ट्रम्पले पूर्वमोडलसँग गरेको छलफल गोप्य रुपमा ‘रेकर्ड’


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्ववकिल माइकल कनले आफ्ना सेवाग्राही (ट्रम्प) ले प्लेबोइ म्यागजिनकी पूर्वमोडलसँग रकमबारे छलफल गरिरहेको कुरा गोप्य रुपमा रेकर्ड गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यस्ता रेकर्डहरू यो वर्षको शुरूमा संघीय अनुसन्धान निकाय एफबीआइले कनको कार्यालयमा छापा मार्दा फेला परेको बताइएको छ।

न्यूयोर्क टाइम्सले उक्त रेकर्डिङमा ट्रम्प र कनले क्यारेन मक्डुगललाई रकम तिर्ने विषयमा छलफल गरिरहेका छन्, जोसँग ट्रम्पको सम्बन्ध थियो।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि उक्त टेप रेकर्ड गरिएको थियो।

छानबिन
न्याय मन्त्रालयले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने ती महिलालाई तिरिएको रकमबारे छानबिन गरिरहेको जनाएको छ।

अभियोग नलगाइएका कनमाथि निर्वाचन कानूनको उल्लंघन गरेको र ब्याङ्क र कर छली अन्तर्गत अनुसन्धान भइरहेका खबर आएका छन्।

सन् २०१६ को राष्ट्रपतीय चुनावका बेला मक्डुगलले आफ्नो कथा न्याशनल इनक्वाइररलाई बेचेकी थिइन्, जुन ट्रम्पका साथीको हो।

१ लाख ५० हजार डलरको सम्झौताले उक्त पत्रिकालाई ट्याब्लोइड कथा छाप्ने अधिकार दिएको थियो र मक्डुगललाई भने आफ्नो ट्रम्पसँग रहेको भनिएको सम्बन्धलाई सार्वजनिक रुपमा भन्न प्रतिबन्ध लगाइएको थियो।

ट्रम्पसँग सम्बन्ध
शुक्रवार ट्रम्पका हालका वकिल रुडी जुलियानीले न्यूयोर्क टाइम्सलाई राष्ट्रपति र कनबीच मक्डुगललाई पैसा दिनेबारे छलफल भएको बताएका हुन्।

तर पैसा भने कहिल्यै पनि नपठाइएको र ट्रम्पले कुनै गल्ती नगरेको उनले बताएका छन्।

वाल स्ट्रिट जर्नलले सन् २०१६ को सेप्टेम्बरमा भएको उक्त संवादको रेकर्ड फोनमा नभइ व्यक्तिगत भेटघाटमा भएको र त्यो केवल दुई मिनेट नपुग्दै काटिएको जनाएको छ।

मक्डुगलले ट्रम्पसँग उनले मेलानिया ट्रम्पसँग विवाह भएको एक वर्षपछि सन् २००६ मा १० महिना सम्बन्ध भएको बताएकी छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com