भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ ।

भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।

भारतका टेलिभिजन च्यानलहरुले कारसहितका सवारी साधनहरु सडकमा पानीमा डुबेको दृश्य देखाएका छन् ।

बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घरहरु प्रभावित भएको समाचारमा जनाइएको छ । यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँहरु पनि रहेका छन् ।

सञ्चार माध्यमहरुले बाढी पहिरोबाट सबैभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको जनाएका छन् । त्यस राज्यमा मात्रै १४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ ।

भारत सरकारले बाढी पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडीआरएफ)का ४३ टोली परिचालन गरेको छ । सबै एनडीआरएफमा कम्तीमा ४५ जना रहेका छन् ।

बाढी पहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीवाली र खेतीयोग्य जमिन समेत नष्ट भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com