विवाद निम्त्याउन खोजिए पनि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्र 


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

अनेकौं विवाद, माथापच्थी र दशकौं लामो प्रतिक्षापछि पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने काम अघि बढेको छ । ४ नं. प्रदेशको राजधानी समेत रहेको पोखरामा अन्तराष्ट्रिय विमानस्थल सम्भाव्य छ र यो बन्नुपर्छ भन्दै कैयौं दशक पहिलेदेखि माग हुंदै आएको हो । पोखरेली जनताले यही विश्वासका साथ आफ्नो जमिन विमानस्थलका लागि राज्यलाई दिएका हुन् । ४० वर्षलामो प्रतिक्षा पछि विमानस्थल निर्माणको काम अघि बढ्दा समेत अझै पनि विविन्न हल्ला, तर्क र बहसलाई योजनावद्ध ढंगले अघि बढाइएको छ, विमानस्थल बन्छ कि बन्दैन भनेर पोखरेली जनतालाई मात्र होइन । सिंगो ४ नम्वर प्रदेशलाई नै अलमलमा पार्न खोजिएको छ । सरकारको योजना अनुसार राष्ट्रिय गौरबको यो आयोजना ढिलो चांडो पुरा हुनेमा त कुनै शंका व्यक्त गर्न नपर्ला, तर, धमिलो पानीमा माछा मार्न खप्पिसहरुबाट आयोजनाबारे अफवाह फैलाउने काम भने अवश्य पनि जारी नै छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबको आयोजना हो । ४० वर्षभन्दा बढीको अनवरत प्रतिक्षा पछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको हो । मध्यम स्तरका जेट विमानहरु मात्र अवतरण गर्न सक्ने यो विमानस्थल बनेमा पोखरा मात्र नभएर ४ नं. प्रदेशकै आर्थिक कायापल्ट हुने विश्वास गरिएको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको २०७३ बैशाख १ मा शिलान्यास भएको थियो । प्रदेश नम्बर चारको राजधानी पोखरामा निर्माणधिन यो विमानस्थलको काम अहिले तिब्र रुपमा अगाडि बढेको छ । सन २०२१ जुलाइ १५ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि निर्माणको काम पाएको सिएएमसी कम्पनीले यतिवेला विमानस्थल निर्माणको कामलाई तीब्रता दिइएको हो ।

चनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको सम्झौताअनुसार इपिसी मोडलमा अन्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलको विमानस्थल बन्नेछ ।

हालै नेपाल र चीनको सिमाना रसुवागढीबाट विमानस्थल निर्माणका लागी आवश्यक पर्ने सामाग्रीहरु आउन थालेका छन । बिमानस्थलको लागी २६ वटा ट्रिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेका छन् भने १४ वटा ट्रिपर चीनको सिमाना रसुवाको घट्टेखोला आईसकेको चिनिया कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ तर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारी साधन केरुङ आइसकेका छन् । ठुला निर्माण उपकरणहरु आए लगत्तै विमानस्थल निर्माणले थप तिब्रता पाउने विश्वास गरिएको छ । ती सामाग्री पनि केही दिनभित्रै प्रक्रिया पु¥याएर नेपाल भित्राईनेछ ।

विमानस्थलको निर्माणकार्य तीब्र रुपमा अगाडि वढिरहदा यो विमानस्थल बन्न हुंदैन भन्ने भ्रामक वक्तव्यवाजीहरु पनि भए, केही विज्ञ समुहका नाममा । विमानस्थल निर्माण गर्न योग्य छ भन्ने फिजिविलिटी अध्ययन भएर नै काम अघि बढेको तथ्यलाई बिर्सेर निर्माणकै बीचमा त्यस्ता वक्तव्यवाजीहरु गरिनु विमानस्थल नबनोस भन्ने आशयमा थिए । तर, पानीको फोकाजस्तै ती वक्तव्यवाजी समाप्त भएका छन् । निर्माणको काम तोकिएकै समयमा हुने विश्वास व्यक्त गर्छन्, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे । पालिखेले पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको विमानस्थल भएकाले हाल आएर यसको अध्ययन गर्न खोज्नु र निर्माण विरोधी प्रतिवेदन तयार पार्नु कुनै पनि कारणले औचित्यपूर्ण नहुने बताए ।

४२ वर्ष अगाडि तत्कालिन पोखरा उपमाहनगरपालिकाको वडा नम्बर १४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा विमान स्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको बिमानस्थल निर्माणका आयोजना प्रमुख ईन्जिनियर बिनेश मुनकर्मी वताउछन । मुनकर्मीले चिनिया निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउदै बिमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी बढाइरहेको जानकारी दिए ।

पोखरा क्षेत्रीय बिमानस्थलको निर्माण कार्य तिब्र पारेसँगै यहाका स्थानियबासिन्दा तथा पर्यटन ब्यबसायीहरु उत्साहित भएका छन । यो विमानस्थल ४ नं. प्रदेशको गौरबको आयोजना समेत हो । पर्यटनको राजधानी पोखरामा मध्यमस्तरका जेट विमान ओर्लिने छन् । विदेशबाट सिधै विदेशी खर्चालु पर्यटक पोखरामा उत्रिदा पोखरा र आसपासको आर्थिक उन्नती थप बढ्ने विश्वास गर्न सकिन्छ । त्यसैले, तोकिएकै समयमा बिमानस्थलको निर्माण कार्य सम्पन्नगर्न सम्बन्धित निकाय निरन्तर लागि पर्न जरुरी देखिन्छ ।

पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको पोखरा क्षेत्रीय विमानस्थलको विषयमा विज्ञ भनिएकाबाट उठाइएका प्रश्नले सबैलाई निकै सोच्न बाध्य बनाएको छ । निर्माणको लोकमार्गमा रहेको विमानस्थललाई अवरुद्ध बनाउने कुनियतले यस्ता प्रतिवेदन आएका हुन् भने यो मुलुकका लागि क्षम्यको विषय हुन सक्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com