२०१६ मा अमेरिकी भिसा पाउने नेपालीको दर पाँचबर्षमै कम


प्रकाशित मिति : पुस ९, २०७३ शनिबार

-किशोर पन्थी

अमेरिकाको भिजिटर भिसा आवेदकका लागि आर्थिक बर्ष सन् २०१६ विगत पाँचबर्षकै सबैभन्दा धेरै दुखद रह्यो । यो बर्ष अमेरिकाको भिजिटर अर्थात् बी भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये झण्डै आधा नेपालीहरुले अमेरिकाको भिसा पाएनन् ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार आर्थिक बर्ष सन् २०१६ मा बी भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये ४९ दशमलव ५४ प्रतिशतले भिसा पाएनन् । नेपालीहरुका लागि बी भिसा अस्वीकृत हुने दर यो विगत पाँचबर्षकै सबैभन्दा उच्चदर हो ।

यद्यपी सन् २०१६ मा बी भिसाका लागि आवेदन दिनेहरुमध्ये ५० दशमलव ४६ प्रतिशतले भने भिसा पाएका छन् । आर्थिक बर्ष सन् २०१६ मा कतिजना नेपालीहरुले बी भिसाका लागि आवेदन दिएका थिए भन्नेबारे भने कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छैन । यो विवरण केही दिनपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

सन् २०१५ वा त्यो भन्दा अगाडि अमेरिकाको भिसा पाउने नेपालीहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिशतका हिसाबले नेपालीले विगत पाँचबर्षमै कम भिजिटर भिसा प्राप्त गरेपनि संख्याका हिसाबले कतिजना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरे भन्नेबारे भने केही खुलाइएको छैन ।

विगत पाँचबर्षको तुलनात्मक अध्ययन गर्दा आर्थिक बर्ष सन् २०१५ मा ४२ दशमलव १९ प्रतिशत, सन् २०१४ मा ३८ दशमलव २ प्रतिशत, सन् २०१३ मा ४६ दशमलव ४ प्रतिशत र सन् २०१२ मा ४९ दशमलव ४ प्रतिशत नेपाली आवेदकहरुका लागि बी भिसा प्रदान गर्न अस्वीकार गरिएको थियो ।

यो दरमा सोही आर्थिक बर्षको कुनै महिनामा भिसा अस्वीकार भएर केही महिनापछि पुन आवेदन दिनेहरुको विवरण भिसा अस्वीकृत हुनेमा समावेश गरिएको छैन । त्यस्ता व्यक्तिको विवरण भिसा जारी हुनेमा मात्र गणना गरिएको छ । त्यस्तै कुनै व्यक्तिको भिसा एउटै आर्थिक बर्षमा दुई वा सो भन्दा धेरैपटक अस्वीकृत भएको खण्डमा पनि त्यसलाई अस्वीकृत संख्यामा गणना गर्दा एकमात्र गणना गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com