संसारकै आमा बनिन् क्रोएसियाकी राष्ट्रपति कोलिन्डा


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

विश्वकप फुटबलको फाइनल खेलपछि विश्वभरका मिडियामा धेरै चर्चा भएको एउटा पात्र हुन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविच ।

मस्कोमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र किटारोविच पुगेका थिए । यस्तै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि ।

म्याक्रोन, पुटिन र किटारोविचलेसँगै बसेर खेल हेरे । म्याक्रोन औपचारिक पोशाकमा थिए भने विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर पुगेकी थिइन् । उनले टिमको हौसलाई बढाइन् ।

खेल सकियो, जित्यो फ्रान्सले । म्याक्रोनको अनुहारमा खुशीको सञ्चार भयो । किटारोविचलाई नमिठो पक्कै लाग्यो तर उनले फ्रान्सको खुशीमा आफ्नो खुशी मिलाइन् । अनि खेलाडीले देशका लागि फाइनलसम्म पुगेर दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान पनि ।

मैदानमा क्रोएसियाली खेलाडी निराश थिए । अवार्ड वितरण समारोहको पर्खाई उनीहरुका लागि अप्ठ्यारो भइरहेको थियो सायद ।टारोविचलाई थाहा थियो, खेलाडीको उर्जा फेरि सञ्चार गर्नु पर्छ भन्ने र उनलाई कुटनीतिक सम्बन्धको पनि ख्याल थियो ।

अवार्ड वितरण समारोहका लागि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसहित रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र क्रोएसियाली राष्ट्रपति किटारोविच मैदानमा आए ।

त्यसबेला पनि किटारोविचले आफ्नो सौहार्दता प्रस्तुत गरिन्, म्याक्रोनको हात समातेर उनी अघि बढिन् ।

अवार्ड वितरण सुरु भयो । फ्रान्सका केलियन एमबाप्पेले फिफा युवा खेलाडी अवार्ड पाए । क्रोएसिया फाइनलमा पराजित हुनुमा उनको गोल पनि कारक थियो, तर किटारोविचले एमबाप्पेलाई सन्तान जसरी नै माया गरिन्, अँगालो हालिन् ।

त्यसपछि पालो आयो आफ्नै खेलाडी, जो निराश थिए हारले । लुका मोड्रिक प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल अवार्ड लिन अघि बढे । अवार्ड पाएको खुशी भन्दा विश्वकप जित्न नसकेको पीडा लुकाको अनुहारमा धेरै थियो ।

फिफाका अध्यक्ष, फ्रान्स तथा रुसका राष्ट्रपति हुँदै उनी आफ्नो देशकी राष्ट्रपति किटारोविचसम्म पुगे । पानी परिरहेको थियो, किटारोविचले लुकालाई धेरैबेर अँगालो हालिन् । गाला थमथमम्याइन्, सायद लुकाको झर्दै गरेको आँसु पुछिन् ।

जसरी एक आमाले सन्तानको पीडालाई आफ्नै जसरी महसुस गर्छन्, त्यसैगरी उनले लुकालाई सम्हालिन बाटो देखाइन् । किटारोविचबाट छुट्टिँदा लुकाको अनुहारमा हारको पीडा भन्दा रुसमा आफूहरुले प्राप्त गरेको ऐतिहासिक सफलता झल्किएको थियो ।

जर्सीमा रहेकी किटारोविचले क्रोएसियाका सबै खेलाडीलाई उसैगरी माया गरिन् । अँगालो हालिन्, सान्त्वना दिइन् र प्राप्त गरेको सफलताका लागि बधाई पनि । उनले फ्रान्सेली खेलाडीलाई पनि उसैगरी स्नेह देखाइन् ।

सायद उनमा त्यो बेला राष्ट्रपति भन्दा पनि ‘आमा’ को रुप बाँचेको हुनु पर्छ, उनले आमा जस्तै माया गरिन् ।

आँचल फराकिलो हुन्छ र त आमामा सबै समेटिन्छन् । अटाउँछन् सबै पीडाहरु । अनि बन्छ अप्ठ्यारोबाट बाहिर निस्कने बाटो पनि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com