अमेरिकामा शरण खोज्नेलाई आइसले ‘परोल’ नदिएपछि संघीय अदालतका न्यायाधिसको रुलिंग


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले शरण खोज्नेहरुका सन्दर्भमा अमेरिकी सरकारकै नियम मिचेको भन्दै वासिंटन डिसीका संघीय न्यायाधिसले आदेश जारी गरेका छन् । न्यायाधिस जेम्स बोसबर्गले आइसका फिल्ड अफिसहरुलाई निर्देशन जारी गर्दैै सिमानामा आएर एसाइलम खोज्नेहरुलाई एउटै व्यवहार गरेर आम हिराशतमा राख्न नहुने साथै एसाइलम खोज्नेहरुलाई केस अनुशार प्रतिक्षा परोल दिनुपर्ने जनाएका छन् ।

डेट्रोइट, एल पासो, टेक्सास, लस एन्जलस, नेवार्क, न्युजर्सी र फिलाडेल्फियाका आइसका फिल्ड अफिसका नाममा न्यायाधिसले ३८ पृष्ठ लामो मेमो जारी गरेका हुन् । यो रुलिंगपछि ट्रम्प प्रशासनले एसाइलम खोज्नेहरुलाई रोक्न र दण्डस्वरुप अनिश्चितकालिन हिराशतलाई हतियारका रुपमा प्रयोग गर्न नपाउने जनाइएको छ ।

अमेरिकामा एसाइलम खोज्ने सबै आप्रवासीहरुले सुरुमा क्रेडिबल फियर अन्तरवार्ता पास गर्नुपर्ने हुन्छ, जसले उनीहरुलाई आफ्नो देशमा फर्कन डर भए नभएको निर्धारण गर्छ । जसले यो मापदण्डलाई पास गर्न सक्दैनन्, उनीहरु तुरुन्तै देशनिकालाको प्रकृयामा जान्छन् ।

पहिले, क्रेडिबल फियर पास गरेकाहरुलाई यदि उनीहरु समाजका लागि खतरनाक छैनन् भने उनीहरुको अध्यागमन सुनुवाईको प्रतिक्षाका लागि मानवीय परोलमा रिहा गरिन्थ्यो । ओबामा प्रशासनका पालामा आइसले यसरी ९० प्रतिशत भन्दा धेरैलाई मानबीय परोलमा रिहा गर्दै आएको थियो । तर ट्रम्प कार्यकाल सुरु भएदेखि डेट्रोइट, एल पासो, टेक्सास, लस एन्जलस, नेवार्क, न्युजर्सी र फिलाडेल्फियाका आइसका फिल्ड अफिसबाट यसरी मानवीय आधारमा परोल पाउने क्रम झण्डै शुन्य प्रतिशतमा झरेको जनाइएको छ ।

यी फिल्ड अफिसहरुमा परोलको सट्टा क्रेडिबल फियर पास गरेका एसाइलम आवेदकहरुलाई समेत हिराशतमा राख्ने गरिएको छ । जसमध्ये हैटीका एकजना शिक्षकलाई १८ महिनासम्म हिराशतमा राखिएको थियो । एकपछि अर्को गर्दै आइसका यी फिल्ड अफिसहरुमा परोल अस्वीकार हुँदै आएकोमा संघीय न्यायाधिसले निर्देशन जारी गरी एसाइलम खोज्नेलाई सोलोडोलो हिराशतमा नराखी केस अनुशार व्यवहार गर्न आइसलाई स्मरण गराएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com