८३ को ज्यान लिएको आगो जानीजानी ‘लगाइएको थियो’


प्रकाशित मिति : श्रावण ११, २०७५ शुक्रबार

बीबीसी

ग्रिसको राजधानी एथेन्स नजिकैको जंगलमा फैलिएको आगो कसैले जानीजानी लगाएको हुनसक्ने सरकारको अनुमान छ ।

नागरिक सुरक्षाका उपमन्त्री निकोस तोस्कासका अनुसार केही अपराधीले आगो लगाएको बारे गम्भीर प्रमाण भेटिएको छ ।

पुलिसले आगो लगाउनुको कारणबारे अनुसन्धान थालेको छ ।

यसअघि ग्रिसका रक्षामन्त्रीले अनुमतीबिना बनाइएको भवनमा बचाउ दललाई नपठाएको र मानिसहरुलाई बाहिर निस्कनका लागि बाटो बन्द गरिदिएको जानकारी दिएका थिए ।

अर्कोतर्फ आगोबाट प्रभावितले समयमा मद्दत नपाएका कारण अधिकारीमाथि गम्भीर आरोप लगाएका थिए ।

जंगल र नजिकैको इलाकामा लागेको भीषण आगलागीका कारण अहिलेसम्म कम्तीमा पनि ८३ को मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं मानिस अहिलेसम्म हराइरहेका छन् ।

६० जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ११ लाई आइसियूमा भर्ना गरिएको छ । अरबौं रुपैयाँको सम्पत्ति नोक्सान भएको छ ।

ग्रिसको राजधानी एथेन्स नजिकैको आगो सोमबार सुरु भएको थियो र निकै भयानक रुपमा नजिकैका इलाका र तटीय इलाकामा फैलिएको थियो ।

धेरै मानिसहरुले समुन्द्रमा हाम फालेर आफ्नो ज्यान बचाए तर सबैजना त्यति भाग्यमानी पनि रहेनन् ।

नागरिक सुरक्षा मन्त्रीका अनुसार यो विनाशकारी आगलागीको केही घण्टा अघि एथेन्स नजिकै कसैले जानीजानी आगो लगाएको थियो जसलाई निभाइएको थियो । उक्त आगोले कसैको मृत्यु भएन ।

उनका अनुसार आगोलागीले प्रभावित क्षेत्रमा जलवायु परिवर्तनका कारण वातावरणको स्थिती निकै खतरनाक थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com