ज्यूँदा ढुंगाहरु

इटहरीको सेरा खोलामा भलले बगाएर चिल्ला बनेका अजंगका ढुंगा । एकाएक ४२ वटा ती ठूला ढुंगामा चिनो लगाइयो । इनामेलको चिनो लगाएका ढुंगालाई लोड गर्न निक्कै चुनौति थियो । हेर्दा सामान्य बगरका ढुंगा । एउटा खुला चौरमा राखेर के गर्न खोजिएको होला ? धेरैको प्रश्न थियो । नेपालमा त्यस्तो काम कहीँ भएको थिएन । त्यही काम इटहरीबासीलाई नौलो लाग्नु स्वभाविक हो ।

कुनै बेला त्यो चिहान डाँडा थियो । जहाँ स्याल, फ्याउरा कराउनु बाहेक अर्को थिएन । ती दिन हिजो जस्तै लाग्छ जहाँ कसैको शबलाई राख्ने चौर थियो । यतिबेला चिहान डाँडाको नाम फेरिएको छ । पूर्वी नेपालको व्यापारिक नाका इटहरीबाट उत्तरमा पर्ने तालतलैया बनभोजको हबमात्र होइन, सुन्दर पर्यटकीय स्थल बनेको छ ।

१३ वटा तालैतालले घेरिएको २१ हेक्टर जमिन । जहाँ अहिले सेरा खोलाबाट उठाएका ढुंगा फरक–फरक रुपमा सजिएका छन् । ढुंगाका मूर्तिहरु लस्करै छन् । सेराका ढुंगामा एकाएक देखिएका मूर्तिहरु हेरिरहेका गंगाबहादुर राय क्षेत्रीको अनुभव सन्देश मुलक थियो । ‘म १८ वर्ष सैनिक जीवन बिताएको मान्छे हुँ । त्यस्ता ढुंगामा के होला भनेको थिएँ । हेर्दा हेर्दै कलाकारहरुले बनाएको मूर्तिसँगै परिवारको सदस्य जस्तो भइयो ।’, क्षेत्रीले भने ।

ललितकलाका २० जना नेपाली कलाकार, ८ जना सहयोगी र ६ जना विदेशी कलाकारहरुको समूहले बनाएका ३० वटा ढुंगाको मूर्तिहरु जिबन्त बनेर ठडिएका छन् तालतलैयामा । जुन मूर्तिले आन्तरिक र वाह्य पर्यटकलाई थप लोभ्याउदै गएको छ । आशा व्यक्त गर्दै क्षेत्रीले भने– ‘कलाकारहरुले आफ्नो कला दिए गए । यसको संरक्षण हामीले नै गर्ने हो । एउटै ठाउँमा यस्तो कला देख्न पाइने नेपालमा अर्को ठाउँ छैन ।’

ललितकलाको आयोजनामा ‘युनिटी अन्र्तराष्ट्रिय मूर्तीकला कार्याशाला– २०७२’को आयोजना त्यहाँ स्थान रोजियो । त्यसका लागि उपयुक्त ठाउँ, ढुंगा र अन्तर्राष्ट्रिय कलाकारहरुका लागि सहज वातावरण बन्यो । अहिलेसम्म ढुंगाको मूर्ति बन्छ भन्ने धेरैलाई ज्ञान थिएन । ललितकलाका कलाकारहरु पनि त्यति प्रचारबाजीमा जाँदैनन् । सालिन, भद्र आफ्नो कला प्रर्दशन गर्न चाहने प्रायको बानी त्यस्तै छ ।

त्यहाँ पुग्दा उनीहरुको जीवनशैली उस्तै थियो । मूर्ति बनाउँदै गर्दाको ढुंगाका सेतै धुलो । ढुंगा कुँडदा बेजोड्ले किरिङ्गकिरिङ्ग आवाज वरैसम्म सुनिने । तर, कलाकारहरु यस्तो देखिन्थे उनीहरुको स्वरुप ढुंगाको धुलोले ती चल्न सक्ने मूर्ति हुन् ।

नेपाल, भारत, श्रीलंका, मलेशिया, इजारायल, जापानका कलाकारले आ–आफ्नो शैलीका कला त्यहाँ प्रर्दशन गरेका छन् । कलाकारको आ–आफ्नो रोजाईमा ती निर्जिब ढुंगा परे । ढुंगाका आकार हेरेर कलाकारले आफ्नो कला रचे । रेखा कोरे । त्यही अनुसार ढुंगा खोप्न सुरे गरे र आ–आफ्नो आकार निकाले । एउटै ढुंगामा कस्तो कला प्रदर्शन भएका छन् हेरुहेरु लाग्छ । उनीहरुले कुँदेको कलालाई अनेक अर्थ लगाएर हेर्न सकिन्छ । मूर्तिकार लालकाजी लामाले भने– ‘हामी आफ्नै भावमा डुबेर कला निकाल्छौं । सबैले फरक–फरक सोँचबाट बनाएका छौं । हेर्ने दर्शकले त्यसलाई जसरी पनि लिन सक्छन् ।’

सहजै ढुंगा बिलाउँदैन । मानव सभ्यतादेखि समाज विकासका चरणसम्म ती साँक्षी बन्ने गरेका छन् । बर्षौपछि मानवशस्त्रीहरु र कलाकारले अध्ययन गर्दा समेत त्यो जीवन्त साँक्षी बस्ने भएकाले कलाकाहरुले ढुंगाको मूर्तिमा होमिए । एक मूर्तिकारका नाम, दोस्रो राष्ट्रिय एकताका लागि सन्देश जाओस् भन्ने मान्यताले कला मार्फत भाव प्रकट । त्यही सन्देशका रुपमा मूर्ति कुँड्ने र कार्यशालाको नाम युनिटी अन्तर्राष्ट्रिय मूर्तीकला नाम राखियो ।

पाँच महिने मधेस आन्दोलन भर्खरै खुलेको सन्देश थियो इटहरीमा । इटहरी चोक उत्तरमा युनिटी मूर्तीकलाको कार्याशाला भइरहेको थियो । कलाकारहरुले पनि त्यही भाव दिए, हामी एक ठाउँ छौं । सम्वाद गर ।

मूर्तीकार लालकाजीले आफ्नो मूर्तीको व्याख्या गर्दै भने– ‘तीन ठाउँ टुक्रिएको जस्तो ढुंगाको आकार थियो । ती टुक्रिनु हुन्न भन्नेमा थिएँ । अर्थात एकता होस् । त्यसका लागि पेचकचले कसिएको जस्तो कस्नुपर्छ भन्ने मान्यताले त्यही रुप दिएको छु ।’

इजरायली मूर्तीकार टनया पीरमिङ्गर । उनको भावलाई त्यस्तो गहिरो गरी बुझ्नु पर्ने थिएन । कसैको मन किन ढुंगा जस्तो हुन्छ ? यो निष्ठुरी मन भएकाले भन्ने नेपाली भनाई हो । तर, मन आखिर मुटु नै हो । इजरायली मूर्तीकयर पीरमिङ्गरले सिधै बनाए ढुंगाको मुटु ।

अर्का मूर्तीकार गंगा सारु मगरले ढुंगामा सुन्दरता कति हुन्छ ? भन्ने प्रष्टै झल्किने मूर्ति कुदे । ढुंगामा अहिलेसम्म भगवान, नेता, कवि, कलाकारको मात्रै मूर्ती हुन्छ भन्ने मान्यता यहाँ तोडिएको छ । कसैले तीन जना बसेर सम्वाद गरेको मूर्ती बनाएका छन् । कसैले बीउको आकृति बनाएका छन् । कसैले सिंगो पृथ्वी कस्तो छ र भविष्यमा प्रलय भए के हुन्छ ? भन्ने सन्देश दिएका छन् ।

इटहरी पूर्वी नेपालको नाका हो । यो नाकामा जाने जो कोही इटहरी चोकबाट उत्तरतिर गए ढुंगाका ती सजिएका मूर्ती अबलोकन गर्न सकिन्छ ।

शब्द : उजिर मगर / तस्विर : किशोर पन्थी

सोमवार, चैत्र २१, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!