यस्तो गाउँ जहाँ पत्नी गर्भवती हुनसाथ पतिले गर्छन् दोस्रो विवाह !


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

शीर्षक पढेर तपाईलाई अचम्म लाग्न सक्छ श्रीमती गर्भवती हुनसाथ श्रीमानले किन अर्को बिबाह गर्छन् भनेर ? यो समाचार कतिलाई त विश्वास गर्न समेत गाह्रो हुनसक्छ तर यो सत्य हो । भारतको राजस्थानको केही गाँउहरुमा यस्तो प्रचलन अझैसम्म कायमै छ । अझ अचम्मको कुरा त के छ भने दोस्री या तेस्री श्रीमती बन्ने महिलाहरुलाई पनि विवाह गर्नुअघि यसबारेमा थाहा हुन्छ । अर्थात सहमतिमै यस्तो विवाह हुँदै आएका छन् ।

यो प्रथा राजस्थानको बाडमेर जिल्ला अन्र्तगत देरासर गाउँको हो । जहाँ पानीको अत्यन्त हाहाकार रहेको छ । उक्त गाउँका महिलाहरुको समय चर्को गर्मि र अत्यन्त चिसो समयमा पनि पूरैै दिन पानीको खोजीमा भौतारीदै बित्ने गर्दछ । यस ठाउँका युवतीहरुलाई सानैबाट पानी खोज्न र बोक्न सिकाइन्छ । विवाहपछि गर्भवती भएका महिलाहरुलाई दिनभरि पानी खोजेर भौतारिनु र पानी बोकेर घन्टौं हिड्नु खतरा हुने भएकोले गर्भवती भएको थाहा पाए पछि श्रीमानले दोस्रो बिबाह गर्ने गर्दछन् । दोसो्र बिबाह गरेपछि घरमा पानी बोक्ने मानिस हुनुको साथै गर्भवती श्रीमतीको स्याहार समेत गर्न सक्ने भएर यस्तो प्रथा चलिआएको बताइन्छ ।

राजस्थानको देरासरमा चलिआएको बहुबिबाहको प्रथा सदियौबाट चलिआएको हो । महाराष्ट्रको कति गाउँमा पानीकै कारणले पुरुष बहुबिबाह गर्न बाध्य भएको बताइन्छ ।

अत्यन्त सुख्खाग्रस्त क्षेत्रमा पानी ल्याउन धेरै गाउँहरु पार गरेर जानुपर्ने अवस्था छ । जसमा १०–१२ घन्टा सम्म लाग्ने गर्दछ । पछिल्लो तथ्यांक अनुसार महाराष्ट्रमा लगभग १९ हजार सुख्खाग्रस्त गाउँहरु रहेका छन् । यी गाउँहरुमा दोस्रो पत्नीलाई वाटर वाइफ भनेर सम्बोधन गरिन्छ । कतिपय गाउँमा त तिनवटा बिबाह समेत गरेको पाइएको छ । जहाँ पहिलो श्रीमतीले घर र बालबच्चा स्याहार्ने दोस्रो र तेस्रो श्रीमतीले पर्याप्त मात्रामा पानी बोक्ने जिम्मेवारी पाएका हुन्छन् । यी गाउँहरुमा दोस्रो तथा तेस्रो श्रीमतीहरु श्रीमानले छोडेका, बिधवा महिलाहरु बढि हुने गर्दछन् । कति गाउँहरुमा भने पुरुषहरुले कम उमेरका किशोरीहरु बिबाह गर्ने गरेका छन् । किनकी बढि उमेरका महिलाहरुको तुलनामा कम उमेरका किशोरीहरुले धेरै पानी बोक्न सक्षम हने उनिहरुको विश्वास रहेको छ ।

अनुसन्धानबाट यस्तो प्रथा धेरैजसो आदिवासी समुदायमा पाइएको छ । यस्तो प्रथाको भारतमा निकै विरोध हुदै आएपनि रोक्न अझै सकिएको छैन । अधिकारकर्मीहरुले यसलाई गैरकाननी बताउदै आएका छन् । पहिलो पत्नी वा दोस्रो पत्नीकै सहमतीमा यस्तो बिबाह हुने गरेको कारणले यस्तो प्रथा रोक्न मुस्किल हुदै आएको अधिकारकर्मिहरुको भनाइ छ । अधिकारकर्मीहरु अनुसार यसको लागि सरकारले महिला अधिकार, पानीको उपलब्धता र जनचेतनाको बिकासमा ठोस कदम चाल्न आवश्यक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com