अष्ट्रेलियामा विद्यार्थीको रुपमा आएर अहिले सफल व्यक्तिको परिचय बनाएका प्रकाश आचार्य


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

अष्ट्रेलियामा नेपालीहरु विभिन्न संघसंस्था, व्यवसाय, राजनीतिक क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । विद्यार्थीको रुपमा अष्ट्रेलिया आएर संघर्ष गर्दै सफलता हासिल गरेका व्यक्ति मध्ये प्रकाश आचार्य पनि एक हुन् । करियर र सामाजिक क्षेत्रमा आफूलाई प्रमाणित गरेका उनले हाल मेलबर्नमा क्याप्कन होम लोन्स संचालन गरिरहेका छन् ।

प्रकाश आचार्य सन् २००५ मा अष्ट्रेलिया आएका हुन् । विद्यार्थीको रुपमा अष्ट्रेलिया आएर उनले आफ्नो करियरको लागि संघर्ष सुरु गरे। उनले पढाईलाई प्राथमिकतामा राख्दै संघर्ष गरेपछि करियरमा सफलता हासिल गर्दै आए । आचार्यले नर्थन टेरीटोरी सरकारको योजना तथा भौतिक पूर्वाधार विभागमा काम गर्ने अवसर पाए । त्यहाँ उनले आइटि अफिसरको पदमा रहेर काम गरे । त्यसपछि उनले नर्थन टेरीटोरीकै एङ्ग्लिकेयरमा आइटि अफिसरको रुपमा काम गरे ।

आचार्यले अहिले क्यापकन कम्पनीसंग आबद्ध भएर मेलबर्नमा क्याप्कन होम लोन्स संचालन गरिरहेका छन् । क्यापकन कम्पनी प्रख्यात व्यसायी किरण थापाद्वारा सिड्नीमा स्थापित कम्पनी हो । यसले होम लोन सम्बन्धमा परामर्श दिने गर्छ ।

अष्ट्रेलिया बसाईको सुरुवाती दिनमा गोल्डकोस्ट बसेका उनी त्यसपछि १० वर्षसम्म डार्विनमा बसेर आफ्नो व्यक्तित्व विकासमा केन्द्रित हुँदै समाजसेवामा समेत सक्रिय भए । त्यसक्रममा उनले नर्थन टेरीटोरीमा बस्ने नेपालीहरुलाई एकतामा बाँध्दै समुदायलाई अगाडी बढाउने उद्देश्य राखी स्थापना गरिएको नेपलिज एसोसिएसन अफ नर्थन टेरीटोरीको संस्थापक उपाध्यक्ष र त्यसपछि अध्यक्ष भएर आफ्नो कार्यकाललाई सफलतापूर्वक पूरा गरे । यसबाहेक उनले एनआरएन अन्तर्गत नर्थन टेरीटोरीको संयोजक तथा एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष भएर पनि काम गरेका छन् । यस्तै उनी मल्टिकल्चरल काउन्सिल अफ नर्थन टेरीटोरीको उपाध्यक्ष समेत भए ।

प्रकाश आचार्य हाल अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई पढाइलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्न सुझाव दिन्छन् । उनका अनुसार, राम्रोसंग पढाइ पूरा गर्ने हो भने अष्ट्रेलियामा धेरै अवसरहरु छन् , जसले भविष्य सुनिश्चित बनाइदिन्छ । लगनशीलता, कडा मेहनत र केही गर्ने अठोट भएको व्यक्तिले अष्ट्रेलियामा व्यवसाय गरेर पनि सफलता हासिल गर्न सक्ने उनी बताउँछन् ।

नेपालबाट अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई आचार्य भन्छन् ,’ राम्रो संग बुझेर मात्र प्रक्रिया अगाडी बढाउनुहोस् । आफूले पढ्ने विषय, त्यसले दिने अवसर, पाठ्यक्रम, शुल्क, समयावधि, आफ्नो रुची र लक्ष्य सबै राम्रोसंग जानेर विषय छनोट गर्नुहोस् । केही गर्न खोज्ने व्यक्तिको लागि अष्ट्रेलियामा प्रशस्त अवसर छन् ‘।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com