द्वन्द्वबाट प्रभावित महिलाहरुले भने ‘राज्यले माफी माग्नुपर्छ’


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

काठमाडौँ, ११ चैत्र । सशस्त्र द्वन्द्वबाट प्रभावित महिलाले आफूहरुको गल्तीबिनै तत्कालीन राज्य र विद्रोहीका चेपुवामा परेर धेरै खालको हिंसा सहनुपरेको बताउँदै राज्यले माफी माग्नुपर्ने माग गर्नुभएको छ । 


उहाँहरूले द्वन्द्वका बेला भएका घटनाको सत्य तथ्य पत्ता लगाउन गठित दुई आयोगका पदाधिकारीलाई आज त्यस्तो आग्रह गर्नुभएको हो । 

द स्टोरी किचेनको संयोजनमा आयोग पुगेका महिलाले सामाजिक लाञ्छनाले जीवनयापनमै अप्ठ्यारो परेको परेको बताउँदै यसप्रति सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्छ भन्नुभयो । 

सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य लीला उदासी खनालले नेपाली महिलाले सशस्त्र द्वन्द्वका बेला गम्भीर प्रकृतिका हिंसा भोगेको बताउँदै आयोग त्यसप्रति गम्भीर रहेको बताउनुभयो । 

आयोगका सदस्य डा माधवी भट्टले आयोग महिलाका विषयमा संवेदनशील भएको र दश महिनाको कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो । आयोगका अर्की सदस्य मञ्चला झाले महिला र बालबालिकाको विषय सम्बोधन गर्न कार्यविधि तयार गरिएको जानकारी दिनुभयो । 

बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले बेपत्ता पारिएको अवस्था थाहा पाउन प्रारम्भिक छानबिन गरिसकिएको र विस्तृत छानबिनको प्रक्रिया अघि बढेको बताउनुभयो । आयोगका सदस्य प्रा डा विष्णु पाठक र बिजुल दुलालले अनुसन्धानको प्रक्रियालाई सजिलो बनाउन बेपत्ताका आफन्तलाई प्रश्नावली भर्न लगाउने तयारी आयोगले गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा द स्टोरी किचेनका संस्थापक अध्यक्ष जया लुइँटेलले हिंसा पीडितलाई सामाजिक न्याय आवश्यक भएको बताउनुभयो । कार्यक्रममा बाँके, बर्दिया, जुम्ला, कालीकोट र कञ्चनपुरका २५ महिला सहभागी थिए । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com