ट्रम्पले रुसमाथि दिएको आफ्नो बयानलाई एक दिनमै किन उल्ट्याए ?


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक दिन पुरानो बयानलाई उल्ट्याएका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरुको निष्कर्ष स्विकारेका छन् ।

सोमबार प्रस्ट रुपमा आफ्नो कुरा राख्न नसकेको उल्लेख गर्दै आफूले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको ट्रम्पले बताए ।

के भनेका थिए ट्रम्पले ?

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा ट्रम्पले दिएको अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो ।

एक पत्रकारको प्रश्नमा ट्रम्पले जुन जवाफ दिए, त्यो अमेरिकी एजेन्सीको दाबी विपरित थियो । रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ ।

ह्वाइट हाउसले उक्त पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट जारी गरेको छ । जसमा पत्रकार र ट्रम्पको सवाल जवाफ पढ्न सकिन्छ ।

पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हस्तक्षेपको आरोप खारेज गरेका छन् तर अमेरिकाको गुप्तचर एजेन्सीले भने रुसले नै हस्तक्षेप गरेको बताउँछ । मेरो तपाईंलाई प्रश्न छ कि तपाईंको यसबारे कस्तो धारणा छ ?

ट्रम्पः धेरै मानिसहरु म कहाँ आउँछन्, उनीहरु भन्छन् यसमा रुसको हात हुनुपर्छ । मसँग राष्ट्रपति पुटिन छन्, उनले यसमा रुसको संलग्नता नभएको बताएका छन् । म यसो भन्छु, रुसले त्यसो गर्नुपर्ने म कुनै कारण देख्दिनँ ।’

अब के भनिरहेका छन् ?

आफूले पत्रकार सम्मेलनको ट्रान्सक्रिप्ट पढेपछि ट्रम्पले यसबारे प्रष्टिकरण दिनुपर्ने आवश्यकता देखेको उनले बताए ।

उनले भने, ‘मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्दथ्योः म किन कुनै कारण देख्दिनँ र ? अथवा रुस किन हुनसक्दैन ?’

साथै ट्रम्पले भने, ‘रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरुको निष्कर्षलाई म स्विकार्छु । अरु मानिस पनि हुनसक्छन् । त्यहाँभन्दा बाहिरका थुप्रै मानिस पनि हुनसक्छन् ।’

ट्रम्पका अनुसार उक्त हस्तक्षेपले चुनावलाई कुनै असर पुर्याएको थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com