ट्रम्प र किमबीच ५० मिनेट वार्ता, उत्तर कोरियाली नेताले भने- यहाँसम्म आउन सजिलो थिएन


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ ।

भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’

अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीका अनुसार किम र ट्रम्पबीच बन्द कोठाभित्र करिब ५० मिनेट वार्ता भएको छ । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो ।

वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । तर, उत्तर कोरियाको तर्फबाट वार्तामा अरु कोको थिए भन्ने खुलेको छैन ।

वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गरेका थिए । त्यसलगत्तै पत्रकारहरुलाई प्रतिक्रिया दिँदै किमले भनेका थिए, ‘यहाँसम्म आउन सहज थिएन । हाम्रा पुराना मान्यताहरुले रोकेका थिए तर हामीले त्यसलाई तोड्यौं र आज हामी यहाँ छौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com