यस वर्ष पनि सुक्खायाममा पानीको हाहाकार हुने


प्रकाशित मिति : चैत्र ५, २०७३ शनिबार

टेकराज थामी / विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा खानेपानी वितरणको काम गर्दै आएको छ । तर, केयुकेएलले सुक्खायामका तीन महिनालाई लक्षित गरी सुधारका कुनै काम नगरेकाले विगतझैँ यस वर्ष पनि खानेपानीको चरम अभाव हुने संकेत देखिएको हो । सुक्खायामका महिनामा सतहमाथि र मुनिका पानीको स्रोत सुक्ने भएकाले उपत्यकामा पानी उत्पादन कम हुने गरेको छ ।

तर, केयुकेएलले उपत्यकामा खानेपानीको संकट नपर्ने दाबी गरेको छ । केयुकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यले यस वर्ष विद्युत् नियमित भएको र सतहमुनिका पानी प्रयोगमा ल्याउन सजिलो हुने भएकाले खानेपानीको हाहाकार नहुने बताए । ‘प्रत्येक वर्षको सुक्खायाममा उपत्यकाभित्र खानेपानीको हाहाकार हुने गर्छ । तर, यस वर्ष त्यस्तो संकट नपर्ला भन्ने लाग्छ,’ उनले भने, ‘यस वर्ष राजधानी लोडसेडिङमुक्त भएको छ । जसले गर्दा जमिनमुनिको पानी चलाउन सजिलो हुन्छ ।’

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरणका लागि दैनिक सात सयको संख्यामा ट्यांकर सञ्चालन हुँदै आएका छन् । ती ट्यांकरले दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएको व्यवसायीहरूको भनाइ छ । तर, सुक्खायाममा ट्यांकरको पानी मात्रै दैनिक १० करोड लिटर माग हुँदै आएको व्यवसायीको दाबी छ ।

‘अहिले गर्मी बढिसकेको छैन । त्यसो हुँदा पानीको माग सालाखाला दैनिक पाँच करोड लिटर हो । सुक्खायाममा गर्मी बढ्छ र पानीको स्रोत घट्छ । त्यसवेला पानीको माग अत्यधिक बढ्छ,’ संघका अध्यक्ष विष्णु दाहालले नयाँ पत्रिकासँग भने, ‘यस वर्षको गर्मी सुरु हुँदै छ । गर्मीयाममा सधैँ पानीको माग बढ्छ । किनकि केयुकेएलले आवश्यक मात्रामा पानी वितरण गर्नै सक्दैन ।’

यी हुन् काठमाडौंमा पानीको स्रोत
उपत्यकामा भक्तपुरको झौखेल, ललितपुरको सातदोबाटो र गोदाबरी, काठमाडौंको चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तान्ने गरिएको छ ।

जारको पानीको खपत बढ्ने
मागबमोजिमको पानी वितरण नभएपछि विगतमा झैँ यस वर्ष पनि जारको पानीको माग बढ्ने देखिएको छ । बोटल वाटर उद्योग संघका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ देखि ५० हजारवटा खपत हुने गर्छ । सुक्खायाममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने गरेको छ । त्यस्तै, एकदेखि डेढ लिटरको बोतलको पानी सामान्य अवस्थामा दैनिक २० देखि २५ हजार केस (एक केसमा १२ वटा बोतल) खपत हुन्छ । सुक्खायाममा भने ४० हजार केससम्म खपत हुन्छ । जाडोको तुलनामा गर्मीयाममा ४० प्रतिशत पानीको खपत बढ्ने गरेको संघको दाबी छ । जसअनुसार साना र ठूला जारबाट मात्रै सुक्खायाममा दैनिक १६ लाख ८० हजार लिटर पानी वितरण हुने गर्छ ।

दैनिक झन्डै १९ करोड रुपैयाँको पानी खपत हुने
उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरको पानी प्रतिलिटर ३.५ पैसाको दरले बिक्री हुन्छ । सुक्खायाममा दैनिक पाँच करोड लिटर पानी आपूर्ति हुने भएकाले सो समयमा ट्यांकरको पानी मात्रै दैनिक १७ करोड ५० लाख रुपैयाँको बिक्री हुन्छ । त्यस्तै, २० लिटर अटाउने जारको पानी दैनिक ७० हजारवटा खपत हुन्छ ।

एउटा जारको मूल्य ५० रुपैयाँ पर्छ । यस आधारमा २० लिटर पानी अटाउने जारको पानी मात्रै दैनिक ३५ लाख रुपैयाँको बिक्री हुन्छ । यसैगरी, एक लिटर पानी अटाउने सानो जार दैनिक चार लाख ८० हजारवटा बिक्री हुन्छ । एउटा बोतलको मूल्य २० रुपैयाँ पर्छ । यस आधारमा सानो जारको पानी मात्रै दैनिक ९६ लाख रुपैयाँको बिक्री हुन्छ । यसरी ट्यांकर तथा जार गरी सुक्खायाममा उपत्यकामा दैनिक १८ करोड ८१ लाख रुपैयाँको पानी बिक्री हुने गरेको पानी व्यवसायीहरूको भनाइ छ ।

यस कारण हाहाकार
केयुकेएलका अनुसार उपत्यकाभित्र दैनिक ३७ करोड ५० लाख लिटर पानीको माग छ । विगत वर्षका तथ्यांक हेर्दा चैत, वैशाख र जेठमा प्रतिदिन नौ करोड लिटर मात्रै पानी उत्पादन हुँदै आएको छ । त्यसमध्ये ३५ देखि ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । उपभोक्ताकहाँ पुग्ने पानी करिब ६ करोड लिटर मात्रै हो । उपत्यकाभित्रका २७ लाख जनतालाई त्यही पानी बाँड्नुपर्छ । त्यसो हुँदा एकजनाको भागमा करिब २० लिटर पानी पर्छ । तर, केयुकेएलले सो परिणामको पानी कतै ६ दिन त कतै नौ दिनमा एक घन्टा मात्रै वितरण गर्दै आएको छ । यो तथ्यांक हेर्दा एकजनाको भागमा मुस्किलले दुई लिटर पानी पर्छ । केयुकेएलका अनुसार एकजनाका लागि प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो वर्ष पनि केयुकेएलले थप पानी व्यवस्थापन गर्न चासो नदेखाएका कारण हाहाकार हुने निश्चित छ । नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com