टीपीएसमा रहेका यस्ता नेपालीले पाउनसक्छन् लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड : केशवराज सेडाई, कानुन व्यवसायी


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

टीपीएस पाएका नेपालीहरु टीपीएसको अवधि नथपिएपछि देशनिकाला हुनबाट कसरी बच्ने ?

टीपीएस नविकरण हुनेमा हाम्रो आशा थियो । तर त्यो आशा पूरा भएन । विभिन्न खालका राजनीतिक उद्देश्यहरुका कारण त्यो लक्ष्य पूरा हुन सकेन । अब टीपीएसमा रहेकाहरुका लागि के के विकल्पहरु हुनसक्छन् भन्ने जान्न जरुरी छ ।

एउटा, विद्यार्थी भिसाबाट टीपीएसमा जानेहरु हुनुहुन्छ । अर्को, एचवान बी भिसाबाट टीपीएसमा जानेहरु हुनुहुन्छ । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेर एसाएइलम गर्नेहरुले पनि टीपीएस लिनुभएको छ । उहाँहरुलाई देशनिकालाको आदेश भइसकेको रहेछ भनेपनि टीपीएसमा रहदासम्म उहाँहरुलाई देशनिकालाको डर नहुने भयो । भिजिटर भिसामा आएर ओभरस्टे भएर टीपीएसमा जानेहरु पनि हुनुहुन्छ । यसरी विभिन्न खालका व्यक्ति टीपीएसमा रहनुभएकाले सबैको एउटै दबाई छैन । तर अलग अलग समुहको अलग अलग हैसियतमा के गर्न सकिन्छ, त्योबारे बुझ्नुपर्छ ।

विद्यार्थी भिसाबाट टीपीएसमा आउनेहरुले यो १४ महिनाको अवधिभित्र लेवर सर्टिफिकेशन फाइल गर्न सक्छन् । रेष्टुरेण्टमा काम गरिरहेकाहरुले रेष्टुरेण्टबाटै लेबर सर्टिफेशन फाइल गराएर त्यसबाट ग्रिनकार्डको बाटोमा पनि जानसक्छन् । ती सबै विकल्पहरुको हामीले मूल्यांकन गर्नुपर्छ । कुनै रेष्टुरेण्टले वा कुनै रोजगारदाताले लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड फाइल गर्नका लागि लेबर स्वीकृतिको केहीसमय लाग्छ । अहिलेको अवस्थामा अडिट नभए ८ देखि १० महिना लाग्ने भएकाले तुरुन्तै फाइल गर्न जरुरी छ ।

कम्पनी, बिजनेश, रेष्टुरेण्ट लगायत जुन रोजगारदाताबाट लेबर सर्टिफिकेशन फाइल गरिदैछ, त्यसको ट्याक्स रिटर्न हेर्नुपर्छ । ट्याक्स रिटर्न हेर्दा प्रयाप्त रकम भएको देखिनुपर्छ । वर्तमान सम्पत्ति वा नाफाको विवरण त्यसमा देखिनुपर्छ । मुनाफा भएको कम्पनी भए नभएको विश्लेषण गरेरमात्र अगाडि बढ्नुपर्छ । अन्यथा पैसा मात्र खर्च हुने तर ग्रिनकार्ड नआउने पनि हुनसक्छ ।

कम्पनीहरुले स्पोन्सर गर्दा कुनै पनि अमेरिकन कम्पनीहरुले स्पोन्सर गर्न गाह्रो छैन । तर आवेदकको पृष्ठभूमी र कम्पनीको ओपन जबसँग म्याच गर्नुपर्छ । यदि आवेदकसँग भारतीय कुकको जागिरको अनुभव छ भने भारतीय रेष्टुरेण्टबाट लेवर सर्टिफिकेशन फर्म फाइल गर्न पाइन्छ । यदि आवेदकले नेपालमा स्टोरमा काम गरेको अनुभव छ वा अमेरिकामा स्टोरमा मेनेजरका रुपमा काम गरेको छ भने अमेरिकामा कुनै स्टोरको स्टोर मेनेजरका रुपमा लेबर सर्टिफिकेशन फाइल गर्न मिल्छ । आवेदकको योग्यता र कम्पनीको व्यवसायसँग नाता मिल्नुपर्छ । औषतमा बार्षिक १ लाख डलर नाफा भएको कम्पनीले लेबर सर्टिफिकेशन फाइल गरिदिन सक्छ । त्यस्तै १ लाख डलरको वर्तमान सम्पत्ति भएको हुनुपर्छ ।

टीपीएसमा रहेका कस्ता व्यक्ति लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्डको प्रकृयामा जान सक्छन् ?

टीपीएसको स्टेटसमा जानुभन्दा अगाडि लिगल स्टेटसमा रहेका व्यक्ति लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्डको प्रकृयामा जानसक्छन् । बीवान, बीटुमा आएर आई नाइन्टी फोर एक्सपायर नहुँदै टीपीएस लिएकाहरु, एचवानबीमा रहदै टीपीएसमा जानेहरु, ओपीटी कार्ड एक्सपायर नहुदै टीपीएसमा जानेहरु, विद्यार्थी भिसामा रहदै टीपीएसमा जानेहरुले वर्क परमिट नआएको भएपनि टीपीएस आवेदन दिएको भएमा लेबर सर्टिफिकेशन फाइल गर्न सक्छन् । टीपीएसका लागि आवेदन दिइसकेपछि उनीहरुको भिसा मेन्टेन नगरेपनि फरक पर्दैन । उनीहरुले यो १४ महिनाको अवधिमा लेबर सर्टिफिकेशन फाइल गरेर ग्रिनकार्डको प्रकृयामा जानसक्छन् । तर समय धेरै बाँकी नरहेकाले अनुभवी कानुन व्यवसायीमार्फत तुरुन्तै फाइल गर्नुपर्छ । यदि यो १४ महिनाको अवधिमा लेबर सर्टिफिकेशनको प्रकृया पूरा नभएमा ग्रिनकार्डमा जानका लागि गाह्रो हुनसक्छ । तर एउटा कानुन अनुशार स्टेटस एक्सपायर भएको ६ महिनाभित्रमा फाइल गर्न पनि पाइन्छ । त्यो कानुन प्रयोग गरेर पनि अगाडि बढ्ने सम्भावना छ ।

जुन व्यक्ति अमेरिकामा गैरकानुनी हैसियतमा थिए तर पछि उनीहरुले टीपीएसमार्फत एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर आएका छन् । त्यो समुहका टीपीएस होल्डरहरुले पनि प्रयास गर्ने ठाउँ छ । उहाँहरुले परिवारमा आधारित पिटिसन फाइल गर्न वा लेवर सर्टिफिकेशन फाइल गर्न सक्नुहुन्छ । तर उहाँहरुका लागि ग्यारेन्टेड ग्रिनकार्ड भने हुँदैन । यद्यपी प्रयास गर्दा गुमाउनुपर्ने केही छैन, ग्रिनकार्ड पाउनसक्ने सम्भावना पनि रहन्छ ।

टीपीएस पाएकाहरुले अब एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर फर्केर पनि लेबर सर्टिफिकेशन फाइल गर्न सक्छन् ?

२०१८ को जुन २४ सम्मकै टीपीएसबाट पनि उनीहरु अमेरिकाबाहिर गएर आउनसक्ने समय अझै छ । यो जुन २४ भित्र गएर आउन समय नपुगे सन् २०१९ को जुन २४ का लागि पुन दर्ता गरेर एड्भान्स परोल मार्फत अमेरिकाबाहिर गएर आउन सकिन्छ । पहिले गैरकानुनी हैसियतमा रहेकाहरुले यसरी फाइल गर्दा शतप्रतिशत सम्भावना नहरेपनि मुद्दा लडेर ग्रिनकार्ड पाउनसक्ने चान्स छ ।

तर टीपीएसमा जानुभन्दा अगाडि नै देशनिकालाको आदेश पाइसकेकाहरुका लागि पनि एड्भान्स परोलमार्फत अमेरिकाबाहिर गएर आएर लेबर सर्टिफिकेशन फाइल गर्न सक्ने सम्भावना कम छ ।
त्यस्ता व्यक्तिका लागि खतरा छ । उहाँहरुका लागि तत्कालका लागि कुनै कानुनी आधारहरु म देख्दिन । मोसनहरु फाइल गरेर, रिओपन गरेर वा अन्य उपाय अपनाएर हुनसक्छ । तर लेबर सर्टिफिकेशनबाट अगाडि बढ्ने सम्भावना निकै कम छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com