अमेरिका छिर्न खोज्ने २५ नेपाली देशनिकाला


प्रकाशित मिति : पुस २७, २०७३ बुधबार

 किशोर पन्थी

अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकाबाट २५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिएको जनाएको छ । उनीहरुमध्ये प्राय मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएकाहरु हुन् । उनीहरु आर्थिक वर्ष २०१६ को अवधि अमेरिकाबाट देशनिकालामा परेकाहरु हुन् । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)का अनुशार कुनै उन्मुक्तिबिना अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु प्रायसबै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा सिमाक्षेत्रमा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अधिकारीहरुसँगको जम्काभेटमा समातिएकाहरु हुन् ।

यस अघि सन् २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको थियो । उनीहरु मध्ये प्राय मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा ठूलो संख्यामा पक्राउ परेकाहरु नै थिए । उनीहरुलाई अमेरिकी सरकारको युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले पक्राउपछि केहीसमय जेलमा राखेर नेपाल फिर्ता पठाएको हो ।

कस्ता व्यक्ति अमेरिकाबाट देशनिकालामा परे ? के गरे देशनिकालाबाट बच्न सकिन्छ ? यसबारे न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँगको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला । 

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुशार सन् २०१६ मा मा अमेरिकी सरकारले विश्वभरका २ लाख ४० हजार २ सय ५५ जनालाई अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको छ । जसमध्ये ६५ हजार ३३२ जना आइसका अधिकारीहरुले अमेरिकाभित्र गिरफ्तार गरेकाहरु हुन् । तीमध्ये ६० हजार ३ सय १८ जना अपराधीहरु हुन् । त्यस्तै आइसका अधिकारीहरुले १ लाख ७४ हजार ९२३ जनालाई सिमाक्षेत्रमा पक्राउ गरेर डिपोर्ट गरेका छन् ।

यसअघि सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जनालाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले मात्र अमेरिकाबाट देशनिकाला गरेर फिर्ता पठाएको थियो, जसमध्ये ९० हजार १ सय ३ जना सिमा क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्ने तर कुनै अपराधमा संलग्न नहुनेहरु थिए भने ५ हजार ९ सय ४२ जना गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएकाहरु थिए । बाँकी १ लाख ३९ हजार ३ सय ६८ जना गैरकानुनी रुपमा अमेरिका छिर्ने आपराधिक पृष्ठभूमी भएकाहरु थिए ।

आर्थिक वर्ष २०१६ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८५ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेको छ । अमेरिकाबाट देशनिकालामा पर्नेमा नेपालीहरु ६६ औं नम्बरमा छन् । गतबर्ष युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गर्दा नेपालीहरु ७४ औं नम्बरमा रहेका थिए ।

गत वर्षको तुलनामा यो वर्ष धेरै नेपालीहरु आइसमार्फत डिपोर्टेशनमा परेका छन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गर्ने घोषणा गरेपछि गतबर्ष कैयन नेपालीहरु देशनिकाला हुनबाट बचेका थिए । तर सन् २०१५ को जुन २४ भन्दा पछि पक्राउ परेकाहरुलाई भने टीपीएसले बचाउन सकेन ।

के गरे देशनिकालाबाट बच्न सकिन्छ ? यसबारे न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीसँगको विशेष कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com