‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’:सामाजिक कार्यकर्तालाई


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

यस पटक डोटीका सरस्वती नेपालीले सन् २०१८को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ प्राप्त गर्नुभएको छ । उहाँलाई आगामी अगस्ट १५ मा एक अन्तर्राष्ट्रिय समारोहबीच ‘पाँच लाख’ रुपियाँ र कदरपत्रसहित सम्मान गरिने छ । उहाँसँगै डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखकी पार्वती विशंखे, बर्दियाका दिलिप गन्धव र बाजुराका डा. रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गर्ने भएको छ ।

सुदूरपश्चिमको दलित परिवारमा जन्मिनुभएका सरस्वती नेपालीले दलित तथा अन्य सीमान्तीकृत समुदायको सामाजिक न्याय र मानवअधिकारकाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । ३७ वर्षकै उमेरमा उहाँले विभिन्न क्षेत्रमा विशेषगरी भूमी अधिकार, शिक्षा, पत्रकारिता र दलितको न्यायमा पहूँचका लागि महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ । उहाँले २०६३ सालमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश घटनाको अगुवामध्येकी एक नेपाली मन्दिर प्रवेश घटनामा घाइते हुनुभएको थियो ।

२०६४ मा स्थानीय उदयदेव मन्दिरमा दलित समुदायमाथि भएको आक्रमणको विरुद्धमा अदालतले दलित समुदायको पक्षमा गरेको फैसला नेपालको अदालती इतिहासमा कोषेढुंगा सावित भयो । यस घटनामा समेत पीडितलाई न्याय दिलाउनका लागि नेपालीले नेतृत्वदायी भूमिकानिर्वाह गर्नु भएको थियो । त्यसैगरी, दशरथचन्द्र नगरपालिकाका एक ५४ वर्षीय शिक्षकले मानसिक रुपमा कमजोर स्थानीय १४ वर्षीय बालिकालाई विद्यालयमै लामो समयदेखि बलात्कार गर्दै आएको र पटक–पटक उनको गर्भ तुहाएको घटनामा उहाँले यसविरुद्ध कानुनी लडाइँ लड्नु भयो । यस घटनामा अदालतले पीडकलाई ११ वर्ष जेल सजाय सुनायो । त्यस्तै, उहाँ दोगडा केदार गाउँपालिकामा अर्की १६ वर्षीय बालिकामाथि हुँदै आएको नियमित बलात्कारविरुद्ध  अदालतमा मुद्दा लडेर पीडितलाई न्याय दिलाउन सक्षम हुनुभएको थियो ।

नेपालीको सङ्घर्ष यतिमा मात्र सीमित छैन । २०६८ सालमा स्थानीय ३६ सुकुम्बासी दलित परिवारका लागि उहाँको संघर्षका कारण प्रतिपरिवार दुई रोपनी जग्गा दिलाउन सफल हुनुभएको थियो । त्यस्तै, २०६० सालमा ६० हजार ऋणको बदला हलिया बस्न बाध्य पारिएका बीरबहादुर लाबडलाई ऋण मुक्त गराउन सफल हुनुभएको थियो ।

नेपाली स्थानीय शान्ति समितिको जिल्ला संयोजक भएर २०६७ देखि २०६९ सम्म काम गर्नुभएको थियो । उहाँ नेपालमै स्थानीय शान्ति समितिको पहिलो महिला जिल्ला संयोजक हुनुहुन्थ्यो । २०६९ मा उहाँले भारतको नयाँ दिल्लीमा शान्ति र गैर हिंसात्मक आन्दोलनका विषयमा प्रशिक्षण समेत लिनुभएको थियो ।

संविधान सभाको पहिलो निर्वाचनपछि नेपालीले ‘संविधानमा प्राकृतिक स्रोतमाथि दलित तथा सीमान्तीकृत समुदायको पहुँच’को मुद्दा उठाई २०६४ भदौमा १३ दिने जनयात्राको ब्यवस्थापन र नेतृत्व गर्नुभएको थियो । यो अभियान बैतडीको गणतन्त्रचोकबाट सुरु भई रुपन्देहीको बुटवलमा समापन भएको थियो । त्यस्तै उहाँले ‘भूमिमा महिला अधिकार’को मुद्दा उठाई २०६६ सालमा महेन्द्रनगर देखि टिकापुरसम्मको ११ दिने पैदल यत्राको समेत नेतृत्व र व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसैगरी, उहाँले विभिन्न राष्ट्रिय पत्रपत्रिकामा भूमि र महिलाअधिकारका विषयमा कलम चलाउँदै आउनु भएको छ ।

सामाजिक न्यायका लागि दर्नाल अवार्ड

“दर्नाल अवार्ड” आम साधाहरण मानिसहरुले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यहरुप्रतिको सम्मानमा सामाजिक न्यायका अभियन्ता “सुभाष दर्नाल”को सम्झनामा स्थापित अन्तर्राष्ट्रिय स्तरको ‘अवार्ड’ हो । सरिता परियार ट्रष्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा “अगष्ट १५”को अवसर पारी हरेक दुई वर्षमा यो अवार्ड प्रदान गर्दै आएको छ । त्यसैगरी प्रत्येक वर्ष अगस्ट १५को अवसरमा “समता तथा आत्मसम्मानको राजनीति र दलित” विषयमा अन्तर्राष्ट्रिय ‘बहस श्रृङ्खला’ पनि सञ्चालन गर्दै आइएको छ ।

यसअघि सुभाष दर्नालको पहिलो स्मृतिसभा, २०६९, दोस्रो स्मृतिसभा, २०७० र तेस्रो स्मृतिसभा, २०७१ को अवसरमा काठमाडौंमा “समता तथा आत्मसम्मानको राजनीति र दलित” सवालमा अन्तत्र्रिmयाका साथै सामाजिक न्यायको क्षेत्रमा क्रियाशील अभियन्ता तथा पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

वि.सं. २०७२ को विनाशकारी भूकम्पका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै “दर्नाल अवार्ड पुरस्कार परिचालन समिति”ले २०७२ सालको दर्नाल अवार्डको पुरस्कार राशि भूकम्पका कारण प्रभावित सिन्धुपाल्चोक, सिपापोखरे ४, गैह्रीगाउँ स्थित श्री बालकल्याण प्राथमिक विद्यालयको पुनर्निर्माणका लागि सहयोग गरेको थियो । त्यसैगरी वि.सं. २०७३ सालको दर्नाल अवार्ड कपिलवस्तुका रक्षाराम चमार (हरिजन)लाई प्रदान गरिएको थियो भने अवार्ड वितरणकार्यक्रममा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त लोकतन्त्रविद् कार्ल गर्सम्यान, प्राध्यापक ल्यारी डायमण्ड, स्ट्याण्डफोर्ड विश्वविद्यालय, प्राध्यापक सुखदेव थोराट, जवारलाल नेहरु विश्वविद्यलय र फ्रान्सिस फुकुयामाको (भिजुअल कन्फ्रेन्स)लगायतको सहभागितामा “समता तथा आत्मसम्मानको राजनीति र दलित” विषयक अन्तर्राष्ट्रिय बहस श्रृङ्खलालाई निरन्तरता दिएको थियो ।

“दर्नाल अवार्ड पुरस्कार परिचालन समिति”ले गतवर्ष अगस्ट १५को अवसरमा जातीय विभेद र सामाजिक विकासका रुपले नेपालमै अत्यन्त पछाडि परेको सुदुर र मध्य पश्चिम क्षेत्रका दलित समुदायको ज्ञान र क्षमतालाई केन्द्रसँग जोड्ने उद्देश्यकासाथ अछामको कालिकास्थानमा जब प्रश्नहरुले नयाँ इतिहास बनाउँछन् भन्ने मूल नाराका साथ “समता तथा आत्मसम्मानको राजनीति र दलित” सवालमा दुई दिने अन्तर्राष्ट्रिय बहस श्रृङखलाको छैठौं श्रृङ्खला आयोजना गरेको थियो ।

नेपालजस्तो ‘तहगत’ असमानताबीच रहेको समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो सङ्घर्षका लागि ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण हुन्छ । त्यसैले यो अवार्ड आम उत्पीडितहरूमा अन्तरनिहित क्षमता, शक्ति र गौरवको सम्मान हो । यो अवार्डले सामाजिक न्यायका लागि नयाँ र प्रेरणादायी कार्य गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यको पुल बनाउने छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com