अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीलाई यहाँ अध्ययनरत विद्यार्थीहरु दिन्छन् यस्तो सुझाव


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अष्ट्रेलियामा आउने नेपाली विद्यार्थीको संख्या वर्षेनी बढिरहेको छ । यसो हुनुमा अष्ट्रेलियामा अरु देशको तुलनामा विद्यार्थीलाई सहज जीवनशैली र करियरको अवसर हो । हिमालयन कंगारुसंगको कुराकानीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीले अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका सकारात्मक तथा नकारात्मक पक्षहरुको जानकारी दिंदै विभिन्न सुझाव दिएका छन् ।

नवलपरासीका राजेन्द्र सापकोटा मास्टर्स गर्नको लागि अष्ट्रेलिया आएका हुन् । उनी स्वीन्बर्न युनिभर्सिटीमा अध्ययरत छन् । उनको अनुभवमा अष्ट्रेलियामा मेहनत गर्न सक्ने विद्यार्थीहरुका लागि आफ्नो ज्ञान र क्षमता बढाउने राम्रो अवसर छ ।

राजेन्द्र भन्छन्,“अष्ट्रेलियाले मलाई मेरो लक्ष्य सम्म पुग्न सहयोग गर्नेछ भन्नेमा म ढुक्क छु “। अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई उनी अष्ट्रेलियाको स्वार्थीपना, कडा संघर्षलाई बुझेर र आफ्नो अध्ययन क्षेत्रको अवसरलाई राम्रो संग बुझेर अष्ट्रेलिया आउन सुझाव दिन्छन् ।

त्यस्तै, अर्का विद्यार्थी प्रभु कुँवर भन्छन् ,’ अष्ट्रेलियामा संघर्ष छ तर त्यसले खुशी र भविष्य सुनिश्चित गरिदिन्छ । अध्ययनकै लागि अष्ट्रेलिया आएका काठमाडौ सामाखुशीका प्रभु कुँवर अहिले मेलबर्नको आरएमआइटी विश्वविद्यालयमा अध्ययन गर्दैछन् । अष्ट्रेलिया आउने नेपाली विद्यार्थीलाई उनी सुझाव दिन्छन् ,’ मेहनत, लगन, समयको व्यवस्थापन र आत्मनिर्भर बन्नु यहाँका सकारात्मक पक्ष हुन् । आफू कस्तो मान्छेसंग, कस्तो वातावारणमा छु भन्ने कुरामा भर पर्छ । सुरुमा यहाँ आएर घुलमिल हुन गाह्रो हुन्छ । सकारात्मक सोंचले नकारात्मक पक्षहरुलाई जित्ने कोसिस गर्नुपर्छ ‘।

प्रभु कुँवर थप्छन् , ‘ नेपालमा बसेर यहाँ भएको भौतिक विकासका चिजहरु चलचित्रमा देखेर मख्ख पारिन्थ्यो, त्यो सबै यहाँ आएर यस्तै रहेछ भन्ने देखियो । साथीहरुले फेसबुकमा अपलोड गर्ने रमाइला फोटोहरुका पछाडिको मेहनत र दुख देखियो । आफ्नो मान्छेहरु यही ठाउँमा भएकोले मलाई भने अलि सजिलो भयो । सबै कुरा राम्रोसंग बुझेर आउनुहोला । पढाईलाई प्राथमिकतामा राखेर काम गर्नुस् । संघर्ष छ र त्यसले संगसंगै खुशी र भविष्य पनि ल्याइदिन्छ ‘ ।

अष्ट्रेलियाको साउथर्न क्रस युनिभर्सिटीमा अध्ययरत काठमाडौंका प्रकाश पाण्डेका अनुसार, अष्ट्रेलिया भनेकै करियर र अवसरका लागि हो।

प्रकाश पाण्डे भन्छन् ,’ पैसालाई प्राथमिकता दिनु र जागिरबिना एकछिन पनि बाँच्न नसकिने जीवनशैली यहाँको नकरात्मक कुरा हुन् । संघर्ष गर्न तयार भएर आउनुहोस् । यहाँ आफ्नो करियर बनाउने राम्रो अवसर छ ‘। अष्ट्रेलिया आएपछि आफूले आत्मनिर्भर बन्न सिकेको उनी बताउँछन् अष्ट्रेलियामा संघर्ष छ तर त्यसले खुशी र भविष्य सुनिश्चित पार्छ।

अष्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्ट विश्वविद्यालयमा अध्ययरत धादिङका सन्दिप डल्लाकोटी भन्छन् ,’ आत्मनिर्भरता यहाँको सकारात्मक पक्ष हो नेपालमा हुँदा अष्ट्रेलियाको जीवन र यहाँ आएर देख्दा धेरै फरक लाग्यो ‘।

डल्लाकोटी भन्छन् ,’ त्यहाँ बसेर सोचेभन्दा यहाँ केही फरक र केही गाह्रो छ । तर, करियर बनाउन चाहनेहरुको लागि अष्ट्रेलिया उपयुक्त देश हो, त्यसैले अष्ट्रेलिया आउने चाहना राख्नुभएका साथीहरुलाई आउनुहोस् भन्छु ‘ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com