सरकार निर्वाचन नगराउने छलकपटमा लाग्यो : अध्यक्ष ओली


प्रकाशित मिति : माघ २१, २०७३ शुक्रबार

कपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

आज झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए ।

समयमै निर्वाचन नभए प्राप्त अधिकार नै धरापमा पर्ने चर्चा गर्दै उनले एमाले कुनै पनि हालतमा निर्वाचन पर धकेल्ने कुनै पनि गलत कार्यविरुद्ध जाइलाग्ने चेतावनी दिए ।

सरकारले संविधान संशोधनको बखेडा झिकेर निर्वाचन पर धकेल्न खोजेको उनको टिप्पणी थियो । उनले भने,“ सरकार हामीसँग निर्वाचन गर्ने भन्छ अनि मधेसीसँग संशोधन पास गरेर मात्र गर्ने भनेर दोहोरो चरित्र देखाएर विचित्र रुपमा प्रस्तुत भएको छ ।”

निर्वाचन हुने नदिने सबै चालबाजी विरुद्ध एमाले जिम्मेवार ढङ्गले शसक्त रुपमा प्रस्तुत हुने भन्दै अध्यक्ष ओलीले माघ महिनाभित्रमा निर्वाचन घोषणा नगरिए मुलुकमा राजनीतिक सङ्कट आउने दाबी गरे ।

‘यस्तो असहज परिस्थतिलाई रोक्न एमालेले मेचीकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे ।

कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अहिलेको संविधानले सबैको मागलाई समेटेकाले संविधान संशोधन आवश्यक नपरेको समेत बताए। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com