जापानले कोलम्बियालाई २–१ ले पराजित


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले कोलम्बियालाई २–१ ले हराएको छ ।

जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।

जापानले प्रहार गरेका १४ सटमा ५ सट पोस्टको दिशामा थिए । यस्तै खेलमा कोलम्बियाले प्रहार गरेका ८ सटमा ३ सट पोस्टको दिशामा थिए ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४(१ ले हराएको थियो ।

समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com