अह्राइ राघवजिका साथ्मा वशिष्ठै गया।

पैल्है श्री रघुनाथले गुरु भनी सम्मान गर्दा भया॥

हे त्रैलोक्यपते गुरू हुन त हूँ तिम्रो म क्या हूँ गुरू।

इन्का हुन् इ गुरू भनेर इ सबै भन्छन् भनुन् लौ बरू॥8॥
तिम्रो दर्शन पाउँला भनि यहाँ प्रोहित् भयाकै म हूँ।

गुह्यै खुल्छ भनेर डर् हुन गयो धेरै कुरा क्या कहूँ॥

खोल्न्या छैन म गुह्य चुप्प रहुँला सब् जान्दछू ता पनी।

जानी जानि म बिन्ति गर्न अहिले आयाँ हजुर्मा पनी॥9॥
भोली हुन्छ तिलक् हजुर् कन यहाँ सामग्रि जम्मा भयो।

पृथ्वीमा सुकला हवस् हजुरको सब् शास्त्रले भन्छ यो॥

सब् इन्द्रीय जितेर आज उपवास् गर्नू सिताले सँगै।

आज्ञा पाउँ म जान्छु काम् छ बहुतै सब् काम् विचार्छू म गै॥10॥
यस्तो बिन्ति गरी वशिष्ठ गुरु फेर् जस्सै गयाथ्या पनी।

राम्ले लक्ष्मणथ्यैं भन्या म तिमिलाइ काम् गर्न द्यूँला भनी॥

छैनन् भाइ भरत् पनी त तिनका खातिर् छ मेरी दया।

कौशल्या सुनि खुस् हुनिन् भनी त जो सम्चार् बताउँदै गया॥11॥
राजाले त खतम् गर्या दिन भनी क्या गर्दछिन् कैकयी।

यस्मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई॥

कौशल्या पनि यो विचार् गरि तहाँ गर्थिन् पुजा देविको।

द्यौताका मनमा भन्या ठहरियो काम् विघ्न गर्नू निको॥12॥
वाणी गै तिमि विघ्न पारि कन आउ ती मन्थरा कैकयी।

द्वी स्त्रीका घटमा पसेर तिमिले काम् सिद्ध लाऊ गई॥

द्यौताका इ वचन् सुनेर झटपट् तेस् मन्थरामा पसिन्।

कैकेयी कन खुप् भुलाउन भनी फेर् कैकयीमा पसिन्॥13॥
वाणीका वशमा पर्याकि छँदि ती जाहाँ थिइन् कैकयी।

काम् बित्ला भनि चट्पटाइ तहिं झट् त्यो मन्थरा गै गई॥

नाना छल् गरि ठिक्क पारि कन सब् वृत्तान्त विस्तार् भनी।

द्वी वर् छन् तिमि मागि ल्यौ भनि ठुलो सूचन् गरी यो पनी॥14॥
वाणीले ति भुलाइयाकि छँदि लौ भन्दी भइन् कैकयी।

राम्लाई वनवास् भरत् कन रजाइँ माग्छू म चाँडो गरी॥

द्वी वर्ले जब काम सिद्ध गरुँला द्यूँला सये गाउँ भनिन्।

बीदा दी घर मन्थरा कन फिराइ रिस् गर्न लाग्दी भइन्॥15॥
सुन्दर् वस्त्र निकालि फालि कपडा मैला शरिर्मा धरिन्।

आभूषण् कन फ्याँकि खूप रिसले खाली जमिन्मा परिन्॥

सज्जन् बेस् सुमती पनी कुमतिका सङ्ले त बिग्री गयो।

भन्छन् जो दुनियाँ उ लक्षण यहाँ ठिक् कैकयीमा भयो॥16॥
कैकेयी सित बस्नलाइ खुशिले राजा गयाथ्या जसै।

देख्यानन् र तहाँ कता गइ भनी चाकर्नि सोध्या तसै॥

क्रोधागार विषे भयाकि त बुझ्यौं कारण् छ कुन् कत्ति यो।

बूझ्याको पनि छैन गै हजुरले बुझ्नू हवस् क्यान हो॥17॥
केटीका इ वचन् सुनी कन डराइ राजा नजिक्मा गया।

कैकेयी कन क्यान यो रित गर्यौ बात् खोल भन्दा भया॥

जो भन्छू म पुर्याउँला भनि शपथ् खाँदा जसै बात् गरिन्।

राजा वृक्ष सरी गिर्या पृथिविमा यस्मा बहुन् जिद् गरिन्॥18॥
राम्लाई वनवास् भरत् कन रजाइँ देऊ भनी जिद् गरी।

द्वी वर्ले यहि द्यौ दिंदौन त भन्या बाँच्नू त मुर्दा सरी॥

भोली येति कुरा भयेन त भन्या मन्र्याछु विष् खाइ म ता।

भन्न्या येति कुरा सुनी फिरि गिर्या राजा जमिन्मा यता॥19॥
त्यो रात् वर्ष समान् व्यतित् हुन गयो राजा ति मूर्छा भया।

सब् सामग्री तयार् गरीकन बिहान् मन्त्री हजुरमा गया॥

देख्या चाल् र महाविचार् हुन गयो सोध्या पर्यो क्या भनी।

विस्तार पाइ सुमन्त्र राम् लिन गया आया तहाँ राम् पनी॥20॥
राजालाइ त दुःख सुक्ख हुनको कारण् तिमी छौ भनी।

वन्मा गै तिमी राज्य द्यौ भरतलाइ भन्दी भइन् यो पनी॥

यस्ता बात् सुनि बात् गर्या प्रभुजिले सुन्छ्यौ कि माइ कैकयी।

राजा खूसि रहुन् म जान्छु वनमा के काम् छ घर्मा रही॥21॥
गाह्रो कत्ति नमानि जान्छु वनमा राजा त बोलुन् भनी।

बोल्याको प्रभुको वचन् सुनि तहाँ बोल्छन् ति राजा पनी॥

हे राम्चन्द्र मलाइ आज तिमीले बाँधेर राज्यै गरी।

झुट्टा दैखि बचाउ पाप् तिमि कनै लाग्दैन यस्तो गरी॥22॥
राजा येति भन्या र फेर् पनि विलाप् खुप् गर्न लाग्दा भया।

राजाको बुझियो र आशय तहाँ राम्चन्द्र माइ थ्यैं गया॥

कौशल्या पनि भक्तिले हरिजिका ध्यान्मा रह्याकी थिइन्।

राम्जीलाइ न देखि कत्ति न छुटाइ ताना प्रभूमा दिइन्॥23॥
सुमित्राले भन्दा पछि पलक माइका खुलि गयो।

प्रभूलाइ देख्ता अधिक मन सन्तोष् पनि भयो॥

खुसीले काख्मा ली कन जब भनिन् खाउ कछु भनी।

सुनी राम्ज्यू भन्छन् अब त कति खाँला नि म पनी॥24॥
गयो खान्या वेला म कन त मिल्यो राज्य वनको।

भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको॥

बिदा बक्स्या जावस् खुसि सित म जान्याछु वनमा।

म चाँडै फिन्र्याछू विरह न हवस् कत्ति मनमा॥25॥
वचन् सुन्दा मूर्च्छा परि कन उठ्याकी छँदि तहाँ।

भनिन् कौशल्याले अब म तिमिलाइ छोड्दछु कहाँ॥

भन्या राजाले ता तर म तिमिलाइ रोक्दछु यहाँ।

कि साथै लैजाऊ म कन तिमि जान्छौ अब जहाँ॥26॥
तिमीलाइ बीदा दी म कसरि यहाँ दुःख सहुँला।

बरू प्राणै त्यागी यमपुरि महाँ जाइ रहुँला॥

विलाप् कौशल्याको यति सुनि दयाले भरि भयो।

तहाँ लक्ष्मण्को मन् तब अरु उपर् रिस् हुन गयो॥27॥
नजर् दी राम्ज्यूमा अरु सित उठ्याको रिस बढाइ।

गर्या बिन्ती राम् थ्यैं अब भरत थ्यैं गर्दछु लडाइ॥

हजुर्को राज् हन्र्या जति जति त छन् मार्छु सबलाइ।

पितै बाँध्छू पैल्हे भनि कन भन्या क्या छ अरुलाइ॥28॥
चढ्या जावस् गादी सकल रिपुको नाश् म गरुँला।

यसै काम्ले माइका सकल मनको शोक हरुँला॥

सुन्या लक्ष्मण्जीका इ वचन जसै राम् खुसि भया।

बुझाया विस्तार्ले पनि तहिं ठुलो ली कन दया॥29॥
सुन्यौ भाइ संसार्मा शरिर अति कच्चा छ जनको।

शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको॥

सबै भोग् चञ्चल छन् बिजुलि सरि एक् छिन् न रहन्या।

विचार् यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या॥30॥
भ्याग्तो खाँ भनि खोज्छ डाँस् मुख विषे साँप्ले धर्याको पनी।

तस्तै भोग् गरुँला भनेर मनले भन्छन् दुनीयाँ पनी॥

क्याको रस् छ यहाँ विचार मनले काल्सर्पको मुख् परी।

क्या होला वन जाउँला इ सबलाइ आनन्द राखुन् हरी॥31॥
देश् देश्का बाटुलिन्छन् बुझ तिमि मनले बाटका पाटि माहाँ।

बात्चित् गर्दै रहन्छन् खुसि सित मनले बन्धु झैं राति ताहाँ॥

प्रातः काल् भो जसै ता उठिकन ति सबै दस् दिशा लागि जान्छन्।

बन्धूको सङ्ग यस्तै बुझि कन गुणिले दुःखसुख् एक मान्छन्॥32॥
छाया तुल्य छ लक्ष्मि यौवन भन्या भेलै सरीको भनी।

भन्छन् स्त्रीसुखलाइ स्वप्न सरिको साँचो कुरा हो भनी॥

यस्तै जानि पनी मनुष्यहरु सब् संसारमा भुल्दछन्।

भुल्नैका वशले अनेक् फजितिले संसारि भै डुल्दछन्॥33॥
जुन् यस् देह निमित्त यो रिस गर्यौ चिन्छौ कि कस्तो छ यो।

हाड् मासू र रगत् नसा यति कुरा जम्मा भई बन्छ यो॥

विष्ठा हुन्छ कि भस्म हुन्छ पछि तक् बाँच्तैन यो ता कसै।

यस्का खातिर घात् गर्यौ पनि भन्या पाप्मात्र लाग्ला उसै॥34॥
क्रोधै हो यमराज सर्व जनको वैतर्नि भन्नू पनी।

तृष्णा हो भनि यो बुझेर तिमिले कैल्हे नबिस्र्या पनी॥

सन्तोष् लाइ बुझि कामधेनु सरिको सन्तोष मन्ले रहू।

रिस् गर्नु बढिया त छैन वनमा जानू असल् हो सहू॥35॥
यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।

कस्तै कोहि हवस् अवश्य करले जानू छ जाहाँ गई॥

कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।

आमैले यहि बात् बुझीकन बिदा दीनू हवस् हामिलाइ॥36॥
यो बिन्ती गरि पाउमा जब पर्या बीदा दिई मन् बुझाइ।

आँसू थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ॥

आशीर्वाद वचन् समेत् मिलिगयो ताहाँ बिदा रामलाइ।

लक्ष्मण्ले पनि साथ जान्छु म भनी बिन्ती गर्या जानलाइ॥37॥
लक्ष्मण्लाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।

सीतालाइ तिमि ता घरै बस भनी पैल्हे त भन्दा भया॥

पङ्खा छत्र चमर् रहित् प्रभु कनै देख्ता त शङ्कित् भइन्।

क्या कारण् हुनगो भनीकन सिता हात् जोरि साम्ने भइन्॥38॥
शङ्कित् जानकिलाइ देखि प्रभुले तीमी घरैमा यहाँ।

सासूको टहलै गरी कन रहू वर्षै त चौधै महाँ॥

पीताको वचनै लिई सिर उपर् जान्छू म वन्मा प्रिये।

चौधै वर्ष बिताइ जल्दि म यहाँ फिन्र्या छु निश्चै श्रिये॥39॥
यस्ता बात् प्रभुका सुनी कन तहाँ सीताजि मूर्छा परिन्।

पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥

सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।

ब्राह्मण् खूसि सदा रहुन् भनि तहाँ दौलत् बहूतै दिया॥40॥
कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मण्जिले बिन्ति लाइ।

माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥

येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।

सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥41॥
बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।

यस्तो देखि असह्य भो र दुनियाँ सब् शोक गर्दा भया॥

सीताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।

सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥42॥
यो अन्याय भयो यहाँ त न बसौं जाऔं प्रभूका सँगै।

राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता न गै॥

यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनी।

सब् विस्तार् गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनी॥43॥
हे लोक् हो अति गर्दछौ तिमि त शोक् यो शोक ता छाडि द्यौ।

साक्षात् विष्णु इ हुन् भनेर मनले श्री रामलाइ जानि ल्यौ॥

पृथ्वीको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।

साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ॥44॥
यस् बात्ले ऋषिले मनुष्यहरुको खुप् मन् बुझाई दिया।

पौंच्या राम् पनि कैकयी र दशरथ् जाहाँ बस्याका थिया॥

हे मातर् वन जानलाइ अब ता आयौं जना तिन् चली।

बीदा जान मिलोस् म जान्छु वनमा रिस् राग् रतीभर् न ली॥45॥
आज्ञा जान मिलोस् पिताजिकि पनी जान्छू सदा खुस् म छू।

दुख् पाउनन् कि भनी पिताजिकन शोक् मन्मा न लागोस् कछू॥

कैकेयी यति बात् सुनी खुसि भई बस्तर् पुराना दिइन्।

लाया श्री रघुनाथले ति कपडा सीताजिले ता लिइन्॥46॥
यस्ता वस्तर म लाउँ आज कसरी भन्न्या मनैमा धरी।

लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी॥

श्रीराम्ले मुटुरा गरी ति कपडा हात्मा जसै ता लिया।

त्यो देखी कन राजपत्निहरु सब् रोया तहाँ जो थिया॥47॥
दुष्टे आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।

यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैचि ऐल्हे लियौ॥

कैकेयी सित बात् वशिष्ठ गुरुले येती गर्याथ्या जसै।

बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥48॥
सीताराम् वनमा चल्या रथ चढी लक्ष्मण् गया साथमा।

वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस् रातमा॥

सुन्दर् एक् तमसा नदी तहिं थिइन् तिन्का दुवै तिर् भरी।

आयो लस्कर राम्जिका सँग बस्यो खाली अयोध्या गरी॥49॥
फिर्नन् ता रघुनाथ् सँगै फिरियला जानन् चलौंला सँगे।

राम्लाइ छोडि यहाँ कसो गरि बसौं काहाँ बसौंला न गै॥

यस्तो सुर् प्रभुले बुझी कन तहाँ युक्ती गर्या छल्नको।

प्रातःकाल भयो उठेर झटपट् मन्सुब् गर्या चल्नको॥50॥
फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।

फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥

यस् रित्ले दुनियाँ फिराइ सहरै श्री राम् वनैमा गया।

गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥51॥
सुन्दर् वृक्ष थियो ठुलो तिर विषे एक् शिंशपाको तहाँ।

दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ॥

फल् फुल् ली कन भेट्नलाई गुहजी आया बडा हर्षले।

निर्मल् देह भयो तसै बखतमा श्रीरामका स्पर्शले॥52॥
मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् गर्याँ बिन्ति यो।

सेवक् हूँ करुणानिधान् मकन होस् माया र मर्जी छ जो॥

यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे आज ता।

वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छू म ता॥53॥
कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनी।

भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिज्ञा भनी॥

मेरै हौ तिमि राज्य जो छ उ पनी मेरै छ भन्दा भया।

बर्को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥54॥
जल्पान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।

लक्ष्मण्का सँगमा रही गुह पनी रात् भर् खडा भै रह्या॥

सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ।

साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढन् गो मन् महाँ॥55॥
भन्छन् लक्ष्मण्लाइ भाइ फजिती खुप् कैकयीले दिइन्।

राजालाइ वशमा गरेर बहुतै हुर्मत् प्रभूको लिइन्॥

लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल् भित्र ठंडा गरी।

लाग्या सुन्न पनी तहाँ गुहजिले तन् मन् वचन् सब् धरी॥56॥
दाता को छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।

दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको॥

कर्ता हूँ पनि भन्नु छैन अभिमान् जन्ले न गर्नू कहीं।

कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥57॥
धीरा भै रहनू विपत्ति सहनू कस्तै परुन् ता पनी।

कैल्हे मोह विषे न पर्नु जनले माया छ संसार् भनी॥

यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजिक्मा रही।

गङ्गा तर्न हुकुम् भयो प्रभुजिको ताहाँ उज्यालो भई॥58॥
फिर्दामा म पुजा अवश्य गरुँला सामग्रि ठूलो गरी।

गङ्गे आज म जान्छु घोर वनमा केवल् नमस्कार् गरी॥

यस्तो बिन्ति गरी सितापतिजिका साथै चलिन् पार् तरी।

आज्ञाले घरमा फिर्या गुह पनी भक्ती मनैमा धरी॥59॥
गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ।

तेस्रो वास् रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ॥

चौथो वास् रघुनाथको हुन गयो आश्रम् भरद्वाजको।

राम्ज्यूको ऋषिले गर्या स्तुति तहाँ सुर् जानि काम्काजको॥60॥
पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।

राम्ज्यूलाइ यमुनाजि तारि ति कुमार् साँझ्मा त फर्क्या पनि॥

सीताराम् पनि चित्रकुट् पुगि गया वाल्मीकि बस्थ्या जहाँ।

वाल्मीकी कन दण्डवत् गरि बहुत् आनन्द मान्या तहाँ॥61॥
वाल्मीकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।

कुन् जग्गा बढिया छ सब् तरहले होला सुबिस्ता कहाँ॥

सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले गर्याका कुरा।

सोही माफिक बिन्ति बात् पनि गर्या वाल्मीकि छन् झन् पुरा॥62॥
जान्दैनन् महिमा बडा ऋषि पनी जस्का त एक् नामको।

यस्ता हौ रघुनाथ् हजूर् कन यहाँ क्या काम् असल् ठामको॥

सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर् कहाँ।

विस्तार् एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ॥63॥
व्याधा हूँ अधिको म सप्तऋषिका निर्मल् कृपाले गरी।

वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम्नाम उल्टा गरी॥

उल्टै नाम कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।

गङ्गाका र इ चित्रकूट गिरिका बिच्का जगामा रहू॥64॥
वाल्मीकि ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।

गङ्गाका र ति चित्रकूट गिरिका बिच् पारि बस्ता भया॥

गङ्गा देखि सुमन्त्र फर्कि दशरथ् जाहाँ बस्याका थिया।

ताहाँ जल्दि गयेर जो छ समचार् बिल्कुल् सुनाई दिया॥65॥
बर्को दूद घसी जटा मुकुट झैं बाँध्या दुवै भाइले।

फिर् लौ जा भनि यो हुकुम् तहिं दिया राम्ले सिता माइले॥

गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।

छोड्याँ देख्न जसै रुँदै रथ लिई दौडेर आयाँ यहाँ॥66॥
सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको।

हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको॥

यस्ता बात् गरि राम् गया भनि सबै बिस्तार् सुनाया जसै।

कौशल्या दशरथ्जिलाइ रिसले वाग्बाण् बजारिन् तसै॥67॥
वाक्शर्ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।

भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरिर्ले गती॥

ऐल्हे मर्छु सराप् पनी छ तिमिले खुप् पुत्रशोक्ले गरी।

जस्तै हामि मर्यौं उसै गरि मर्या ठूलो विपत्ती परी॥68॥
येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी।

तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥

सब् विस्तार सरापको कहि सकी हा राम सीता गरी।

प्राणै त्याग् दशरथ्जिले जब गर्या खल्बल् पर्यो तेस् घरी॥69॥
प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दरबार् गया।

तेल्मा ती दशरथ्जिलाई धरि फेर् छोरा झिकाई लिया॥

चाँडै आउनको वशिष्ठ गुरुको आज्ञा छ भन्न्या सुनी।

दूतैका सँग लागि भाइ कन ली आया भरत्जी पनि॥70॥
कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।

सब् वृत्तान्त गरी भरत् कन त सब् विस्तार् सुनाइन् तहाँ॥

सून्या शोक् मनमा पर्यो भरतका साह्रै रिसाया पनी।

पापी हौ तिमि कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी॥71॥
कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।

कौशल्याजि जहाँ थिइन् तहिं रुँदै धाउँदै भरत्जी गया॥

हे मातर् मनमा कदापि न परोस् मत् छैन मेरो रती।

पाप् लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मार्या जति॥72॥
बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्जी तहाँ।

मन्त्रीवर्ग समेत् वशिष्ठ गुरुजी पाँच्या नजिक्मा तहाँ॥

देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी।

शोक् गर्नु बढिया त छैन किन शोक् गर्छौ महाराज् भनी॥73॥
नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरूले हर्या।

सब् आज्ञा गुरुको लिई भरतले काम्काज् पिताको गर्या॥

राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी।

तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी॥74॥
माता मेरि त राक्षसी सरि भइन् इन्का नजिक्मा यहाँ।

बस्नू योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥

यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।

मालुम् ता गुरुमा थियो तर पनी भन्छन् उचित् हो भनी॥75॥
बाबाको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।

चौधै वर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर् भई॥

सीताराम् यहि बातले वन गया याहाँ हजुर्ले पनी।

गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी॥76॥
यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ।

उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥

कीर्तीमा अपकीर्ति पारि कसरी राज् गर्नु याहाँ बसी।

दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी॥77॥
गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।

फगत् एक् कैकेयी यहिं बसि रहुन् छोड्दछु यहाँ॥

फलाहारी हुन्छू सिर भरि जटा धारि वनमा।

म भोली जान्याछू हिंडि कन विचार् यै छ मनमा॥78॥
प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा।

म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा॥

भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।

भरत् भोली बेरै उठि कन सबेरै हिंडि गया॥79॥
सबै माता भ्राता गुरु सहित सब् फौज पनि ली।

फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥

भरत् गंगा पौंच्या गुहजि कन शङ्का हुन गयो।

ठुलो लस्कर् देख्या न बुझि कन तार्नै डर भयो॥80॥
लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।

भनी मन् भै लस्कर्हरु कन तयार् हौ पनि भन्या॥

ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछु भनी।

तहाँ भेटी राखी नजर तिर हेर्या कछु पनी॥81॥
जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी।

कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी॥

जसै सिर् पाऊमा गरि ति गुहले ढोग् पनि दिया।

भरत्ले अङ्कैमाल् गरुँ भनि उठाई कन लिया॥82॥
भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।

सुत्याको स्थल् कुन् हो म कन कहु जान्छु अब तहाँ॥

गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।

भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा॥83॥
अहो मेरा खातिर् वन वन सिताजी पति सँगै।

कुशासन्मा सुत्छिन् न त यसरि सुत्थिन् अघि कतै॥

अहो धिक्कार् मेरी जनमजननी कैकयि भइन्।

इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥84॥
कहाँ छन् सीतानाथ् कति पर गया भेट्तछु कहाँ।

छ केही मालुम् ता म कन कहु जान्छू अब तहाँ॥

बताया जाहाँ छन् भनि ति गुहले राम् कन पनी।

गुहैका सम्चार्ले खुसि पनि भया भेट्तछु भनी॥85॥
सब् विस्तार बताइ ताहिं गुहले गंगाजि तारी दिया।

ताहाँ देखि भरत् चली पुगि गया जाहाँ भरद्वाज् थिया॥

एक् दिन् ताहिं मुकाम् गर्या भरतले सम्मान् ऋषीले गर्या।

बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् पर्या॥86॥
भोली बेर सबेर लस्कर लिई बीदा ऋषी थ्यैं भया।

कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥

खुस् भै लस्कर चित्रकूट गिरिका पौंच्या नजिक्मा जसै।

खोज्या ताहिं भरत्जिले अघि गई डेरा प्रभूको तसै॥87॥
डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या।

श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या॥

भन्छन् धन्न्यै रह्याँछू सहज न मिलन्या पाउका छाप देख्याँ।

ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ॥88॥
यस्तो बोल्दै प्रभूका चरणधुलि विषे भक्तिले लट्पटींदै।

कैल्हे पुग्छू कहाँ छन् भनि कन मनले दस् दिशा दृष्टि दींदै॥

जाँदा ताहीं भरत्ले प्रभुजि कन जसै नेत्रले देख्न पाया।

ख्वामित्लाइ आज पायाँ भनि कन खुसिले पाउमा पर्न धाया॥89॥
देख्या पाऊ पर्याको गह भरि बहँदा अश्रुधारा धर्याको।

सब् राज्यै तृण् बरोबर् गरि कन बहुतै आफुमा मन् गर्याको॥

यस्तो देखी कृपाले भरत कन तहाँ काखमा राखि लीया।

यस्तो मन् हो भरत्को बुझि रघुपतिले खुप् कृपादृष्टि दीया॥90॥
श्री सीतापति माइका चरणमा राख्या र सिर् फेर् पिता।

काहाँ छन् किन आज देख्तिन यहाँ क्या गर्दछन् छन् कता॥

भन्दै खोजि गर्या पिता कन तहाँ श्री रामजीले जसै।

सब् विस्तार वशिष्ठले भनि दिंदा शोक् गर्न लाग्या तसै॥91॥
गंगास्नान गरी तिलाञ्जलि दिया फेर् पिण्डदानै पनी॥

फल् फुल्ले रघुनाथले तहिं दिया पाउन् पिताले भनी॥

तेस् दिन्मा उपवास् गर्या जब बित्यो रात् फेरि गंगा गया।

गंगास्नान् गरि फेर् फिरेर मढिमा आयेर बस्ता भया॥92॥
तहाँ सीताराम्का चरणतलमा सिर् पनि धरी।

अयोध्यै लैजान्छु भनि कन ठुलो मन्सुब गरी॥

भरत् बिन्ती गर्छन् किन रघुपते आज वनमा।

हजुर्ले आयाको म कन अति ताप् हुन्छ मनमा॥93॥
ख्वामित् हजुर्को म त दास पो हूँ।

यो राज्य गर्ना कन योग्य को हूँ॥

यो गादि ता याहिं हजुरको हो।

मैले त सेवा गरि बस्नु पो हो॥94॥
छोरा हुनन् यज्ञ बहुत् गरीनन्।

सम्पूर्ण लोक्को पनि ताप् हरीनन्॥

तब् पो ति छोरा सित राज्य छाडी।

जानू असल् हो त छँदै छ झाडी॥95॥
वेला त यो होइन जान वन्मा।

मेरा त यै निश्चय हुन्छ मन्मा॥

जाऔं घरै फर्कि सधाइ जावस्।

मेरी इ माता सित रिस् न आवस्॥96॥
यस्ता प्रकारले गरि बिन्ति गर्दै।

आँखा भरी आँसु बहूत धर्दै॥

रोया भरत्ले जब पाउमा गै।

बोल्या प्रभूले पनि खूसि मन् भै॥97॥
हे भाइ गर्छौ किन आज जिद्दी।

फिर्नू असल् छैन र काम् न सिद्धी॥

जान्छू म वन्मा तिमि फर्कि जाऊ।

यस् राज्यको काम् तिमिले चलाऊ॥98॥
राम्ले वनै गै मुनिभेष धर्नू।

याहीं भरत्ले बसि राज्य गर्नू॥

भन्न्या पिताको जब सुन्न पायाँ।

आज्ञा उसैले वन जान आयाँ॥99॥
ई बात् भरत्ले जब सुन्न पाया।

फेरी चरण्मा परि बिन्ति लाया।

हे नाथ् पिता हुन् मतिहिन् भयाका।

स्त्रीका त साह्रै वशमा पर्याका॥100॥
उन्ले भन्याथ्या पनि राज्य छाडी।

जानू असल् होइन आज झाडी॥

ख्वामित् बहुत् बिन्ति छ फर्कि जाऊँ।

फर्कन्न भन्न्या त जवाफ् न पाऊँ॥101॥
यस्तो भरत्ले जब जिद्दि लीया।

उत्तर् प्रभूले पनि फेरि दीया॥

फर्कन्न भैय्या तिमि फर्कि जाऊ।

पिताजिलाई पनि दोष् न लाऊ॥102॥
खुप् सत्यवादी त पिताजि थीया।

साँचै हुनाले वरदान दीया॥

सो पूर्ण गर्ना कन जान्छु वन्मा।

साँचो कुरा हो बुझि लेउ मन्मा॥103॥
उत्तर् प्रभूको सुनि दुःख मान्या।

फेरी चरण्मा परि बिन्ति लाया॥

फिर्नू हवस् ख्वामित बिन्ति गर्छु।

यस् दण्डकारण्य विषे म जान्छु॥104॥
यस्ता वचन् सूनि भरत्जिलाई।

फेरि हुकुम् भो तिमि फर्क भाई॥

यो राज्य साट्या पनि हुन्छ झूटो।

हे भाइ गर्छौ किन आज भूटो॥105॥
हुकुम् यस्तो सूनी भरत पनि राम्का चरणमा।

परी बिन्ती गर्छन् म त रघुपते छू शरणमा॥

चरण् बाहिक् एक् छिन् रहन पनि ताप् हुन्छ मनमा।

न फर्क्या ख्वामित्का पछि पछि म ता जान्छु वनमा॥106॥
न ता फर्की जान्या न त म कन लान्या वन पनी।

भन्या मर्छू ख्वामित् अब अरु कुरो केहि न भनी॥

भनी आसन् बाँधी जब मरणमा निश्चय धर्या।

खुसी भै श्री रामले पनि अति दयालू मन गर्या॥107॥
दिया सूचन् राम्ले गुरु कन बुझाऊ तिमि भनी।

गुरूले एकान्तै लगि कन भरत्जी कन पनी॥

बुझाया बात् खोली कन सुन इ जो हुन् रघपति।

जगन्नाथ् साक्षात् हुन् त्रिभुवनपतीका अधिपति॥108॥
अघी ब्रह्माजीले सकल भुमिको भार् हर भनी।

स्तुती गर्दा खुस् भै सुन म हरुँला भार् पनि भनी॥

भन्याको हूनाले उहि वचन पालन् गरुँ भनी।

प्रभू जान्छन् वन्मा पछि त सुन फिर्छन् घर पनी॥109॥
प्रभूकै इच्छा हो नतर कसरी कैकयि पनी।

वनै जाउन् भन्थिन् प्रभु कन रती तुल्य न गनी॥

कुरो यस्तो जानी न गर तिमि यो आग्रह यहाँ।

भूमीको भार् टारी कन पछि त जान्छन् प्रभु कहाँ॥110॥
रावण् मारि उतारि भारि भुमिको फिर्छन् जगन्नाथ् भनी।

यस्ता हुन् रघुनाथ् भनेर गुरुले खोलेर गुह्यै पनी॥

सब् विस्तार गरी दिया र गुरुका वाणी सुनी खुस् भया।

फर्क्यानन् रघुनाथ भनी मन बुझ्यो राम्का नजिक्मा गया॥111॥
हे नाथ् तत्त्व सुन्याँ म फिर्छु अब ता जान्छू अयोध्या महाँ।

पूजा गर्न दिनू हवस् हजुरका एक् जोर् खराऊ यहाँ॥

यस्तो बिन्ति गरी प्रणाम् वरिपरी घुम्दै भरत्ले गर्या।

आफ्ना साफि खराउ दी प्रभुजिले सब् ताप् भरत्को हर्या॥112॥
फेरी बिन्ति गर्या तहाँ भरतले लौ फिर्दछू फिर्न ता।

चौधे वर्ष समाप्ति पारि न फिर्या मन्र्याछु साँचै म ता॥

यो बिन्ती सुनि लौ भनी भरतका साम्ने हुकुम् भो तहाँ।

कैकेयी रघुनाथका चरणमा रूँदै परिन् खूप् तहाँ॥113॥
हे नाथ् दुर्बुद्धि आई अति फजिति दियाँ राज्यको घात् गराई।

मायाले मोह पार्दा मन पनि भुलि गै मेरि बुद्धी हराई॥

क्यारूँ नाथ् आज रुन्छू विपति परि गयो आज यो चेत पायाँ।

कठ्पुतली झैं नवाउँछिन् त्रिभुवनपति सब् धन्य छन् तिम्रि माया॥114॥
मेरो माया छ छोरा जन धनहरुमा यो सबै खैंचि देउ।

दुर्बुद्धी हो पछी ता शरण परि भनी खुप् कृपा राखि लेऊ॥

कैकेयी येहि पाठ्ले स्तुति गरि हरिका पाउमा सीर धारिन्।

हे नाथ् आई शरण्मा परि भनि करुणा राख यो बिन्ति पारिन्॥115॥
हाँसी सीतापतीले पनि अभय दिया जो भनायाँ भन्यौ सो।

दोष् तिम्रो छैन यस्मा बुझ तिमि मनले मेरि इच्छा त हो यो॥

मन्मा सन्तोष पाउ म कन दिन दिनै सम्झँदै दिन् बिताऊ।

छुट्नन् सब् कर्म तिम्रा रतिभर मनमा शोक् न राखेर जाऊ॥116॥
कैकेयी करुणा बुझी खुसि भई बीदा प्रभु थ्यैं भइन्।

श्री राम्का चरणारविन्द मनले भज्दै अयोध्या गइन्॥

सब् लस्कर्हरु ली भरत् पनि बिदा भै फेर् अयोध्या गया।

सब् लस्कर्हरुलाइ राखि घरमा आफू फरक् भै रह्या॥117॥
नन्दीग्राम्मा सर्याका भुमिशयन गरी रोज् फलाहार् गर्याका।

एक् गट्ठा सब् जटाको गरि कन ति खराउ गादि माथी धर्याका॥

गर्थ्या सब् राज्यको काम् त पनि सब कुरा गादिमा बिन्ति गर्दै।

यस्तै रित्ले बिताया दिन भरतजिले राममा चित्त धर्दै॥118॥
केही दिन् चित्रकुट्मा बसि कन रघुनाथ् वाल्मिकी थ्यैं बिदा भै।

जान्छू वन्मा म फिर्छू भनि कन खुसिले अत्रिका आश्रमै गै॥

अत्रीका पाउमा सिर् धरि कन म त हूँ राम् भनी नाम् बताया।

श्रीराम्का वाणि सुन्दा मन अति खुसि भै अत्रिले हर्ष पाया॥119॥
पूजा सीतपतीको गरि कन ऋषिले पाउमा बिन्ति लाया।

वृद्धा छिन् पत्नि मेरी सकल विषयमा एक् रती छैन माया॥

भीत्रै छन् आज दर्शन् दिन मढुलि विषे भीत्र सीताजि जाउन्।

सीताजीलाइ पाइ अब त ति बुढिले जन्मको सार पाउन्॥120॥
अत्रीको बिन्ति सूनी हुकुम पनि दिया लौ सिते भीत्र जाऊ।

अत्रीकी पत्नि भेटी कन अब तिमिले जल्दि फर्केर आऊ॥

आफ्ना नाथ्को हुकुम् यो सुनि कन खुसि भै भीत्र सीताजि जाई।

भेटिन् वृद्धा बहुत् भै कन बसि रहन्या अत्रिकी पत्निलाई॥121॥
सीताले पाउमा सिर् धरि कन बहुतै प्रेम् बुढीमा बढाइन्।

जोर् जोर् कुण्डल् र सारी दिइ कन बुढिले अंगराग् फेर् चढाइन्॥

यस्ले शोभा निरन्तर दृढ पनि रहला यो पनि बिन्ति लाइन्।

सीताजी लाइ आशिष् दिइ ति अनसुयाले बहुत् हर्ष पाइन्॥122॥
सीता र लक्ष्मण सहित् गरि रामलाई।

भोजन् म दिन्छु भनि खुप् सित चिज् बनाई॥

भोजन् गराइ रघुनाथकि जानि माया।

ताहाँ सपत्नि भइ रामकि कीर्ति गाया॥123॥

अरण्यकाण्ड

अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई।

दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् चिताई॥

अत्रीजीका नजिक्मा गइ कन अब ता जान्छु बीदा म पाऊँ।

रस्ता यो जाति होला भनिकन कहन्या एक् अगूवा म पाऊँ॥1॥
सीताराम्को हुकुम् यो सुनि कन ऋषिले भन्दछन् क्या पठाऊँ।

सब्को रस्ता त देख्न्या यहिं हजुर भन्या कुन् अगूवा पठाऊँ॥

चिन्छू लीला हजुर्को तर पनि अगुवा याहिं अस्सल् खटाई।

यै मर्जी पूर्ण गर्ना कन पनि अगुवा आज दिन्छू पठाई॥2॥
अत्रीले बिन्ति येति गरि कन अगुवा शिष्य धेरै खटाया।

केही रस्ता त आफैं पनि पछि पछि गै रामलाई पठाया॥

एक् कोस् तक् पौंचदामा बडि नदि बहँदी नाउले तर्नु पन्र्या।

मिल्थिन् त्यो तारि फर्क्या मढितिर ऋषिका शिष्य सब् फिर्नु पन्र्या॥3॥
सीताराम् वनमा पुग्या वन थियो साह्रै खजित्को तहाँ।

बाघ् भालू अरु दुष्ट राक्षसहरू डुल्छन् निरन्तर जहाँ॥

ताहीं पौंचि हुकुम् भयो प्रभुजिको भाई तयारी भई।

सीताका म अगाडि हिंड्छु तिमिले हिंड्नू पछाडी रही॥4॥
यस्ता बात् गरि राम लक्ष्मण तहाँ हिंड्थ्या तयारी भई।

एक् सुन्दर् वनमा तलाउ मिलि गो ठूलो छ कोस् वन् गई॥

ठण्डा जल् तहिं पान् गरेर रघुनाथ् छाया बस्याथ्या जसै।

आयो ताहिं विराध राक्षस ठुलो डर् दीन लाग्यो तसै॥5॥
को हौ स्त्री पनि साथमा छ किन यो आयौ बडा वन् महाँ।

कस्तो सुर् मनमा छ फेर् अब उपर् जानू छ इच्छा कहाँ॥

मैले सुन्दर गाँस् बनाउन असल् मान्याँ र सोध्याँ यहाँ।

सब् नाम् काम समेत् बताउ तिमिले जुन् काम् छ जान्छौ जहाँ॥6॥
राक्षस्का इ वचन् सुनी प्रभुजिले नाम् काम् बताया सबै।

बाँच्नै मन् छ भन्या सिता र हतियार् छोडेर जाऊ उसै॥

यस्तो बोलि सिताजिलाइ लिन सुर् बाँधेर राक्षस् जसै।

दौडेथ्यो रघुनाथले पनि ति हात् दूवै गिराया तसै॥7॥
जस्सै हात गिर्या तसै त रिसले खाँ रामलाई भनी।

दौडन्थ्यो मुख बाइ फेर् प्रभुजिले काट्या ति गोडा पनी॥

हात् गोडा न हुँदा त सर्प सरिको पस्र््यो भुमीमा जसै।

हात् गोडा सब काटिया त पनि फेर् घस्रेर आयो तसै॥8॥
घस्री घस्रि उ सर्दथ्यो प्रभुजिले काट्या तहाँ सिर् पनी।

विद्याधर्गण हो छुटोस् अब सराप् जावस् परम्धाम् भनी॥

राक्षस्देह मर्यो सराप् पनि टर्यो विद्याधरै फेर् भयो।

श्री राम्को स्तुति खुप् गरेर खुसि भै फेर् स्वर्ग लोक्मा गयो॥9॥
जस्सै स्वर्ग विराध् गयो प्रभुजिले रस्ता वनैको लिया।

पालन् गर्छु म योगिको अब भनी मन्मा दया खुप् लिया॥

ध्यान् गर्दै शरभङ्गजी वन महाँ जाहाँ बस्याका थिया।

ताहीं श्री रघुनाथजी खुसि हुँदै पौंचेर दर्शन् दिया॥10॥
ताहाँ श्री शरभङ्गले प्रभुजिमा तन् मन् वचन् सब् धरी।

आफ्नू कर्म जती थियो तहिं तती सम्पूर्ण अर्पण् गरी॥

अस्सल् ताहिं चिता बनाइ हरिको दर्शन् नजर्ले गरी।

ताहाँ देहदहन् गरी चलिगया संसार सागर् तरी॥11॥
मुक्ती श्री शरभङ्गको जब भयो तस्सै मुनीश्वर्हरू।

आया भेट्न भनी बहुत् खुसि भई वन्मा थिया जो अरू॥

हात् जोरी स्तुति खुप् गर्या ति ऋषिले ख्वामित् इनै हुन् भनी।

कोमल् चित्त गरी तहाँ नजरले हेर्या प्रभूले पनी॥12॥
बिन्ती सब् ऋषिले गर्या हजुरमा हाम्री विपत्ती पनी।

देख्या पूर्ण दया हून्या थिइ बहुत् आपत् रह्याछन् भनी॥

जाऊँ सब् ऋषिका मढी मढि विषे वाहीं गई यो दया।

होला चित्त विषे भनी ति ऋषिले भन्दा प्रभूजी गया॥13॥
देख्या तेस् वनमा अनेक् पृथिविमा खप्पर् र सोध्या तहाँ।

कस्का खप्पर हुन् अनेक् नजरले देख्छू मर्याका यहाँ॥

श्री सीतापतिका वचन् सुनि तहाँ बिन्ती ऋषीले गर्या।

ई सिर् हुन् ऋषिका यहाँ छल परी धेरै ऋषीश्वर् मर्या॥14॥
राक्षस्का छलले बहुत् ऋषि मर्या भन्न्या कुरा यो सुनी।

ताहाँ सब् ऋषिलाइ राखि सबका साम्ने प्रतिज्ञा पनी॥

सब् राक्षस्हरुको म नष्ट गरुँला भन्न्या प्रभूले गर्या।

खूसी मन् हुन गो र ताहिं ऋषि ता आनन्दमा सब् पर्या॥15॥
केही वर्ष बिताइ ताहिं हरिले सब् योगिको ताप् हर्या।

माया फेरि सुतीक्ष्णका उपर भै प्रस्थान् प्रभूले गर्या॥

जाहाँ भक्त सुतीक्ष्ण छन् तहिं गई दर्शन् प्रभूले दिया।

पूजा पूर्ण गरी सुतीक्ष्ण ऋषिले राम्लाइ मन्मा लिया॥16॥
सायुज्यै मुक्ित मिल्ला तिमि कन सुन यो देह जैले त छुट्ला।

भन्न्या आज्ञा प्रभूको सुनि कन अब ता कर्मको पाश टुट्ला॥

भन्न्या यो मन् ऋषीको हुन गइ बहुतै चित्तमा हर्ष पाया।

सीताराम्ले अगस्ती सित गइ कछु दिन् बस्न मन्ले चिताया॥17॥
प्रभूका साथैमा पछि पछि सुतीक्ष्णै पनि गया।

अगस्तीका भाई सित पुगि त एक् रात् प्रभु रह्या॥

ति अग्नीजिह्वा खूप् खुसि पनि भया ईश्वर भनी।

चिह्नी ताहाँ तिन्ले विधि सित गर्या पूजन पनी॥18॥
तहाँ देखी सीतापति उठि सबेरै चलि गया।

अगस्ती काहाँ छन् भनी खबर ली दाखिल भया॥

अगस्तीले खुस् भै स्तुति गरि बहुत् मन् पनि धर्या।

विराट् रुप्ले वर्णन् गरि कन त पूजा पनि गर्या॥19॥
सुन्दर् धनू र तरवार् सँग बाण् धर्याका।

ठोक्रा त जोडि अघि इन्द्रजिले धर्याका॥

ताहीं थिया सब दिया रघुनाथलाई।

बिन्ती गर्या सकल भार् हर आज जाई॥20॥
आठ् कोसमा असल पञ्चवटी भन्याको।

आश्रम् असल् छ रमणीय बहुत् बन्याको॥

ताहीं बसेर कछु दिन् तिमिले बिताऊ।

सब् साधु माथि करुणा तहिं गै चिताऊ॥21॥
यस्तो अगस्ति ऋषिको उपदेश पाई।

श्री राम् तयार् पनि भया तहिं जानलाई॥

मालुम् थियो त पनि जुन् ऋषिले बताया।

सो मार्ग जान कन पाउ उतै चलाया॥22॥
जान्थ्या प्रभू अलिकती पर केहि जाई।

जङ्गल् विषे अधिक वृद्ध जटायुलाई॥

देख्या र राक्षस भनी कन मार्नलाई।

माग्या धनू प्रभुजिले र लिला जनाई॥23॥
मान्र्या कुरा सुनि जटायु बहुत् डराई।

राजाजिको प्रिय सखा हुँ भनी कराई॥

गन्र्याछु हित् यहिं बसी म सिताजिलाई।

कल्याण् मिलोस् हजुर देखि बहुत् मलाई॥24॥
श्री रामले पनि तहाँ अति खूसि मन्ले।

आनन्द निर्भय दिया पछि फेरि तिन्ले॥

ख्वामित् शरण् छु भनि खुप् सित बिन्ति लाया।

श्री राम् तहाँ पछि त पञ्चवटी त आया॥25॥
डेरा पर्यो प्रभुजिको तहिं बीच वन्मा।

एकान्त देखि कन हर्ष भयो र मन्मा॥

आनन्दपूर्वक रह्या रघुनाथ ताहीं।

आर्को त आश्रम नजीक थियेन काहीं॥26॥
एकान्त देखि कन लक्ष्मणले चरण्मा।

बिन्ती गर्या रघुपते म त छू शरण्मा॥

ज्ञान् कुन् कहिन्छ भनि कुन् त कहिन्छ विज्ञान्।

जान्दीन केहि म विषे त ठुलो छ अज्ञान्॥27॥
आज्ञा हवस् सकल तत्त्व म सुन्न पाऊँ।

जान्न्या पुरुष् अरु छ को र कता म जाऊँ॥

यो बिन्ति लक्ष्मणजिको सुनि हर्ष पाया।

लक्ष्मण्जिलाइ सब तत्त्व तहीं बताया॥28॥
यै ज्ञान् कहिन्छ सुन येहि कहिन्छ विज्ञान्।

यो रित् गरी कन बस्या हुँदि छुट्छ अज्ञान्॥

खोलेर येहि रितले प्रभुले बताया।

लक्ष्मण्जिले पनि तहिं सब तत्त्व पाया॥29॥
यै बीचमा नजिक शूर्पणखा त आई।

देख्या तहाँ प्रभुजिले पनि दुष्टलाई॥

कन्दर्पका वश परी प्रभुका नजिक् गै।

सोधी तहाँ प्रभुजिलाइ बहूत खुस् भै॥30॥
नाम् सब् कह्या प्रभुजिले जब नाम सूनी।

ऐल्हे म भज्दछु पती भनि येति गूनी॥

बिन्ती गरी म कन पत्नि बनाइ लेऊ।

कन्दर्पको कठिन ताप छुटाइ देऊ॥31॥
यस्तो वचन् सुनि सिता कन हाँसि हेरी।

उत्तर् दिया प्रभुजिले घरमै छ मेरी॥

सौता बुझी कन न भज् तँ पती मलाई।

भाई छ खालि बरु भज् पति भाइलाई॥32॥
साँचो भन्या भनि त लक्ष्मणका नजिक् गै।

आयाँ म पत्नि हुन येति भनेर खुस् भै॥

सून्या वचन् सकल लक्ष्मण्ले र ताहाँ।

दास् हूँ म ता म सित कुन् सुख मिल्छ याहाँ॥33॥
जा वाहिं मालिक उ हुन् उहिं बस्नु अच्छा।

बुद्धी रहेनछ बहुत् रहिछस् तँ कच्चा॥

यस्ता वचन् सुनि र शूर्पणखा रिसाई।

सीताजिलाइ अब खाँ भनि फर्कि धाई॥34॥
भार् हर्न बीज् प्रभुजिले तहिं रोप्न आँट्या।

लक्ष्मणजिलाइ भनि नाक र कान् कटाया॥

आज्ञा लि लक्ष्मणजिले पनि काटि दीया।

भागी डराइ कन भाइ जहाँ त थीया॥35॥
विस्तार् गरी त्रिशिर दूषण खर् भन्याका।

राक्षस् पनी सुनि ति अग्नि सरी बन्याका॥

आया जहाँ प्रभु थिया तहिं तीन भाई।

लस्कर् समेत् अधिक जल्दि कदम् बढाई॥36॥
राक्षस् भनी प्रभुजिले तहिं चाल पाया।

लक्षमण्जिलाइ तहिं काम् प्रभुले अह्राया॥

हे भाइ आज तिमिले इ सिताजिलाई।

गूफा विषे लगि बसी रहु जल्दि जाई॥37॥
एक् बात् न बोलि कन जल्दि उठेर जाऊ।

सङ्ग्रामको बखत भो अब बेर् न लाऊ॥

मार्छू म दुष्ट कन तेज् अधिकै जनाई।

चौधै हजार् कन सहज् टुकरा बनाई॥38॥
यस्तो हुकुम् हुन गयो र सिताजिलाई।

लक्षमण्जिले सँग लिई कन जल्दि जाई।

गूफा विषे बसि रह्या रघुनाथ् तयारी।

चाँडै भया धनु र बाण्हरु ठिक्क पारी॥39॥
आया खर त्रिशिर दूषण तीन भाई।

लस्कर् समेत् सँग लिई कन रिस् चढाई॥

ठाकुर्जिका उपर बाणकि वृष्टि पार्या।

ठाकुर्जिले पनि ति बाण् सब काटि टार्या॥40॥
तिन्का ति सर्व हतियार्हरू काटि टारी।

सम्पूर्ण राक्षसहरू कन जल्दि मारी॥

काट्या खर त्रिशिर दूषणलाइ ताहाँ।

सम्पूर्ण राक्षस सक्या घरि चार माहाँ॥41॥
मार्या खर त्रिशिर दूषणलाइ जस्सै।

सीता र लक्ष्मण पनी प्रभु सीत तस्सै॥

आया डराइ कन शूर्पणखा त भागी।

रावण् जहाँ छ उहिं जाँ भनि जान लागी॥42॥
रावण् जहाँ छ उहिं पौंचि विलाप गर्दै।

सब् भाइ बन्धुहरुका मनलाइ हर्दै।

देख्यो तहाँ बहिनिलाइ त नाक् गयाकी।

त्यो फेरि बुच्चि पनि कान न भै रह्याकी॥43॥
माया भयो बहिनि माथि र झट्ट ऊठ्यो।

विस्तार सोध्न नजिकै पनि जल्दि छूट्यो॥

हे बैन्हि कुन् पुरुष हो भन नाक काट्न्या।

खूपै रहेछ सहजै पनि मर्न आँट्न्या॥44॥
जस्ले त नाक् सित इ कान् आज काट्यो।

हे बैन्हि जान सुन त्यो अब मर्न आँट्यो॥

यस्ता वचन् सुनि र नाम समेत् बताई।

सीता र लक्ष्मण सहित् रघुनाथलाई॥45॥
तिन् छन् पराक्रमि ति पञ्चवटी बस्याका।

ठोक्रा भिरी कन धनू पनि खुप् कस्याका॥

गर्छू विचार मनले त म येहि मान्छू।

सब् भस्म यो गरि दिनन् कि भनेर ठान्छू॥46॥
आई रह्याँछु म त खुप् सित मन् डराई।

फिर्छन् ति सर्व ऋषिलाइ त खुस् गराई॥

आश्चर्य मानि कन दौडि म याहिं आयाँ।

विस्तार् पनी हजुरमा सब बिन्ति लायाँ॥47॥
सीताजिलाइ अति सुन्दर मानि ताहाँ।

ल्याऊँ टपक्क टिपि सुन्दरिलाइ याहाँ॥

भन्ना निमित्त अति चित्त धरी गयाकी।

पायाँ विपत् नकटि बुच्चि समेत् भयाकी॥48॥
ल्याऊ समर्थ छ भन्या तिमि आज जाऊ।

साम्ने त हर्न छ कठिन् तिमि मन् न लाऊ॥

एक् युक्तिले छल गरी कन हर्नु पर्ला।

साम्ने कदापि न गया तहिं देह मर्ला॥49॥
तेस्ले बहूत भयमा परि बात् गर्याको।

लस्कर् समेत् त्रिशिर दूषण खर् मर्याको॥

सून्यो र बैन्हि कन खातिर खूप दीयो।

एकान्तमा गइ लहड् पनि खूप लीयो॥50॥
सामान्य मानिस भया कसरी ति मार्या।

लस्कर् खर त्रिशिर दूषण छुट्टि पार्या॥

सामान्य होइन इ ता परमेश्वरै हुन्।

नाहीं त भाइहरुका अघि टिक्तथ्यो कुन्॥51॥
ईश्वर् भया हुँदि कसै पनि मार्दछन् ती।

सामान्य हो पनि भन्या हरुँला सिताजी॥

ईश्वर् भया हुँदि विरोध् गरि खुस् हुन्याछन्।

रीसै हुन्या छ भजुँला त म माथि ता झन्॥52॥
येती विचार् गरि तर्यो र समुद्र पारी।

मारिच् जहाँ छ ऋषिका सरि रूप धारी॥

पुग्यो तहाँ र रथ राखि नजिक् गयाको।

विस्तार् गर्यो खरहरू सब नाश् भयाको॥53॥
यस्तो पर्यो म कन आज सहाय देऊ।

सुन्दर् ठुलो मृगस्वरुप् तिमि आज लेऊ॥

राम्चन्द्रलाइ छलि दुर् तिमिले गराया।

सीता जसै म हरुँला तब फर्कि आया॥54॥
मारीचले यति हुकुम् जब ताहिं सून्यो।

तेस्तो हुकुम् सुनि तहाँ मन भीत्र गून्यो॥

बिन्ती गर्यो सकल तेज् प्रभुको जनाई।

ख्वामित् भनेर मनले जय खुब् चिताई॥55॥
कस्ले गर्यो र उपदेश् तिमि आज आई।

सीता म हर्छु मृग हो तँ भन्यौ मलाई॥

त्यै शत्रु हो तिमि तसै कन मार ताहाँ।

कूलै समेत् क्षय गराउन खोज्छ याहाँ॥56॥
को सक्छ जित्न र ठुलो तिमि सूर गर्छौ।

यो सुर् लिया कुल समेत् तिमि आज मर्छौ॥

एक् बाणले म कन चार् सय कोस सार्या।

बालक् थिया त पनि भस्म सुबाहु पार्या॥57॥
आज्काल् गयाँ वन विषे मृगरूप धारी।

एक् बाणले यहिं पनी त दिया पछारी॥

छाद्दै रगत् अति डरायर भागि आयाँ।

जावैन भन्छु अब खुप् सित चेत पायाँ॥58॥
तस्मात् तिमी पनि विरोध् मति यो न लेऊ।

सीता म हर्छु भनि आग्रह छाडि देऊ॥

सब् नष्ट हुन्छ तिमीले मति यस्ति लीया।

देख्यौ खर त्रिशिर दूषण मारि दीया॥59॥
हीतै कहन्छ भनि यो तिमि जानि लेऊ।

आर्को कहन्छु म गुठिल् तिमि चित्त देऊ॥

ई ता अनन्त अधिनाथ् परमेश्वरै हुन्।

ब्रह्माजिले पनि भजिन्छ सदा पुरुष् जुन्॥60॥
नारद्जिका वचन सूनि म आज भन्छू।

ख्वामित् म ता हित चिताइ सदा रहन्छू॥

लौ मार रावण भनी वरदान माग्या।

ब्रह्माजिले र उहि सुर् प्रभु गर्न लाग्या॥61॥
जाऊ घरै बसि रहू मति यो न लेऊ।

ईश्वर् बुझेर उहि माफिक चित्त देऊ॥

जो गर्दछन् प्रभु गरुन् छ लिला उनैको।

लाग्दैन जोर् प्रभु विषे अरुका कुनैको॥62॥
मारीचले जब त बात् यति सब् बतायो।

झन् बात् सुनी बुझि त खुप् सित चित्त लायो॥

मारीचलाइ अनि रावण भन्छ हेरी।

सीता म हर्छु मृग भै कन जाउ फेरी॥63॥
ईश्वर् त हुन् यदि भन्या ति अवश्य मार्छन्।

सामान्य हुन् यदि भन्या ति अवश्य हार्छन्॥

ईश्वर् भया पनि असल् छ अवश्य तर्छू।

सामान्य हुन् त म सिता सँग भोग गर्छू॥64॥
जाऊ अवश्य म सिताजि हरेर लिन्छू।

बोल्यौ यहाँ कछु भन्या त म काटि दिन्छू॥

यस्तो हुकुम् गरि तहाँ जब बीच पार्यो।

मारीचले पनि तसै जिय आस मार्यो॥65॥
आखिर् मर्याँ म हरि देखि मर्या त तर्छू।

यस् दुष्ट देखि मरिया त नरक् म पर्छू॥

यस्तो विचार् गरि तहाँ मृगरूप धारी।

हूकुम् सिरोपर धरी कन भो तयारी॥66॥
दौड्यो लिला पनि चरित्र विचित्र गर्दै।

सीताजिका नजिक गै कन ताहिं फिर्दै॥

सीतजिलाइ गरुँ मोह भनेर दाग्यो।

लीला गरी कन वरी परि चर्न लाग्यो॥67॥
छल् हो भनी प्रभुजिले पनि चाल पाया।

एकान्तमा गइ सिता कन काम् अह्राया॥

सीते अदृश्य भइ लौ बस अग्नि माहाँ।

छाया सिता पनि बनायर छोड याहाँ॥68॥
एक् भिक्षुको रुप लि रावण आज आई।

हन्र्या छ दुष्ट तिमीलाइ स्वरुप् छपाई॥

चाँडो अवश्य तिमिले पनि रुप् छपाऊ।

एक् वर्ष सम्म छपि दिन् तिमिले बिताऊ॥69॥
यस्तो हुकुम् सुनि अदृश्य सरूपधारी।

छाया सिता पनि दुरुस्त गरिन् तयारी॥

सीता छपी कन रहिन् जब अग्नि माहाँ।

छाया सिता सँग बस्या रघुनाथ ताहाँ॥70॥
छायासिताजि अति चित्र विचित्र मानी।

खेलाउँ तेस मृगलाइ भनेर ठानी॥

बिन्ती गरिन् रघुपते मृग आज देऊ।

खेलाउँछू अधिक जाति छ पक्रि लेऊ॥71॥
इच्छा थियो प्रभुजिको पनि बिन्ति सूनी।

जानू असल् छ भनि यो मन भित्र गूनी॥

हात्मा धनू लि मृगका पछि आफु धाया।

लक्ष्मण्जिलाइ बस तीमि भनी अह्राया॥72॥
लक्ष्मण् रह्या तहिं सिता सित चौकिदारी।

मारीचलाइ प्रभुले पनि खुप् लघारी॥

मार्या तहाँ जब त दिक् बहुतै गरायो।

हे भाइ लक्ष्मण मर्याँ भनि छल् करायो॥73॥
छल्का वचन् सुनि सिताजि बहुत् डराइन्।

लक्ष्मण्जिलाइ तिमि जाउ भनी अह्राइन्॥

लक्ष्मण्जिले हुकुम यो सुनि बिन्ति पार्या।

हे माइ जो मृग थियो प्रभुले त मार्या॥74॥
तेस्तो कहाँ मृग थियो मृगरूपधारी।

मारीच राक्षस थियो र त आज मारी॥

ठाकुर्जिले तहिं गिराइ दिंदा करायो।

हे भाइ लक्ष्मण मर्याँ भनि छल् गरायो॥75॥
ज्योतिस्वरुप् तहिं भयो र मिल्यो हरीमा।

आश्चर्य भो सकललाइ तसै घरीमा॥

यस् दुष्टले पनि त यो गति आज पायो।

भन्न्या बुझेर सब जन् कन हर्ष आयो॥76॥
लक्ष्मण्जिका वचन सूनि सिता रिसाइन्।

आँसू बहुत् नजर देखि पनी खसाइन्॥

बोलिन् अवाच्य पनि लक्ष्मणलाइ ताहाँ।

भज्ली मलाइ भनि भन्छ कि आज याहाँ॥77॥
राम् देखि बाहिक अवर् त भजैन मैले।

तिम्रै अगाडि यहिं छोड्दछु देह ऐले॥

तिम्रो त चित्त अति दुष्ट रहेछ जान्याँ।

काम् देखि आज तिमिलाइ अति शत्रु मान्याँ॥78॥
यस्ता वचन् सुनि ति लक्ष्मणजी रिसाया।

बोलिन् अवाच्य भनि भित्र मनै चिताया॥

धिक् चण्डि येति भनि खुप् सित चट्पटाया।

वन्देविलाइ रखवारि तहीं खटाया॥79॥
सीताजिलाइ तहिं छोडि उठी गयाका।

दूरै हुँदा नजर देखि फरक् भयाका॥

देख्यो र रावण सिता सित जल्दि आयो।

सन्न्यासिको स्वरुप ली कन रुप् छपायो॥80॥
सन्न्यासि हुन् भनि बहुत् गरि भक्ित लाइन्।

पूजा प्रणाम् पनि गरी कन हर्ष पाइन्॥

बिन्ती गरिन् बस गुरो प्रभु फर्कि आई।

गर्नन् बहुत् प्रिय हजुर् कन चित्त लाई॥81॥
यस्ता वचन् सुनि सिता तिर दृष्टि दींदो।

को हो पती बुझुँ भनी कन गुह्य लींदो॥

सोध्यो सिता सित पती पनि जो छ को हो।

नाम् काम् समेत् तिमि बताउ न आज जो हो॥82॥
सीताजिले पनि भनिन् सब जो छ नाम् काम्।

सन्न्यासि जानि कन कत्ति न पारि छल् छाम्॥

सोधिन् तहाँ म पनि नाम्हरु सुन्न्न पाऊँ।

कुन् हो बताउ तिमिले पनि नाम ठाऊँ॥83॥
यस्ता वचन् सुनि सिता कन हर्न आँटी।

नाम् काम् तहाँ सब कह्यो रति भर् न ढाँटी॥

बोल्यो अवाच्य पति मानि मलाइ लेऊ।

राम्चन्द्रलाई तिमिले अब छाडि देऊ॥84॥
यस्ता वचन् सुनि अलिक् मनले डराइन्।

बात्ले त दुष्ट कन तृण् सरिको गराइन्॥

हे दुष्ट रावण अवश्य तँ आज मर्लास्।

ऐले जसै प्रभुजिका अघि याहिं पर्लास्॥85॥
यस्ता वचन् सुनि रिसायर जल्दि ऊठ्यो।

धार्यो स्वरुप् र अब हर्छु भनेर छूट्यो॥

बिस् बाहु दस् मुख शरिर् पनि शुद्ध कालो।

देखाइ सब् कन तरास् मन भीत्र हाल्यो॥86॥
सीताजीलाइ मन्ले चिह्िन कन मनमा मातृवत् बुद्धि गर्दो।

हात्ले मैले छुँदामा अनुचित छ भनी स्पर्श केही न गर्दो॥

आफ्ना नङ् सब् जमिन्मा धसि कन जमिनै जल्दि हात्ले उठायो।

सीताजीलाइ रथ्मा धरिकन दगुर्यो राम देखी छुटायो॥87॥
हा राम् लक्ष्मण यत्ति मात्र मुखले बोलेर साह्रै रुँदी।

तन् मन् रामविषे धरेर बहुतै विह्वल् निरन्तर् हुँदी॥

देख्या ताहिं जटायुले र उडि गै रथ् चूर्ण पारी दिया।

घोडा चूर्ण गराइ फेर् धनु समेत् टुक् टुक् गराई दिया॥88॥
रावण् झन् वीर थियो अति झपट गरी हातमा खड्ग लीयो।

काट्यो दूवै पखेटा रिस सित र तहाँ भूमिमा पारि दीयो॥

बाधा पाई जटायू पृथिवितल गिर्या फेरि रथ्को तयारी।

जल्दी पार्यो र सीता लिइ कन पुगि गो दुष्ट ता सिन्धु पारी॥89॥
आकाश्मा जब ऋष्यमूक गिरिका ऊप्र पुगीथिन् जसै।

आफ्ना सब् गहना फुकालि बलियो पोको बनाइन् तसै॥

राम् लक्ष्मण् कन यो दिउन् भनि तहाँ पोकै खसालिन् पनी।

सुग्रिव्ले त गुफा विषे धरि लिया कस्ले खसाल्यो भनी॥90॥
सीताजीलाइ लङ्का लगि कन मनमा मातृवत् बुद्धि गर्दो।

भित्री जुन् हो बघैंचा तहिं असल अशोक् वृक्षका नीच धर्दो॥

सेवा खुप् गर्न लाग्यो तर पनि मनमा माइले दुःख पाइन्।

हाराम् हा राम् जगन्नाथ् यहि वचन गरी राममा चित्त लाइन्॥91॥
मारीच् मारेर फिर्थ्या प्रभु पनि वनमा देखिया ताहिं भाई।

राम्ले ताहीं विचार्या मन मन इ कुरा भाइ पुग्नै न पाई॥

माया सीता बन्याकी अलिकति पनि याद् छैन ई भाइलाई।

साँचै सीता इनै हुन् भनि कन मनले भन्दछन् चाल् नपाई॥92॥
यो बात् बोल्दिन गुह्य राख्छु म पनी मानुन् सिता हुन् भनी।

सीता निश्चय हुन् भन्या त रिसले लड्नन् रिपू थ्यैं पनी॥

यस्तो निश्चय मन् भयो प्रभुजिको लक्ष्मण् पुग्या झट् तहाँ।

सोध्या श्री रघुनाथले किन सिता छोडेर आयौ यहाँ॥93॥
लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ बिन्ती गर्या क्या गरूँ।

जो दुर्वाच्य गरिन् सबै भनुँ भन्या सक्तीन मैले बरू॥

मारिच्का छलका वचन् सुनि बहुत् दुर्वाच्य बोलिन् जसै।

संझायाँ भरसक् अनेक् तरहले लागेन बिन्ती कसै॥94॥
फेर् उत्तर् प्रभुले दिया अनुचितै हो यो गर्यौ ता पनी।

छोड्नू कत्ति थियेन दुर्वचनले स्त्री हो भनी ता पनी॥

येती बात् गरि राम आश्रम विषे जल्दी कदम् ली गया।

देख्यानन् र सिताजिलाइ बहुतै शोक् गर्न लाग्दा भया॥95॥
की राक्षस्हरुले हर्या कि वनमा की दुष्टले पेट् भर्या।

एक् थोक् क्या त भयो अवश्य म गयाँ कुन् दुष्टका खेल् पर्या॥

वन्देवीहरुलाइ मालुम भया विस्तार् बताऊ यहाँ।

सीता मेरि पियारि देख्तिन म ता जान्छू सिता छन् जहाँ॥96॥
यस्ता रित् सित सोधि सोधि रघुनाथ् ज्ञानै स्वरूपी पनी।

जस्तो मानिस गर्छ सोहि रितले हा मेरि सीता भनी॥

फिर्थ्या तेस् वनमा बडा विरहले सोध्या न पाई उसै।

यै बिच्मा वनमा त रथ् र धनुका देख्या अनेक टुक् तसै॥97॥
भन्छन् लक्ष्मणलाइ भाइ तिमिले देख्यौ यहाँको कुचाल्।

अर्को आइ जिती लियेछ बिचमा मैले त देख्याँ कुचाल्॥

येती बात् गरि राम् अलिक् पर गया देख्छन् त पल्टी रही।

चिह्नैलाइ कठिन् जटायु कन ता दूवै पखेटा गई॥98॥
अज्ञान् कत्ति थियेन ता पनि तहाँ लीला नरैको गरी।

चिह्न्याको न नचिह्न्यै गरेर भगवान् भन्छन् अगाडी सरी॥

हे भाई धनु देउ दुष्ट मिलि गो मार्छू म बाणै धरी।

खान्या येहि रहेछ हेरि बुझियो पल्टेछ खुप् पेट् भरी॥99॥
सून्या बात् र जटायुले पनि हवाल् वृत्तांत बिन्ती गर्या।

सूनी पूर्ण दया भयो नजिक गै छाम्या र सब् ताप् हर्या॥

सीताको समचार् खबर् कहि तहाँ साम्ने जटायू पर्या।

स्नान् दाहा गरि मांसपिण्डहरु दी क्रीया प्रभूले गर्या॥100॥
सायुज्यै मुक्ति पाई स्तुति पनि बहुतै भक्ति रखेर लाई।

पौंच्या धाम्मा जटायू प्रभु पनि नरको ठिक्क लीला जनाई॥

वन् वन्मा फिर्न लाग्या विरह गरि गरी सोद्धछन् जाहिं ताहीं।

दोस्रा देख्न्या मिल्यानन् सकल वन ढुँढ्या एक् पनी काहिं नाहीं॥101॥
छातीमा मुख् भयाको सिर पनि न हुँदा नाम् कबन्धै रह्याको।

चार् चार् कोस्सम्म पुग्न्या दुइ अति बलिया दीर्घ बाहू भयाको॥

राक्षस् थीयो तहाँ एक् बसि बसि कन सब् हातले खैंचि खान्या।

तेसैका बाहु बिच्मा रघुपति पुगिया रोकियो मार्ग जान्या॥102॥
राक्षस्ले घेरियाको बुझि कन रघनाथ् भन्दछन् भाइलाई।

हे लक्ष्मण् आज देख्यौ अब बिच परियो निल्छ की हामिलाई॥

ठाकुर्जीका वचन् ई सुनि कन विनती ताहिं लक्ष्मण्जि गर्छन्।

हे नाथ् क्या डर् छ यस्को दुइ भइ दुइ हात् काटिद्यूँ याहिं मर्छन्॥103॥
येती बात् गरि हात् दुवै सहजमा काटी खसाल्या जसै।

राक्षस्ले पनि हात् गिर्या जब तहाँ आश्चर्य मान्यो तसै॥

सोध्यो आज म वीरका पनि सहज् हातै खसाल्यौ यहाँ।

को हौ क्या मनमा लियेर वनमा डुल्छौ छ जानू कहाँ॥104॥
उत्तर् श्रीरघुनाथले पनि दिया हाँसेर विस्तार् गरी।

सून्यो राम भनी तहाँ र मनले चिह्न्यो इनै हुन् हरी॥

ठाकुर्जी कन चिह्िनी खुस् अधिक भै विस्तार आफ्नू गर्यो।

हे नाथ् आज चिह्न्याँ हजुर्कन यहाँ पायाँ र सब् ताप् टर्यो॥105॥
ब्रह्मा देखि अवश्य पाइ वरदान् गन्धर्व हूँ ता पनी।

राम्रो छू भनि गर्व भो र ऋषि ता साह्रै नराम्रा भनी॥

हाँस्याँ केहि र अष्टवक्र ऋषिले राक्षस् भयेस् लौ भनी।

पैले स्राप गरी दिया पछि त फेर् मुक्ती बताया पनी॥106॥
राक्षस् भै कन फिर्दथ्याँ म रिसले सिर् इन्द्रजीले हर्या।

ब्रह्माको वरदान् थियो र म जियाँ इन्द्रादि सब् छक् पर्या॥

सीरै गै पनि यो जियो अब कसो गर्ला भनी खुप् दया।

आयो इन्द्रजिका र खान कन मुख् छाती विषे दी गया॥107॥
चार् चार् कोस तलक् समाउन भनी लामा त हातै दिया।

सो हात् आज गिराइ बक्सनु भयो याहीं तलक् ई थिया॥

जस्तो मुक्ति ति अष्टवक्र ऋषिले पैल्हे बताया यहीं।

तेस्तो ठिक्क भयो इ हात् गिरि गया मुक्ती त पायाँ यहीं॥108॥
क्या बात् धन्य रहेंछु आज म प्रभो आस्रा गर्याथ्याँ जती।

रातोदिन् रटना थियो चरणको भै गो शरण्को गती॥

खाडल् खुप् गहिरो खनेर उसमा यो देह मेरो धरी।

पोली भस्म गराइ बक्सनु हवस् जान्छू म संसार् तरी॥109॥
सीता पाउनको उपाय विनती गन्र्याछु साँचो गरी।

भन्न्या यो विनती सुन्या र हरिले पोली दिया खाग् गरी॥

सुन्दर् शुद्ध स्वरूप् धर्यो प्रभुजिले खुस् भै दिया वर् पनी।

भक्तीले बहुतै गर्यो स्तुति र त्यो पौंच्यो परम्धाम् पनी॥110॥
हे नाथ् सीताजि मिल्निन् अब तिमि शबरी छन् जहाँ ताहिं जाऊ।

साह्रै भक्ती छ तिम्रा चरणकमलको ताप तिन्का छुटाऊ॥

येती बिन्ती जगन्नाथ् सित गरि जब धाम् त्यो गयो राम फेरी।

आश्रम्मा पौंचि दर्शन् शबरि कन दिया खुप् कृपा राखि हेरी॥111॥
आसन् देखि उठेर जल्दि शबरी राम्का चरण्मा परिन्।

सक्भरको बहुतै पुजा गरि तहाँ हात् जोरि बिन्ती गरिन्॥

हे नाथ् हिन् कुलकी स्त्रिजाति म गरीब् जान्दीन तिम्रो स्तुति।

आधार् मात्र फगत् छ यै चरणमा यस्तै छ मेरो गति॥112॥
विस्तार् सब् गुरु देखि सूनि गुरुका आज्ञा मनैमा लिई।

कैल्हे देख्छु हजूरलाइ भनि खुप् तन् मन् हजूर्मा दिई॥

पूजा नित्य हजूरको गरि यहाँ ख्वामित् बस्याकी थियाँ।

हे नाथ् आज दया भयो हजुरको प्रत्यक्ष देखी लियाँ॥113॥
क्याले आज बहुत् प्रसन्न हुनु भो कुन् कर्म मैले गर्याँ।

योगीका मनले न भेटि सकिन्या मैले त दर्शन् गर्याँ॥

यस्तो बिन्ति सुनी दया बहुत भो हेतू प्रभूले कह्या।

उच्निच् स्त्री र पुरुष् विचार्दिन म ता खुस् हुन्छु भक्ती भया॥114॥
नौ साधन् कि त भक्ित छन् ति नवमा पैल्हे त सत्संग हो।

पैल्हे साधन पो भयो पनि भन्या बाँकी रह्याका ति जो॥

आठ् साधन्हरु हुन् ति ता क्रमसितै मिल्छन् असल् सङ्गले।

सत्को सङ्ग भया सबै बनि गयो क्या हुन्छ कुन् सङ्गले॥115॥
सत्को सङ् भै रह्याकी दिन दिन म उपर् भक्ित ठूलो भयाकी।

सज्जन्को सङ्ग पाई कन सब गुणमा पार पौंची गयाकी॥

देख्याँ मैले र दर्शन् दिन भनि खुसिले आज आफैं म आई।

दीयाँ दर्शन् र पायौ तिमि अधम भया पाउँथ्यौ क्या मलाई॥116॥
मुक्ती भो आज तिम्रो अब फजिति छुट्या खूसि भै आज जाऊ।

मेरी सीता कहाँ छन् कछु खबर भया त्यो पनी सब् बताऊ॥

हूकुम् जस्सै सुनीथिन् तब तहिं बिनती गर्दछिन् क्या बताऊँ।

सर्वव्यापी हजुर्ले बुझि त नसकिन्या एक् रती छैन ठाऊँ॥117॥
साँचो बिन्ती गर्याँ यो तर पनि नरको आज यो रूप धारी।

आज्ञा भो ता म बिन्ती पनि हजुर विषे गर्दछू काल् विचारी॥

सीता लङ्का विषे छन् अब त हजुरले भेट सुग्रीवलाई।

बक्स्या जावस् ति गर्नन् जति जति सब काम् बिल्कुलै पारलाई॥118॥
पम्पा भन्नू तलाऊ पनि नजिक हुन्या ऋष्यमुक् पर्वतैका।

टाकूरैमा ति बस्छन् अति फजिति सही दिन् बिताई सँधैंका॥

बालीको डर् हुनाले तहिं बहुत बस्या बालि जाँदैन ताहाँ।

बालीलाई न जानू भनि कन छ सराप् सब् गर्याँ बिन्ति याहाँ॥119॥
सुग्रिव् सीत मित्यारि गर्नु सब काम् हून्या छ सीता पनी।

मिल्निन् आज म देह खाग् गरि यहीं पोल्छू नजिक्मै भनी॥

बिन्ती पारि चिता विषे पसि शरीर् यो जो छ सब् खाग् गरिन्।

ठाकुर्को अति भक्ितले ति शबरी संसारसागर् तरिन्॥120॥
क्या दुर्लभ् रघुनाथ् खुसी हुन गया जात्की अधम् भै पनी।

श्रीराम्का अघि देह छाडि कन पार् पौंचिन् सहज् तै पनी॥

ब्राह्मण् भै कन भक्ित गर्दछ भन्या उस्का त झन् क्या कुरा।

जो कोही पनि भक्ित भो भनि भन्या योगी ति हुन्छन् पुरा॥121॥
हे लोक् हो रघुनाथका चरणको भक्ती छ मुक्ती दिन्या।

यो जानी कन कामधेनु सरिका राम् हुन् मनैमा लिन्या॥

क्या गर्छौ अरु मन्त्रतन्त्रहरुले छोडेर सब् राममा।

तन् मन् लाइ अवश्य जान मनले सार् मिल्छ यै काममा॥122॥

किष्किन्धाकाण्ड

जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी।

जान्छू आज म ऋष्यमूक गिरिमा सुग्रीव भेट्छू भनी॥

जान्थ्या कोस् भरिको तलाउ मिलिगो पम्पा भन्याको पनी।

चीह्न्या श्री रघुनाथले शबरिले यै हो भन्याको भनी॥1॥
माछा कच्छप चल्दछन् कमलको सब् गिर्छ केसर् तहाँ।

केसर्ले जब छोपियो पनि भन्या देखिन्छ जल् पो कहाँ॥

नीला लाल सफेद् कमल् पनि अनेक् रङ्का भयाका तहाँ।

बोल्छन् हंस चकोर सारसहरू लाटाक्वस्यारा जहाँ॥2॥
जस्तो निर्मल हुन्छ सन्तहरुको मन् सोहि माफीक जल्।

निर्मल् देखि बहुत् प्रसन्न मन भो लाग्यो र साह्रै असल्॥

थोडा जल् पनि पान् गरी सकल वन् हेर्थ्या जगन्नाथ् तहाँ।

देख्या सुग्रिवले डरायर नजर् लाया प्रभू छन् जहाँ॥3॥
बालीको छल हो भन्या बुझि तहाँ हात्ले इसारा दिया।

ओरै कोहि रहेछ सज्जन भन्या हेरेर हाँसी लिया॥

ब्राह्मण्को लडिका बनेर हनुमान् जाऊ ति को हुन् कहाँ।

जान्छन् क्या मनमा छ सब् वरिपरी हेरेर डुल्छन् तहाँ॥4॥
सुग्रिव्ले हनुमानलाइ जब यो हूकुम् दिया जा भनी।

ब्राह्मण्का लडिका बनेर हनुमान् राम्का हजुर्मा पनी॥

पौंची पाठ् सित बिन्ति पारि सब काम् सोध्या प्रभूको जसै।

विस्तार् नाम र कामको प्रभुजिले खुस् भै बताया तसै॥5॥
सुग्रिव्को हनुमानले पनि तहाँ विस्तार बिन्ती गर्या।

बोकूँ श्री रघुनाथलाइ भनि फेर् आफ्नू स्वरुप् झट् धर्या॥

राम् लक्ष्मण् कन बोकि जल्दि हनुमान् सुग्रीवका पासमा।

पौंचाऊँ रघुनाथलाइ भनि खुप् कूद्या ति आकाशमा॥6॥
जल्दी पर्वतका उपर् पुगि गया छाया विषे राम् रह्या।

सुग्रिव्लाइ खबर् दिना कन तहाँ जल्दी हनूमान् गया॥

विस्तार् पायर आइ सुग्रिवजिले दर्शन् प्रभूको गर्या।

हाँगा कोमल भाँचि आसन दिया आनन्दसागर् पर्या॥7॥
आसन् सुग्रिवलाइ लक्ष्मणजिले दीया हनूमानले।

लक्ष्मण्जी कन बस्न आसन दिया ताहीं ठुला शानले॥

सब् वृत्तान्त बताइ लक्ष्मणजिले विस्तार् सुनाया जसै।

सीता जुन् गहना खसालि गइथिन् हाजिर् गराया तसै॥8॥
हा राम् लक्ष्मण येति मात्र मुखले बोलेर आकाशमा।

जान्थिन् सब् गहना फुकालि कन ता हाम्रा यसै वासमा॥

गिन्र्या पाठ् सित पो खसालि ति गइन् चिह्नीन याहीं थियाँ।

कस्का हुन् यहिं चीह्िनबक्सनु हवस् यै हो हजूर्मा दियाँ॥9॥
येती बिन्ति गरी दिया ति गहना देख्या प्रभूले पनी।

चीह्न्या सब् गहना र शोक् बहुत भो हा मेरि सीता भनी॥

रोया छाति विषे धर्या र गहना नाना विलाप्ले जसै।

लक्ष्मण् सुग्रिवले तहाँ प्रभुजिको दिल् खुस् गराया तसै॥10॥
हे राम् रावणलाइ मारि सहजै सीताजिलाई यहाँ।

हाजिर् हामि गराउँला हजुरमा त्यो दुष्ट जाला कहाँ॥

येति बिन्ति तहाँ ति सुग्रिवजिले राम्का हजुर्मा गर्या।

बोल्या श्री हनुमानले पनि तहाँ अग्नी र साक्षी धर्या॥11॥
अग्नी साक्षि धरेर सुग्रिवजिले राम् थ्यैं मित्यारी गरी।

बाहाँ जोरि सखा भई नजिकमा सुग्रिव् बस्या तेस् घरी॥

सुग्रिव्ले तहिं बिन्ति बात् पनि गर्या हे नाथ् फजीती सही।

बालीका डरले बहुत् दिन बित्या एसै जगामा रही॥12॥
याहाँ बाली त आउँदैन छ सराप् मातङ्गजीको र यो।

पायाँ बस्न नहीं भन्या म कन ता कस्ले बचाऊँदथ्यो॥

बालीको बल बिन्ति गर्छु अहिले जस् देखि सब् डर्दछन्।

कस्तै वीर हउन् लड्या पनि भन्या लड्न्या सबै मर्दछन्॥13॥
ठूलो विर् मयपुत्र राक्षस थियो मायावि ता नाम् थियो।

बाली सीत लडाञि गर्न भनि त्यो आयो र हाँक् खुप् दियो॥

बालीले पनि दौडि गै कन तहाँ हान्यो मुठीले जसै।

बाधा पाइ डराइ भागि ऊ गयो लाग्यो पछाडी तसै॥14॥
बालीका पछि लागि मै पनि गयाँ राक्षस् गुफामा गयो।

ढोकामा त मलाइ राखि रिसले फेर् भित्र जाँदो भयो॥

मैन्हा दिन् बिति गै गयो त पनि त्यो फर्केन बाली जसै।

साह्रै दिक् म थियाँ कसो गरुँ भनी आयो रगत् पो तसै॥15॥
लौ बाली त मरेछ हेरि रगतै आयो गुफा देखि ता।

मैलाई पनि फर्कि मार्छ रिसले गूफा थुनी जाँ म ता॥

यस्तो बुद्धि भयो र पत्थर ठुलो ल्यायाँ र गूफा थुन्याँ।

फर्की आउन मन् गर्या पनि सहज् निस्की न सक्नू हुन्या॥16॥
यस्ता पाठ् सित खुप् थुन्याँ र म फिर्याँ बाली मर्या लौ भनी।

विस्तार् सर्व सुनाउँदा म कन ता राजा बनाया पनी॥

राजा भै कन राज्य भोग् पनि गर्याँ क्यै दिन् पछी बालि ता।

राक्षस् मारि फिरेर दाखिल भयो रीसाइ मै माथि ता॥17॥
उस् दिन् देखि डराइ याहिं म रह्याँ मेरी त पत्नी पनी।

बल्जफ्ती सित भोग गर्छ गरुँ क्या पुग्दैन जोर् तै पनी॥

याहीं आउन सक् भये यहिं पनी आयेर मान्र्या थियो।

पाप्को क्या डर मान्छ त्यो र बलले जस्ले बुहारी लियो॥18॥
साह्रै दुःखि भयेर सुग्रिवजिले बिन्ती गर्याको सुनी।

सुग्रिव्का अब दुःख हर्दछु भनी अन्तःकरण्ले गुनी॥

खातिर् श्री प्रभुले गर्या सुन सखे त्यो बालि मारी यहाँ।

तिम्रो राज्य गराउँला अब उपर् जोर् चल्छ तेस्को कहाँ॥19॥
यस्तो सत्य वचन् सुन्या प्रभुजिको शङ्का पर्यो तै पनी।

सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ बाली भनी॥

बालीलाइ बहूत विर् बुझि तहाँ राम्का अगाडी सरी।

बालीको अघिको पराक्रम कह्या बिल्कूल विस्तार् गरी॥20॥
एक् दिन् दुन्दुभि नाम राक्षस ठुलो आयो र हाँक् खुप् दियो।

बालीले सहजै निमोठि कन सिर् छुट्ट्याइ हात्मा लियो॥

सोही फ्याँकि दिंदा यहाँ गिरि गयो चार् कोस् जगामा जसै।

छीटा पर्न गयो बहुत् रगतको ऋ़षी रिसाया तसै॥21॥
बालीलाइ सराप् दिया अब यहाँ आइस् भन्या तैं पनी।

सिर् जुद्दा भइ पृथ्विमा गिरि गयास् जस्तै गिर्यो यो पनी॥

यो मालुम् त मलाइ सब् अघि थियो सो जानि याहीं रह्याँ।

उस्लाई पनि यो छ याद् तब म तेस् विर् देखि बाँच्तो भयाँ॥22॥
सोही सिर् अझ तक् छ पर्वत सरी यो फ्याँक्न सक्नू भया।

बाली मार्न समर्थ ताहिं चिह्नुला मेरा त सेखी गया॥

ई बात् सुग्रिवका सुनी झलक द्यूँ इन्लाइ भन्न्या भयो।

फ्याँक्या सिर् तहिं पाउका अँगुलिले चालीस कोस् तक् गयो॥23॥
देख्या सुग्रिवले तथापि मनमा शङ्का त फेरी रह्यो।

सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ भन्न्या भयो॥

सात् ताल् वृक्ष इ छन् इ एक शरले छेड्छन् त मार्छन् भनी।

सुग्रिव्का मनमा भयो र इ कुरा सब् थोक् सुनाया पनी॥24॥
हे नाथ् बिन्ति म गर्दछू अरु पनी यस्तो छ बाली भनी।

येही सिर् कन फ्याँकि मात्र मनले मानेन विश्वास् पनी॥

बालीले यही ताल वृक्ष कन ता बूटै बराबर् गनी।

हल्लायेर खसालि दिन्छ जति छन् सम्पूर्ण पत्ता पनी॥25॥
ई ताल् वृक्ष पनी यहाँ हजुरले एक् बाण ऐल्हे धरी।

सब्मा छिद्र गराइ बक्सनु हवस् बुझ्न्या छ मन् खुप् गरी॥

येती बिन्ति तहाँ ति सुग्रिवजिले राम् थ्यैं जसै ता गर्या।

राम्जीले पनि लौ भनेर खुसिले हात्मा धनूबाण् लिया॥26॥
बाण् फ्याँक्या प्रभुले र वेग् सित गयो सात्ताल भेदन् गरी।

पर्वत् भूमि समेत् विदारि पर गो साम्ने त सब् साफ् गरी॥

ठोक्रैमा फिरि आइ बाण् जब पर्यो सुग्रीवजी छक् पर्या।

साक्षात् श्रीपति हुन् भनी चिह्िन तहाँ राम्को स्तुती खूप् गर्या॥27॥
हे नाथ् बल्ल चिह्न्याँ अहो सकलका आत्मा जगन्नाथ् भनी।

माया देखि फरक् भयो अब त मन् लाग्दैन माया पनी॥

क्या गर्छू अब पुत्र दार धनले सम्पूर्ण ई दुर् हउन्।

मेरा सब् दस इन्द्रियै हजुरका सेवा टहल्मा रहुन्॥28॥
यै पाठ्ले जब ता गर्या स्तुति तहाँ सुग्रीवले सो सुनी।

यो ज्ञान् आज म द्यूँ भनी प्रभुजिले अन्तःकरण्ले गुनी॥

मायाले अनि मोह पारि रघुनाथ् हाँस्या र बोल्या जसै।

सुग्रिव् मोह भया वचन् सुनि तहाँ ऊ ज्ञान बिस्र्या तसै॥29॥
हे सुग्रीव सखे मलाइ दुनियाँ भन्नन् मित्यारी गरी।

कुन् चिज् सुग्रिवलाइ दी कन गया आपत्ति तिन्का हरी॥

यो लोक्को अपवाद् म मेट्छु अब ता बाली छ ऐल्हे जहाँ।

ताहाँ गै कन हाँक देउ तिमिले त्यो बालि मार्छू यहाँ॥30॥
ऐल्हे राज्य गराउँछू भनि तहाँ राम्को हुकुम् भो जसै।

सुग्रिव् खूसि भयेर बालि कन खुप् हाँक्या वचन्ले तसै॥

किष्किन्धापुरिका नजीक वनमा आयेर हाँक् खुप् गरी।

सुग्रिव् ता जब ता चल्या बुझि खबर् बाली छुट्या घरी॥31॥
बाली सुग्रीवको लडाञि पनि भो सुग्रीव एक् क्षण् लड्या।

सक्थ्या सुग्रिवले कहाँ सहजमा बाली विरैले धर्या॥

बाण् छाडी कन बालिलाइ अब ता मार्नन् प्रभूले भनी।

एक् क्षण् ता यहि आसले टिकि गया घुस्सा दिंदामा पनी॥32॥
बाली सुग्रिवको दुरुस्त अनुहार् एक् देखि राम्ले जसै।

बाण् थाम्या टिकि सक्नु मुस्किल भई सुग्रीव भाग्या तसै॥

पौंच्या श्रीरघुनाथका हजुरमा काम्दै र छाद्दै रगत्।

बल् तोडी कन बालिले हरि लिया एक् देह पौंच्या फगत्॥33॥
सुग्रीव्ले तहिं बिन्ति खुप् सित गर्या हे नाथ् मलाई यहाँ।

मार्नैको यदि मन् छ पो पनि भन्या जोर् चल्छ मेरो कहाँ॥

आफैंले यहिं मारि बक्सनु हवस् ख्वामित् हजूर्ले पनी।

शत्रूलाइ लगाइ मार्न त उचित् हो क्या सखा हो भनी॥34॥
सुग्रीव्का इ वचन् सुनी गह भरी आँसू प्रभूले धर्या।

सुग्रीवजी कन अङ्कमाल गरि खुप् खातिर् प्रभूले गर्या॥

हे सुग्रीव सखे दुरुस्त अनुहार् एक् देखि शङ्का भयो।

मर्नन् मित्र भनेर पो डर हुँदा बाँचेर बाली गयो॥35॥
चिह्नू देह विषे धरेर अहिले जाऊ र हाँक् देउ फेर्।

बालीलाइ म मारि दिन्छु सहजै लाग्वैन ऐल्हे त बेर्॥

यस्ता बात् गरि खुप् शपथ् पनि गरी सुग्रीवको मन् भरी।

आज्ञा लक्ष्मणलाइ बक्सनु भयो फुल् ल्याउ माला धरी॥36॥
सो माला पहिराइ भाइ तिमिले जल्दी पठाऊ तहाँ।

हाँक् दीउन् अब बालिलाइ अहिले मार्छू म छोड्छू कहाँ॥

लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ माला लगाई दिया।

त्यो माला पहिरेर सुग्रिव गया बाली जहाँ विर् थिया॥37॥
बालीलाइ सुनाइ हाँक् बहुत दी सुग्रिव् बस्याथ्या जसै।

बालीले पनि शब्द सुग्रिवजिको सून्या र ऊठ्या तसै॥

आश्चर्यै मनमा भयो अघि भन्या ऊठ्यो पछी रिस् पनी।

मुक्का ख्वाइ लघारियो त पनि फेर् फर्क्यो भगूवा बनी॥38॥
बालीले पनि फेर् कछाड् कसि तयार् भै जान लाग्या जसै।

ताराले त न जाउ यस् बखतमा भन्दै समातिन् तसै॥

कोही वीर् बलवान् सहाय मिलि पो सुग्रीव आया यहाँ।

साहायै न भया त येहि घडिमा सुग्रीव फिर्थ्या कहाँ॥39॥
ताराका इ वचन् सुनेर बलवान् वीर् बालि बोल्छन् तहाँ।

हे प्यारी न डराउ को छ म सरी विर् आज दोस्रो यहाँ॥

सुग्रिव्लाइ सहज् सहाय सहितै मारेर फिन्र्या म छू।

विर् हूँ हाँक दिंदा कसो गरि बसूँ शङ्का न मान्या कछू॥40॥
बालीका इ वचन् सुनी कन तहाँ ताराजिले फेर् पनी।

भन्छिन् नाथ् कछु सूनि बक्सनु हवस् क्या भन्दछे यो भनी॥

बिन्ती गर्छु म हित् कुरो हजुरमा साक्षात् अयोध्यापती।

श्री राम्चन्द्र सहाय छन् अब तहाँ चल्दैन जोर् एक् रती॥41॥
सुग्रिव् सीत मित्यारि लाइ रघुनाथ्ज्यूले पिछामा लिया।

बाली मारि म राज्य आज दिउँला भन्न्या वचन् यो दिया॥

भन्न्या बात् अरुमा हुँदा वन महाँ सूनेर अङ्गद् यहाँ।

आई सब् इ कुरा मलाइ अघि नै भन्थ्यो न जाऊ तहाँ॥42॥
सुग्रिव् सीत विरोध् न राख तिमीले जाऊ र ल्याऊ यहाँ।

यो राज् सुग्रिवलाइ देउ अब ता जित् छैन तिम्रो तहाँ॥

श्री राम्का दुइ पाउमा पर तिमी गर्नन् प्रभूले दया।

साँचा हुन् इ कुरा बुझी लिनु हवस् भोग् गर्न इच्छा भया॥43॥
येती बिन्ति गरेर पाउ दुइमा पक्रेर रोइन् जसै।

तारालाइ बुझाउना कन तहाँ फेर् बालि बोल्या तसै॥

हे प्यारी न डराउ कत्ति रघुनाथ् साक्षात् रमाका पती।

नारायण् भनि चिन्दछू म पनि सो नाथ् हुन् जगत्का पति॥44॥
ताहाँ छन् रघुनाथ् भन्या चरणमा पन्र्याछु चाँडै तसै।

सुग्रीवै छ फगत् भन्या सहजमा मान्र्याछु छोड्छू कसै॥

सुग्रीव् कुन् बलियो छ पाजि भगुवा त्यो लड्न मन्सुब् लिन्या।

तेस् पाजी कन डाकि आज कसरी यो राज्य मैले दिन्या॥45॥

v

तस्मात् शोक् न गरी बसी रहु तिमी जान्छू म ताहाँ भनी।

लड्नैलाइ कछाड् कसी कन तयार् भै बालि दौड्या पनी॥

बाली सुग्रिव दूइ भाइ रिसले फेर् लड्न लाग्या जसै।

रुख्को आड गरी तहाँ प्रभुजिले एक् बाण छोड्या तसै॥46॥
बाण् बज्र्यो जब बालिका हृदयमा सर्वाङ्ग बाधा गरी।

पृथ्वी कम्प गराइ झट् तहिं गिर्या बाली त मूर्छा परी॥

मूर्छा दूइ घडी पर्या पछि अलिक् चैतन्य आयो जसै।

देख्या श्री रघुनाथलाइ खुसि भै साम्ने बस्याका तसै॥47॥
भन्छन् श्रीरघुनाथलाइ रघुनाथ् तिम्रो बिराम् क्या गर्याँ।

धर्मै छोडि लुकेर आज तिमिले मार्यौ म ऐल्हे मर्याँ॥

यो क्या क्षत्रियधर्म हो लुकि लुकी विर् बाण छोड्छन् कहीं।

क्षत्री भै कन धर्म छोडि लडन्या एक् आज देख्याँ यहीं॥48॥
साम्ने भै कन बाण छोडि तिमिले मार्थ्यौ त खुप् यश् थियो।

सुग्रिव् हो कति साख् म हुँ कति कुसाख् हा दैव क्या मन् दियो॥

सीता रावणले हर्यो भनि बहुत् सन्ताप मन्ले गरी।

सुग्रिव्लाइ सहाय ली म कन ता लूकेर चोर् झैं गरी॥49॥
मार्यौ यो अति चुक् भयो गरुँ कसो बाँच्थ्याँ त याहीं बसी।

रावण्लाइ कुलै समेत् सहजमा झिक्थ्याँ म पाता कसी॥

लङ्कापूरि समेत् पनी म बलले झिक्थ्याँ सहज्मा यहीं।

पाजी रावणलाइ मार्न तिमिले क्या जानु पर्थ्यो उहीं॥50॥
चोरी मारि लिंदा न यश् हुन गयो मासू न खानू भयो।

धर्मात्मा तिमि पापि झैं हुन गयौ ज्यान् व्यर्थ मेरो गयो॥

बालीका इ वचन् सुनेर रघुनाथ् भन्छन् तँ बोल्छस् कति।

बाली हूँ भनि गर्व गर् त पनि हेर् साँच्चै तँ होस् दुर्मति॥51॥
पाप्को डर् रति भर् न राखि तइँले खुस् भै बुहारी हरिस्।

सोही पाप् अहिले प्रकट् हुन गयो तेस् पापले पो मरिस्॥

धर्मस्थापन गर्नलाइ त यहाँ औतार मैले लियाँ।

धर्मै जानि अधर्म ठानि अहिले तैंलाइ मारी दियाँ॥52॥
श्री राम्का इ वचन् सुनी प्रभु भनी जानी चरण्मा पर्या।

वानर् हूँ रघुनाथ् क्षमा गर भनी हात् जोरि बिन्ती गर्या॥

नामोच्चारणले फगत् सहजमा संसारसागर् तरी।

ख्वामित् जान्छु हजूरमा अब भन्या मैले त दर्शन् गरी॥53॥
पायाँ मर्न म भाग्यको कति बखान् मेरो म ऐल्हे गरूँ।

को पाऊँछ हजूरलाइ भगवान् मन्र्या बखत्मा अरू॥

मेरो ता गति यै थियो मिलि गयो जान्छू परम्धाम् म ता।

अङ्गद् माथि दया रहोस् हजुरको हाजिर् छ सेवक् उ ता॥54॥
मेरा छाति महाँ छ बाण् हजुरको यो खैंचि छोई दिया।

शीतल् देह हुने थियो सहजमा प्राण् आज जान्या थिया॥

बालीका इ वचन् सुनी प्रभुजिले बाण् झीकि छूँदा भया।

ठाकुर्का अघि देह छोडि खुसि भै बाली परम्धाम् गया॥55॥
बालीका सँगमा थिया जति तहाँ वानर् ति भागी गया।

ताराजी सित गै वहाँ सब हवाल् विस्तार गर्दा भया॥

राम्जीले लुकि बाण छोडि सहजै बाली त मारी दिया।

सुग्रिव् मन्त्रि समेत् बहुत् खुशि भई राम्कै हजुर्मा थिया॥56॥
यो राज् अङ्गदलाइ बक्सनु हवस् ढोका सहर्को थुनी।

बस्छौं जल्दि हुकुम् हवस् हजुरको क्या हुन्छ धेरै गुनी॥

येती बिन्ति गर्या र वानरहरू जल्दी तयारी भया।

हूकुम् माफिक काम गर्न भनि सब् वानर् खडा भै रह्या॥57॥
बालीको परलोक् भयो भनि खबर् सूनिन् र तारा रुँदै।

हा नाथ् आज कता गयौ भनि बहुत् विह्वल् निरन्तर हुँदै॥

क्या गर्छू अब पुत्र राज्य धनले भन्दै ति तारा जहाँ।

बालीको परलोक् भयो उहि जगा सोधेर पौंचिन् तहाँ॥58॥
बालीका दुइ पाउ पक्रि बहुतै रूँदी विलाप् खुप् गरी।

भन्छिन् श्रीरघुनाथलाइ रघुनाथ् फेर् बाण ऐल्हे धरी॥

मारी देउ मलाइ जान्छु म पनी मेरा पतीका सँगै।

खोज्छन् स्वर्ग विषे मलाइ पतिले काहाँ म बस्छू न गै॥59॥
पत्नी सीत वियोग् हुँदा यति विलाप् हूँदा रह्याछन् भनी।

मालुम् सब् त तहीं छ फेर् म भनु क्या पर्दैन भन्नू पनी॥

पत्नीदान् गरि पुण्य हुन्छ जति सो मिल्न्या छ पुण्यै पनी।

तस्मात् आज अवश्य हान शरले जावस् पती थ्यैं भनी॥60॥
येती बात् अगि राम सीत गरि फेर् सुग्रिव्जिलाई पनी।

भन्छिन् लौ गर राज्य आज खुसिले मित्ले दियाको भनी॥

ताराका इ वचन् सुनी कन बहुत् आयो प्रभूमा दया।

तारालाइ बुझाउना कन तहाँ एक् तत्त्व भन्दा भया॥61॥
हे ताराजि विचार् न राखि तिमिले शोकै कती गर्दछ्यौ।

यो मेरो पति हो भनेर न बुझी व्यर्थै शरिर् हर्दछ्यौ॥

जीवै हो पति भन्दछ्यौ पनि भन्या मर्दैन जीव् ता कहीं।

देहै हो पनि भन्दछ्यो त किन शोक् गर्छ्यौ छ ऊ ता यहीं॥62॥
श्रीराम्का इ वचन् सुनी कन तहाँ ताराजि चुप् भै रहिन्।

जुन् सन्देह पर्यो वहाँ मन महाँ सो मात्र सोद्धी भइन्॥

हे नाथ् मर्जि भयो सुन्याँ सब कुरा बुझ्दैन मन् तै पनी।

सन्देहै मनमा रह्यो म कन ता को गर्छ यो भोग् भनी॥63॥
देहै गर्दछ भोग् भनू पनि भन्या जड् पो छ यो देह ता।

ईश्वर् हो उहि गर्छ भोग् भनु भन्याँ सक्तीन भन्नै म ता॥

साह्रै मोह भयाँ म ता हजुरका एकै वचन्ले गरी।

माया राखि बुझाइ बक्सनु हवस् अज्ञान मेरो हरी॥64॥
ताराका इ वचन् सुनी कन बहुत् माया मनैमा धरी।

तत्त्वज्ञान् सब ताहिं बक्सनु भयो खोलेर विस्तार् गरी॥

हे ताराजि न रोउ आज मनले संसार् छ झूटो भनी।

झूटो कुन् रितले छ यो भनि भन्या भन्छू म विस्तार् पनी॥65॥
म ता नित्यै पो हूँ यहि शरिरमा लागि म गयाँ।

शरिर् मर्दा आफै मइँ मरि गया झैं पनि भयाँ॥

अहो अज्ञान् मेरो भनि कन जहाँ तक् त मनमा।

लिंदैनन् ताहाँ तक् फजिति पनि छन् यै जनमहाँ॥66॥
स्फटिक् जस्तो जीव् हो शरिरहरु लाहा बुझि लिनू॥

स्फटिक् लाहाका सङ् धरि कन त दृष्टान्त छ दिनू॥

लहाका सङ् बस्ता स्फटिक म छु लाल् भन्छ जसरी।

शरिर् मर्दा मर्छू म पनि भनि जिव् भन्छ तसरी॥67॥
स्फटिक्ले रातो छू भनि कन सुहावस् त उ पनी।

सुहावस् यस् जिव्ले शरिर सँगमा मर्छु म भनी॥

न ता जिव् मन्र्या हो शरिर सँग लागेर जनको।

न रातो हून्या हो स्फटिक सब खेल् जान मनको॥68॥
मनैका खेल्ले जिव् शरिर मइँ हूँ भन्दछ भनी।

जहाँ तक् जान्दैनन् फजिति तहिं तक् मिल्दछ पनी॥

मनैको खेल् हो यो भनी कन त जान्न्या तरि गया।

न जान्न्या जिव् जो हुन् उति त सब फन्दा परि गया॥69॥
शरिर् मैं हूँ मेरै धन जनहरू हुन् भनि जसै।

पर्यो मन्का खेल्मा तब फजिति मिल्छन् बुझ यसै॥

विना सत्का सङ्ले विन गुरु कृपाले इ फजिती।

अवश्यै छुट्तैनन् सकल मनका खेल नजिती॥70॥
म नित्यै आत्मा हूँ शरिरहरू हुन् चार घरिका।

विचार्मा टिक्तैनन् विषय पनि छन् स्वप्न सरिका॥

भनी जान्न्या जन्ले दृढ गरि लिया भक्ितरसले।

न बिस्र्या यी मैले यति कहिदियाँ प्रीतिवशले॥71॥
उस् जन्ममा अधिक भक्ति गर्यौ र ऐल्हे।

दर्शन् दियाँ नतर झट्ट म मिल्छु कैल्हे॥

मेरो स्वरुप् र इ वचन् अब सम्िझ लीया।

छुट्नन् ति दुःख तिमिलाइ जती त थीया॥72॥
लेखै हवैन अब कर्म पनी गरीन्या।

रस्ता कह्याँ भवसमुद्र सहज् तरीन्या॥

मेरो स्वरुप् र इ वचन् जति सम्झि लिन्छन्।

सब् कर्मपाश् ति सहजै सित काटि दिन्छन्॥73॥
यस्ता वचन् प्रभुजिका सुनि खूसि मन्ले।

छोडिन् जती छ अभिमान् पनि ताहिं तिन्ले॥

सुग्रीवको पनि गयो अभिमान ताहाँ।

राम्को कृपा हुन गया पछि टिक्छ काहाँ॥74॥
हूकुम् भयो प्रभुजिको तहिं मित्रलाई।

हे मित्र सुग्रिव जराउ इ बालिलाई॥

क्रीया गरी कन शरिर् गर शुद्ध ऐल्हे।

सब् काम छोडि कन यै गर आज पैल्हे॥75॥
हूकुम् भयो र तब बालि लगी जलाया।

क्रीया गरी सकि ति सुग्रिव ताहिं आया॥

अर्पण् गरी सकल राज् प्रभुका चरण्मा।

सेवक् बनी कन म बस्छु भनी शरण्मा॥76॥
सुग्रिव्लाइ हुकुम् भयो प्रभुजिको जो हौ तिमी सो म हूँ।

जाऊ आज र गादिमा बस म ता याहीं वनैमा रहूँ॥

गाऊँमा घरमा बस्वैन म भनी मेरो प्रतिज्ञा छ यो।

जानन् लक्ष्मण ता सँगै घर पनी भाई गया भै गयो॥77॥
वर्षाकाल् बिति सक्छ यो जब तसै सीताजिको खोज् गर्या।

येती मर्जि दिया र सुग्रिव बहुत् आनन्दसागर् पर्या॥

लक्ष्मण्जी पनि रामका हुकुमले सुग्रीवका साथ् गया।

सुग्रिव् गादि विषे बस्या पछि फिरी दाखिल् प्रभू थ्यैं भया॥78॥
राम्ले ताहिं थियो प्रवर्षण गिरी तेस्का शिखर्मा चढी।

देख्या सुन्दर एक् गुफा स्फटिकको ताहीं गराया मढी॥

फल्फूल ताहिं खचित् थियो नजिकमै थीयो तलाऊ पनी।

देख्या मन् खुसि भो तहाँ प्रभुजिको बस्न्यै जगा हो भनी॥79॥
वर्षाकाल तलक् रह्या प्रभु तहाँ पर्थ्यो बखत्मा झरी।

जन्तू पुष्ट थिया सबै ति वनका खायेर घाँस् पेट् भरी॥

बस्थ्या श्रीरघुनाथका वरिपरी खुप् ध्यान् प्रभूमा धरी।

ध्यान् जन्तूहरुको विचार् गरि तहाँ खूसी रहन्थ्या हरी॥80॥
लक्ष्मण्ले तहिं बिन्ति एक् दिन गर्या हे नाथ् पुजाको विधान्।

पाऊँ सुन्न हुकुम् हवस् खुसि भई कुन् हो करूणानिधान्॥

ब्रह्मा व्यास् अरु नारदादिहरु सब् भन्छन् पुजाले सरी।

अर्को तर्न उपाय छैन जनको खुस् छन् पुजैमा हरी॥81॥
यस्तो सूनि गयो र मन् चरणमा सोध्याँ पुजाको विधान्।

साँचो तत्त्व बताउन्या हजुर झैं को छन् दयाका निधान्।

यस्ता लक्ष्मणका वचन् सुनि तहाँ पूजा विधी हो जती।

सब् संक्षेप् रितले कह्या प्रभुजिले लक्ष्मण् भया खुस् अती॥82॥
वर्षाकाल् यहि रीतले तहिं बित्यो वार्ता कथाको गरी।

सम्झ्या झट्ट सिताजिलाइ र विलाप् फेर् गर्न लाग्या हरी॥

किष्किन्धापुरिमा यसै बिच महाँ मन्त्री हनूमानले।

सुग्रिव् सीत सिताजि खोज् गर भनी बिन्ती गर्या ज्ञानले॥83॥
हे राजन् रघुनाथले त उपकार् ठूलो हजुर्को गरी।

यो राज् बक्सनु भो हजुर् कन ठुलो विर् बालिलाई हरी॥

सो बिस्र्या झइँ मान्दछू हजुरले सीताजिको खोज् खबर्।

गन्र्या हो अब ता बखत् पनि भयो सब् काम छोडी अबर्॥84॥
यादै छैन हजूरलाइ त सिता खोज् गर्नु पर्ला भनी।

बालीको गति जुन् भयो उहि गती होला हजुर्को पनी॥

यो बिन्ती हनुमानको सुनि तहाँ साँचो भन्याको भनी।

सुग्रिव्ले तहिं झट् हुकुम् पनि दिया लस्कर् पठाऊ भनी॥85॥
दस् हज्जार् विर गै इ सात द्विपका वानर् जती छन् सबै।

खोजी आज खबर् दिउन् र सब विर् जम्मा हउन् झट् अबै॥

जो आवैन हुकुम् बदर् गरि यहाँ यै पन्ध्र दिन् भित्रमा।

तेस्को प्राण् म लिन्याछु निश्चय बुझुन् मानुन् सबै चित्तमा॥86॥
यस्तो सुग्रिवको हुकुम् हुन गयो सोही बमोजिम् गरी।

दस् हज्जार् विरको खटन् पनि गर्या लागेन बेर् एक् घरी॥

दस् हज्जार् विर दस् दिशा तिर छिटी खुस् भै हनूमान् रह्या।

ती विर् दस् तिर गै खबर् दिइ अनेक् सेना बटुल्दा भया॥87॥
लाग्या गर्न विलाप् अनेक् तरहले लीला गरी राम् उसै।

भन्छन् छन् ति सिता कहाँ अझ पनी लागेन पत्ता कसै॥

याहाँ छन् ति सिता भनी कन खबर् पाऊँ त जाऊँ तहाँ।

ल्याऊँ अम्रित झैँ सिता कन यहाँ पाऊँ खबर् पो कहाँ॥88॥
हे भाई सुन जो छ आज इ सिता हन्र्या म तेस्को सबै।

कूलै भस्म गराउन्या छु करुणा राख्वैन उस्मा कबै॥

येती बात् तहिं भाइ सीत गरि फेर् सीताजिका शोक् धरी।

लाग्या गर्न विलाप् अनेक् तरहले त्रैलोक्यका नाथ् हरी॥89॥
हे सीते कसरी म देखि पर भै बस्छ्यौ तिमी छौ कहाँ।

प्राणै थाम्न कठिन् भयो म विनु ता आपत् भया हुन् तहाँ॥

तिम्रो भेट न पाउँदा म कन ता ई चन्द्र सूर्यै बन्या।

तिम्रो ता गरुँ क्या बखान् तिमि त झन् छ्यौ दुष्टका पास् भन्या॥90॥
सुग्रिव् आज कृतघ्न झैं हुन गया आयो शरत्काल् पनी।

सुर्तै छैन सिताजिलाइ अझ तक् खोज् गर्नु पर्ला भनी॥

मार्छू सुग्रिव दुष्टलाइ पनि फेर् बाली सरीको गरी।

लक्ष्मण्ले प्रभुका वचन् सुनि गर्या बिन्ती अगाडी सरी॥91॥
हे नाथ् आज मलाइ बक्सनु हवस् हूकुम् म मार्छू गई।

लक्ष्मण्का इ वचन् सुनेर रघुनाथ् अत्यन्त खूसी भई॥

भन्छन् भाइ न मार आज बहुतै हप्काउ जाऊ तहाँ।

मारी हाल्न त योग्य छैन तर खुप् चेताइ आऊ यहाँ॥92॥
हूकुम् यो प्रभुको सुनी कन तहाँ लक्ष्मण्जि जल्दी गया।

सीतानाथ् नरको लिला गरि विलाप् खुप् गर्न लाग्दा भया॥

किष्किन्धापुरि पौंचि लक्ष्मणजिले टङ्कार् धनूको गर्या।

पत्थर् वृक्ष उठाइ वानरहरू कोही अगाडी पर्या॥93॥
सब् वानर् कन नष्ट गर्दछु भनी लक्ष्मण्जिले बाण् धर्या।

अङ्गद् आइ उठाइ वानरहरू जल्दी चरण्मा पर्या॥

अङ्गद् सीत बहुत् प्रसन्न भइ झट् ताहाँ अह्राया पनी।

जाऊ देउ खबर् अगाडि तिमिले लक्ष्मण्जि आया भनी॥94॥
अङ्गद् गै कन त्यो खबर् जब दिया सुग्रीवलाई तहाँ।

जल्दी सुग्रिवले हुकुम् पनि दिया लौ जाउ ल्याऊ यहाँ॥

अङ्गद्लाइ सँगै लियेर हनुमान् चाँडै चरण्मा परी।

लक्ष्मण्लाइ बुझाइ ल्याउ तिमिले सब् रीस शान्ती गरी॥95॥
यस्तो सुग्रिवो वचन् सुनि तहाँ सोही बमोजिम् गरी।

पाऊमा परि बाहुमा धरि लिया ल्याया बहुत् खुस् गरी॥

हूकुम् सुग्रिवको सुनी कन तहाँ ताराजि चाँडै गइन्।

लक्ष्मण्लाइ बुझाइ खुस् गरुँ भनी खुप् बिन्ति गर्दी भइन्॥96॥
लक्ष्मण् सुग्रिवको भयो जब त भेट् सुग्रिव् चरण्मा पर्या।

लक्ष्मण्ले पनि ताहिं सुग्रिवजिको सातो कुराले हर्या॥

बाली झैं हुन मन् छ की भनि जसै लक्ष्मण्जिले बात् गर्या।

लक्ष्मण्लाइ बुझाउना कन तहाँ जल्दी हनूमान् सर्या॥97॥
लक्ष्मण्जी पनि कामले बुझि गया बात्चित् खुसीका गरी।

फिर्नाको मतलब् गर्या प्रभु थिया जाहाँ जगन्नाथ् हरी॥

लक्ष्मण्का सँग लागि सैन्य पनि ली सुग्रीव खुस् भै गया।

जाहाँ श्रीरघुनाथ् थिया तहिं सबै दाखिल् क्षणैमा भया॥98॥
देख्या श्रीरघुनाथलाइ र परै रथ् देखि उत्रेर फेर्।

लक्ष्मण् सुग्रिव पाउमा परि गया लागेन एक् छीन बेर्॥

राम्ले सुग्रिवलाइ मित्र भनि खुप् आलिङ्गनादी गरी।

सोधपुछ् गर्नु भयो बहुत् खुसि हुँदै आफैं अगाडी सरी॥99॥
लाग्या सुग्रिव बिन्ति गर्न रघुनाथ् मैले त सेना पनी।

ल्यायाँ विर्हरु छन् अनेक् तरहका छन् इन्द्र तुल्यै पनी॥

ई सब् ख्वामितका निमित्त खुसि भै प्राणै दिन्या छन् जसो।

हूकुम् हुन्छ हवस् यहाँ हजुरको गर्छन् ति ऐल्हे तसो॥100॥
खूसी भै रघुनाथको हुकुम भो हर्षाश्रुधारा परी।

हे सुग्रिव सखे इ वानरहरू जाउन् दिशा दस् भरी॥

जाहाँ छन् ति सिता तहीं पुगि खबर् ल्याउन् भनी रामको।

हूकुम् पाइ पठाइ वानरहरू उर्दी दिया कामको॥101॥
जाऊ विर्हरु सब् दिसा दस विषे सीताजि मिल्छिन् कहाँ।

पत्ता लाइ सिताजिको खबर ली सब् वीर आऊ यहाँ॥

मैन्हा दीन बिताइ एक् रति खबर् केही न पाई त जो।

ढिल् गर्ला तसलाइ ता म सहजै मान्र्या छु मन्र्या छ त्यो॥102॥
यस्तो जल्दि हुकुम् गरी अरु दिशा वानर् पठाया अबर्।

दक्षिण् तीर त खुप् बडा विरहरू छानी पठाया जबर्॥

अङ्गद्लाइ र जाम्बवान् र हनुमान् विर् नल् सुषेण् फेर् शरभ्।

मैन्द द्वीविद आठ् पठाइ प्रभुका पास्मा रह्या एक् फगत्॥103॥
हूकुम् पाइ इ आठ विर्हरु पनी झट् जान लाग्या जसै।

हात्मा औंठि लियेर एक् हुकुम भो राम्चन्द्रजीको तसै॥

जाऊ काम् पनि साधि आउ हनुमान् ली जाउ औंठी पनी।

मेरो नाम् यहि औंठिमा छ र दियाँ सीताजि चिन्लिन् भनी॥104॥
यो काम् सिद्ध गराउन्या त तिमि छौ तिम्रो छ यो बल् भनी।

चीन्ह्याँको छु तबै त भन्छु म शुभै हून्या छ रस्ता पनी॥

येती श्रीरघुनाथको पनि हुकुम् पाया र औंठी लिया।

खूसी भै हनुमानले प्रभुजिमा सम्पूर्ण तन् मन् दिया॥105॥
अङ्गद् विर् हनुमान्हरू हुकुमले दक्षिण् दिशामा गया।

सर्वत्र पृथिवी ढुँडी ढुँडि सबै घुम्दै ति जाँदा भया॥

एक् दिन् विन्ध्यगिरी विषे वन महाँ देख्या र राक्षस् जसै।

रावण् हो कि भनी मुठी मुठि कसी मार्या कसैले तसै॥106॥
रावण् होइन यो त जाउँ भनि फेर् अर्का वनैमा गई।

ढुँढ्थ्या प्यास बढ्यो र जल् पनि ढुँडी हिंड्थ्या ति आकुल् भई॥

गुफा देखि त प्वाँख् चिसा गरि गरी हाँस् निस्कँदा देखि तेस्।

गूफा भित्र पस्या सबै विरहरू देख्या बहुत् बस्ति बेस्॥107॥
ठण्डा जल् सितका तलाउ पनि धेर् सब् वृक्ष फल् फुल् भरी।

घर् छन् धेर् घरमा छ चिज् पनि अनेक् हीरा जवाहेर् धरी॥

गुल्जार् देख्नु भन्या मनुष्यहरु ता एक् देख्नु नाहीं कहीं।

एक् योगीनि स्वयम्प्रभा कन जहाँ ध्यान् गर्दि देख्या तहीं॥108॥
सोधिन् योगिनिले प्रणाम् तब गर्या कुन् काम आयौ यहाँ।

क्या मन्सुब् छ बताउ फेर् अब उपर् जानू छ इच्छा कहाँ॥

यस्ता योगिनिका वचन् सुनि तहाँ बोल्या हनूमानले।

आयौं आज यहाँ सबै यति जना केवल् जलै खानले॥109॥
काम् यै हो यहि काम गर्नु छ भनी विस्तार् सुनाया जसै।

साह्रै खुस् हनुमानका वचनले हूँदी भइन् ती तसै॥

बोलिन् फल्फुल खाउ जल् पनि पिई फर्केर आऊ यहाँ।

मेरो नाम बताइ आज त म ता जान्छू प्रभू छन् जहाँ॥110॥
यस्ता योगिनिका वचन् सुनि गया जल्पान् गरी फेर् पनी।

आया योगिनीले गरिन् सब कुरा राम्का इ दुत् हुन् भनी॥

हेमाकी सखि हूँ सखी गइ गइन् उन्का वचन्ले यहाँ।

धेरै वर्ष बसी प्रभू भजि लिंदा ऐल्हे कृतार्थै भयाँ॥111॥
भन्थिन् राम् अवतार् हुन्याछ हरिको हन्र्या छ रावण् सिता।

खोज्न्या वानर आउनन् तहिं तलक् याहीं रहू तीमि ता॥

वानर्को रघुनाथको गरि पूजा यै ब्रह्मलोक् आउली।

जान्छू आज म ता तिमी बसि रहू क्यै काल् पछी आउली॥112॥
यस्तो अर्ति दिई गइन् सङिनिज्यू जुन् ब्रह्मलोक् हो वहाँ।

नाच्तैमा शिव खुस् हुँदा अघि दिया यो स्थान बस्ती यहाँ॥

पुत्री हुन् उ त विश्वकर्मकि म हूँ गन्धर्वकन्या सबै।

विस्तार् आज कह्याँ म जान्छु खुसि भै जाहाँ प्रभू छन् अबै॥113॥
आँखा चिम्ल पुर्याइ दिन्छु सहजै रस्ता विषे क्षण् महाँ।

जाऊ तीमिहरू पनी भनि सहज् पौंचाइ रस्ता महाँ॥

श्रीराम्चन्द्रजि थ्यैं ति योगिनि गइन् वानर् पुग्या रस्तिमा।

पौंचिन् योगिनि रामको कुटि जहाँ थीयो उसै बस्तिमा॥114॥
राम्को स्तूति गरिन् र वर् दिनु भयो जाऊ र बद्री महाँ।

मेरो ध्यान् गरि यो बिताउ र शरिर् पाउली परम्धाम् तहाँ॥

जो तिम्रा मनमा छ त्यो सब पुगोस् यस्तो त वर् ली गइन्।

बद्रीमा गइ रामका वचनले संसार तर्दी भइन्॥115॥
सीता खोज्न भनेर वानरहरू फिर्थ्या सबै वन् महाँ।

सीतालाइ न पाउँदै बिति गयो धेर् काल एक् दिन् तहाँ॥

अङ्गद्ले अति शोक् गर्या अब सहज् मार्छन् सबैको गयो।

प्यारो प्राण गरौं कसो अब मर्यौं बाँच्नू यहीं तक् भयो॥116॥
सुग्रिव्ले त मलाइ मार्नु छ सहज् पाया निहूँ यो पनी।

मार्छन् निश्चय शत्रु जानि अहिले यो शत्रुको बिज् भनी॥

केवल् रामकृपा हुँदा अघि बच्याँ ऐल्हे त राम्ले पनी।

दिन्छन् निश्चय मार्नलाइ मतलब् खोजेन सीता भनी॥117॥
अङ्गद्का इ वचन सुनी कन तहाँ क्वै बिन्ति यो पार्दछन्।

हे साहेप यहीं बसौं यहिं बस्या कुन् पाठले मार्दछन्॥

अङ्गद्का अरु वानरादिहरुका सून्या र कूरा तहाँ।

बोल्या श्रीहनुमानले किन बहुत् छोटा गर्यौ बात् यहाँ॥118॥
सुग्रिव्का प्रिय छौ अवश्य भगवान् राम्चन्द्रजीका पनी।

साँचो भन्छु म बेस् कुरो हजुरमा यस्तो छ कारण् भनी॥

भूभार् हर्न भनेर राम अवतार् आदीपुरुष्को भयो।

कस्को सक् छ सिताजि ह्रर्न नहिं ता इच्छा प्रभूकै छ यो॥119॥
मानिस्को अवतार् भयो प्रभुजिको सेवक् त वानर् भई।

गर्छौ सेवन भक्तिले प्रभुजिका केवल् हुकुम्मा रही॥

जान्याछौं पछि धाममा पनि सँगै यो जान मन्ले यहाँ।

क्या गर्छौ मनमा कुतर्क हरिको रिस् छैन कस्सै महाँ॥120॥
यस्ता बात् हनुमानका सुनि बुझ्या अङ्गद् र खूसी भई।

विन्ध्याचल् गिरिका कुनाकुनि समेत् सम्पूर्ण खोज्दै गई॥

पौंच्या क्षारसमुद्रका तिर महाँ पर्वत् थियो एक् तहाँ।

तेस्को नाम महेन्द्र हो नजिकमा देखिन्छ सागर् जहाँ॥121॥
पृथ्वीमा न मिलिन् सिता न जलमा जान्या छ बाटो कतै।

खोजौं जाउँ भन्या सक्यौं पृथिवि सब् पायौंन सीता कसै॥

फर्कौ जाउँ भन्या पनी अब सहज् मार्छन् त चाहीं यहीं।

मर्नू आज निको भनेर तिरमा बन्दर् बस्या सब् तहीं॥122॥
सम्पाती अति वृद्ध गृद्ध वनमा थीया ति निस्क्या जसै।

हेर्या दृष्टि फिराइ तेस् तिर महाँ देख्या ति वानर् तसै॥

बोल्या वाक्य पनी म भर्छु अब पेट् पायाँ अहारा भनी।

अङ्गद् विर्हरुले सुन्या र इ वचन् साह्रै डराया पनी॥123॥
लाग्या भन्न सबै ति वानरहरू आयेछ हाम्रो त काल्।

मछौं आज अवश्य मार्छ यसले यो गृद्धको हेर चाल्॥

क्या बात् भाग्य जटायुको प्रभुजिको प्यारो हुन्या काम् गरी।

ठाकुर्लाइ रिझाइ पार् पनि गया संसारसागर् तरी॥124॥
व्यर्थै हामि त गृद्धका मुख विषे सब् पर्न आयौं यहाँ।

येती वानरका वचन् सुनि तसै सम्पाति बोल्या तहाँ॥

हे विर् हो न डराउ आज तिमिले प्यारो सुनायौ कुरा।

मेरै भाइ जटायु हो कहु खबर् तेस्को त सप्पै कुरा॥125॥
अङ्गद् विर्हरुलाइ निर्भय दिई येती भन्याथ्या जसै।

सब् वृत्तान्त बताइ अङ्गदजिले विस्तार् सुनाया तसै॥

सम्पाती तहिं भन्दछन् म कन लौ लैजाउ सागर् महाँ।

दिन्छू आज जटायुलाइ जलदान् चाँडो म ऐल्हे तहाँ॥126॥
सीताको म बताउँला सब खबर् स्नान् अञ्जलीदान् गरी।

ई बात सूनि उचालि झट् लगि दिया सम्पातिले स्नान् गरी॥

दीया अञ्जलिदान् जसै फिरि उहीं ल्यायेर राखी दिया।

सम्पाती खुसि भै सबै कहि दिया आपत्ति देख्तै थिया॥127॥
हे विर् हो म त गृद्ध हूँ र म सिता देख्छू नजर्ले पनी।

याहीं छन् यहि भेष् छ येति सँग छन् यस्तो छ चाला भनी॥

भन्छू सब् तिमिलाइ चार सय कोस् जो कुद्न सक्छौ यहाँ।

सो लङ्का पनि पुग्दछौ उति कुद्या पौंचिन्छ लङ्का महाँ॥128॥
लङ्कामा ति सिताजि छन् तहिं गया मिल्छिन् सिताजी जहाँ।

गाह्रो चार् सय कोस कुद्न छ तहीं जाऊ न जाऊ तहाँ॥

रावण्ले लगि भित्रि गुप्ति वनमा राख्याकि छन् बेस् गरी।

पौंची भेट् गर जान सक्छ तिमिमा को यो समुद्रै तरी॥129॥
अश्शोक्का वन भित्र वृक्ष छ असल् एक् शिंशपाको तहीं।

सीता छन् तहीं भेट् हुन्या छ तहिं लौ जाऊ गयो काल् यहीं॥

क्यारूँ रावणलाइ मार्न म सहज् मान्र्या थियाँ हो र को।

साक्षात् सूर्यजिका कठोर् किरणले प्वाँखै डढ्या सब् र पो॥130॥
जाऊ चार् सय कोस कुद्न सकन्या कुन् विर् छ सागर् महाँ।

सीताको समचार् खबर् बुझि सहज् फर्केर आऊ यहाँ॥

यो सम्चार बताइ फेर् खुसि भई आफ्नू हवाल् सब् कह्या।

जुन् रित्ले अघि प्वाँख् डढ्या र विपती पाई अनेक् ताप् सह्या॥131॥
सम्पाती र जटायु भाइ दुइ हूँ हाम्रो कती बल् भनी।

बल् जान्ना कन दूइ भाइ उडि गै श्रीसूर्यबिम्बै मनी॥

पुग्दामा ति जटायुले त अपि ताप् मान्या र छोप्याँ जसै।

बाँच्या भाइ जटायु क्यारुँ म गिर्याँ मेरा डढ्या प्वाँख् तसै॥132॥
उच्चा देखि गिर्याँ म विन्ध्यगिरिमा तिन् दिन् त मूर्छा भयाँ।

ब्यूत्याँथ्याँ जब चन्द्रमा मुनि मिल्या तिन्का नजिक्मा गयाँ॥

सोध्या ती ऋषिले र सब् जब भन्याँ आफ्ना विपत्को गती।

मेरो चित् बुझाउना कन भन्या सब् दुःख हुन्छन् जती॥133॥
यस्तो हुन्छ विपत्ति गर्भ रहँदा यो हुन्छ यौवन् महाँ।

यस्तो हुन्छ बुढो हुँदा त भनु क्या थाहै छ सब् मन् महाँ॥

जाहाँ देह बन्यो र दुःख छ भनी पर्दैन भन्नू पनी।

जाहाँ देह छ ताहिं दुःख छ चिह्न्या साँचो कुरा हो भनी॥134॥
तस्मात् दुःख न मान देह छ त रोग् दुःखै छ दुःखै सही।

श्रीराम्को अवतार् हुन्या बखत तक् यस्सै जगामा रही॥

केही काल बिताउ राम अवतार् होला र सीता पनी।

हर्ला रावणले र तेस् बखतमा सीताजि खोज्नै भनी॥135॥
विर् बानर्हरु आउनन् ति सँग् भेट् होला उ वेला महाँ।

सीताको समचार् जसै त कहुला प्वाँख् उम्रनन् फेर् तहाँ॥

भन्थ्या सोहि कुरा सबै पुगि गया हेर् प्वाँख उम्र््या भनी।

प्वाँख् देखाइ बिदा भई उडि गया जाऊ तिमी लौ भनी॥136॥
अङ्गद् वीर्हरू खुस् भया अब मिलिन् सीता भनी सब् जसै।

लाग्या गम्न समुद्रलाइ र गमन् गर्नै न सक्नू कसै॥

फेरी ताप् मनमा पर्यो र अति शोक् अङ्गद्जि गर्दा भया।

अङ्गद्लाइ बुझाउना कन अघी श्रीजाम्बवान्जी सर्या॥137॥
साहेप् शोक् रति भर् कदापि न हवस् जाउन् हनुमान् भनी।

अङ्गद्लाइ बुझाइ झट्ट हनुमान्जीका नजिक्मा पनी॥

पौंची बेस् स्तुति गर्दछन् किन यहाँ चुप्चाप् भई दुर् रह्यौ।

राम्का काम निमित्त मात्र हनुमन् यो जन्म लींदा भयौ॥138॥
क्या वर्णन् बलको गरौं जब तिमी जन्म्यौ उसै फल् भनी।

पाक्याको फल ठानि सूर्य कन ता हात्ले म टिप्छू भनी॥

आकाश्मा जब ता कुद्यौ दुइ हजार् कोस् तक् पुगी फेर् झर्यौ।

यस्ता बालकमै थियौ किन यहाँ कोस् चार् सयैमा डर्यौ॥139॥
सून्या सब् हनुमानले स्तुति तहाँ जो जाम्बवान्ले गर्या।

साह्रै खुस् हनुमान् भया र खुसिले खुप् गर्जना पो गर्या॥

पर्वत्तुल्य बडो स्वरूप् धरि वचन् बोल्या म सागर् तरी।

लङ्का भस्म गराइ रावण समेत् सब् सैन्य चूर्णै गरी॥140॥
सीता ली कन आउँछू कि रिसले झुण्ड्यायि रावण् पनी।

ज्यूँदै दाखिल गर्छु राम्चरणमा खूनी हजुर्को भनी॥

की ता छन् ति सिता यहाँ भनि खबर् मात्रै सिताको लिई।

फिर्छू श्रीरघुनाथका चरणमा तन् मन् वचन् सब् दिई॥141॥
श्रीराम्का चरणाविन्द मनमा धर्दा र उठ्दा जसै।

बोल्या श्री हनुमानले यति कुरा श्री जाम्बवान्ले तसै॥

भन्छन् श्री हनुमानलाइ हनुमन् भेट् मात्र ऐल्है गरी।

फर्की आउ सिताजिको खबर ली एक्लै न लड्न्या गरी॥142॥
ख्वामित्का सँग लागि गै कन पछी सक्भर् लडौला भनी।

भन्दा खूसि भई बिदा भइ लिया झट् कुद्न मन्सुब् पनी॥

लाल् मुख् पीत शरीर् गरी गिरि उपर् जल्दी हनूमान् गया।

सब् प्राणीहरुले तहाँ ति हनुमान्जीलाइ हेर्दा भया॥143॥

सुन्दरकाण्ड

तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी।

श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी॥

भन्छन् विर्हरुलाइ ताहिं हनुमान् हे वीर हो पार् तरी।

सीताजी कन भेट्दछू म अहिले जान्छू बडो वेग् धरी॥1॥
पापी जन् पनि रामका स्मरणले संसार पार् तर्छ ता।

राम्कै काम निमित्त औंठि सँगली जान्छू दुतै हूँ म ता॥

क्या डर् क्षार समुद्र तर्न सहजै पौंचन्छु लङ्का भनी।

चारै पाउ जमिन् विषे धसि कुद्या हेर्दै तमासा पनि॥2॥
दक्षिण् तरफ् मुख गरी कन कुद्न बस्ता।

ऊपर् नजर दि अघिका दुइ पाउ धस्ता॥

सोझो गराइ कन घाँटि कुद्या जसै ता।

वायू सरी हुन गया हनुमान् तसै ता॥3॥
आकाश्मार्ग गरी कुदेर हनुमान् उड्थ्या ति आकाशमा।

सीताजी कन भेटि फर्कि कन फेर् राम्चन्द्रका पासमा॥

पुग्न्या अक्कल बल् छ छैन इनको बूझौं सबै बल् भनी।

इन्द्रादीहरुले खटाइ सुरसा जल्दी पठाया पनी॥4॥
जल्दी गै सुरसा अघिल्तिर बसिन् साम्ने हनूमानका।

क्या भन्छन् हनुमान् भनेर खुसि भै कूरा गरिन् खानका॥

भोकी धेर् दिनकी म खोजि हिंडथ्याँ क्या खाँ अहारा भनी।

पायाँ बल्ल यहाँ मिल्यौ तिमि त एक् साह्रै भयाँ खुस् पनी॥5॥
आऊ लौ पस मूखमा भनि तसै बोल्या हनुमान् तसै।

भन्छन् आज सिता न भेटि कन ता पस्तीन मुख्मा कसै॥

सीता भेटि म फर्कुला र रघुनाथ्ज्यूका हजुर्मा गई।

विस्तार् बिन्ति गरेर आइ पसुँला तिम्रो अहारा भई॥6॥
यस्ता बात् सुनि भन्दछिन् ति सुरसा मेरा मुखैमा पसी।

निस्की जाउ नहीं भन्या म बलले पक्रेर दाह्रा धसी॥

मार्छू येति भनिन् र लौ तब यहाँ मुख बाउ चाँडो भनी।

चार् कोस्को त शरीर् गरी कन बस्या आफू हनूमान् पनी॥7॥
चार् कोस्का हनुमान देखि सुरसा बिस् कोसको मुख् गरिन्।

चालिस् कोस् हनुमान् भया र असि कोस् मुख् फेरि जल्दी धरिन्॥

जल्दी फेर् हनुमानले छबिस कोस्को रुप् गराई बस्या।

फेर् दूई सय कोस् मुखै जब गरिन् अँगुष्ठ झैं भै पस्या॥8॥
निस्क्या जल्दि र भन्दछन् ति हनुमान् हे देवि मुख्मा पसी।

निस्क्याँ जान्छु म ता अवश्य अब ता बन्दैन काम् ता बसी॥

अक्कल् बल् सितका वचन् जब सुनिन् यस्ता हनूमानका।

आफ्नू सत्य कुरो तसै सब कहिन् छाडिन् कुरा खानका॥9॥
सक्छौ काम् तिमि साधि आउ हनुमन् यो बल् छ तिम्रो भनी।

चीह्न्याँ भन्छु म इन्द्रका हजुरमा तिम्रो पराक्रम् पनी॥

बल् बुझ्नै भनि इन्द्रका हुकुमले आया कि ता हूँ भनी।

खुस् भै स्वर्ग विषे गइन् ति सुरसा कूद्या हनूमान् पनी॥10॥
जस्ले सागर नाम् धर्या म कन सो राजा सगर् जो गया।

तिन्का वंश महाँ विभूषणसरी श्रीराम राजा भया॥

तिन्का काम निमित्त आज हनुमान् जान्छन् इ लङ्का महाँ।

मैनाक् पर्वत् निस्क जाउ तिमि गै विश्रामू गराऊ तहाँ॥11॥
थाक्या हुन् हनुमान् बिसाइ फल फुल् खाउन् र जाउन् भनी।

भन्दा सागरका वचन् सुनि तहाँ निस्क्या ति मैनाक् पनी॥

आर्को एक मनुष्यको स्वरुप ली हात् जोरि बिन्ती गर्या।

आई फल्फुल खाइ जाउ हनुमन् भन्दै अगाडी सर्या॥12॥
आज्ञा सागरको हुँदा चरणमा आयाँ म ऐल्हे भनी।

मैनाक्ले यति बिन्ति बात् जब गर्या बोल्या हनूमान् पनी॥

राम्को काम् न गरी बसेर कसरी खान्छू म जान्छू यसै।

हात्ले छुन्छु म लौ भनेर खुसि भै छोयेर कूद्या तसै॥13॥
केही दुर् हनुमान् पुग्या पछि तहाँ एक् सिंहिका राक्षसी।

छाया पक्रि उ जन्तु खैंचि बलले खान्थी जलैमा बसी॥

छाया पक्रि उ तान्न लागि हनुमान्ज्यूको गती बन्द भो।

कस्ले बन्द गर्यो गती भनि दिशा दस्मा तसै दृष्टि गो॥14॥
देख्या तल्तिर दृष्टि दी कन तहाँ जस्सै नजर्मा परी।

एकै चोट् दुइ लात् दिया र सहजै घुस्रुक्क ताहीं मरी॥

ताहाँ देखि कुदी गया र हनुमान् पौंच्या जसै तीरमा।

लङ्कापूरि तहाँ त्रिकूट गिरिका देख्या उपर् सीरमा॥15॥
वरि परि तहिं तीरैमा पनी वृक्ष फल् फुल्।

भरि छ जउन वन्मा गर्दछन् पक्षिले गुल्॥

भ्रमरहरु लताका फूलमा हल्लि हल्ली॥

घुनुनु घुनुनु गर्दै हिंद्दछन् बल्लि बल्ली॥16॥
नजर वरि परीको जो छ शोभा नजर् भो।

त्रिकुट गिरि उपर्का पूरिमा फेर् नजर् गो॥

वरि परि परखाल् छन् बीच बिच्मा छ खावा।

सहज त अरुले ता गर्न को सक्छ दावा॥17॥
अति तखत पर्याको खुप् अगम् देखि लङ्का।

यहि घडि पसि जाँकी राति जाँ येति शङ्का॥

गरि कन ठहराया याहिं बस्छू र राती।

सहज सित म जाँला जान ता राति जाती॥18॥
तहिं बसि यति गम्ले बाँकि दिन् सब् बिताई।

दिन बिति जब रात् भो जान पाऊ चलाई॥

स्वरुप पनि ति सानू ली पस्याथ्या जसै ता।

दगुरि नजिक आइन् लङ्किनी पो तसै ता॥19॥
को हो आज मलाइ केहि न गनी यो भित्र जान्या भनी।

चोरै हो भनि लात् उठाइ रिसले एक् चोट् त हानिन् पनी॥

जल्दी वाम मुठी उठाइ सहजै ठोक्ता जमिन्मा परिन्।

छाद्दै ताहिं रगत् गिराइ झटपट् ऊठेर बिन्ती गरिन्॥20॥
लङ्कापूरि त हुन् ति राक्षसि भई बस्थिन् सदा द्वारमा।

जानिन् श्रीहनुमान् भनेर जब चोट् पाइन् चलिन् सारमा॥

लङ्कीनी हुँ मलाइ ता जिति गियौ यस्ले सक्यो राज् गरी।

रावण्को त मरण् हुन्या बखत भो आयो मरण्को घरी॥21॥
ब्रह्माजी अघि भन्दथ्या प्रभुजिको हून्या छ रामावतार्।

हर्ला रावणले सिता र रघुनाथ् सुग्रीव थ्यैं मित्रचार्॥

गर्नन् सुग्रिवले पनी दसदिशा सीताजिको खोज् खबर्।

गर्नालाइ पठाउनन् विरहरू छानेर खुप् खुप् जबर्॥22॥
तिन्मा एक् विर आउला र तिमिले लात् मारि द्यौली जसै।

हान्ला वाम मुठी उठाइ रगतै छाद्दै गिरौली तसै॥

रावण्को तहिं सम्म आयु छ भनी भन्थ्या र सो बात् सुनी।

ब्रह्माको वचनै प्रमाण् गरि भन्याँ त्यो मर्छ रावण् पनी॥23॥
जाऊ भेट सिताजिलाइ ति अगम् भीत्री बघैंचा महाँ।

अश्शोक्का वनमा छ वृक्ष बढिया एक् शिंशपाको तहाँ॥

ताहीं छन् प्रभुकी प्रिया वरि परी छन् राक्षसीगण् पनी।

भेटी गै रघुनाथ थ्यैं भन तिमी यस्ता विपत् छन् भनी॥24॥
धन्यै भयाँ म अहिले प्रभुको स्मरण् भो।

संसारको भय छ जो उ त आज दुर् भो॥

जस्तो मिल्यो म कन सङ्ग र भक्ति ऐल्हे।

यस्तै रहोस् यहि म पाउँ न बिर्सु कैल्हे॥25॥
जस्सै श्रीहनुमान् पुग्या सहजमा लङ्का समुद्रै तरी।

तस्सै जानकिको फुर्यो नजर वाम् हातै समेत् खुप् गरी॥

रावण्को पनि वाम हात् नजर वाम् फूर्यो रघूनाथको।

दक्षिण् अङ्ग फुर्यो तसै बखतमा खुस् मन् भयो नाथको॥26॥
सानू रूप लिई पसी सब सहर् हेर्दै विचार् खुप् गरी।

रावण्को दरबार् विशेष् गरि ढुँड्या चोटा र कोठा गरी॥

पायानन् र कता म जाँ भनि तहाँ मन्मा विचार् भो जसै।

सम्झ्या लङ्किनिका वचन् र ति गया अश्शोक वन्मा तसै॥27॥
जो जो वृक्ष त इन्द्रका नगरिमा सो सो त सब् छन् तहीं।

रत्नैका सिंढि साफ् असल् जल पनी यस्ता तलाऊ कहीं॥

फल्फूल्ले अति भार् भयेर रुखका सब्का ति हाँगा पनी।

लच्क्याका भ्रमरा र पंछि बहुतै रुख्मा बस्याका पनी॥28॥
बिच् बिच्मा सुनका हबेलि पनि छन् उच्चा मणीको छ थाम्।

जस्मा छन् कति गर्नु वर्णन जहाँ हेर्यो तहाँ पक्कि काम्॥

यस्तो सुन्दर वन् नजर् गरि सबै डुल्दै हनूमान् गया।

देख्या सुन्दर शिंशपा र खुसि भै ताहीं ति दाखिल् भया॥29॥
अधिक गभिर छाया सूर्यको ताप् न पस्न्या।

उपर अति पर्हेला बेस् चरा मात्र बस्न्या॥

वरि परि पनि नाना राक्षसीको छ घेरा।

रुख मनि तहिं सीता देखिइन् फेद नेरा॥30॥
भोकी मैलि निन्याउरी न त कपाल् कोर्याकि सब् केश् उसै।

लट्टा मात्र गर्याकि खालि भुमिमा रूँदै बस्याकी यसै॥

राम् राम् राम् यति मात्र बोलि रहँदी देख्या र साना भई।

पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई॥31॥
भन्छन् श्री हनुमान् तहाँ मन मनै ऐल्हे कृतार्थै भयाँ।

जो सीता कन देखि आज खुसिले सीता समिप्मा रह्याँ॥

साध्याँ काम् पनि रामको भनि तहाँ खूसी भयाथ्या जसै।

अन्तः पूर महाँ भयो र खलबल् त्यो शब्द सून्या तसै॥32॥
क्याको शब्द भयो भनेर हनुमान् लूक्या ति झन् पातमा।

आयो रावण जल्दि ताहिं नजिकै सब् स्त्री लिई साथमा॥

कैल्हे मर्छु म राम देखि अझ तक् सीता हर्याँ ता पनी।

आयेनन् रघुनाथ् भनेर रहँदा देखेछ स्वप्ना पनी॥33॥
राम्को दुत् अति वीर वानर अशोक् वन् भित्र आई पसी।

सीताजी कन देखिन्या गरि तहीं पात् भित्र लूकी बसी॥

हेर्दो सुर् सब कामको खुसि भई स्वप्ना मिलेथ्यो जसै।

साँचै हो कि भनेर दौडि कन झट् आयो नजिक्मा तसै॥34॥
साँचै पो यदि हो भन्या असल भो दुर्वाच्य बोल्छू जसै।

सीतालाइ यसो सुनेर रिसले जाला र भन्ला तसै॥

मेरा दुष्ट वचन् सुनेर रघुनाथ् आयेर मार्नन् भनी।

यस्तो निश्चय मन् गरी नजिक गै दुर्वाच्य बोल्यो पनी॥35॥
सीताजी पनि दुष्टलाइ नजिकै देखी अधोमुख् गरिन्।

श्रीराम्का चरणाविन्द मनले अन्तःकरण्मा धरिन्॥

चुप् लागी जननी रहिन् जब तहाँ सो देखि रावण् पनी।

लाग्यो भन्न मलाइ देखि किन है लायौ अधोमुख् भनी॥36॥
राम् मेरा पति हुन् भनेर तिमि पो भन्छ्यौ उ भन्छन् कहाँ।

मेरी हो यदि भन्दथ्या पनि भन्या आऊनु पर्थ्यो यहाँ॥

माया छैन तिमी उपर् न बुझि क्या शोक् मात्र गर्छ्यौ उसै।

यौवन् व्यर्थ गयो विचार किन यो यौवन् अफाल्छ्यौ यसै॥37॥
यौवन् व्यर्थ न फाल व्यर्थ मनमा शोक् गर्दछ्यौ यो कती।

मैलाई पति मान आज तिमिले हुन्छू म तिम्रो पती॥

मेरी पत्नि भयौ भन्या त सबकी मालिक् हुन्याछौ म ता।

साह्रै प्रेम् गरि राखुँला बुझ अधिक् बैगूनी छन् राम ता॥38॥
मानी मूर्ख कृतघ्न मानुष महाँ साह्रै अधम् जो त छन्।

शक्तीका पनि कम् उ राम् पनि यहाँ आऊन् क्या सक्तछन्॥

तस्मात् छोड न राख राम्तिर बहुत् यस्तो भनेथ्यो जसै।

लाल् लाल् नेत्र गराइ पूर्ण रिसले बोलिन् सीताजी तसै॥39॥
पाजी रावण बोल्दछस् कति बहुत् दुर्वाच्य बक् बक् गरी।

राघव् देखि डराइ छल्न भनि एक् सन्न्यासिको रुप् धरी॥

जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले।

राम् लक्ष्मण् न हुँदा हरिस् तँ बुझिले मर्लास् यसै कालले॥40॥
सागर् शोषि कि साँघुलाइ रघुनाथ् आयेर घेरा दिई।

तेरो वंश विनाश् गरेर पछि फेर् प्राण् खैंचि तेरो लिई॥

लैजानन् रघुनाथ् मलाइ भनि झट् दीइन् जवाफ् यो जसै।

लाल् लाल् नेत्र गराइ खड्ग पनि ली काट्नै तयार् भो तसै॥41॥
मन्दोदरी विनति गर्न अगाडि सर्दी।

यो खड्ग टारुँ कसरी भनि चित्त धर्दी॥

पाऊ परी कन बहुत् गरि बिन्ति लाइन्।

सब् रिस् शमन् पनि गरायर खड्ग टारिन्॥42॥
हूकुम् रावणले तहाँ यति दियो हे राक्षसी ई सिता।

मैन्हा दूइ यसै बसुन् तब उपर् मेरा शयन्मा कि ता॥

बस्निन् बस्तिन पो पनी भनि भन्या काटेर टुक् टुक् गरी।

तर्कारी भुटुवा बनाउनु असल् मीठा मसाला धरी॥43॥
मासू खाइ म छोडुँला अझ पनी चेताउ येती भनी।

रावण् फर्कि गयो ति राक्षसिहरू एक् मुख् भया फेर् अनी॥

एक् भन्छे किन व्यर्थ रौवन सक्यौ रावण् गराऊ पती।

दोस्री क्या भनि उठ्तछे कि कतिवार् भन्छेस् तँ थाक्छेस् कती॥44॥
काट्नै पर्छ न काटि हुन्न भनि बात् गर्दै थिई अर्कि ता।

हात्मा ली तरवार दौडि पनि गै भन्दै म काट्छू सिता॥

अर्की घोर् मुख बाइ डर् दिन नजिक् धाई सिता थ्यैं जसै।

बूढी राक्षसि एक् थिई र त्रिजटा तेस्ले हटाई तसै॥45॥
लागी भन्न अभागि दुष्टहरु हो क्या दुष्टको झैं मती।

गर्छौ छोड विरोध् न राख गर खुप् सीताजिको ता स्तुती॥

पाऊमा पर दण्डवत् गर सबै मालिक् इनै हुन् भनी।

मेरा आज वचन् लियौ भनि भन्या खुप् हीत होला पनी॥46॥
स्वप्नाको सुन भन्छु लक्षण यहाँ श्रीराम् सिताका पती।

ऐरावत् उपरै चढेर सँगमा भाई लिई विर् अती॥

याहाँ आइ रिसाइ भस्म सब यो लङ्कै गराई दिया।

रावण् मारि सिता लियेर सँगमा पर्वत् उपर् पो थिया॥47॥
रावण् गोमय कुण्डमा कुल समेत् खुप् तेल मर्दन् गरी।

बुड्थ्यो सब् मुड आफना उनि उसै मुड्को त माला धरी॥

श्रीराम्का नजिकै विभीषण थिया भक्ती प्रभूको गरी।

गर्थ्या खूप टहल् बहुत् खुसि हुँदै तन् मन् वचन् एक् गरी॥48॥
राम्ले रावणलाइ आज सहजै मार्छन् कुलै साफ् गरी।

रावण्को अब वृद्धि छैन यसको आयो मरण्को घरी॥

राम्का भक्त विभीषणै अब उपर् बस्नन् यहाँ राज् गरी।

जस्तो हुन्छ हुकुम् सितापतिजिको सोही सिरोपर् धरी॥49॥
जस्तो स्वप्न भयो उ सब् भनि सक्याँ येती भनी चुप् जसै।

लागीथी त्रिजटा ति बात् सुनि डर्या सब् राक्षसीगण् तसै॥

निद्राका वशमा सबै परि गया सीता बहुतै रुँदी।

आधार् कोहि न पाउँदी अधिक ताप् मानेर निष्फल् हुँदी॥50॥
भोकी शोक् गरि भन्दछिन् अब यहाँ ऐल्हे कसोरी मरूँ।

इन्का हात परेर मर्नु ननिको आफै म मर्छू बरू॥

ताप्ले पूर्ण हुँदी उपाय अरु थोक् केही न जान्दी कबै।

मन्मा स्वस्थ न पाउँदी विरहले देख्ती अँध्यारो सबै॥51॥
राम्मा चित्त दियेर मर्नु बढिया मानेर सीता तहाँ।

झुन्डीन्या मतलब् लिई खडि भइन् पक्रेर हाँगा महाँ॥

राक्षस्का बिचमा बसी जिउनु धिक् मर्नू निको मर्दछू।

चुल्ठो लामु छ झुण्डिना कन यहाँ डोरी त यै गर्दछू॥52॥
यस्तो निश्चय सुर् गरी कन सिता झुन्डीन आँटिन् जसै।

काम् बित्ला भनि सानु बोलि झटपट् बोल्या हनूमान् तसै॥

भारत्वर्ष विषे मणी मुकुट झैं नाम् ता अयोध्या भनी।

ठूलो एक सहर् थियो मणिमयी सुन्दर् बन्याको पनी॥53॥
इक्ष्वाकूका कुलैमा अति बलि दशरथ् विर् महाराज् रह्याछन्।

तिन्का तिन् रानिमद्धे गुणिगुणि अति विर् चार छोरा भयाछन्॥

जेठा राम्जी ति चार्मा उहिं पछि त भरत्जी र लक्ष्मण् इ तीनै।

भन्दा शत्रुघ्न कान्छा सकल गुणमहाँ कम्ति छैनन् इ कूनै॥54॥
जेठा राम पिताजिका हुकुमले सब् राज्य छोडी दिई।

वन्मा बस्न चल्या बहुत् खुसि भई सीता र लक्ष्मण् लिई॥

एक् दिन् पञ्चवटी गया प्रभु तहीं डेरा प्रभूको पर्यो।

रावण्ले अति छल् गरी कन तहाँ सीताजिलाई हर्यो॥55॥
राम् लक्ष्मण् नहुँदा सिता पनि तहाँ चोरी जसै ता हर्यो।

चोरी आज सिता हर्यो भनि बहुत् खेद् रामलाई पर्यो॥

जान्थ्या खोजि सिताजिलाइ वनमा फेला जटायू पर्या।

तिन् माथी करुणा भयो प्रभुजिको ताहीं जटायू तर्या॥56॥
भेट् सुग्रिव् सित भो पछी प्रभुजिको लाया मित्यारी पनी।

बाली मारि रजाञि बक्सनु भयो मित् हुन् इ मेरा भनी॥

विर् विर् वानर छानि सुग्रिवजिले सीताजि खोज्नै भनी।

हूकुम् बक्सनु भो र विर्हरु गया सीताजि खोज्नै पनी॥57॥
तिन्मा एक् विर ता म हूँ म त यहीं आयाँ समुद्रै तरी।

सम्पाती सित भेट् हुँदा खबर भै उन्का वचन्ले गरी॥

लङ्का दाखिल भै गयाँ छिन महाँ राम्का प्रताप्ले गरी।

फुत्क्याँ लङ्किनी देखि निर्भय भई अश्शोक वन्मा परी॥58॥
देख्याँ सुन्दर वाटिका वरिपरी रुख् बेस् लताले गरी।

बेह्र्याका चहुँ ओर रत्न सरिका फल् फुल् फल्याको भरी॥

देख्याँ आज सिताजिलाइ र यहाँ आनन्द पायाँ भनी।

येती बिन्ति गरेर चुप् भइ रह्या ताहाँ हनूमान् पनी॥59॥
सीताजिले जब इ बात् क्रमले सुनीथिन्।

आश्चर्य भै कन वरीपरि हेरि एक् छिन्॥

कोही नदेखि ति सिता अरुलाइ ताहाँ।

भन्छिन् कुरा इ कहन्या जन को छ याहाँ॥60॥
भ्रम् हो भनू पनि भन्या सब चेत् छ मेरा।

स्वप्ना कसो गरि भनू निद छैन मेरा॥

जो हो इ बात कहन्या उ अगाडि आई।

अम्रित् वचन् ति सब आज भनोस् मलाई॥61॥
सीताजिका यति वचन् जब सुन्न पाया।

सानू स्वरुप् लि हनुमान्जि अगाडि आया॥

दर्शन् प्रणाम् पनि गर्या र सिताजिलाई।

ताहिं खडा भइ रह्या अति हर्ष पाई॥62॥
लाल् मुख पीत शरिर् शरिर् पनि अधिक् सानू भङेरा सरी।

धार्याका हनुमान देखि मनले आफैं ति शङ्का परी॥

रावण्को छल हो कि यो भनि तहाँ लाइन् अधोमुख् जसै।

शङ्का भो अब माइलाइ भनि झट् बोल्या हनूमान् तसै॥63॥
हे माता म त दास हूँ हजुरको राम्का हुकुम्ले गरी।

आयाको छु हजूरका खबरमा गम्भिर् समुद्रै तरी॥

राजा सुग्रिवको म मन्त्रि पनि हूँ वायू पिता हुन् भनी।

येती बिन्ति गरेर चुप् भइ रह्या क्या हुन्छ मर्जी भनी॥64॥
सीताजी पनि भन्दछिन् कसरि यो जानू म मानिस् पनी।

वानर् सीत मित्यारि लाउँछ कतै क्या हुन् कुराको जनी॥

येती बोलि सिताजि चुप् भइ रहिन् साँचो न मानी जसै।

फेर् वृत्तान्त गरी सुनाइ सब बात् औँठी दिया पो तसै॥65॥
औंठी दी कन फेर् प्रणाम् पनि गरी जस्सै हनूमान् बस्या।

देखिन् औंठि जसै तसै बखतमा हर्षाश्रुधारा खस्या॥

बर् बर् आँसु खसाउँदै प्रभुजिको औंठी सिरोपर् धरिन्।

साह्रै खुस् हनुमान् उपर् भइ तहाँ प्राण् झैं पियारो गरिन्॥66॥
हित गरि हनुमान्जीलाइ भन्छिन् ति माता।

म कन तिमि भयौ खुप् प्राणका आज दाता॥

तिमि सित रघुनाथ्ले खूप विश्वास मान्या।

तब म सित पठाया येहि काम्ले त जान्याँ॥67॥
अब त तिमि हनूमान् जल्दि गै रामलाई।

भन विपति पर्याकि देखि हाल्यौ मलाई॥

जति गरि म उपर् श्रीरामको हुन्छ माया।

तति गरि तिमिले खुप् युक्तिले बिन्ति लाया॥68॥
जिन् तिन् शरीर महिना दुइ ता म धर्छू।

ताहाँ पछी त तिमि निश्चय जान मर्छू॥

खान्या छ दुष्ट तरकारि बनाइ येही।

छैनन् यहाँ अरु सहाय मलाइ कोही॥69॥
तस्मात् अवश्य इ दुई महिना न जाई।

सुग्रिव् समेत् सकल सैन्य लियेर आई॥

यस् दुष्टलाइ सब वंश समेत मारुन्।

यो दुःखसागर पर्या कि मलाइ तारुन्॥70॥
सिप सित गरि बिन्ती खुप् दयालू बनाया।

जति छ फजिति मेरा यो सबै थोक् जनाया॥

यति विनति गर्या लौ पाउला धर्म धेरै।

सकल भनि सक्याँ बात् क्या भनू बेरबेरै॥71॥
बिन्ती श्रीहनुमानले पनि गर्या माता म सेवक् त हूँ।

ख्वामित्का इ विपत् सबै म कहुँला धेर् बात् यहाँ क्या कहूँ॥

राम् लक्ष्मण् दुइ भाइ सुग्रिव समेत् वानर्कि सेना लिई।

वंशै रावणको विनाश् गरि दिनन् घेरा सहर्मा दिई॥72॥
ख्वामित्लाइ लियेर फेर रघुनाथ् जानन् अयोध्या महाँ।

आवैनन् रघुनाथ् भनेर मनमा शङ्कै न लागोस् यहाँ॥

यो बिन्ती सुनि भन्दछिन् तहिं सिता राम्चन्द्रजी क्या गरी।

सेना ली कन आउनन् अति गभिर् यस्तो समुद्रै तरी॥73॥
जननि कन बुझाया यो हुकुम् सूनि ताहाँ।

मइछु प्रभुजिको दास् बोकुँला पीठ माहाँ॥

रघुपति दुइ भाईलाइ क्या दुःख पर्छन्।

सकल अरु र सुग्रिव् कूदि आफै ति तर्छन्॥74॥
जननि म त बिदा झट् पाउँ मर्जी त सून्याँ।

अब त उहिं गया पो हुन्छ काम् जल्दि हून्या॥

जउन चिज दिंदामा राम विश्वास मान्छन्।

उहि चिज पनि पाऊँ जान्छु दिन् मात्र जान्छन्॥75॥
यति सुनि अघि देखी केशपाश्मा धर्याको।

मणि झिकि दिइ हालिन् रामका मन् पर्याको॥

मणि दिइ फिरि भन्छिन् चित्रकुट्मा भयाको।

शरण परि नजर् दी काग बाँची गयाको॥76॥
एक् दिन हे हनुमन् म चित्रकुटमा राम्का नजिक्मा थियाँ।

मेरा काख महाँ सुत्या र रघुनाथ् हात्को तकीया दियाँ॥

मेरा लाल् दुइ पाउ देखि कन काग् आयो र ठूँग्यो जसै।

मेरा इ दुइ पाउ देखि बहुतै आयो रगत् पो तसै॥77॥
ऊठी श्रीरघुनाथको नजर भो वाहीं थियो काग् पनी।

फ्याँक्या एक् तृण ली तहाँ प्रभुजिले यो काग मार्छू भनी॥

त्यो काग् चौध भुवन् डुल्यो त पनि एक् पायेन आधार् जसै।

फेरी आइ शरण् परी नजर दी बाँची गयो काग् तसै॥78॥
मेरा आज शरण् पर्यो भनि दया आयो उ काग्मा पनी।

मै माथी त दया कसो हुन गयो भन्थिन् भन्या यो पनी॥

हात् जोरी कन बिन्ति फेरि हनुमान् विर् गर्न लाग्या तहाँ।

याहाँ छन् भनि यो खबर् न भइ पो आऊन ढिल् भो यहाँ॥79॥
रावण्ले हरि ली गयो भनि खबर् हुन्थ्यो त बाँच्थ्यो कहाँ।

आज् तक् रावणको कुलै प्रभुजिले सब् भस्म गर्थ्या यहाँ॥

देख्छू रूप त सानु मानु भङिरा जत्रो कसोरी लडी।

राक्षस् नाश् तिमि गर्दछौ तिमि ठुला हुन्छौ स्वरुप्की बढी॥80॥
तिम्रो रुप् अति सानु देख्छु अरु ता कत्रा हुनन् झन् भनी।

संझन्छू मनले र गुम्छु मनमा आश्चर्य मान्छू पनी॥

यस्तो मर्जि सिताजिको सुनि तहाँ पर्वत् सरीका भया।

मेरू तुल्य स्वरुप् गरेर हनुमान् साम्ने खडा भै रह्या॥81॥
जब त ति हनुमान्को रुप् ठुलो देखि लीइन्।

खुसि भइ तहिं बीदा माइले जल्दि दीइन्॥

अब त तिमी हनूमन् धृष्ट चाला छिपाऊ।

इनिहरु सब देख्छन् कूदि फेर् जाइ जाऊ॥82॥
यति सुनि हनुमान्ले फेरि बिन्ती लगाया।

सहज सित म जान्थ्याँ येति फल् खान पाया॥

वरिपरि फल फुल् छन् मर्जि मात्रै म पाऊँ।

हुकुम बिनु कसोरी आज आफैं म खाऊँ॥83॥
यति विनति गर्याथ्या खानको मर्जि पाई।

खुसि भइ फल खाई माइ थ्यैं जल्दि आई॥

चरण परि बिदा भै क्यै गया दुर् जसै ता।

अलिकति कछु काम् फेर् गर्न आँट्या तसै ता॥84॥
आफ्नै मन् मन भन्दछन् ति हनुमान् जुन् वीर दुत् भै गई।

जत्ती ख्वामितको हुकुम् छ उतिमा मात्रै चनाखो भई॥

उत्ती काम् गरि फिर्छ पो पनि भन्या त्यो दुत् अधम् हो भनी।

भन्छन् सब् दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनी॥85॥
यति गमि ति बघैंचा फेंक्न मनसुब् चलाई।

खुसि भइ ति महाविर् जल्दि फेर् फर्कि आई॥

सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या।

फगत जननि बस्न्या एक् सिसौ शेष पार्या॥86॥
जब त वन विनास्या राक्षसी जल्दि आई।

पुगि नजिक सिताका सोधि सीताजिलाई॥

भन न तिमि सिताजी विर् क्व हो क्यान आयो।

अति असल बघैंचा मासि मैदान् बनायो॥87॥
यति सुनि तहिं सीता भन्दछिन् क्या म जानू।

विपत परि रह्याकी छू म ता चानुमानू॥

तिमि बुझ न सबै बात् हो क्व हो क्यान आयो।

अति असल बघैंचा क्यान मैदान् बनायो॥88॥
सकल छल त हो यो राक्षसै गर्छ माया।

जब त यति भनीथिन् राक्षसी सब् डराया॥

कहन भनि गया सब् रावणैका हजुर्मा।

पुगि कहन ति लाग्या वन् गयो जो बिसुर्मा॥89॥
ऐल्हे हे महराज् अधीक बलियो आयो र वानर् यहाँ।

सीताजी सँग केहि बात्चित गरी कूद्यो बघैंचा महाँ॥

सब् ती रुख् सहजै उखेलि कन साफ् मैदान् बनाई दियो।

चौकी पूर्ण गरी हवेलि पनि सब् नासी बस्याको थियो॥90॥
आयौं हामि त बिन्ति गर्न भनि यो बिन्ती गर्याथ्या जसै।

सून्यो जल्दि उठेर पक्रन भनी लस्कर् पठायो तसै॥

हूकुम् पायर लाख लस्कर गयो पक्रेर ल्याऊँ भनी।

एक् लाख् लस्करलाइ देखि हनुमान् अत्यन्त गर्ज्या पनी॥91॥
त्यो शब्दै सुनि मोह लस्कर भयो छोड्यो हतीयार् पनी।

सब् मार्या हनुमानले क्षण महाँ ई हुन् भुसूना भनी॥

लोहस्तम्भ उठाइ साफ् सब गर्या सम्चार् पुगेथ्यो जसै।

रावण् खूप रिसाइ फेर् पनि ठुलो सेना पठायो तसै॥92॥
सेनाका पति पाँच् गया हुकुमले ठूलै थियो ता पनी।

त्यो सेना पनि साफ् तहाँ गरि दिया उस्तै भुसूना गनी॥

फेर् मन्त्रीसुत सात् गया हुकुमले खुप् भारि लस्कर् लिई।

लोहस्तम्भ उठाइ साफ् फिरि गर्या सब्लाइ ठक्कर् दिई॥93॥
सात् मन्त्रीसुतलाइ सैन्य सहितै मारी सक्याथ्या जसै।

कान्छो रावणपुत्र अक्षयकुमार् पो लड्न आयो तसै॥

भारी फौज लियेर त्यो पुतलि झैं आई जसै ता पर्यो।

आकाश्मा कुदि लोहदण्ड सिरमा ठोक्या सहज्मा मर्यो॥94॥
पैल्हे अक्षकुमार मारि अरु सब् सेना समेत् नाश् गर्या।

आउँदैमा तहिं बत्तिका पुतलि झैं हूँदै अनेक् विर् मर्या॥

सब् राक्षस्हरुलाइ मारि सकि फेर् आऊँछ कुन् विर् भनी।

लोहस्तम्भ लिई खडा भइ रह्या ताहाँ हनूमान् पनी॥95॥
जब त अति पियारो पुत्र कान्छो मर्याको।

खबर कहन आयो फौज् समेत् नाश् गर्याको॥

तब त अधिक ताप् भै भन्छ रावण् रिसाई।

अब त गइ म आफैं मार्दछू तेसलाई॥96॥
की मार्छू कि त बाँधि ल्याउँछू यहाँ तेरा नजिक्मा भनी।

रावण्ले यति इन्द्रजित् सित भन्यो तेस् इन्द्रजित्ले पनी॥

हात् जोरीकन बिन्ति गर्छ म छँदै आफैं हजुर्ले तहाँ।

जानू पर्छ कतै म गै सहजमा ल्याऊँछु बाँधी यहाँ॥97॥
येती बिन्ति गरी चढ्यो रथमहाँ क्यै फौज् पनी साथ् लिई।

आयो श्रीहनुमान् भया तिर गयो साम्ने मुहाडा दिई॥

देख्या श्रीहनुमानले पनि र खुप् गर्ज्या ति साम्ने भई।

लोहस्तम्भ लिई कुदी कन उपर् आकाश बिच्मा गई॥98॥
लोहस्तम्भ उचालि घुम्न बिचमा लाग्या गरुड् झैं जसै।

पाँच् बाण् छोडि लगाइ आठ् अनि थपी फेरी लगायो तसै॥

बाण् लाग्या भनि इन्द्रजित् खुसि भई गर्ज्यो जसै ता तहाँ।

घोडा सुत् रथ चूर्ण पारि हनुमान् कूद्या ति आकाश् महाँ॥99॥
फेर् आर्का रथमा चढेर अब ता बाँध्छू म ऐल्हे भनी।

फ्याँक्यो जल्दि र ब्रह्मपाश् ति हनुमान्जीलाइ बाँध्यो पनी॥

बाँधी श्रीहनुमानलाइ सँग ली फर्क्यो र दर्बार् गयो।

बाँध्याका हनुमान देखि सहरै सम्पूर्ण खूसी भयो॥100॥
जुन् राम्को चरणै स्मरण् गरि सहज् अज्ञान पाश् नाश् गरी।

वैकुण्ठै सब पुग्दछन् भनि भन्या तेस् ब्रह्मपाश्मा परी॥

बाँधिन्थ्या हनुमान् कहाँ तर पनी बन्धन् पर्या झैं भया।

रावण् भेटि त जाँ भनेर हनुमान् चुप्चाप लागी गया॥101॥
जस्सै इन्द्रजितै गयो र हनुमान्जीलाइ बाँधी तहाँ।

पर्केथ्यो घर जाँ भनी तब तहीं आयेर रस्ता महाँ॥

रिस् फेर्या पुरवासिले पनि मुठी ऊठाइ हान्दा भया।

रिस् फेर्छन् भुसुना भनेर हनुमान् चुप्चाप लागी गया॥102॥
पैल्हे ता ब्रह्मपाश्मा परि कन क्षण भर् बाँधिनू काम थीयो।

ब्रह्माको वाक्य साँचो गरि कन पछि ता पाशले छाडि दीयो॥

बन्धन् देखी त खुस्क्या तर पनि हनुमान् भेट्न मन्सुब् धर्याका।

पौंच्या रावण् छ जाहाँ खुसि भइ अरु ता मान्दछन् कर् पर्याका॥103॥
रावण् विर् पनि मन्त्रिवर्ग सँग ली भारी सभामा थियो।

पौंच्यो ताहिं र इन्द्रजित् ति हनुमान्जीलाइ सुम्पी दियो॥

हात् जोरी विनती गर्यो अति हरिप् वानर् छ सेना पनी।

धेरै नाश गरेछ आज मइ गै ल्यायाँ खुनी हो भनी॥104॥
जो गर्नू अब पर्छ मन्त्रि सँगको सल्लाह बात्चित् गरी।

यस्को आज ठिकान् लगाउनु हवस् मन्मा विचार् खुप् गरी॥

येती बिन्ति सुन्यो र इन्द्रजितका हेर्यो नजर्ले पनी।

लाग्यो सोध्न प्रहस्तलाइ किन यो आयेछ लौ सोध् भनी॥105॥
अस्सल्मा पनि क्या भनू अति असल् मेरो बघैंचा पनी।

नास्यो विर् पनि नाश् गर्यो म कन ता मानू भुसूनू गनी॥

हूकुम् यो सुनि त्यो प्रहस्त हनुमान्जीका अगाडी गई।

लाग्यो सोध्न सबै कुरा पनि बहुत् आधार दीन्या भई॥106॥
यै बिच्मा न डराइ रावण उपर् साम्ने नजर् दी तहाँ।

बोल्या श्री हनुमानले तँ बुझिले काम्ले त आयाँ यहाँ॥

भार्या जस्कि हरिस् उनै जगतनाथ् राम्को म दास् हूँ मती।

तेरो नष्ट भयो र अर्ति दिन यो आयाँ न ले यो मती॥107॥
आया राम मतङ्ग पर्वत विषे लक्ष्मण् सहित् भै जसै।

लाया सुग्रिवले मित्यारि खुसि भै राम्चन्द्रजी थ्यैं तसै॥

बाली मारि रजाइँ बक्सनु भयो सुग्रीव राजा भया।

सीता खोज्न हुकुम् हुँदा विरहरू फेर् दस् दिशामा गया॥108॥
एक् विर् ता मइ हूँ हुकुम् सिर उपर् लीयेर आयाँ यहाँ।

पायाँ देख्न सिताजिलाइ दुत हूँ राम्को छलिन्थ्याँ कहाँ॥

वानर् हूँ र उखेलि साफ् गरि दियाँ तेरो बघैंचा पनी।

आया मार्न मलाइ जो अघि सरी उन्लाइ मार्याँ पनी॥109॥
यो इन्द्रजित् गइ यसै बिचमा मलाई।

बाँधेर ल्याइ कन आज दियो तँलाई॥

बन्धन् पर्यो भनि न ठान् त दियाँ जनाई।

खूला छू अर्ति पनि दिन्छु म सुन् तँलाई॥110॥
लोक्को गती सब विचार् गरि आज तैंले।

यो राक्षसी मति न ले हित भन्छु मैले॥

ब्राह्मण् तँ होस् ऋषि पुलस्त्यजिको त नाती।

राक्षस् कसो गरि तँ होस् बुझिले न भाँती॥111॥
आत्मा स्वरूप उ त झन् छ स्वरूप काहाँ।

जाती र वर्ण लिइ भन्न सकिन्छ याहाँ॥

सो आत्म रूप भनि नित्य विचार गर्नू।

आनन्दमा रहुँ भन्या मति येहि धर्नू॥112॥
जो यो लोक विषे प्रपञ्च छ सबै जान् स्वप्न जस्तो भनी।

सूतुन्ज्याल् सपना छ सत्य उठि ता लाग्दैन साँचो पनी॥

तस्तै ज्ञान् त भयो भन्या त्रिभुवनै एक् देख्छ आत्मा फगत्।

अज्ञान् रुप् निदमा पर्यो पनि भन्या देखिन्छ नाना जगत्॥113॥
आत्मा सत्य म हूँ भनेर बुझिले यस् देहलाई पनी।

झूटो जान् पृथिवी र जल्हरु मिली झुट्टै बन्याको भनी॥

तर्लास् यो मनमा लिइस् पनि भन्या तान्र्या उनै विष्णु छन्।

जो हो विष्णु उ राम हुन् शरण पर् रिस् उठ्छ तेरा त झन्॥114॥
यस्तो मूर्खपना तँ छोड् लियर जा सीता शरण्मा तँ पर्।

खुस् हूनन् रघुनाथ् शरण् परि गया यो दुष्ट चाला न गर्॥

राम्को भक्ति गरैन ता कसरि यो संसार तर्ला उसै।

पर्ला जन्मनु मर्नु यै फजितिमा छुट्तैन यो ताप् कसै॥115॥
यो जानी कन भक्ति गर् शरण पर् राम्का हजुर्मा गई।

आफ्नू आत्म नरक् विषे न लइजा यस्तो त जान्न्या भई॥

सीताराम् सितको विरोध् गरि तँ हेर् गिर्लास् नरक्मा परी।

फेर् उत्तीर्ण हुनू कठिन् छ बुझिले अर्ती दियाँ यो पनी॥116॥
यस्ता बात् हनुमानका जब सुन्यो रावण् रिसायो तहाँ।

लाल् लाल् नेत्र गराइ भन्छ रिसले सूनाइ साभा महाँ॥

मेरो डर् रति भर् न राखि बहुतै क्या बोल्दछस् रे यहाँ।

राम् लक्ष्मण् दुइ भाइलाइ सहजै मार्छू म छोड्छू कहाँ॥117॥
सुग्रिव्लाई तँलाइ मार्छू पछि फेर् मार्छू सिताजी पनी।

राम् लक्ष्मण् सित क्या डराउँछु र की मार्नन् मलाई भनी॥

तिन्का वानर सैन्यको पनि विनाश् गन्र्या छु येती जसै।

बोल्यो रावणले इ बात् सुनि तहाँ बोल्या हनूमान् तसै॥118॥
यसरि किन बहूतै गर्दछस् सेखि धेरै।

प्रभु कन त परै राख् जोरि छैनस् तँ मेरै॥

अघि सरुँ त तँ जस्ता कोटि रावण् म मारूँ।

हुकुम त न भयाको मार्न पो आज क्यारूँ॥119॥
यस्ता बात् हनुमानका सुनि तहाँ रावण् रिसायो अती।

साँचा हुन् इ कुरा हुँदा कन त हो लिन्थ्यो कहाँ दुर्मती॥

यो वानर् कन काटि टुक् गर भनी यस्तो हुकुम् पो दियो।

हात्मा बेस् हतियार् लिई अघि सर्यो जुन् विर् नजिक्मा थियो॥120॥
यस् बिच्मा त विभीषणै अघि सरी हात् जोरि बिन्ती गर्या।

दुत् हो यो महराज् कुरा पनि वहाँ लैजान्छ को यो मर्या॥

चिह्नू केहि लगाइ छोड् दिनु हवस् जावस् र विस्तार् गरोस्।

येसै वानरका कुरा सुनि यहाँ आउन् ति सङ्ग्राम परोस्॥121॥
साँचो भन्यो भनि बुझी कपडा मगायो।

तेल् घीउले मुछि पुछर् भरि बेर्न लायो॥

हूकुम् दियो अब जलायर बाँधि लेऊ।

सारा सहर् पनि घुमायर छाडि देऊ॥122॥
जावस् ठुटो पुछर ली कन फर्कि वाहीं।

पुच्छर् डढी न सकि छोडनु छैन काहीं॥

यस्तो हुकुम् जब दियो तब बाँधि लीया।

आगो पनी पुछर तीर लगाइ दीया॥123॥
बाँध्याका हनुमान् लियेर खुसि भै भेरी अगाडी फुकी।

लाग्या घुम्न सहर् ति राक्षसहरू चोर् हो भनी खुप् भुकी॥

चुप् लागी हनुमान् पनी खुरु खुरू गम् हेरि हिंड्दै गया।

ढोका पश्चिममा पुगी सहरको ताहीं ति साना भया॥124॥
बन्धन् देखि त खुस्कि सूक्ष्म रुपले पर्वत् सरीका भया।

ठूलो स्तम्भ उठाइ राक्षस अनेक् मार्या र कुद्दै गया॥

बल्दो लामु पुछर् लियेर घर घर् कुद्दै सहर्मा डुली।

पोल्या सब् सहरै छुटेन कहिं घर् बाँकी कतै एक् भुली॥125॥
लाग्यो बल्न सहर् जल्या र सब घर् सब् बन्द रस्ता भई।

भागी जान न पाउँदा हुँदि अनेक् राक्षस् अटाली गई॥

फाल् हाली कन अग्निमा परि मर्या यो चाल् सहर्मा भयो।

पोल्यानन् घर एक् विभीषणजिको त्यो मात्र बाँकी रह्यो॥126॥
येती काम गरी सकी पुछरको आगो निभाऊँ भनी।

कूदी जल्दि समुद्रमा पुगि पुछर् चोभी निभाया पनी॥

अग्नीले पनि मित्रपुत्र भनि ताप् केही गर्यानन् तहाँ।

सीताको पनि प्रार्थना हुन गयो डढ्थ्या हनूमान् कहाँ॥127॥
राम्का फगत् स्मरणले पनि दुःख छुट्छन्।

आध्यात्मिकादि सब ताप् पनि जल्दि टुट्छन्॥

साक्षात् उनै प्रभुजिका दुत भै गयाका।

डढ्थ्या कहाँ ति हनुमान् अति हित् भयाका॥128॥
फिन्र्या मन्सुब ली बिदा हुन सिताजी थ्यैं हनूमान् गया।

बीदा खूसि भयेर बक्सनु हवस् जान्छू म भन्दै भया॥

आऊँछन् रघुनाथ् अवश्य भनि यो बिन्ती गर्याथ्या जसै।

साह्रै शोक् मनमा धरी कन सिता क्यै भन्न लागिन् तसै॥129॥
तिमि कन नजिकैमा देखि खुप् खूसि हुन्थ्याँ।

घडि घडि रघुनाथ्का मिष्ट वार्ता म सुन्थ्याँ॥

अब कसरि म यस्ता दुःखले प्राण धर्छू।

तिमि पनि फिरि जान्या फेरि ताप्मा म पर्छू॥130॥
सीताका इ वचन् सुनेर झटपट् हात् जोरि बिन्ती गर्या।

यस्तो शोक् अब छोडि बक्सनु हवस् आपत्ति साह्रै भया॥

ऐल्हे दाखिल गर्छु राम्चरणमा बोकी हुकुम् लौ हवस्।

धेरै शोक् किन गर्नु हुन्छ मनमा यो शोक् दुरैमा रहोस्॥131॥
सीताजी पनि भन्दछिन् म त न जाँ जाऊ तिमी मात्र गै।

विस्तार् बिन्ति गरेर जल्दि रघुनाथ् लीयेर आऊ सँगै॥

राम् आई कन दुष्टलाइ सहजै मारी मलाई सँगै।

लैजानन् रघुनाथ् त कीर्ति रहला क्या हुन्छ येसै म गै॥132॥
सीताको जब यो हुकुम् हुन गयो बीदा हनूमान् भया।

तिन् बेर् जल्दि परिक्रमा गरि प्रणाम् गर्दा छँदा ती गया॥

पर्वत् माथि चढेर रुप् पनि ठुलो पर्वत् सरीको धर्या।

आकाश्मार्ग लिई कुदेर खुशिले खुप् शब्द ठूलो गर्या॥133॥
सून्या शब्द ति अङ्गदादिहरुले बोल्या परस्पर् पनी।

शब्दैले बुझियो अवश्य सहजै भेटेर आया भनी॥

यस्ता बात् तिरमा बसेर सब विर् गर्दै थिया खुस् भई।

पौंच्या श्रीहनुमान् तहीं तिर महाँ आनन्द खूसी रही॥134॥
भेट् भो अङ्गद विर्हरू सित तहाँ विस्तार् कुरा सब् गर्या।

अङ्गद् विर्हरु खुस् भई पुछरमा पक्रेर चुम्बन् गर्या॥

नाच्या कोहि खुसी भयेर यहि रित् गर्दै ति राम् थ्यैं गया।

सुग्रिव्को मधुवन् मिल्यो नजिकमा साह्रै खुसी ती भया॥135॥
बिन्ती अङ्गद थ्यैं गर्या पनि तहाँ खाऊँ इ फल् फुल् भनी।

अङ्गद्ले पनि खाउ जाइ हनुमान्जीका प्रसाद्ले भनी॥

दीया मर्जि र खाउँ फल् फुल भनी वानर् गयाथ्या जसै।

चौकी वानर जो थिया सब तहाँ आया र रोक्या तसै॥136॥
रोक्न्या वानरलाइ लात् दिइ पिया मीठो मधूरस् तहाँ।

यो चुग्ली दधिवक्त्रले लिइ गया सुग्रीवजी छन् जहाँ॥

सब् विस्तार् दधिमूखले जब गर्या लूट्या मधूवन् भनी।

लुट्पिट्को सम्चार् सुन्या र पनि रिस् ऊठेन कत्ती पनी॥137॥
भेट्याछन् बुझियो सिता कन न ता लुट्थ्या मधूवन् कहाँ।

ई बात् सुग्रिव गर्दथ्या प्रभुजिले सून्या र सोध्या तहाँ॥

सीताको पनि नाम् लियेर तिमिले क्या बोल्दछौ बात् भनी॥

सोधी बक्सनु भो र सुग्रिवजिले बिन्ती गर्या बात् पनी॥138॥
हे नाथ् श्रीमधुवन् थियो अति असल् मेरो बघैंचा तहाँ।

ऐल्हे ता हनुमान्हरू बलजफत् आयेर एक् क्षण् महाँ॥

लूट्याछन् मधुरस् अनेक् तरहका चौकी कुट्याछन् पनी।

आया आज फिराद गर्न मधुवन् लूट्या र कूट्या भनी॥139॥
सोही बात म गर्दछू रघुपते इन्ले सिताजी पनी।

भेट्याछन् तब पो लुट्या र मधुवन् रोक्ता कुट्याको भनी॥

यो बिन्ती गरि जल्दि सुग्रिवजिले ती चौकिलाई तहाँ।

दीया हूकुम जल्दि फर्कि कन गै चाँडै पठाऊ यहाँ॥140॥
आउन् श्रीहनुमान्हरू अब यहीं चाँडो भनी यो जसै।

दीया निर्भय दी हुकुम् उहि बखत् फर्क्या र दौड्या तसै॥

मामा सुग्रिवका गया र दधिमुख् हूकुम् सुनाई दिया।

खूसी भै हनुमान्हरू पनि गया जाहाँ रघूनाथ् थिया॥141॥
राम् सुग्रीव् कन दण्डवत् गरि लिया साम्ने जमिन्मा परी।

सब् विस्तार् हनुमानले तहिं गर्या वृत्तान्त एक् एक् गरी॥

भेट्याँ आज सिताजिलाइ रघुनाथ् लङ्कापुरीमा गई।

जस्सै देखि लियाँ सिता कन तसै सानू स्वरुप्को भई॥142॥
पात्का अन्तरमा लुकी जननिका साम्ने नजिक्मा रह्याँ।

जो वृत्तान्त थियो सबै हजुरको त्यै सूक्ष्म रुप्ले कह्याँ॥

भोकी दुब्लि हजूर दूर रहँदा संझेर साह्रै रुँदी।

राम् राम् बोल्दि अनाथ् भई कन बहुत् विह्वल् निरन्तर् हुँदी॥143॥
अश्शोक्का वनमा सिसौ पनि छ एक् त्यै वृक्षका बीचमा।

झुन्डीन्या मतलब् लिई खडि भइन् सूनिन् उसै बीचमा॥

यो वृत्तान्त सुनी हुकुम् पनि भयो को होस् तँ बोल्छस् कहाँ।

क्या लूकी कन बोल्दछस् अब न लुक् आईज साम्ने महाँ॥144॥
पायाँ येहि हुकुम् जसै जननिको वानर्स्वरुप्ले गयाँ।

को होस् भन् भनि सोधि बक्सनु भयो फेर् बिन्ति गर्दो भयाँ॥

फेर् वृत्तान्त गरी सक्याँ हजुरको औंठी दियाँथ्याँ जसै।

बर् बर् आँसु खसालनू पनि भयो विश्वास लाग्यो तसै॥145॥
आफ्नू दुःख हवाल् सबै कहनु भो यस्ता विपत् छन् भनी।

आऊँछन् रघुनाथ् भनेर बहुतै मैले बुझायाँ पनी॥

आज्ञा भो रघुनाथका हजुरमा सब् दुःख मेरो कही।

लङ्कामा प्रभुको सवारि तिमिले चाँडो गराऊ गई॥146॥
बात्चित् गरी जब यता तिर फिर्न लाग्याँ।

विश्वास पार्न जननी सित चीज माग्याँ॥

चूडामणी दिनु भयो सिरमा रह्याको।

काग्को कुरो कहनु भो अघि जो भयाको॥147॥
लक्ष्मण्लाइ अवाच्य बात् भनि बहुत् बोल्याँ कछू ता पनी।

त्यो रिस् लक्ष्मण्ले कदापि न लिउन् येसो भनीथिन् भनी॥

हात् जोरी कन बिन्ति खुप् गरि दिया येत्ती हुकुम् भो जसै।

सब् वृत्तान्त सुनी बिदा पनि भयाँ फर्केर आयाँ तसै॥148॥
माई सीत बिदा भई जब फिर्याँ मन्मा लहड् यो गयो।

रावण्लाइ नभेटि जाँ म कसरी भन्न्या विचार् यो भयो॥

भेटी रावणलाइ अर्ति पनि दी फिर्नू असल् हो भनी।

फर्की ध्वस्त गर्याँ अशोक वनको मार्याँ अनेक् विर् पनी॥149॥
कान्छो रावणपुत्र अक्षयकुमार् मार्याँ र रावण् जहाँ।

थीयो ताहिं गयाँ भन्याँ हित वचन् टेरेन केही तहाँ॥

गर्थ्यो बक्बक बात् अनेक् तरहका मैले भुसूनै गनी।

रावण् कै अघि खाग् गरी सकि दियाँ पोलेर लङ्का पनी॥150॥
येती कर्म गरी यहाँ हजुरमा आयाँ म ऐल्हे भनी।

येती बिन्ति गरी खडा भइ रह्या ताहाँ ति सेवक् पनी॥

श्रीराम्ले पनि काखमा लिनु भयो सर्वस्व दिन्छू भनी।

बात्ले चित्त बुझाइ बक्सनु भयो सर्वस्व यै हो भनी॥151॥
मैले खुस् भइ काख् दियाँ पनि भन्या फेर् दीनु बाँकी रती।

केही चिज् रहँदैन सब् मिलि गयो यो बात् बताऊँ कती॥

काख्मा राखि हुकुम् भयो यति जसै खूसी हनूमान् भया।

आनन्दाश्रु गिराइ भक्तिरसले हाजिर् हजुर्मा रह्या॥152॥
धन्य हुन् इ हनुमान् इ सरीको।

कोही छैन अरु भक्त हरीको॥

भक्ति खुप् गरि त काख् पनि पाया।

लोकमा अधिक धन्य कहाया॥153॥
जस्को पुजा तुलसिपत्र चढाइ गर्छन्।

उस्ता पनी त भवसागर पार तर्छन्॥

ई ता उनै प्रभुजिका दुत हुन् त काहाँ।

सक्नू छ वर्णन गरी इनको त याहाँ॥154॥

बिहिबार, बैशाख ७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!