ओलीले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री लीसँग गर्नेछन् भेटवार्ता


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा अाेलीले अासन्न चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली ख छ्याङ्गसँग भेटवार्ता गर्ने तालिका निश्चित भएकाे छ।

बुधबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता कङ श्वाङले भ्रमणबारे औपचारिक पुष्टि गर्दै प्रधानमन्त्री अाेलीले पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने जानकारी दिएका हुन्।

चिनियाँ प्रधानमन्त्री लीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले जुन १९ अर्थात असार ५ देखि १० गतेसम्म उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनकाे अाैपचारिक भ्रमण गर्नेछन्।

पत्रकार सम्मेलनमा प्रवक्ता कङले चीनले प्रधानमन्त्री ओलीको बेइजिङ यात्रा बेल्ट एण्ड रोड इनिसियटिभ्सको मार्गचित्रभित्र नेपाल-चीनबीचको गहन सहयोग, बलियो राजनीतिक सम्बन्ध, आर्थिक तथा व्यापारिक, पूर्वाधार, विपदपछिको पुनःनिर्माण तथा मानवीय सहयोगका साथै द्विपक्षीय सम्बन्ध विकासको नयाँ उचाइ निर्माणमा उपयोगी हुने विश्वास लिएको सुनाए।

चार जना मन्त्रीसहित चीन उड्नेछन् अाेली

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेइजिङमा नेपाल-चीन व्यापारिक मञ्च तथा थिंक ट्यांकहरूसँग छलफल गर्ने तथा चीन-नेपाल केही सम्झौता र एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम छ। चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको तिब्बत स्वशासित क्षेत्रको पनि भ्रमण गर्ने र त्यहाँका प्रान्तीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएकाे छ।

बुधबार पत्रकार सम्मेलनको शुरूवातमै प्रवक्ता कङले नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लागेकोबारे सुनाउँदै गर्दा नेपाल-चीन मित्रता एवं साझेदारी पुस्तौंदेखि चल्दै आएको स्मरण गरे। ‘दुई देशबीचको सम्बन्धले सधैँ नै विकासको राम्रो गति कायम राख्दै आएको छ’, उनले भने।

सम्बन्धित खबर: अाेलीकाे अासन्न चीन भ्रमण: बन्दरगाह प्रयाेगमा भारतसँगकाे एकल निर्भरता अन्त्य गर्ने तयारी

प्रधानमन्त्री ओलीको यसपटकको बेइजिङ भ्रमण नेपालको राजनीतिक संक्रमणकाल पूरा भएपछिको पहिलो भ्रमण भएको पनि कङको बुझाइ छ। ‘यस अवस्थाले दुवै देशका नेताहरूका लागि आगामी योजना तथा नयाँ अवस्था अनुरूप चीन-नेपाल सम्बन्ध विकासका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा छ’, उनले भने।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणका सन्दर्भलाइ लिएर प्रवक्ता कङकाे भनाइ उदृत गर्दै चिनियाँ संचारमाध्यमहरूले नेपाल-चीन दुई पक्षबीच साझा अभिरूचिका विषय तथा साझा हितका सवालमा तीव्र गतिमा आपसी सहकार्यको वातावरण बन्दै गएकाे उल्लेख गरेका छन्।

अाेलीकाे चीन भ्रमणबारे नेपालखबरकाे निरन्तर फलाेअप

१. ओलीको आसन्न चीन भ्रमण: काठमाडौं–केरुङ रेलमार्गको सम्झौता तयार

२. ओलीको आसन्न चीन भ्रमण: तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव गरिँदै

३. ओलीको आसन्न चीन भ्रमणः नेपाली विमानलाई चीनका सहरमा उडान अनुमति प्रस्ताव

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com