संसदमा एमालेले किन गरेन विरोध ?


प्रकाशित मिति : पुस २५, २०७३ सोमबार

नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टा समय दिइने व्यवस्था छ ।

गत मङ्सिर १४ गतेयता विपक्षीले सदन सञ्चालनमा अवरोध गर्दै आएका थिए । यसैबीच व्यवस्थापिका–संसद् बैठकले सरकारलाई संसदप्रति जवाफदेही बनाई सर्वसाधारण जनतालाई सरकारको काम कारबाहीको जानकारी प्रत्यक्ष रुपमा गराउन ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि, २०७३’ अनुमोदन गरेको छ ।

संसद्को आजको बैठकले अनुमोदन गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् ।

त्यस्तै जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार साधारणतयाः पहिलो दुई घन्टा निर्धारण गर्न सक्नेछन् । कार्यविधिमा संसदमा सञ्चालन हुने प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमलाई नेपाल टेलिभिजनलगायत अन्य सञ्चारका माध्यमबाट समेत प्रत्यक्ष प्रसारण गर्न सकिने उल्लेख छ । त्यस्तै आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पारित भएको छ ।

प्रस्ताव प्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पेस गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राज्यमन्त्री नियुक्तिसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा केही सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com