विदेशमा छाएका नेपाली महिला


प्रकाशित मिति : चैत्र १६, २०७३ बुधबार

– दीपेन्द्र सापकोटा / नयाँपत्रिका

देशका केही महत्वपूर्ण पदमा महिला आसीन छन् । स्वदेशमा मात्र नभएर विदेशी भूमिमा पनि नेपाली महिलाले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । थुप्रै नेपाली चेली अन्तर्राष्ट्रिय क्षेत्रमा छाउन सफल भएका छन् । ठूला पदमा रही आफूलाई प्रमाणित गर्न सक्षम नेपाली महिलाको संख्या धेरै छ । देशबाहिर चम्किन सफल र ठूला पदमा कार्यरत नेपाली नारीबारे खोजी ।

राष्ट्रसंघको युवा नेतृत्वमा जोली
नेपाली चेली जोली अमात्य संयुक्त राष्ट्रसंघ युवा सम्मेलनकी अध्यक्ष हुन् । उनले विश्वका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरिसकेकी छिन् । सन् २०१३ देखि कार्यरत जोली राष्ट्र संघको इतिहासमै युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन् ।

पाटनमा जन्मिएकी उनले यसअघि विश्व बैंक, एक्सन एड नेपालजस्ता संस्थामा काम गरिकेकी छिन् । काठमाडौंको सेन्ट मेरिजमा पढेकी उनले हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी छिन् । जोलीले सन् २००७ मा ‘महिलाको आवाज’ भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गरेकी थिइन् । उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय, हार्बर्ड विश्वविद्यालयमा पूर्वस्नातक (अन्डर ग्य्राजुएट ) तहको अध्ययन पूरा गरेकी छिन् ।

सिड कमिटीमा बन्दना
बन्दना राणा संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी समिति (सिड कमिटी)मा निर्वाचित महिला हुन् । लामो समयदेखि नेपालमा महिला अधिकारकर्मी तथा सञ्चारकर्मीका रूपमा कार्यरत उनी राष्ट्रसंघको यो कमिटीको सदस्यमा चयन हुने पहिलो नेपाली हुन् । अमेरिकाको न्युयोर्कमा भएको कमिटीको १९औँ बैठकले विभिन्न २४ देशका महिला उम्मेदवारमध्येबाट उनलाई चुनेको हो । ११ सदस्य रहने उक्त समितिमा उनी छैटौँ नम्बरमा परेकी थिइन् ।

बन्दना तीनवर्षे कार्यकालका लागि छनोट भएकी हुन् । विभेद अन्त्यका लागि सक्रिय रहन भन्दै सरकारले राणालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । उनले नेपाल टेलिभिजनमा लामो समय समाचार वाचिकाका रूपमा काम गरेकी थिइन् । महिला अधिकारका पक्षमा निरन्तर काम गर्दै आएकी बन्दना पत्रकार महिलाको संस्था सञ्चारिका समूहकी संस्थापक अध्यक्षसमेत हुन् ।

अमेरिकामा प्रतिष्ठित डा. विष्णुमाया
गोरखाको विकट ताक्लुङ गाविसको गरिब परिवारमा जन्मिएकी विष्णुमाया परियार जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । एड्वनको संस्थामार्फत समाज सेवामा सक्रिय उनी मानवअधिकारकी पर्याय मानिन्छिन् । घरेलु हिंसामा परेका महिला, दलित तथा अन्यायमा परेकाहरूको दुःखकी साथी हुन्, उनी । विष्णुमाया अमेरिकामा रहेको नेपाली समुदायले मात्र नभएर अमेरिकीले समेत चिन्ने नाम हो । सरकारी विद्यालयमासमेत पढ्न नसक्ने अवस्थाबाट आफ्नो बाल्यकाल गुजारेकी विष्णुमाया अन्ततः डाक्टर बिष्णुमाया बन्न सफल भएकी छिन् ।

१९९९ मा अमेरिका गएकी विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढेकी थिइन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनलाई सन् २००६ मा संयुक्त राष्ट्रसंघले पाँच हजार डलरसहित ह्युमन राइट्स अवार्ड प्रदान गर्‍यो । जुन अवार्ड त्यतिवेलासम्म विश्वका ६ जनाले मात्र पाएका थिए । उनको सम्मानमा अमेरिकाको केन्टकीको लुइभिल सहरले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’का रूपमा मनाउने गरेको छ ।

अमेरिकालाई सल्लाह दिने सञ्जिता
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले २०१५ मेमा सञ्जिता प्रधानलाई आफ्नो एसियन, अमेरिकन तथा प्यासिफिक आइल्यान्डरसम्बन्धी सल्लाहकारमा नियुक्त गरे । पति र छोरासहित सन् २००६ मा अमेरिका गएकी सञ्जिताले धरान विजयपुर बोर्डिङ स्कुलबाट एसएलसी पास गरेकी थिइन् । संखुवासभाको चैनपुरमा जन्मिएकी उनले कृषि क्याम्पस चितवनबाट बिएस्सी–एजी सकेपछि भारतमा एमबिए सकाइन् ।

त्यसपछि जिटिजेडमा काम गरिन् । अमेरिका पुगेपछि प्रधान बैंकमा कस्टमर सेल्स रेप्रेजिन्टेटिभ र फाइनान्सियल फर्म मार्केटिङको जागिर छाडेर रिफ्युजी सर्भिस अर्गनाइजेसनमा स्वयंसेवकका रूपमा समेत काम गरेकी थिइन् ।

बलिउडमा छाएकी मनीषा  
मनीषा कोइराला बलिउडमा सफल भएकी नेपाली चेली हुन् । १६ अगस्ट १९७० मा काठमाडौंमा जन्मिएकी उनले भारतीय फिल्म उद्योगमा जम्नलाई धेरै संघर्ष गरेकी थिइन् । सन् १९८९ मा उनले नेपाली फिल्म ‘फेरि भेटौँला’मा अभिनय गरेकी थिइन् । उनले सन् १९९१ मा हिन्दी फिल्म ‘सौदागर’मा अभिनय गर्ने अवसर पाइन् । त्यसपछि उनका ‘बम्बे’, ‘अकेले हम अकेले तुम’, ‘खामोसी –द म्युजिकल’, ‘दिल से’, ‘लज्जा’लगायतका फिल्म हिट भए ।

त्यसमध्ये ‘१९४२– अ लभ स्टोरी’, ‘अकेले हम अकेले तुम’, ‘खामोसी –द म्युजिकल’, ‘दिल से’ फिल्म फेयर अवार्डको मनोनयनमा परेका थिए । त्यस्तै, सन् १९९९ मा मनीषाले ‘दिल से’ बाट स्टार स्क्रिन अवार्ड र बेस्ट एक्ट्रेस अवार्ड प्राप्त गरिन् । त्यसैगरी, उनले तमिल भाषाका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । जसमध्ये, सन् २०१२ मा उनले ‘माप्पिल्लाई’बाट उनले बेस्ट सर्र्पोटिङ एक्ट्रेसको अवार्ड जितिन् । मनीषाले २२ वर्षपछि पुनः नेपाली फिल्म ‘धर्मा’मा अभिनय गरिन् । उनी भारतनाट्यम् र मणिपुरी नृत्यमा पारंगत छिन् । साथै, उनी युएनएफपिए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन् ।

पाकिस्तानमा कूटनीति सम्हालेकी सेवा
सेवा लम्साल अधिकारीले यसै वर्षको वैशाखदेखि पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा कूटनीति सम्हालिरहेकी छिन् । उनले सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृतका रूपमा झन्डै १० वर्ष काम गरिन् । त्यसपछि उनी ०६७ सालतिर परराष्ट्र मन्त्रालयमा उपसचिवको रूपमा प्रवेश गरेकी थिइन् । पछि, उनी सहसचिव हुँदै राजदूतसम्म बनेकी हुन् ।

पश्चिमा कूटनीतिमा अम्बिका
अम्बिका लुइँटेल करिब दुई वर्षअघि फ्रान्सका लागि नेपाली राजदूत नियुक्त भएकी हुन् । उनले परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत, उपसचिव र सहसचिवको जिम्मेवारी पूरा गरिसकेकी छिन् । राजदूत हुनुभन्दा अघि नै उनले विदेशी नियोगहरूमा काम गरेको अनुभवसमेत सँगालेकी छिन् ।

कान्छी पौडिबाज गौरिका
गत साउनमा ब्राजिलको रियो द जेनेरियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा दुई सय सात देशका ११ हजार दुई सय २७ खेलाडीले सहभागिता जनाएका थिए । तर, त्यहाँ एकाएक नेपाली पौडीबाज गौरिका सिंहको चर्चा भयो । सो प्रतियोगितामा सहभागी खेलाडीमध्ये उनी सबैभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको हो । उनी १३ वर्षकै उमेरमा खेलकुदको महाकुम्भ मानिने उक्त प्रतियोगितामा भाग लिन सफल भएकी हुन् । सो समयमा ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत विश्वका प्रमुख सञ्चारमाध्यमले समेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका थिए ।

गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्दै आएकी छिन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् । झन्डै एक वर्षअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक रजत र तीन कास्यपदक जितेकी उनले नेपाली पौडीमा तीनपटक राष्ट्रिय कीर्तिमानी कायम गरेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com