चीन भ्रमणमा तातोपानी नाका खुलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


प्रकाशित मिति : चैत्र ९, २०७३ बुधबार

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुहुने भएको छ ।

चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि चिन फिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा प्रतिनिधिसँग बहुपक्षीय एवम् द्विपक्षीय बैठकसमेत हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विविध विषय आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । बिहीबार बिहान ९ बजे बालुवाटारमा हुने पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आप्नो चीन भ्रमणका क्रममा लामो समयदेखि अवरुद्ध तातोपानी नाका खोल्न पहल गर्ने बताउनुभएको छ । लामो समयदेखि अवरुद्ध नेपाल–चीन तातोपानी नाका खोल्न र अरनिको राजमार्गको स्तर उन्नति र विस्ताको पहल गरिदिन सर्वदलिय समिति प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भोलीबाट हुने आप्mनो चीन भ्रमणका क्रममा चीनिया सरकारसंग तातोपानी नाका र अरनिको राजमार्गको स्तर उन्नति पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि अवरुद्ध तातोपानी नाका खुलाउने र अरनिको राजमार्गको बिस्तार र स्तरउन्नती भोलीबाट हुने चीन भ्रमणको एजेण्डा रहेको पनि बताउनु भयो । प्रधानमन्त्रीसंगको भेटमा प्रतिनिधि मण्डलले तातोपानी नाका भएर सञ्चालन हुने १४ सय ट्रक कन्टेनरसंग संग्लन सबै बेरोजगार भएको र मुलुकलाई मासिक ३४ करोड राजस्व नोक्सानी भएको बताए ।

भेटमा सिन्धुपाल्चोक उद्योग बाणिज्य महासंघ, नेपाल ट्रक–कन्टेनर व्यवसायी संघ, नेपाल सिमापार व्यापार संघका प्रतिनिधि र स्थानिय राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com