न्युयोर्कको नेपाली कन्सुल जनरल मधु मरासिनीका टप फाइभ काम


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । न्युयोर्कमा कन्सुल जनरलको पदमा रहँदा निकै सकृय र कामकाजी अधिकारीको छबी बनाएका मरासिनीले एकबर्ष नपुग्दै गरेका टप फाइभ कामहरु यस्ता छन् ।

१, मूर्ती फिर्ता गराउन पहल :

नेपालबाट चोरी भई न्युयोर्कमा ल्याइएका झण्डै ८ सय बर्ष पूराना मूर्तीहरु नेपाल सरकारलाई फिर्ता दिलाउनेमा कन्सुल जनरल मधु मरासिनीले उल्लेख्य पहल गरेका थिए । नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेपछि ती मूर्तीहरु नेपालमा नै लगेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ ।

२, प्रचारप्रसार र पकाशन :

न्युयोर्कमा कन्सुल जनरलका रुपमा नियुक्त भएर आएदेखि मधुकुमार मरासिनीले नेपालको ब्यापार र पर्यटन प्रवद्र्धनका लागि प्रकाशन र प्रचारका क्षेत्रमा निकै उल्लेख्य काम गरे । उनले कन्सुलेट जनरलको ब्राण्ड न्यू वेवसाइटको सुरुवात गरे भने अँग्रेजी र स्पानिस भाषामा नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्रोसर तयार पारेर सम्बन्धितहरु समक्ष पुर्याए । न्युयोर्क टाइम्सको ट्राभल शोमा सहभागी भएर नेपालबारे विश्वमाझ बोल्नुका साथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रचारात्मक कामहरु गरे ।

३, छलफल र अन्तरकृया :

मरासिनीले पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै सम्बन्धित व्यक्तिसँगको भेटघाट र अन्तरकृयालाई तीब्र पारे । ब्यापार, व्यवसायका क्षेत्रमा अमेरिकी मुलधारमा रहेका नेपाली मुलका व्यक्तिहरुलाई खोजीखोजी भेट्दै नेपालको ब्यापार र पर्यटन प्रवद्धनका लागि काम गर्न आग्रह गर्नेदेखि नेपालबारे चासो राख्ने गैर नेपालीहरुमाझ समेत नेपाली पर्यटनको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेले । न्युयोर्कको ज्याक्सनहाइटमा पर्यटन प्रर्बद्धनबारे विशेष अन्तरकृया कार्यक्रम गर्नुका साथै न्युयोर्कमा रहेका विदेशी कन्सुलहरुसँग पनि भेटघाट र अन्तरकृया गर्नेमा मरासिनी सकृय रहे । बिजनेश काउन्सिल फर इन्टरनेशनल अण्डरस्टाण्डींग अन्तरगतको कन्सुल जनरलहरुसँगको भेटघाटमा ग्लोबल बिजनेशका बारेमा छलफल भएको थियो । मरासिनीले हार्भर्ड विश्वविद्यालयका विद्यार्थीमाझ पनि अन्तरकृया कार्यक्रम गरेका थिए । त्यो बाहेक उनले ब्यापार र पर्यटनसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टै भेटघाट र अन्तरकृया पनि तीब्र पारेका थिए । प्यासेफिक एसिया ट्राभल एसोसिएसन पाटासँगको सहकार्यमा कैयन कार्यक्रम गरे ।

४, राजनीतिज्ञहरुसँग नेपालीका हितबारे छलफल :

अमेरिकन राजनीतिज्ञमाझ नेपालीका हितबारेको छलफललाई पनि महाबाणिज्यदूत मधुकुमार मरासिनीले तीब्र पारे । जर्सी सिटी काउन्सिल अध्यक्षदेखि अमेरिकी राजनीतिज्ञ पिटर किङसम्मलाई भेटेर मरासिनीले नेपालीको हितको विषयमा कुराकानी गरे । मरासिनीले न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारोलाई भेटेर नेपालीका हितका विषयमा कुराकानी गरे भने जर्सी सिटीको पर्यटन र वाणिज्यक्षेत्रका अवशरबारे पनि छलफल गरे ।

५ , कन्सुलेट जनरलको बदलिएको परिचय :

यसअगाडि कन्सुलेट जनरलको कार्यालयको परिचय पासपोर्ट र भिसा जारी गर्ने तथा अमेरिकामा हुने नेपालीका कार्यक्रमहरुमा अतिथि बनेर सहभागी हुने परिचयमा मात्र सिमित थियो । तर मधुकुमार मरासिनीले कन्सुलेट जनरलको परिचय नै बदलिदिए । पर्यटन बोर्डले अमेरिकामा करोडौं खर्च गरेर पनि प्रभावकारी कार्यक्रमहरु गर्न नसकेको सन्दर्भमा मरासिनीले पर्यटन र ब्यापार प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम गरे । महावाणिज्यदूतावासको काम ब्यापार , संस्कृति र पर्यटन प्रवद्र्धन समेत भएको कुरा स्थापित गरे । न्युयोर्क र आसपासमा रहेका नेपाली समुदायमाझ अत्यन्तै सन्तुलित सम्बन्ध कायम गरेर काम गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com