रिपब्लिकनको अध्यागमन बिलमा ह्वाइट हाउसको समर्थन, बिलमा के छ ?


प्रकाशित मिति : असार २, २०७५ शनिबार

बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएका कथित ड्रिमरहरुलाई नागरिकताको बाटोमा लैजाने, सिमानामा पर्खाल लगाउन २५ बिलियन डलर छुट्याउने, डिभी लोटरीको अन्त्य गर्ने र चेन माइग्रेशनको अन्त्य गर्ने लगायतका विषयहरु समेटिएको रिपब्लिकनको नयाँ बिलमा ह्वाइट हाउसको समर्थन रहने वा नरहने विषयमा अन्यौल भइरहँदा ह्वाइट हाउसले उक्त बिलप्रति समर्थन जनाएको छ ।

मध्यम खालको बिलमा आफूले हस्ताक्षर नगर्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिपछि अन्यौल सृजना भएको थियो । तर ह्वाइट हाउसले भने ट्रम्पको अभिव्यक्तिको बुझाई र सन्दर्भ फरक भएको भन्दै बिहिबार रिपब्लिकनले छलफलका लागि ल्याएको बिलमा ह्वाइट हाउस र ट्रम्पको समर्थन भएको जनाएको छ । बब गुडलटेको वा लिडरसिप बिलमा ट्रम्पले हस्ताक्षर गर्ने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

बिहिबार सांसदहरुमाझ छलफलका लागि दिइएको २९३ पृष्ठ लामो ड्राफ्टमा आगामी साता मतदान हुने बताइएको छ । बिल पारित भएमा आगामी अक्टोबरदेखि लागु हुनेछ भने यसैबर्षदेखि डिभी लोटरी पनि खारेज हुनेछ ।

बाल्यकालमा अमेरिकामा ल्याइएका कागजपत्रविहिनहरुले ६ बर्षका लागि गैरआप्रवासी कानुनी हैसियत प्राप्त गर्नका लागि आवेदन दिनसक्ने बिलमा उल्लेख छ । त्यस्तै बिलले २५ बिलियन डलर पर्खाल निर्माणका लागि खर्च गर्ने अनुमति दिनेछ । तर सिमानामा पक्राउ परेका बच्चाबच्चीहरुलाई सरकारी हिराशतमा रहँदा बाबुआमाबाट अलग राख्न नपाउने व्यवस्था गर्नेछ ।

डिभी लोटरी खारेज गरेर मेरिटमा आधारित नयाँ प्रणाली लागु गर्नेछ । डिभी लोटरीका ५५ हजार भिसाहरु अन्य कार्यक्रममा लगाइने बिलमा उल्लेख छ । आगामी मिडटर्म इलेक्सन भन्दा अगाडि नै अमेरिकी अध्यागमनमा परिवर्तन ल्याउन खोजिएको सम्भवत यो नै अन्तिम बिल हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com