‘नेपाली फिल्म जस्तै साहित्यपनि भारतबाट चोरिन्छ’


प्रकाशित मिति : असार २१, २०७५ बिहीबार

नेपाली चलचित्रमा जस्तै नेपाली साहित्य र पुस्तक लेखनमा समेत भारतीय साहित्यको प्रभाव रहेको तथा भारतीय साहित्यबाट चोरेर नेपाली साहित्य लेख्ने गरिएको चर्चित युवा लेखक राजन थपलियाले बताएका छन् । एबीसी टेलिजिभनको फेसबुक लाइभमा किशोर पन्थीसँग कुरा गर्दै थपलियाले भने – ‘कैयन नेपाली चलचत्रिहरु भारतीय चलचित्रबाट कपी गरिएजस्तै नेपाली साहित्य र पुस्तक लेखन पनि भारतीय साहित्यबाट कपी गर्ने क्रम उल्लेख्य छ ।’

भारतीय साहित्यबाट चोर्नेहरु एकातिर भएपनि नेपालमा समेत मौलिक र गुणस्तरीय चलचित्र निर्माणको क्रम बढेजस्तै अर्कोतर्फ नेपालमा अब्बल मौलिक साहित्य र अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरुसमेत लेख्न गर्ने क्रम बढ्नु भने सकारात्मक रहेको थपलियाले बताएका छन् । उनले भने – ‘नेपालमा असाध्यै राम्रा पुस्तकहरु लेखिने क्रम पनि बढेको छ । कैयन पुस्तकहरु अन्तर्राष्ट्रिय स्तरका छन् ।’

नेपाली साहित्यका पुस्तकहरु अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि कोरा अनुवाद नभई अन्तर्राष्ट्रिय पाठकले बुझ्ने र भिज्नै शैलीमा पुनर्लेखन आवश्यक रहेको थपलियाले बताएका छन् । उनले भने – ‘अनुवादकमार्फत कोरा अनुवादमात्र गर्दा भाव र मर्मको अनुवाद हुन सक्दैन । त्यसैले अन्तर्राष्ट्रिय पाठकलाई भावमा डुबाउनका लागि पुनर्लेखन गर्नु आवश्यक हुन्छ ।’

राजन थपलिया न्युयोर्क निवासी अँग्रेजी भाषामा पुस्तक लेख्ने नेपाली मुलका युवा लेखक हुन् । उनको ११ औं पुस्तक हण्ड्रेड पर्सेन्ट लाइफ हालै सगरमाथाबाट लोकार्पण गरिएको थियो । थपलियाले सेल्फ हेल्प, सेल्फ मोटिभेशन बिधामा कलम चलाउँदै आएका छन् । उनीसँगको सम्बाद यहाँ हेर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com