अब देखि जुत्ता नलगाई सवारी चलाउनेलाई ट्राफिक प्रहरीले पक्राउ गर्ने, बिना जुत्ता अब सवारीसाधन चलाउन नपाउने


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

जुत्ता नलगाई सवारी चलाउनेलाई ट्राफिक प्रहरी कार्यालय मोरङले कार्वाही थालेको छ। साउन १ देखि चालकलाई जुत्ता अनिवार्य गरेको ट्राफिक प्रहरीले जुत्ता नलगाउने सार्वजनिक सवारीका चालकलाई कार्बाही सुरू गरेको हो।

सार्वजनिक सवारी चालकलाई जुत्ता लगाउन ट्राफिकले एक साताको समय दिएको थियो। जुत्ता लगाउन अटेर गर्नेलाई पहिलोचरणमा ट्राफिक कार्यालयमा ल्याएर जुत्ता किनाउने गरिएको छ। तर, दोस्रो पटक पनि जुत्ता नलगाएको भेटिए कारवाहीको भागिदार बन्नुपर्ने ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पोखरेलले जानकारी दिए। ‘पहिलो चरणमा कार्बाही भन्दा पनि जुत्ता नलगाउने सवारी चालकलाई कार्यालयमा ल्याएर परामर्शसहित जुत्ता किन्न लगाउने गरेका छौं’ उनले भने‘त्यसपछि पनि अटेर गर्नेलाई कारवाही गछौं ।’हाल सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ८० वटा सार्वजनिक सवारीका चालकलाई कार्यालयमा ल्याएर जुत्ता किन्न लगाइसकेको छ ।

यस्तै जुत्ता लगाउन बारम्बार अटेर गर्ने ५ जना चालकलाई भने कार्बाही नै गरिएको पोखरेलले जानकारी दिए। जुत्ता नलगाउने सवारी साधनका चालकलाई न्यूनतम ५ सय रुपैयाँ जरिवाना तिराउने गरिएको पोखरेलले बताए। जुत्ता नलगाउनेमा धेरैजसो अटो र सिटीसफारीका चालकहरू रहेका छन्। यस्तै बस,माइक्रो बस, जीप तथा अन्य भाडाका सवारी चालकहरूलाई पनि जुत्ता लगाउन सचेत गराई सकिएको छ ।

बस, माइक्रोबस, मिनिवसलगायतका सवारीसाधनका अधिकांश चालकले जुत्ता लगाउने गरेको पाइएको पोखरेलले जानकारी दिए । चालकले जुत्ता लगाएको वा नलगाएको बारे दैनिक रुपमा प्रहरीले अनुगमन गरिरहेको पनि पोखरेलले बताए । ‘ बुढीगंगा गाउँपालिका स्थित नेमुवा र विराटनगरको बस पार्कमा सार्वजनिक यातायातका चालकले जुत्ता लगाएको वा नलगाएको भन्नेबारे दिनहुँ अनुगमन हुने गरेकोकोछ’ पोखरेलले भने। चप्पल लगाएर सवारी चलाउँदा दुर्घटनाको संभावना धेरै हुने गरेको छ। खुट्टामा पासिना आउने र चप्पल चिप्लीएर दुर्घटना हुने गरेको छ। सामान्य हेलचक्राईबाट हुने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा सार्वजनिक सवारीलाई जुत्ता अनिवार्य गरेको हो। सार्वजनिक सवारी पछि निजी सवारीसाधनका चालकहरूलाई पनि जुत्ता अनिवार्य गर्ने योजना ट्राफिक प्रहरीको छ । निजी सवारी साधनका चालकलाई भदौ देखि जुत्ता अनिवार्य गर्ने योजना रहेको पोखरेलले बताए ।

साउन १ गतेदेखि विराटनगरको ट्राफिक व्यवस्थापन सहज गर्न ट्राफिक चोक देखि जलजला चोक सम्मको सडकमा पार्किङ निषेधलाई कडाइकासाथ कार्यान्वयनमा ल्याएको ट्राफिक प्रहरी कार्यालयको दाबी छ। पार्किङ निषेध गरिएको सडकमा पार्किङ गर्नेलाई कार्वाही थालिएको ट्राफिक प्रहरी प्रमुख पोखरेलले बताए । उनका अनुसार हालसम्म निषेधित क्षेत्रमा पार्किङ गर्ने ११ वटा सवारीचालकलाई कार्वाही गरिसकिएको छ । जसमा दुई वटा नाइट बस र ९ वटा मोटरसाईकल कार्बाहीमा परिसकेका छन्। निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीलाई न्यूनतम ५ सय रुपैयाँ जरीवाना तिराउने गरिएको पोखरेलले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com