गाईले खाएको घाँसको युरिया दुधमा देखियो : डेरी उद्योग संघ


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

दुध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दुधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ ।

डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दुध तथा दुधजन्य बस्तुमा युरिया मल लगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको हो ।

संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गरे ।

संघले बाहिरबाट निर्यात गरिएका दुध पाउडर पनि मापदण्ड विपरित नरहेको दावी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरित रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ । उनले दुध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहितानै बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुध तथा दुधजन्य बस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दुध डेरीलाई कार्वाही गर्ने चेतावनी दिँदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com