अमेरिकामा अदालतमा थन्काइएका मुद्दामा वर्क परमिट अस्वीकार


प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

प्रोक्यिुटोरियल डिस्क्रिशन अर्थात् पीडीका नामले चिनिने विशेष सुविधाबाट अमेरिकामा रहेका कैयन नेपालीहरुले अमेरिकामा लामोसमयसम्मका लागि बसेर डिपोर्टेशनको डरबिना काम गर्न पाइरहेका छन् । तर यो नीति ट्रम्प कार्यकालमा जोखिममा परेको छ । पहिले नै पाइसकेकाहरुको पीडी सुविधा खारेज नहुने बताइएपनि पहिले पाएका पीडीका आधारमा वर्क परमिट रिन्यु गर्न छाडेपछि संकट उत्पन्न भएको हो ।

अमेरिकी सरकारको युएससीआईएसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पीडीका आधारमा दिइएका वर्क परमिटका आवेदन अस्वीकार गर्न थालेको छ । ‘पीडी’ अर्थात् ‘मुद्दामाथि विवेक’का आधारमा ओबामा कार्यकालमा अध्यागमन अदालतमा प्रशासनिक हिसाबले बन्द गरिएका मुद्दाका आधारमा वर्क परमिट प्रदान गरिने भएपनि अब भने पीडीका आधारमा वर्क परमिट अस्वीकार गर्न थालिएको छ ।

कुनै मुद्दामा पीडी प्रदान गरिएपछि त्यो मुद्दालाई अदालतको क्यालेण्डरबाट निकालेर पेन्डिङ स्टेटसमा राखिन्थ्यो भने व्यक्तिले अमेरिकामा बसेर लामोसमयसम्म वर्क परमिट प्राप्त गरेर काम गर्न पाउँथ्यो । मुद्दा हारेर देशनिकाला हुनुपर्ने डरका कारण कमजोर प्रकारका मुद्दामा आवेदकले पीडी लिने गर्थे र त्यो आधारमा प्राप्त वर्क परमिटबाट अमेरिकामा बसेर निर्धक्क काम गर्दै आएका थिए ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको प्राथमकितामा नरहेका व्यक्तिले ओबामा कार्यकालमा पीडी प्राप्त गर्दै आएका थिए । सन् २०१३ यता यसरी पीडी लिएर काम गर्दै आएकाहरुको संख्या झण्डै ६७ हजार रहेको छ ।

कसैको एसाइलमको मुद्दा न्यायाधिसले पीडीका आधारमा प्रशासनिक हिसाबले बन्द गर्दा आवेदकले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्दै आएका छन् । जसमा नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

तर पीडीका आधारमा युएससीआईएसले वर्क परमिट प्रदान गर्न वा रिन्यु गर्न अस्वीकार गर्न थालेको छ । अस्वीकार गरिएका आवेदनमा भनिएको छ -‘आवेदक जसको एसाइलम आवेदन १५० दिनभित्र एसाइलम अफिसर वा अध्यागमन न्यायाधिसले अस्वीकार वा बन्द गरेको छ , उनीहरु वर्क परमिटका लागि आवेदन दिन योग्य हुनेछैनन् ।’

यसअगाडि युएससीआईएसको प्रावधानमा ‘वा बन्द’ भन्ने शब्द दिएन । तर अब भने ‘वा बन्द’ भन्ने शब्द थप्न थालिएको छ । जसका कारण पीडी लिएर काम गरिरहेका कैयन नेपालीहरु वर्क परमिट रिन्यु नहुने जोखिममा छन् ।

के हो पीडी ?

यदि कुनै व्यक्ति अध्यागमन अदालतमा देशनिकालाको प्रकृयामा रहेको खण्डमा वा अध्यागमन अदालतमा उसको एसाइलमको मुद्दा चलिरहेको सन्दर्भमा त्यो मुद्दालाई न्यायाधिसले अदालतको क्यालेण्डरबाट हटाएर प्रशासनिक रुपमा बन्द गर्नु नै पीडी हो । यसरी प्रशासनिक रुपमा बन्द भएको मुद्दाको सन्दर्भमा निर्णय नभएको एसाइलम मुद्दाको आधारमा व्यक्तिले अमेरिकामा काम गर्नका लागि वर्क परमिट प्राप्त गर्न सक्ने नियम छ । तर पछि आवेदकले चाहेको समयमा मुद्दा खोल्नसक्ने प्रावधान समेत रहेको छ ।

आवेदकले न्यायाधिससमक्ष माग गरेको खण्डमा पीडीको सुविधा प्राप्त गर्न सक्छन् । खासगरी एसाइलमका मुद्दा जित्ने सम्भावना कम भएको अवस्थामा यो सुविधा अमेरिकामा बसेर काम गर्नका लागि निकै फाइदाजनक मान्ने गरिएको छ । किनभने यो सुविधा प्राप्त भइसकेपछि व्यक्तिले देशनिकालाको डरविना अमेरिकामा वर्क परमिट प्राप्त गरेर काम गर्न सक्ने प्रावधान रहेको छ ।

कानुन व्यवसायी खगेन्द्र जीसी भन्नुहुन्छ –‘ मुद्दा अदालतमा गएको अवस्थामा त्यसलाई प्रशासनिक रुपमा बन्द गरेर व्यक्तिले अमेरिकामा चाहेजति समय बसेर काम गर्न पाउने व्यवस्था पीडीले गरेको थियो । पीडीबाट धेरै नेपालीहरुले सुविधा लिएका थिए । केस जित्नसक्ने अवस्था नरहेको खण्डमा वा न्यायाधिसको अवस्था हेरेर पीडी लिनेहरुको संख्या धेरै छ । यो सुविधा अन्तरगत केस अगाडि बढाइदैन र केसलाई पार्कमा राखिन्छ । यस्तो केस चाहेको बेलामा पुन न्यायाधिसका अगाडि रिक्यालेण्डर गर्न सकिन्छ । प्राय सरकारले यसरी प्रशासनिक हिसाबले बन्द गरिएका केसहरु खोल्दैन ।’

तर ट्रम्पको कार्यकालमा पीडीका आधारमा वर्क परमिट अस्वीकार गर्न थालिएपछि पीडी लगभग औचित्यहिन भएको छ । ओबामाको पहिलो कार्यकालमा यो सुविधा थिएन । दोश्रो कार्यकालमा ल्याइएको यो नीति अब औचित्यहिन जस्तै भएको छ । यो सुविधा लिएकाहरुका मुद्दाहरु खोलेर फैसलाको प्रकृयामा लग्न सकिने सम्भावना रहेको छ ।

कानुन व्यवसायी रमेश श्रेष्ठ भन्नुहुन्छ –‘प्राय असाइलम स्वीकृत हुने सम्भावना नभएमा आवेदकले यो सुविधा लिने गर्छन् । यो सुविधा लिइसकेपछि मुद्दालाई एक्टिभ डकेटबाट इन्एक्टिभ डकेटमा राखिन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com