अमेरिका जाँदा विद्युतीय उपकरण बोक्न प्रतिबन्ध, नियम कार्यान्वयन सुरु


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने नियम पूर्णरुपमा कार्यान्वयन सुरु भएको छ । नेपाली समय अनुशार शनिवार दिउसो पौने १ बजेदेखि अर्थात् इस्टर्न समय अनुशार शनिवार विहान ३ बजेदेखि नियम पूर्णरुपमा कार्यान्वयन हुन थालेको छ । आतंककारी आक्रमणको खतरा रहेको भन्दै त्यस्तो प्रतिबन्ध लगाइएको हो ।

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने भएपछि अमेरिका जाने नेपालीहरु पनि प्रभावित भएका छन् । ८ वटा मुस्लिम बाहुल्य देशबाट वा ती देशहरु हुँदै अमेरिकामा जाँदा अबदेखि ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर जान नपाइने भएको छ ।

यात्रुहरुले अब ल्यापटप वा ट्ब्यालेट विना नै अमेरिकाको यात्रा गर्नुपर्ने भएको छ । त्यस्ता सामाग्रीहरु चेक इन गरिएका लगेजहरुमा मात्र लैजान पाइने भएपछि यात्रुहरु विमानभित्र ल्यापटप वा ट्याबलेट जस्ता सामाग्रीहरु प्रयोग गर्नबाट बञ्चित भएका छन् । यसअघि यात्रुहरुले विमानमा लामो यात्राका क्रममा ल्यापटप र ट्याबलेट प्रयोग गरेर काम गर्न वा मनोरञ्जन प्राप्त गर्नसक्ने सुविधा रहेको थियो । नयाँ नियम अनुशार यात्रुहरुले स्मार्टफोनभन्दा ठूलो उपरकण चेक इन गरेका लगेजमामात्र राख्न पाइने भएको छ ।

कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट, टर्कीको इस्तानबुल एयरपोर्ट, जोर्डनको क्वीन एलिया इन्टरनेशनल एयरपोर्ट, एजिप्टको कायरो इन्टरनेशन एयरपोर्ट, साउदी अरेवियाका किंग अब्दुल्लाजिज इन्टरनेशनल एयरपोर्ट, किंग खालिद इन्टरनेशनल एयरपोर्ट, कुवेतको कुवेत इन्टरनेशनल एयरपोर्ट र मोरक्कोमारहेको मोहमम्द इन्टरनेशनल एयरपोर्टबाट यात्रा गर्ने यात्रुहरुले ह्याण्ड क्यारीमा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर लैजान पाउने छैनन् ।

नेपालीहरु ठूलो संख्यामा कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट र टर्कीको इस्तानबुल एयरपोर्ट हुँदै यात्रा गर्ने भएकाले उनीहरु प्रभावित भएका हुन् । अमेरिकाको विद्युतीय प्रतिबन्धबाट इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज, कुवेत एयरवेज, रोयल जोर्डनियन, साउदी अरेबियन एयरलाइन्स, इजिप्ट एयर, टर्किस एयरलाइन्स र रोयल एयर मरोक प्रभावित भएका छन् । नेपालीहरु अमेरिका जाँदा प्रायजसो इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज र टर्किस एयरवेजमार्फत यात्रा गर्दै आएका छन् ।

एयरलाइन्सहरुलाई अमेरिकाको यो नयाँ नीति कार्यान्वयनका लागि ९६ घण्टा प्रदान गरिएको छ । अमेरिकाको पूर्वीय समय अनुशार मंगलबार विहान ३ बजेदेखि ९६ घण्टाको घडी सुरु भएको छ भने त्यो शनिबार विहान ३ बजे सकिएको छ । अर्थात् अमेरिकाको पूर्वीय समय अनुशार शनिबार विहान ३ बजेदेखि स्मार्टफोन भन्दा ठूला विद्युतीय उपकरण बोक्नमा पूर्णरुपमा प्रतिबन्ध लागेको हो । केही एयरलाइन्सले भने मंगलबार पछि नै नयाँ नीति कार्यान्वयन गर्न थालिसकेका छन् ।

ल्यापटप, ट्याबलेट, इ रिडर, क्यामेरा, डिभीडी प्लेयर, विद्युतीय खेल सामाग्रीहरु, प्रिन्टर र स्क्यानर लगायतका सामाग्री यात्रुले आफै बोक्न नपाइने टीएसएले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com