उद्यमी बन्दै कर्णालीका महिला


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

कर्णालीका महिला कोही सीप सिकाउँदै, कोही सिक्दै आत्मनिर्भर बन्न अग्रसर छन् । आत्मनिर्भर बने कसैले हेप्दैन भन्ने भेउ पाएपछि उनीहरू आएका अवशर नगुमाइ आफूलाई यसतर्फ सक्रिय बनाएका छन् ।

रमेश रावल

कालिकोट । जुम्ला चन्दननाथ नगरपालिका वडा ४ का ५५ वर्षीया रामलिला बुढा कर्णालीका बेरोजगार महिलालाई उद्यम सिकाउने हिड्ने गरेकी छन् । कर्णालीका मुगु, जुम्ला र कालिकोटमा बुढाले बेरोजगार महिलालाई आलुबाट चिप्स बनाउने उद्यम सिकाउँदै हिड्ने गरेकी हुन् ।

जुम्लामै १५ वर्षअघि आलुका बिभिन्न परिकार बनाउने सीप लिएकी बुढा अहिले कर्णाली अंचलका मुगु, जुम्ला र कालिकोटमा महिलालाई त्यही सीप सिकाउन व्यस्त छन् ।

कर्णाली अंचलका मुगु, जुम्ला र कालिकोटका २४० जना महिलालाई उनले आलु चिप्स बनाउने तालिम दिइन् । यी मध्ये आधा महिलाले व्यावसायिक रुपमा आलु चिप्स बनाइ बेच्न थालेका छन् । आधाले आवश्यकता अनुसार उद्यम गर्ने गरेको उनी बताउँछिन् ।

पहिलेपहिले बजार नहुँदा डोकामा बोकेर जुम्लाका बजारमा आफूले उत्पादन गरेको आलु चिप्स बेच्ने गरेको स्मरण गर्दै उनले भनिन् ‘अहिले त कर्णालीका यी तीनै जिल्लामा सडक पुगेका कारण यस्तो दुःख गर्नु पर्दैन ।’

उनले जुम्लाका चौधबिस, झ्यारी, पुरु, रारा, मानेचौर, पदमारा कालिकोटको फाइमहादेव, राँचुली गाबिस र मुगुका पिना, रुघा गाबिसका महिलालाई आलु चिप्स बनाउने तालिम दिइ महिलालाई उद्यमशील हुन सघाएकी छन् ।

आलु चिप्स बनाउन हिउँदका महिना उपयुक्त हुने गर्मी महिनामा आलु चिप्स बनाउँदा कुहिने डर हुने उनको अनुभव छ ।
गाउँघरमा प्रशस्त पाइने आलुबाट चिप्स बनाइ बेचेर महिनामा २० देखि ३० हजार रुपैयाँसम्म घरमै बसेर आम्दानी गर्न सकिने रामलिला बुढा बताउँछिन् ।

जिल्ला कै एक्ली गलैँचा उद्यमीः वसन्ती शाही


कालीकोटकै दाहाँकी वसन्ती शाही जिल्लाभरी कै एक्ली गलैँचा उद्यमी हुन् । उनले गलैँचा बुनेर मासिक ५० हजार रुपैयाँ कमाउने गरेकी छन् ।

कालिकोट जिल्लाका अन्य ठाउँमा गलैचा उत्पादन हुँदैन । गलैँचा बुन्ने र उत्पादन गर्ने तालिम सीप कसैले पनि सिकेका छैनन् । शाहीमात्र पहिलो महिला उद्यमी भएको महिला तथा बालबालिका कालिकोटले जनाएको छ ।

वसन्ती शाही चार वर्षअघि काठमाडौंमा ६ महिनाको गलँैचा बुन्ने तालिम लिएकी थिइन् । तालिम सकेर उनी गाउँ फर्किन् र गाउँ मै यो व्यवसाय सुरु गरिन् ।

गाउँमा आएर गलैँचा बुनेर राम्रै आम्दानी हुने गरेको उनी बताउँछिन् । काम गर्ने जनशक्ति र आफ्नो आर्थिक अवस्था राम्रो नहुँदा यसलाई उद्योगको रुपमा विकास गर्न भने नसकेको उनको गुनासो छ । ‘आम्दानी राम्र्रै हुने गरेको छ, बुन्न सके त गाउँमा नै राम्रो कमाई हुन्थ्यो’ उनले भनिन् ।

एउटा गलैँचा बुन्न १५ देखि २० दिनसम्म लाग्छ । एउटा गलैँचाको गाउँमा २० हजार रुपैयाँभन्दा बढी मुल्य पर्ने शाहीले बताइन् । ‘गलैचा बुन्ने आधुनिक मेसिन छैन्, हातले बुन्दा समय धेरै लाग्छ, त्यसैले महगों पर्न जान्छ’ उनले भनिन् ।

कालिकोटका पहिचान दिन स्थानीय कच्चा पदार्थको प्रयोग गरेर झोला बुन्ने तयारीमा उनी लागेकी छन् ।

महिला उद्यमी कम भएकाले राम्रो काम गर्नेलाई महिला तथा बालकालिका कार्यालयले उद्यमशिलतामा लाग्न प्रोत्साहन गरेको महिला तथा बालबालिका कार्यालय कालिकोट प्रमुख सिता थापा मगर बताउँछिन् । उनले भनिन्,–‘हामी महिला उद्यमीलाई प्रोत्साहन गर्न कार्यक्रम संचालन गरेका छौं ।’

कालिकोट जिल्लामा पुरुषभन्दा बढी महिला उद्यमशिलतामा लागेको कार्यालयले जनाएको छ । वसन्ती शाहीको उद्यमलाई पनि सहयोग गरिने महिला बालबालिका कार्यालय कालिकोट प्रमुख मगरको भनाइ छ ।

सीप सिक्दै आत्मनिर्भर बन्दै


जिल्लाको ग्रामिण इलाकाका महिलाहरू सीप सिकेर आत्मनिर्भर हुने क्रम बढेको छ । पुरुषहरू कामको खोजीमा विदेश जान थालेपछि यहाँका महिलाहरू सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् ।

जिल्लाको स्युना गाविसमा गाबिसले लक्षित वर्गलाई छुट्टयाएको रकमबाट महिलाले सिलाई कटाई तालिम लिइरहेका छन् । गाविसका दलित, महिला र अपाङ्ग संजालको नाममा आएको रकमबाट यसवर्ष गाविसका १० जना महिलाले सिलाई कटाई सिकिरहेका छन् ।

विगत वर्षहरूमा लक्षित वर्गका लागि छुट्टयाइएको रकम अन्य क्षेत्रमा खर्च गरेको देखाउने र कतिपय अवस्थामा दुरुपयोग समेत हुने गरेपनि यस वर्ष भने महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाइ तालिम दिएको दलित संजाल स्युनाका अध्यक्ष मन तिरुवा बताउँछन् । ‘दलितका लागि छुट्टयाइएको ५० हजार, अपाङ्गको ५० हजार र महिलाको ६० हजार गरी जम्मा १ लाख ६० हजार रुपैयाँ र घरेलु तथा साना उद्योग कार्यालयले दुई लाख रुपैयाँ रकमबाट महिलालाई साढे दुई महिनाको सिलाई कटाई तालिम दिएका छौं’ उनले भने । तालिमले महिलालाई आत्मनिर्भर हुन सघाउने उनको विश्वास छ । धेरै संघसंस्थाले आत्मनिर्भर बन्ने कार्यक्रम ल्याउनुभन्दा गोष्ठी र अन्र्तक्रियामा रकम खर्च गर्ने गरेकोमा उनको असन्तुष्टि छ ।

 

सिलाई कटाई तालिमले आफू आत्मनिर्भर बन्न सहयोग पुग्ने तालिममा सहभागी अनिता बमको आत्मविश्वास छ । ‘सीप सिकेर आत्मनिर्भर बन्ने तयारीमा छु’ कति दिन पुरुषहरूको भर पर्नु’ उनले भनिन् ।

स्युना गाविस कै पछाडी पारिएका विपन्न गरिब १४ जना महिलालाई लघुउद्यम विकास कार्यक्रम(मेड्प)को आर्थिक सहयोगमा सादा नेपालले एक महिने सिलाई कटाई तालिम संचालन गरेको छ । लघु उद्यम सहजकर्ता बेला तिरुवा भन्छिन् ‘विभिन्न निकायले दिएको सिलाई कटाई तालिमले कयौं महिलामा आत्मनिर्भर भएका छन् ।’

जिल्लाका पढेलेखेका महिलाले पनि सिलाई कटाई गर्दै आत्मनिर्भर बन्न थालेका छन् । स्नातक पास गरेकी मान्मकी मधु शाहीले सदरमुकाममा सिलाई कटाई पसल राखेर आत्मनिर्भर बनेकी छन् । शाहीले सिलाई कटाई तालिम सेन्टर संचालन गरेर गाउँका अन्य महिलालाई समेत तालिम दिएर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको बताइन् । उनले भनिन्–‘आफू आत्मनिर्भर भए कसैले हेप्दैनन् ।’ महिला खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com